नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ वर्ष २०७७ मा सर्वाधिक चर्चा बटुल्ने खेलाडी बने । आफूसँगै नेपालको नाम पनि चम्काए ।
भारतको माथिल्लो श्रेणीको आई लिगमा राउन्डग्लास पञ्जाब एफसीबाट खेलेका किरणले आफूलाई अब्बल सावित गरे । १० खेलमध्ये ६ मा क्लिन सिट राखेका उनी तीन खेलमा म्यान अफ दि म्याच घोषित भए ।
लिगमा हाइएस्ट सेभ्स पनि उनकै नाममा रह्यो । पञ्जाब चौथो स्थानमा रहे पनि उत्कृष्ट गोलकिपरको गोल्डेन ग्लोभ्स अवार्ड उनले अर्काको हात पर्न दिएनन् ।
किरणकै कप्तानीमा यही चैतमा नेपालले बंगलादेशविरुद्ध २–१ को ऐतिहासिक जित निकाल्दै थ्री नेसन्स कपको उपाधि चुम्यो । तीन खेलमध्ये दुईमा किरणले क्लिन सिट राखेका थिए । घरेलु मैदानमा ३७ वर्षपछि फुटबलको अन्तर्राष्ट्रिय उपाधि दिलाएकाले किरणको नेतृत्व कौशल र अब्बल प्रदर्शनको खुबै प्रशंसा भयो ।
सन् १९८४ मा दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)मा स्वर्ण पदक जितेयता राष्ट्रिय टोलीले दशरथ रंगशालामा हात पारेको त्यो पहिलो उपाधि थियो ।
चैतको अन्तिम साता एसियाली फुटबल महासंघ (एएफसी)ले किरणलाई उत्कृष्ट गोलकिपर घोषित गर्यो । एएफसीको वेबसाइटमा गरिएको भोटिङमा १० खेलाडीलाई उछिन्दै सर्वाधिक ५५ दशमलव ६९ प्रतिशत मत ल्याए, किरणले ।
यससँगै एएफसी इन्टरनेसनल प्लेयर अफ द विक उपाधि जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि किरणकै नाममा रह्यो । अहिलेसम्म ६९ खेल खेलेका किरण सन् २००८ मा भियतनाममा मकाउविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७ १०:५७