केही वर्षअघि । पोखराको लेकसाइडमा बसेको थिएँ । महिना दिन जति । फिल्मको स्क्रिन–प्ले लेख्न । होटल स्नोल्यान्डमा ।
एक साँझ घुम्दै फिर्दै ‘मण्डला’ किताबखाना पुगेँ । बुक–सर्फिङ गर्दै जाँदा एउटा आकर्षक शीर्षक भएको किताबमा मेरो नजर पर्यो । उक्त किताब –SEX AT DAWN– लाई ओल्टाइपोल्टाइ हेरेँ ।
ढेबा बोकेको थिइनँ । अर्काे दिन किनूँला भनी पसलबाट निस्केँ । तर, भोलिपल्टको साँझ जाँदा किताब त अरु कसैले किनेर लगिसकेको रहेछ ।
केही महिनाअघि मलाई त्यो किताबको हठात् याद आयो । भूपेन्द्र खड्कालाई त्यो किताब कुनै पनि हालतमा मलाई उपलब्ध गराइदिनू भनी जंगी आग्रह गरेँ । ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो’ जस्तो गीत रच्ने गीतकारले त्यो किताब काठमान्डुका सम्पूर्ण पुस्तक पसलहरूमा छापा मार्दा पनि भेटेनन् ।
‘किताब यात्रा’ का ऋषि अधिकारी ‘किताब–जात्रा’ को आयोजना गर्दै रहेछन् । सतहत्तर सालको काठमान्डु लिट्रेचर फेस्टिभल । यस पटक टेलिभिजनमा । ती मनुवा एक दिन मलाई भेट्न मंगलबजारको कफी–घाटमा आए । कालो झ्यापुल्ले दाह्री सुम्सुम्याउँदै तिनले नियोजित आग्रह गर्दै भने, 'कुमार दाइ, यो वर्ष फेस्टिभलको एउटा सेसनमा त जसरी भए पनि बस्नुपर्यो ।'
'किन बस्ने ? बस्दिनँ ।' मैले ठाडै भनेँ ।
सिगरेट सल्काउँदै, धुँवा उडाउँदै मैले आफ्नो कुरा जारी राखें, 'यस्ता फेस्टिभलहरूबाट मैले संन्यास लिइसकेको कुरा तपाईंलाई थाहा छैन ?'
ऋषि क्षणभर विलखबन्दमा परे । अक्क–न–बक्क पर्दै मलाई क्वारक्वार्ती हेर्न थाले । मबाट शायद तिनले त्यस्तो ‘संन्यासी वाणी’ को अपेक्षा गरेका थिएनन् ।
‘धत्तेरिका’ भन्दै ऋषिले पनि सिगरेट सल्काए र धुँवा उडाउँदै भने,' साहित्यको साधुले मजस्तो ऋषि–मुनिसित संन्यासको कुरा गरेको सुहाएन । यस्तो पनि कतै हुन्छ ? फेस्टिभलमा बरु तपाईंको एउटा सोलो पर्फमेन्स राखौँला । प्लिज हुन्छ भन्नुस् ।'
हुन्छ त मैले के खाएर भन्थेँ र नाइँ !
उसले नन–स्टप–ढिपी गरिरह्यो । अन्ततः ढिपी–मुक्त हुन मैले एउटा उपाय लगाएँ । ऋषिसित मैले भनेँ, 'SEX AT DAWN नामक किताब ल्याइदिनुस् । त्यसपछि तपाईंले भनेको मानूँला !'
म पूर्ण विश्वस्त थिए, भूपेन्द्र खड्काले कतै नभेटेको किताब बजियाले के भेट्थ्यो ! ऋषि पाखा लाग्यो । यसरी म ऋषिको आग्रहबाट मुक्त भएँ । झमेलाबाट जोगिएँ ।
यसैबीच भूपेन्द्र खड्का तीर्थ गुरुङको नयाँ कथासङ्ग्रह ‘आपा क्हार्प’ को विमोचनहेतु पोखरा गए । उनलाई मैले एसएमएस सन्देश पठाएँः लेकसाइडको ‘मण्डला’मा एक पटक ट्राई मार्नू । SEX AT DAWN पसलको अन्डरग्राउन्ड गोदाममा भेटिइन सक्छ ।
भूपेन्द्र र पसलका कर्मचारीहरूले गोदाममा SEX AT DAWN को धुइँपत्ताल खोजी गरेछन् । थ्याङ्क गड ! एक प्रति भेटेछन् ।
अन्ततः एक दिन त्यो किताब प्लेन चढी सकुशल काठमान्डु आइपुग्यो । यसरी त्यो किताबको प्रतीक्षा सकियो ।
किताब पाएको तेस्रो दिन मबाट पाखा लागेको ऋषि अधिकारी पुन: देखा पर्यो । तिनको हातमा SEX AT DAWN नै थियो । त्यो किताब मेरो हातमा थमाइदिँदै तिनले भने, 'कुमार दाइ, अब तपाईंले गर्नै सोलो पर्फर्मेन्सको कुनै गतिलो नाम जुराउनुस् । त्यसलाई म फेस्टिभलको क्लाइमेक्समा राख्छु ।'
लिट्रेचर फेस्टिभलहरूबाट संन्यास लिएको मेरो निर्णयको गोलखाडी खाने भयो । ऋषिलाई मैले भन्नुपर्यो,' मेरो प्रस्तुतिको नाम SHADOWS OF NAGARKOTI राख्नुस् । म के गर्छु थाहा छैन । तर, केही न केही जरुर गर्छु । ढुक्क हुनुस् ।'
SHADOWS OF NAGARKOTI नाम दिइएको त्यो प्रस्तुति यु–ट्युबमा कतै होला । तपाईंको मन भए त्यसलाई त्यहीँ हेर्नुहोला । मन नभए नहेर्नु होला ।
यसरी SEX AT DAWN मसम्म आइपुगेको थियो । एउटा मात्र होइन, दुइटा ! एउटा पोखराबाट अर्काे दिल्लीबाट । एउटा राष्ट्रिय विमानमार्फत आएको थियो । अर्काे अन्तर्राष्ट्रिय विमान चढी आइपुगेको थियो ।

