सामान्यतया स्वस्थ मानिसको शरीरमा ९५ प्रतिशत अक्सिजनको मात्रा हुन्छ । ९५ प्रतिशतभन्दा कम भएमा अक्सिजन दिनुपर्ने चिकित्सकहरू बताउँछन् । ‘९२ सम्म ठीकै हो तर ९० भन्दा तल झर्यो भने राम्रो मानिँदैन, तत्काल अक्सिजन दिनुपर्ने हुन्छ’, मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू भन्छन् ।
हावामा २१ प्रतिशत अक्सिजन हुन्छ । त्यही अक्सिजन फोक्सोको माध्यबाट शरीरका अंगहरूमा पुग्ने हो । ‘हावाबाट लिएको अक्सिजनले स्वस्थ मानिसले ९५ प्रतिशत मेन्टेन गर्ने हो’, डा. कोजू भन्छन्, ‘फोक्सो, मुटु र रगत खराब भयो भने बाहिरको २१ प्रतिशतले शरीरमा ९५ प्रतिशत पुर्याउन सक्दैन । थप ४० प्रतिशतसम्म अक्सिजन दियो भने स्याचुरेसन ९५ पुग्न मद्दत गर्छ ।’
कोरोना भाइरस कोभिड १९ ले फोक्सोमा बढी असर गरेकाले अक्सिजन दिनुपरेको डा. कोजू बताउँछन् । ‘अक्सिजन दिएर नै फोक्सोको रोग निको हुने होइन’, उनी भन्छन्, ‘फोक्सोको रोग निको हुन कोभिड लाग्नै नदिने हो । कोभिडका बिरामीको अक्सिजनको लेभल घटेर ५०–६० मा समेत झर्ने गरेको छ । अक्सिजनको लेभल यति धेरै झर्नु भनेको ज्यान जोखिममा पर्नु हो । त्यसैले बाहिरबाट थप अक्सिजन दिनुपर्ने हुन्छ ।’
शरीरमा अक्सिजन कति छ, कसरी थाहा पाउने ?
शरीरमा अक्सिजन कति छ भनेर आफैँ पनि हेर्न सकिन्छ । ‘पल्स अक्सिमिटर ल्याएर शरीरमा कति अक्सिजन छ हेर्न मिल्छ’, डा. कोजू भन्छन्, ‘कोरोना पोजिटिभ आएको छ भने अक्सिजन ९२ भन्दा कम भएमा अक्सिजन आवश्यक पर्छ । अस्पतालमा डाक्टरसँग तत्काल परामर्श लिनुपर्छ ।’
अक्सिजनको मात्र कसरी बढाउने ?
फोक्सोलाई स्वस्थ राख्न शारीरिक क्रियाकलाप गर्नुपर्नेमा डा. शेरबहादुर पुन जोड दिन्छन् । ‘धूम्रपान, मध्यपान, धुलो धुँवाबाट जोगिनु पर्छ’, उनी भन्छन्, ‘प्रशस्त पानी पिउने, झोलिलो पदार्थमा बढी जोड दिने, खुल्ला ठाउँमा बस्ने र लामो सास लिने हो भने अक्सिजनको मात्र शरीररले पाउँछ ।’
हाई फ्लो अक्सिजन
कोभिडका बिरामीमा अक्सिजनको मात्रा निकै कम हुने गरेकाले हाई फ्लो अक्सिजन दिनुपरेको अस्पतालहरूले बताएका छन् ।‘अक्सिजन एक सेकेन्ड पनि छोड्न मिल्दैन । हाई फ्लोमा अक्सिजन दिएका छौँ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘एक जना बिरामीलाई प्रतिमिनेट १५ देखि ६० लिटर अक्सिजन दिनुपरेको छ । अक्सिजन झिक्यो कि बिरामी सकियो ।’
उनका अनुसार तीन महिनालाई पुग्ने अक्सिजन १५ दिनमै सकिने गरेको छ । ‘कोभिडका बिरामीको फोक्सो ड्यामेज भएको हुन्छ । अक्सिजन बाहिरबाट नदिई हुँदैन । अक्सिजन धेरै आवश्यक पर्ने देखिएको छ ।’
अक्सिजन प्लान्ट रहेको टेकुमा सिलिन्डर पनि प्रयोग गर्ने गरिएको छ । टेकु अस्पतालमा मात्र दैनिक दुई सयभन्दा बढी अक्सिजन सिलिन्डर सकिने गरेको डा. राजभण्डारी बताउँछन् ।
५० सिलिन्डर अक्सिजन, २५ हजार खर्च
