चर्को घाम । चिटचिट पसिना । कोही छाताले सूर्यको रापलाई छेक्दै थिए । कोही खोप लगाएर फर्किंदै । लाइन अस्पतालबाहिर पुगेको थियो । कोही पालो कुर्दै थिए । युवादेखि ज्येष्ठ नागरिकले प्राङ्गण खचिखचाउ थियो ।
गेटमा सुरुक्षा गार्ड भन्दै थिए, ‘टेकुमा आज त कुम्भ मेला नै लाग्यो ।’

आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातल टेकुको खोप केन्द्रमा पुग्दा हात हालाहालको स्थिति थियो । ‘बिहान ५ बजेदेखि लाइनमा बसेको पालो आ’को छैन । सोर्सफोर्सबाट बीचबीचमा छिरेर खोप लगाउन पाइन्छ ?’, एक पुरुष चर्को स्वरमा आक्रोश पोख्दै थिए । उनी रहेछन् टेकुकै पदम कारञ्जित । आक्रोशित नहोऊन् पनि किन ? बिहानै लाइन बसेका कारञ्जितको १ बजेसम्म पनि पालो आएको छैन ।
‘कराउनु परेन त ? पछाडि लाइनमा छौँ । अगाडि मान्छे घुसाएको छ । लाइन बसेर पनि खोप लगाउन नपाइने भइयो’, उनी भन्छन्, ‘फेरि प्रकोप बढेको छ । खोप लगाइएन भने त स्थिति गाह्रो छ ।’
चीनले उपलब्ध गराएको भेरोसेल खोप लगाउन लाइनमा बसेकाले एकले अर्कोलाई ठेलमठेल गरिरहेका थिए । उता अस्पतालको भित्ताको सूचनामा लेखिएको थियो, ‘दूरी कायम गरौँ’ । त्यो भीडले अस्पतालको सूचनालाई नै गिज्याइरहेको थियो । खोप लगाउन आएका कसैको मुखमा मास्क थिएन । प्राङ्गण अव्यवस्थित थियो ।

खोप लगाएर फर्किएकाको मन पनि शान्त थिएन । ४ घण्टा लाइन बसेर खोप लगाएकी ५८ वर्षीया अनिला प्रधान भन्छिन्, ‘खोप त लगाएँ तर यही भीडबाट कोरोना सरेको रहेछ भने लगाएको के अर्थ भयो र ? सबैले लगाएपछि लगाउनै पर्यो ।’
प्राङ्गणमै भेटिएका थिए, खोपविज्ञ डा. श्यामराज उप्रेती । यसरी खोप लगाएर जोगिन्छौँ त ? भन्ने प्रश्नमा डा. उप्रेती भन्छन्, ‘यो त असाध्यै अव्यवस्थित भयो । हामीले पहिले–पहिले धेरै खोप लगाएका थियौँ । यस्तो अव्यवस्थित त थिएन । पर्याप्त जनशक्ति खटाउनुपर्ने हो ।’
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको टिमलाई भीड व्यवस्थित गर्न हम्मेहम्मे परेको देखिन्थ्यो । उनी यता र उती गर्दै थिए तर विकल्प केही थिएन । खोप लगाउन भन्न पुगेकालाई फर्काउँदै थिए, ‘मबाट सम्भव छैन’ ।

‘किन अव्यवस्थित ?’
‘खोप लगाउने यहीँ । पीसीआर गर्नुपर्ने यहीँ । उपचार पनि यहीँ । संरचना बनाउने कुरा हुँदैन । यो सानो ठाउँमा मैले के गर्ने ?’, उनी भन्छन्, ‘भीड धेरै छ । खोप ७ सय मात्र छ । टेकुमा खोप लगाउने अन्तिम दिन भएर पनि हो ।’
७ वैशाखदेखि टेकुमा पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा लगाउनुपर्ने भएकाले तयारीका लागि बन्द गरिएको डा. भण्डारीले बताए । ‘पर्सिदेखि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउनुपर्नेछ,' उनी भन्छन्, ‘टेकुमा संक्रमित बिरामी धेरै छन् । बिरामीमा फोकस हुनुपर्ने भएर पनि हो ।’
उनका अनुसार क्षेत्रपाटी, पाटन, प्राइभेट अस्पताल, एपीएफ, पुलिसलगायतका अस्पतालमा अरु दिन पनि खोप लगाइन्छ ।

गत १४ माघमा टेकु खोप केन्द्रमा परिणत भएको थियो । खोपमा परिणत हुँदै गर्दा अस्पतालमा बिरामीको संख्या निकै कम भएको थियो । अस्पतालका चिकित्सकलाई लाग्थ्यो, ‘अब त महामारी नियन्त्रणतिर गयो ।’ तर, तीन महिना पनि नपुग्दै टेकु एकाएक कोभिड बिरामीको उपचारमा फोकस हुन पुगेको छ । तामझाम र उत्साहका साथ खोप केन्द्रमा परिणत भए पनि त्यो उत्साह धेरै समय टिक्न सकेन ।
एकाएक कोरोनाको दोस्रो छालले फेरि टेकुलाई थिचेको छ । आईसीयूबाट बिरामीलाई हेरेर फर्किएकी थिइन्, आईसीयू इन्चार्ज नर्स उषादेवी देवकोटा । निराश हुँदै उनी भन्छिन्, ‘पहिलो चरणमा संक्रमितलाई फूलमाला खादा लगाएर घर पठाएका थियौँ, यो पटक त पठाउनै सकेका छैनौँ । अधिकांश सिरियस हुनुहुन्छ । लक्षण पनि कडा छ ।’

टेकुमा भर्ना भएका कोभिडका बिरामीमध्ये ५० प्रतिशत ५० वर्षमुनिका छन् । पहिलो छालमा ज्येष्ठ नागरिक र दीर्घरोगीले भरिएको अस्पताल दोस्रो छालमा आइपुग्दा युवा संक्रमितले भरिन थालेको छ ।
अस्पतालमा हाल ३२ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये सात जना भेन्टिलेटरमा, १६ जना आईसीयूमा, छ जना आइसोलेसनमा र तीन जनाको सामान्य रूपमा उपचार भइरहेको छ । ५० बेड रहेको टेकुमा संक्रमतिको संख्या यसरी नै बढ्दै गए केही दिनमै भरिने डा. राजभण्डारी बताउँछन् ।
यो पनि...
टेकुका चिकित्सक जसले परिवार बिर्सेर कोरोना आशंकित मात्रै हेरिरहे
‘धन्यवाद, डा.अनुप !’
टेकु अस्पतालमा डेढ घण्टा
डाक्टर-नर्सका व्यथा : परिवारको दबाब र जिम्मेवारीको तनाव
कोरोना फोकस टेकु
टेकु प्रयोगशालाको लोभलाग्दो मनोबल
टेकु अस्पतालमा खोपले ल्याएको खुसी
टेकु आईसीयूकी नर्स, जसले पुरस्कारकाे खुसी काेभिड बिरामीसँगै साटिन्
आशाका आधारशिला : महामारीमा टेकु अस्पतालले दिएको टेको
कोरोनाबाट थिलिँदै युवा, आईसीयूमा भर्ना हुनेको संख्या बढ्दो
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८ १७:४०