गाब्रियल गार्सिया मार्खेजलाई हामीले मूलतः ONE HUNDRED YEARS OF SOLITUDE अनि नोबल प्राइजका कारण सम्झन्छौँ ।
मार्खेज पनि त्यस्तै सोच्दा हुन् । कम्तीमा मलाई त्यस्तै लाग्थ्यो ।
तर होइन रहेछ । हालसालै मैले उनको THE SCANDAL OF THE CENTURY नामक किताब किनेँ । यो किताब उनको छापा लेखनहरूको संकलन हो । नेपालका पत्रकार, सम्पादक, संवाददाताहरूका निम्ति निकै उपयोगी होला ।
किताबको इन्ट्रोमा मार्खेज बुढाले यसो भनेका छन्:
– I don't want to be remembered for ONE HUNDRED YEARS OF SOLITUDE or for the Nobel Prize but rather for my journalism.

जर्नालिज्म कति सिरियस बिजनेस रहेछ भन्ने कुरा मार्खेज बुढाको यो कथनले भन्छ । यो कथनमा ज्यान र वजन पनि छ किनभने यसलाई उनले आफ्नो जीवनको अन्तिम कालतिर भनेका हुन् ।
यो स्टेटमेन्टले चाहिँ मलाई निराश बनायो । मजस्ता विश्वभरका साहित्य अनुरागीहरू मार्खेजलाई साहित्यकार ठान्थ्यौँ । तिनी आफू स्वयम्लाई भने फगत जर्नालिस्ट पो ठान्दा रहेछन् । असत्ती–पातकी बुढा !
०००
डेभिड फिन्चरद्वारा निर्देशित साइकोलजिकल थ्रिलर –Fight Club– नामक फिल्म तपाईंले अवश्य पनि हेर्नुभएको होला । कति सरप्राइजिङ्ग र माइन्ड ट्विस्टिङ छ, हगि ! तर त्यही नामको उपन्यासचाहिँ तपाईंले जरुर पढ्नु भा’छैन होला । कि–कसो ?
धन्दा नमान्नुस् । मैले पनि पढ्या छैन ।
Fight Club उपन्यासका लेखक चक पालनिक हुन्, जो आफ्ना उपन्यासहरूलाई Transgressional Fiction भन्न रुचाउँछु । यी अम्रिकाने लेखक नेपालमा उतिसारो चर्चित छैनन् । किनभने चर्चित हुनका लागि पुष्पकमल दाहाल या खड्गप्रसाद ओलीले चर्चा गरिदिनुपर्यो । होइन भने यो मुलुकमा चर्चित हुनका लागि त्यो लेखक मार्क्स, गोर्की, लु सुन हुनुपर्यो, कि त दोस्तोयब्स्की कामु या काफ्का !
खैर, जे होस, चक पालनिककै कुरा गरौँ । यी लेखकको ADJUSTMENT DAY नामक उपन्यास मेरो गुफामा छ । गुफामा आउने प्रायःलाई मैले यो किताब देखाएकै हुन्छ । यसलाई मैले नयाँ दिल्लीको कनाट प्लेसमा खरिद गरेको थिएँ । २७ नोभेम्बर २०१८ मा ।