१० मिनेटमा एक जनाका लागि एक सिलिन्डर अक्सिजन आवश्यक पर्छ । ‘कम्तीमा दैनिक ५० सिलिन्डर अक्सिजन एक जनाका लागि सकिन्छ’, डा. राजभण्डारी भन्छन्, ‘एउटाको ५ सय रुपैयाँ पर्छ । २५ हजार त अक्सिजनमै सकिन्छ ।’
सिलिन्डरको अभाव
कोभिड-१९ का संक्रमित बढ्दै जाँदा अक्सिजनको माग बढिरहेको छ । अक्सिजनको उत्पादन भए पनि सिलिन्डरको अभाव भइरहेको अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव सारडाले जानकारी दिए ।
‘अहिले उपत्यकामा दैनिक करिब ५ हजार सिलिन्डर अक्सिजन फिलिङ हुन्छ, हाम्रो क्षमता ८ हजार सिलिन्डरको छ,’ उनले भने ‘सरकारले हालका लागि औद्योगिक क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाएकाले अभाव हुँदैन ।’
थप सिलिन्डर ल्याउन भने समय लाग्ने उनले स्पष्ट पारे । ‘अहिले भारतबाट ल्याउन सम्भव छैन, चीनबाट ल्याउन ६ महिना लाग्छ,’ उनले भने । विगतमा अक्सिजन उत्पादनप्रति सरकार उदासीन रहेकाले यो संकट देखिएको उनले गुनासो पोखे ।
‘विगतमा अक्सिजन सिलिन्डरलाई विलासिताको सामानझैँ १५ प्रतिशत भन्सार, ५ प्रतिशत एक्ससाइज र १३ प्रतिशत भ्याट लाग्थ्यो । त्यही भएर व्यवसायीहरूले धेरै सिलिन्डर ल्याउन सकेनन्,’ सारडाले भने ।
उनका अनुसार एलपी ग्यासमा झैँ नीति नियम नभएकाले अक्सिजन सिलिन्डरको सङ्ख्या पनि यकिन छैन । ‘४ सयको ग्यास भरिएको हाम्रो २० हजार पर्ने सिलिन्डर १२ हजार डिपोजिटमा दिनुपर्छ । कति हराउँछन्, कति अरु कम्पनीले लैजान्छन् । धेरै त सरकारी अस्पतालबाटै फिर्ता आउँदैन’, उनले भने, ‘मेरो कम्पनीकै धेरै अक्सिजन सिलिन्डर हराएका छन् ।’ हाल उपत्यकामा आठवटा र बाहिर १७ वटा अक्सिजनका कम्पनी छन् ।
अक्सिजनको अभाव छैन : व्यवसायी
हिमाल अक्सिजन ग्यास उद्योगका सञ्चालक अभिक ज्योतिले तत्काल अक्सिनको अभाव नहुने तर सिलिन्डर घरघरमा होल्ड भएको बताए । ‘भारतको समाचार पढेर मानिस आत्तिएका छन् । नेपालमा समस्या छैन । सबै कम्पनीहरूबाट ५०–६० प्रतिशत क्षमतामा चलिरहेको छ’, उनले भने, ‘समस्या सिलिन्डरको हो, अनावश्यक घरघरमा होल्ड भएको छ । घरमा राखेको सिलिन्डर फिर्ता भयो भने सहज हुन्छ ।’
नेपालमा प्रत्येक कम्पनीले घण्टामा १ सय ५० क्युबिकदेखि ३ सय ५० क्युबिकमा अक्सिजन उत्पादन गर्ने क्षमता रहेको उनले बताए ।
गलत अक्सिजन प्रयोग भएको त छैन ?
इलेक्ट्रिक मेसिन अक्सिजन (अक्सिजन कन्सन्ट्रेटर) भारत लान थालिएको व्यवसायीको गुनासो छ । अक्सिजन कन्सन्ट्रेटर भारतबाट आएर लान थालेका छन्’, अक्सिमेड ट्रेड लिङ्कका सीईओ सुनील श्रेष्ठ भन्छन्, ‘यहाँ ७५ हजार रुपैयाँमा किनेर उता ७५ हजार भारुमा बेच्न थालेका छन् ।’
अक्सिजनसँग सम्बन्धित नभएकाले पनि व्यापार सुरु गरेको उनी बताउँछन् । ‘जुत्ता, चप्पल, लुगा व्यापार गर्नेले पनि अक्सिजन कन्सन्ट्रेटर बेच्न थालेका छन’, उनी भन्छन्, ‘यो स्वास्थ्यको संवेदनशील विषय हो । ज्ञान नभएकाले काम गर्दा के होला ?’
