म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङको जोडिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको आयोजनाको २ हजार २७० दशमलव ५ मिटर सुरुङ जोडिएको हो ।
सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणमा बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट १ हजार ३ सय ४४ दशमलव पाँच मिटर सुरुङ खनेको आयोजनाका इन्जिनियर दिवाकर खड्काले जानकारी दिए । बाँध, विद्युत् गृह बनाउने, पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
नारच्याङको बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत् गृह निर्माण अन्तिम चरणमा पुगेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको छ ।
पहाडभित्र ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको २ वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको हो । आउटलेटदेखि बाँधसम्म १ हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान कार्य ८० प्रतिशत सकिएको छ ।
आयोजनाले नारच्याङ वेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण गरेको छ । ५ अर्ब ६४ करोड रूपैयाँको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६ १८:१९