कहिलेकाहीँ किताबहरू म तिनका सेक्सी लुक्स र आकर्षक कभर डिजाइनका निम्ति किन्ने गर्छु । तिनको कला र सौन्दर्यमा मुग्ध हुन्छु । ADJUSTMENT DAY त्यस्तै हो । सुन्दर स्त्रीको मुहारजस्तै हो ।
सुन्दर स्त्रीका आकर्षक मुहार देख्दा मन मुग्ध भइजान्छ । मन्त्रमुग्ध हुन मन लागिहाल्छ । यस्तोमा कसैले ‘मुहार हैन आत्मा हेर’ भन्छ भने त्यो तार्पे–ठीक बजियाको खौपडी रिभोल्भरले उडाइदिने इच्छा भइजान्छ । आत्मा फुर्सदमा हेर्दै गरौँला, पहिले त मुहारकै दर्शन गर्न मन लाग्छ ।
यो किताब मलाई किञ्चित् पढ्नु छैन । किताबको आत्माभित्र प्रवेश गर्नु छैन । डेभिड फिन्चरले यो किताब माथि पनि फिल्म बनाएको खण्डमा त्यसलाई हेर्न भने जरुर सकिन्छ ।
०००
प्रिय सम्बोधन !
२०७७ सालको कोरोना–काल हाम्रो जीवनमा काल बनेर आयो । त्यसो त यो कालले हामी कतिपयलाई काल–चिन्तन गर्ने अवसर पनि प्रदान गर्यो । यो कालले हामीलाई कालजयी फुर्सद दिलायो ।
फुर्सदमा मनुष्यले आत्म–हत्या गर्छ या आत्म–चिन्तन ।
चैत वर्षको अन्तिम महिना । हाम्रो चैते दिनहरू सुरु भइसकेका छन् । देशका मौजुदा चैते राजनीतिक पार्टीका निर्लज्जता एवम् अश्लील विसंगतिउपर लेख्नु/बोल्नु स्वयम्मा एक लज्जास्पद कर्म हो । कोभिड–१९ भन्दा खतरनाक महामारी यो देशको राजनीति हो, जसका संरक्षक एक सञ्चालकहरू हिन्दी फिल्मका सि–ग्रेड स्तरका ग्याङस्टर्सजस्ता लाग्छन् ।
पोलिटिकल ग्याङ्स्टर्स !
Well, let's brush aside these POLITICAL GANGSTERS and talk about something beautiful. Something worth contemplative. Let's talk about books.


प्रिय सम्बोधन !
यो वर्ष म झैँ तपाईंले पनि अरु वर्षहरूको तुलनामा अलि बढी नै किताबहरू पढ्नुभयो होला । केहीलाई दोहोर्याएर पनि पढ्नुभयो होला । पढ्छु भन्दाभन्दै घरको एक कुनामा वर्षौंदेखि यसै थन्किएर बसेका अभागी किताबहरूलाई मायाले सुम्सुम्याउनुभयो होला । धुलो जमेका तिनका मुहारहरूलाई त्यसैगरी पुछिदिनुभयो होला, जसरी कुनै दिन प्रेमी–प्रेयसीका आँसु पुछिदिनुभएको थियो ।
२०७७ सालमा मैले पढेका मध्ये यहाँ २५ किताबहरूको चर्चा–उल्लेख गरिएको छ । उल्लेख गरिएका किताबहरू तपाईंका निम्ति पनि उल्लेखनीय हुनुपर्छ भन्ने केही छैन । किनभने तपाईंको आफ्नो स्वाद होला । मेरो आफ्नो स्वाद होला ।
हाम्रा आ–आफ्नै स्वाद भए पनि, मलाई के लाग्छ भने, किताब हिजो स्वादिलो थियो, आज स्वादिलो छ र भोलि पनि स्वादिलो रहिरहला ।
आउनुस्, अब ‘स्वादिला २५ किताब’ बारे स्वाद–स्वादका स्वादिला चर्चा गरौँ ।
०००
१) TENTH OF DECEMBER
जर्ज सान्डर्सको उपन्यास –Lincoln in the Bardo– मैले खुब मन पराएको हुँ, जसले सन् २०१७ को म्यान बुकर प्राइज जितेको थियो ।
यो उपन्यास भर्खरै काठमान्डुमा आएको बखतको कुरा हो । उपन्यासको शैली र पारा देखेर ‘एजुकेसनल बुक हाउस’का रमण ब्रो’लाई हाम्रा बुद्धिसागरले यसो भनेका रहेछन्: 'नगरकोटी स्टाइलको उपन्यास रहेछ । किताबले बुकर प्राइज पाउला जस्तो छ ।'
बुद्धिसागरको भविष्यवाणी मिलेको देखेर म जिल परें ।

जर्ज सान्डर्सले कथाहरूचाहिँ कस्ता शैलीका लेख्दा रहेछन् भनी मैले उनको कथासङ्ग्रह खोजेँ, ठमेलको ‘पिलग्रिम्स बुक हाउस’मा एउटा भेटियो । त्यसलाई किनेर घर भित्र्याएँ । तर, किताबको शीर्षक –TENTH OF DECEMBER– मलाई कुनै पनि हालतमा जचेजस्तो लागेन । 17 अंक हुँदा हुँदै काँ 10 डिसेम्बर ! सुहाउँदै सुहाएन ।
मेरो पालो शीर्षकको TENTH लाई पहेँलो रङको टाइपाग्राफिक मार्कर पेनले काटिदिएँ । त्यसैको माथि SEVENTEENTH लेखिदिएँ । किताबको आफ्नै शीर्षक राखिदिएँः SEVENTEENTH OF DECEMBER !
बल्ल स्वाद पर्यो । ‘सेभेन्टिन्थ अफ् डिसेम्बर’ अब स्वादिलो भयो ।
२) POST OFFICE