कन्सन्ट्रेटर दुई किसिमको हुने भएकाले नझुक्किन उनले आग्रह गरे । ‘एउटा मेडिकल प्रयोगका लागि हुन्छ । अर्को हेल्थ प्रयोगका लागि हुन्छ । मेडिकल्ली ९० प्रतिशतभन्दा माथि अक्सिजन दिने हुनुपर्छ’, उनले भने, ‘हेल्थका लागि प्रयोग गर्नेको क्वालिटी पनि कम हुन्छ । स्वस्थ मानिसलाई तनाव भयो भने रिल्याक्सका लागि लिने हो । २१ प्रतिशतभन्दा कम भएको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।’
हेल्थमा प्रयोग गर्ने पनि मेडिकलमा प्रयोग गर्न थालिएको भन्दै यसतर्फ ध्यान दिन सरकारलाई उनले आग्रह गरे । ‘मेसिन आउने भनेको चीन र अमेरिकाबाट हो । यहाँ जर्मनीको भनेर पनि बेच्न थालिएको छ । जर्मन कम्पनीको यहाँ छैन’, उनले भने, ‘हेल्थमा प्रयोग गर्ने मेसिन मेडिकलमा प्रयोग गर्दा बिरामीलाई अक्सिजनकाे मात्रा पुग्दैन ।’
के हो अक्सिजन कन्सन्ट्रेटर ? कसरी बन्छ अक्सिजन ?
अक्सिजन कन्सन्ट्रेटर एउटा मेसिन हो । कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । यसबाट बिरामीले अक्सिजन प्रयोग गर्छन् । अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ ।
लिक्विड प्लान्ट
लिक्विड प्लान्टमा हावालाई चिसो बनाइन्छ । धेरै चिसो भएपछि लिक्विडको लेयर बन्छ, एउटा अक्सिजनको अर्को नाइट्रोजनको । त्यसबाट अक्सिजनको लेयरलाई लिएर फर्मेसन गरिन्छ । अनि अक्सिजन सिलिन्डरमा भरेर बिरामीका लागि प्रयोग गरिन्छ ।
कस्तो अक्सिजन प्रयोग गर्ने ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. देवकोटाले उत्पादन भएको सिलिन्डरको अक्सिजन नै उपयुक्त हुने बताउँछन् । ‘अक्सिजन प्लान्ट, लिक्विड प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर मेसिनबाट अक्सिजन दिइन्छ । कन्सन्ट्रेटरमा शतप्रतिशत अक्सिजन नहुन सक्छ । उत्पादन भएको सिलिन्डरको अक्सिजन नै बेटर हो’, उनले भने, ‘ गुणस्तरी अक्सिजन हुनुपर्छ । युरोपियन सी, डब्लूएचओमा लिस्ट भएको मात्र प्रयोग गर्न भनेका छौं ।’
एक मिनेटमा १५–२० लिटर फाल्ने हाइ फ्लो अक्सिजन फाल्ने मेसिन किन्न सबै निकायलाई निर्देशन दिइएको उनले बताए । ‘हाइ फ्लो अक्सिजनको व्यवस्था भयो भने कोभिडका बिरामीलाई भेन्टिलेटरमा राख्नु पर्दैैन । भेन्टिलेटर महंगो पनि पर्छ’, उनले भने, ‘अक्सिजन कन्सन्ट्रेटर पनि हाई फ्लो फाल्ने मात्र खरिद गर्न भनेका छौं ।’
अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मिल्ने बताउँछन् डा. देवकोटा । ‘फोक्सो ठिक छ तर विभिन्न कारणले समस्या भएको छ, दमको बिरामीलाई सर्पोट चाहिएको छ भने अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्न सकिन्छ’, उनी भन्छन्, ‘कोभिडका लागि त अक्सिजन कन्सन्ट्रेटरले काम गर्न गाह्रो छ ।’
अक्सिजनको सिलिन्डर अभाव भएको सन्दर्भमा डा. देवकोटाले अस्पतालहरुलाई किन्नको लागि भनिएको बताए ।‘सिलिन्डर किन्न अस्पतालालई भनेका छौं । रकम मन्त्रालयले सोधभर्ना गर्छ’, उनले भने ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १८:२०