The Subtle Art of not Giving a F*ck नामक सन् २०१६ को नम्बर वान इन्टर्नेसनल बेस्ट सेलरमा त्यसका लेखक मार्क म्यासनले किताबको सुरुमै चार्ल्स बुकोव्स्कीको प्रसङ्ग कोट्याउँदै यस्तो लेखका छन्:
Charles Bukowski was an alcoholic, a womanizer, a chronic gambler, a lout, a cheapskate, a deadbeat, and on his worst days, a poet. He's probably the last person on earth you would ever look to for life advice.
Thirty years went by, most of it a meaningless blur of alcohol, drugs, gambling, and prostitutes.
Then, when Bukowski was fifty, after a lifetime of failure and self-loathing, an editor at a small independent publishing house took a strange interest in him.
त्यही सम्पादकले हौस्याएपछि चार्ल्स बुकोव्स्कीले तीन हप्ताभित्रै आफ्नो जीवनको पहिलो उपन्यास लेख्योः POST OFFICE । पचास वर्षको उमेरमा । समर्पणमा उसले लेख्यो: Dedicated to nobody !
चार्ल्स बुकोव्स्की मलाई ‘साहित्यका अनैतिक–अधर्मी–अवैध सन्तान’ लाग्छ । त्यसैले म उसलाई मन पराउँछु । POST OFFICE उसको बायोग्राफिकल उपन्यास हो, जसलाई उसले पचास वर्षको उमेरमा लेखेको थियो ।
पचास वर्षसम्म यो मान्छे के गरिरहेको थियो ? मार्क म्यासनले माथि भनिसकेका छन् । तर, यो मान्छे थियो चाहिँ कहाँ ? यसको जवाफ म दिन्छु । यो मान्छे नर्कमा थियो । POST OFFICE त्यही नर्कको कथा हो ।
३) MAXIMUM CITY: BOMBAY LOST & FOUND

यो किताब एउटा स्वप्निल शहरको जीवनी हो । मुम्बइको अनसेन्सर्ड बायोग्राफी । पोलिटिसियन्स र प्रोस्टिच्युट्स, ग्याङस्टर्स र फिल्मस्टार्स बायोग्राफीका लार्जर–देन–लाइफ पात्रहरू हुन्, जो एकार्काको जीवनमा अवैध रूपमा पसेका छन् र उम्कनै नसक्ने गरी फसेका छन् ।
प्रत्येक पानामा एउटा सनसनी छ । एउटा थ्रिल ।
मेरो चेक–लिस्टमा दुई भारतीयन मेहताज थिए, जसलाई म मन पराउँछु । एउटा मेहता थिए Lucknow Boy र Debonair र Outlook का विनोद मेहता अर्काे मेहता थिइन् Water र Fire र Earth नामक फिल्म ट्रिलोजीकी दीपा मेहता । यसमा थपिन आइपुगे MAXIMUM CITY का सुकेतु मेहता ।
यो किताबमा सुकेतु मेहताले माइन्युट डिटेलिङमार्फत शब्द, वाक्य र अनुच्छेदहरूको डोरीले तपाईंलाई यसरी बाँधेर राख्छन्, जसबाट उम्कनु असम्भव प्रायः भइजान्छ ।
Slumdog Millionaire का ड्यानी बोयलले यो किताबमाथि फिल्म बनाउने कुरा छ । Gangs of Wasseypur का अनुराग कश्यपले पनि यही किताब माथि फिल्म बनाउने कुरा छ । ड्यानी बोयलमाथि मलाई विश्वास छैन । उसको फिल्मले चाहे ओस्कर नै किन नपाएको होस्, मलाई ऊमाथि भरोसा छैन ।
यो किताबमा फिल्म बनाउने उपयुक्त पात्र चैँ अनुराग कश्यप नै हुन् । हेरौँ के हुन्छ ।
निचोडमा भन्नुपर्दा MAXIMUM CITY एक नशालु किताब हो । किताब होइन, लागुपदार्थ नै हो । तपाईं लागुपदार्थको दुर्व्यसनी होइन, मलाई थाहा छ । तर यो ‘लागुपदार्थ’ चाख्न म तपाईंलाई हाकाहाकी अनुरोध गर्छु ।
४) THE BOOK OF MIRDAD
प्रिय पाञ्चाली !
तिमीले मेरो लहैलहैमा फ्रेडरिक नित्सेको Thus Spake Zarathustra किन्यौ र पढ्यौ । खलिल जिव्रानको The Prophet किन्यौ र पढ्यौ । निकोस कजान्जाकिसको Zorba the Greek किन्यौ र पढ्यौ ।
अब बेला भएको छ मिखामल नाइमीको THE BOOK OF MIRDAD किन्ने र पढ्ने त्यसका लागि यसो गर्ने । मैले भनेको मान्ने ।
जुन दिन तिम्रो मन ब्याकुल हुन्छ, त्यो दिनको ठीक १२ बजेर १३ मिनेट जाँदा कान्तिपथको ‘एजुकेसनल बुक हाउस'मा छिर्ने । त्यहाँ रमण नाम गरेका किताबको सेल्सम्यानलाई भेट्ने । र,ऊसित THE BOOK OF MIRDAD का पाँच प्रति किन्ने ।

रमणले निःसन्देह सोध्नेछ, 'पाँच प्रति कसका लागि ?' त्यसको जवाफमा तिमीले भन्ने, 'पाँच प्रति मेरा पाँच पतिका लागि ।'
पाँच पति को–को हुन् भनी रमणले सोधेमा तिनका नाम पनि हाँसीखुसी भन्नेः सहदेव गौचन, नकुल परियार, अर्जुन पण्डित, भीम महर्जन, युधिष्ठिर सिंह थारू ।
प्रिय पाञ्चाली, तिम्रा पाँच पति अचेल कहाँ छन्, तिमीलाई थाहा छैन । तिनीहरू कुनै दिन फर्की आउने छन् । THE BOOK OF MIRDAD पढ्नेछन् । त्यतिञ्जेलका निम्ति किताबका पाँच प्रति तिमीले घरका निम्न पाँच स्थानमा राख्ने:
* शयन–कक्ष
* शौच–कक्ष
* प्रार्थना–कक्ष
* भोजन–कक्ष
* शृंगार–कक्ष
घरमा बस्दा तिमी यिनै पाँच–कक्षहरूमा हुने–रहने गर्छ्यौ । जहाँ तिम्रा पाँचपति हुने–रहने गर्थे । ती पाँच कक्षमा अब पाँच पतिको सट्टा किताबका पाँच प्रति राख्ने । तिमी जुन कक्षमा रहे–भए पनि THE BOOK OF MIRDAD तिम्रो आँखा सामुन्ने भइरहोस् । तिम्रो नजरबाट ओझेल नहोस् ।
तिम्रो मनमा लोग्नेहरू बस्थे, अब किताब बसोस् ।
५) नेपाली लोककथा

'कुनै देशबारे जान्न–बुझ्न मन लागे सर्वप्रथम म ती देशका लोककथाहरू पढ्न रुचाउँछु । लोककथा ती देशलाई चिहाउने सुन्दर आँखीझ्याल हुन् । लोककथा देशको देहमा खोपिएका कलात्मक ट्याटु हुन् । आज आफ्नै देशको लोककथाहरूको सँगालो पाएर म मखलेल–ओ–मखलेल भइगएको छु । लोककथा वास्तवमा देशको आत्मकथा हो ।'
यो मेरो फेसबुक–स्टाटस हो, जसलाई मैले २० फेब्रुअरी २०२१ मा पोस्ट गरेको थिएँ । मेरो भनाइ अहिले पनि त्यही हो । त्यस बेला यो किताब ‘पाएर’ मखलेल भएको थिएँ, यस बेला ‘पढेर’ और भी मखलेल–ओ–मखलेल हो गया हुँ ।
यो किताब म जन्मेको अर्काे साल २०३२ मा छापिएको रहेछ । पैँतालीस वर्षपछि यो पुन: छापिएको छ । तुलसी दिवस र बुक–हिल धन्यवादका पात्र भएका छन् ।
आउनुस्, हामी सबै मिली कवि तुलसी दिवसलाई तहे दिन से शुक्रिया अदा गरौँ, जसले बडो मिहिनेतका साथ नेपालका लोकथाहरूको ‘वैज्ञानिक ढङ्गले अध्ययन, सङ्कलन, वर्गीकरण र सम्पादन’ गर्नुभएको छ ।
तुलसी दिवसलाई मुरीमुरी बधाई । हाम्रा प्यारा ब्याचलर बुढाले दामी किताब निकालेका छन् ।
६) THE TEN TYPES OF HUMAN

हालसालै बजारमा देखा परेको THE TEN TYPES OF HUMAN को प्रशंसामा लेखिएका निम्न ब्लर्बहरू पढिलिनुस्ः
* An extraordinary portrait of our species: Zoe Williams
* Uplifting and indispensable: Howard Cunnel
* A game changer: Julia Hobsbawm
लेखिका एवम् पब्लिक स्पिकर जुलियाकै अर्काे भनाई किताबको सेतो कभरमै पनि उल्लेख गरिएको छ, यसरीः Think Sapiens and triple it.
त्यसो त ‘ब्लर्ब’ पढेर किताब किन्ने प्राणी म कदापि होइन, तर जुलियाको कुरा मलाई किन–किन मन परिहाल्यो । युवाल नोह हरारीको ‘सेपियन्स’ भन्दा यो किताब तीन गुना रोचक रे ! आकर्षक रे !
अब म परेँ हरारीको Sapiens मात्र होइन, Homo Deus र 21 Lessons for the 21st Century पनि पढेर मन पराएको मान्छे । अब जुलियाले मेन्टल ब्ल्याकमेल गरेपछि डेक्स्टर डायसको THE TEN TYPES OF HUMAN पढ्नुपर्ने भयो ।
किताबको ओपनिङ च्याप्टरद्वारा नै वशीभूत भइहालेँ । कहिलेकाँही मलाई लाग्छ, कतिपय लेखकहरूले हिप्नोटिज्म’ को विधा जानेका हुन्छन् । तिनले पाठकहरूलाई वशीकरणमा पारिहाल्छन् । यो किताबको लेखक मलाई हिप्नोटिस्ट झैँ लाग्यो ।
पढ्दै जाँदा किताबको एक ठाउँमा डेक्स्टर महाशयले एउटा विचित्र प्रकारको रोगको चर्चा गरेका छन्, जसको नाम हो hemispatial neglect जसलाई तपाईं बोलीचालीको भाषामा visual neglect भन्न सक्नुहुन्छ ।
यो दृश्य–दृष्टिसित सम्बन्धित एक अद्भुत रोग रहेछ ।
त्यस्तो रोगद्वारा ग्रस्त रोगीले संसारलाई पचास प्रतिशत मात्र देख्न सक्दो रहेछ । भित्ते–घडीमा उसले १ देखि ६ बजेतिरको भाग मात्र देख्दो रहेछ । बाँकी भाग मरु । पिज्जा या नेवाः बारा खाँदा एकापट्टिको भाग मात्र खाँदो रहेछ किनभने उसले अर्काे भाग नै नदेख्दो रहेछ ।
भिजुअल नेग्लेक्टवाला लोग्नेमान्छेले दाह्री–जुँगा काट्दा एक पाखा मात्र काट्दो रहेछ । स्वास्नीमान्छेले ओठमा लिपस्टिक लगाउँदा एक भागमा मात्रै लगाउँदी रहिछे । इजन्ट इट सो इन्ट्रेस्टिङ !
७) AN ARTIST OF THE FLOATING WORLD
केही किताब यस्ता हुन्छन्, जसलाई तपाईं नामका कारण किन्नुहुन्छ । जस्तो कि The Irishman फिल्म त यस्तै–उस्तै हो, तर त्यो फिल्म बनाउन मार्टिन स्कोर्सिजले जुन किताबलाई आफ्नो स्रोत–सामग्री बनाए, त्यो किताबको नामचाहिँ बडो गज्जबको छः I Heard You Paint Houses !
AN ARTIST OF THE FLOATING WORLD पनि त्यस्तै भयो । सुन्दर नामका कारण मैले यो किताब किनेँ । र, मानसिक समस्यामा फसेँ । कारण के त भन्दा मैले किताब किनेकै वर्ष काजुओ इसिगुरोले नोबल प्राइज पाए ।
हारुकी मुराकामी हुँदाहुँदै काजुओ इसिगुरोले नोबल प्राइज पाउने ? मेरो दिमाग चकराई गयो । यो त हदै भयो । मलाई इसिगुरो मात्र होइन, नोबल कमिटीसित पनि भयङकर झोँक चलेर आयो । त्यो संस्थाले संसारभरिका मुराकामी–अनुरागीहरूलाई सरे आम–खुल्लमखुल्ला–गिल्ला गरेझैँ लाग्यो ।
म कतिसम्म पूर्वाग्रही भएँ भने इसिगुरोलाई बुक–शेल्फबाटै मिल्काइदिन मन लाग्यो, तर जब किताबको नाम –An artist of the floating world– देख्थेँ, मिल्काउन सक्दिनथेँ ।

पोखरामा गनेस–पैताला–पौडेलको घरमा लकडाउनको बेला डेढ महिना रहँदा–बस्दा एक दिन उसले यही किताब मलाई दिँदै भन्यो, 'त्यति साह्रो झोँक चल्नु, पूर्वाग्रही हुनु तपाईंजस्तो साधु टाइपको मान्छेलाई सुहाउँदैन दाइ । उपन्यास पढ्नुस् । राम्रो छ ।'
उपन्यास आधाउधी पढें । अघि बढ्नै सकिनँ । थन्काइदिएँ । पेज फोल्ड्याएर थन्काइदिएको त्यो इसिगुरो–उपन्यास गनेसको बुकर्याकमा अझै होला ।
केही समयअघि आफ्ना पाठकहरूका निम्ति हारुकी मुराकामीका अन्तर्वार्ताहरू ट्रान्सलेट गर्न मन लागेर ल्यायो । केही अन्तर्वार्ताहरू जम्मा गरे । एउटा अन्तर्वार्ता –The New Yorker– मा भेटेँ, जो १० फेबुअरी २०१९ मा छापिएको रहेछ । त्यसमा मुराकामीले इसिगुरोमाथि यस्तो बोलेका रहेछन्:
– I love the work of Kazuo Ishiguro. He's a friend of mine. And every time he publishes a new book, it is so different from the previous one.
मुराकामीले नै ‘इसिगुरो मेरो साथी हो’ भनेपछि बाँकी के नै पो रह्यो र ! अब कुरै खल्लास ! साथीको साथी मेरो पनि साथी ।
त्यसपछि इसिगुरोलाई हेर्ने मेरो दृष्टिकोण बदलियो । त्यसको राम्रो परिणाम के भइदियो भन्ने मैले अधुरै छाडेको AN ARTIST OF THE FLOATING WORLD पूरै पढें । उपन्यास पोखराको जोगीले भनेझै राम्रो रहेछ तर मलाई मन चाहिँ अझै पनि परेन ।
राम्रो हुनु अलग कुरा हो । राम्रो कुरा मन नपर्नु अलग कुरा ।
मलाई त इसिगुरोको यो किताब भन्दायसको नाम AN ARTIST OF THE FLOATING WORLD नै बढी मन पर्छ । किनभने यो किताब मैले नामकै कारण किनेको थिएँ ।
८) AND THEN ONE DAY
नसीरुद्धिन शाहको पहिलो प्रेम नाटक हो । र, मलाई लाग्छः अन्तिम पनि नाटक नै हो । फिल्मका पर्दाहरूमा त यी अभिनेता छुट्टी मनाउन आएका हुन् । हामीले छुट्टी मनाउन आएका’ नसीर सा’बलाई पर्दामा नै देख्यौ । मन परायौँ । प्रेम गर्यौँ ।
AND THEN ONE DAY पढिञ्जेल तपाईंलाई लाग्न सक्छ, ज्युँदोजाग्दो नसीरुद्धिन शाहलाई मञ्चमा अभिनय गर्दै गरेको हेर्नु कति गौरवको कुरो हुँदा हो ।
काश हम वो अडिटोरियम मे होते, जहाँ की स्टेज मे अभिनय की ये फरिश्ता होते !

सन् १९८० तिरको कुरा हो । सर रिचर्ड एटनबोरोले गान्धी फिल्म बनाउने घोषणा भयो । भारतमा गान्धीको धुइँपत्ताल खोजी भयो । अन्ततः नसीरुद्धिन शाह गान्धीको रोलमा छानिए । उनको खुसीको सीमा रहेन । रिचर्डले उनलाई लन्डन बोलाएपछि उनी लन्डन गए । रोल कन्फर्म गर्न । अडिसन दिन ।
लन्डनमा उनले चाल पाए, ‘गान्धी’ को भूमिकामा अरु कलाकारहरूको पनि स्क्रिन–टेस्ट लिँइदै रहेछ । अब नसीर भाइको आत्मविश्वास हेर्नुस् । उनी शतप्रतिशत ढुक्क थिए, ‘म नै गान्धी हुँ ।’
यस्तैमा उनले एक दिन एउटा अपरिचित मान्छेलाई देखे । त्यो मान्छे गान्धीकै भेषमा, लय–तालमा बगैँचामा टहलिरहेको थियो । त्यो मान्छेलाई टाढैबाट देखेर नसीर जनाबको मनले भन्योः यो मान्छेबाहेक अरु कोही पनि माइ–का–लाल ‘गान्धी’ हुनै सक्दैन ।
भयो पनि त्यस्तै । किताबमा उनी भन्छन्: त्यो मान्छेको देह र आत्मामै गान्धी बसेको थियो ।
त्यो मान्छेको नाम थियोः बेन किङसले । जसले गान्धीको रोल गरे बापत ‘बेस्ट एक्टर इन लिडिङ रोल’ मा एकेडेमी अवार्ड जित्योे ।
यसरी मिस्टर शाहरले सर एटनबोरोको ‘गान्धी' बाट हात धुनुपर्यो । त्यसको सट्टा–भर्ना गर्नकै खाटिर पछि उनले कमल हासनको ‘हे राम’ मा गान्धीको भूमिकामा अभिनय गरे । उनले नाथुराम गोडसेको गोली त खाए नै, फिल्म समीक्षक र मजस्ता नसीर–प्रेमीहरूको पनि प्रशस्त गाली पनि भरमार खाए ।
९) THE MAGIC LAMP: DREAMS OF OUR AGE
समकालीन विश्व साहित्यमा मैले नछुटाई–नबिराई पढ्ने लेखक हुन् नाइजेरियाका कवि एवम् उपन्यासकार बेन ओकरी । यिनी छाँट–छाँटका कविता लेख्छन् । छाँट–छाँटका उपन्यास रच्छन् । यिनको आख्यानको ऐनामा म आफ्नो अनुहार पाउँछु ।
THE MAGIC LAMP एक म्याजिकल किताब हो ।

यो किताब पेन्टिङ र फिक्सनको सम्भोगबाट जन्मिएको कथा सङ्ग्रह हो । यसमा २५ कथाहरू छन्, २५ पेन्टिङहरू छन् । कथाहरू पानामा होइन, क्यानभासमा लेखिएका छन् । कथाकार बेन ओकरीलाई वाटर कलरमा साथ दिएकी छिन् चित्रकार रोजमेरी क्लुनीले ।
ओकरी र क्लुनीको स्वैरकाल्पनिक सम्भोग तपाईंलाई अद्भुत लाग्नेछ ।
कथाहरू लेख्न ओकरीलाई ५ वर्ष लाग्यो । ती कथाहरूको चित्र कोर्न चित्रकारालाई १० वर्ष लाग्यो । मलाई यो किताब पढ्न केवल साढे ३ घण्टा लाग्यो ।
'Life is a street corner' नामक कथाको ओपनिङ लाइन्स यहाँ राखेर बिदा हुन्छ, ल ! तीन–तीन सेन्टेन्सका दुई प्याराग्राफ उद्धृत गरेर कथाकार र चित्रकारालाई तपाईंको तजबीजमा छाडेर, क्षणभरका निम्ति, म अब परमधाम हुन्छु, है त !
A face is where roads meet. One road can not make a city. It takes many roads to make life a fiesta.
A face is where rivers meet. It is where times meet. Each person is a marketplace.
१०/११) मुसा मानुष/युगान्त

मलाई लाग्छ, यी दुई किताब नेपाली ‘अनुवाद’ साहित्यका अब्बल एवम् उत्कृष्ट उदाहरण हुन् । ‘मुसा मानुष’ जोन स्टेनबेकको Of Mice and Men को नेपाली अनुवाद हो र ‘युगान्त’ हो भारतीय मानवशास्त्री इरावती कर्वेको Yuganta: the End of an Epoch को नेपाली अनुवाद ।
यी दुई किताबको अनुवाद मलाई उत्कृष्टाब्बल लाग्नुको कारण हो, यिनमा भएको भाषाको सचेत प्रयोग । भाषा–प्रयोगका कारण पनि यिनलाई नेपाली‘लेखक’हरूले पढ्नु उचित होला । मैले जानीबुझी नै ‘पाठक’ नभनी‘लेखक’ भनेको हुँ । त्यस–उसले म त नम्बर एकमा पर्ने भइहाले । कारण तपाईंलाई थाहा छँदै छ ।
दुवै मूल किताब र अनुदित किताबमा भाषाको synchronization गज्जबको छ । यस्तो खालको s.y.n.c.h.r.o.n.i.z.a.t.i.o.n नेपाली अनुदित किताबमा बिरलै भेटिइन्छन् ।
Of Mice and Men को अमेरिकन स्ल्याङ र ‘मुसा मानुष’ को गण्डकी प्रदेशतिरको बोलीचालीको भाषा ! सुरताल कति मिलेको ! स्ट्यान्डर्ड नेपाली भाषामा उक्त उपन्यास अनुदित हुँदो हो त कति बेसुर–बेतालको हुँदो हो !
‘युगान्त’को भाषा हेर्ने हो भने त झन् यस्तो लाग्छ, भीष्म पितामह–शकुनी र गान्धारी–द्रौपदीले सुजित मैनालीले प्रयोग गरेको ‘शास्त्रीय नेपाली’ लवजमै कुराकानी गर्दा हुन । कस्तो पर्फेक्ट सिङक्रोनाइजेसन् ।
यी दुई किताबबारे ३१ अक्टोबर २०२० मा मैले फेसबेकको भित्तामा निम्न कुराहरू लेखीवरी पोस्ट गरेको थिएँ । शायद तपाईंको नजर त्यसमा नपरेको होला । त्यस्तो हो भने यहाँ पुनः पोस्ट गरेको छु, कृपया पढिदिनुहोलाः

Geo-linguistic–translation of these two books –मुसा मानुष / युगान्त – captivated me profoundly. They are free from the clichéd monotony of translations practiced in Nepal.
The translators' deliberate choice of distinct language, tone-tune and rhythm in terms of formatting and structuring their respective works is praiseworthy. I'm mesmerized by the beauty of colloquial (मुसा मानुष) and classical (युगान्त) Nepali language which are gracefully executed in the books. It was a rewarding experience. Hats off to monsieur Ganess –पैताला– Poudel and mister Sujit Mainali.
१२) SEX AT DAWN

किताबको टाइटलले नै तपाईंको मनलाई कुत्कुत्याइदिन सक्छ । SEX AT DAWN अर्थात झिसमिसेमा सम्भोग । मिर्मिरेमै यौनालाप । प्रातः कालीन् कायाकलाप कसो ?
कायाकलाप ?
यो शब्दबारे धरै सोचिरहनु पर्दैन जनाब–ओ–श्रीमान ! सम्भोगलाई सिम्प्लिी कायाकलाप भनेको हुँ । क्रियाकलापजस्तै कायाकलाप ।
यो किताब मनुष्य प्रजातिको कायाकलापीय व्यवहारबारे गरिएको, एक प्रकारको भन्ने हो भने, शोध हो । खोज हो । अनुसन्धान हो ।
मनुष्य स्वभावतः सम्भोगातुर प्राणी हो । सम्भोग हामी सबैलाई अत्यन्त मन पर्छ । तर, सम्भोगको बेला तपाईं भोक्ता हो या भोगी हो ? कहिल्यै सोच्नुभएको छ ? सोच्नुभएको छैन भने यो किताब पढ्नुस् । सोच्नुभएको छ भने पनि पढ्नुस् ।

मान्छेहरूलाई अचेल अक्सर म दुइटा ‘लाइन’ मा देख्ने/भेट्ने गर्छु । एउटा online मा, अर्काे pornline मा । तपाईं online मा हुनुहुन्छ कि pornline मा, आफैँ खुट्याउनुस् । आफ्नो ‘लाइन’ क्लियर पार्नुस् ।
Online मा भए त ठीकै छ, तपाईं यदि pornline हुनुहुन्छ भने यो किताब पढिलिनुस् । आफ्नो सम्भौगिक व्यवहार एवम् आचरण बारे जानिलिनुस् । तपाईंको आत्मा अझै पनि कामसुत्र र कोकशास्त्रमै भट्की रहेको छ भने SEX AT DAWN का पानाहरू छिचोल्नुस् ।
झिसमिसेमै sex गरिवरी SEX AT DAWN का पानाहरू छिचोले झन् राम्रो ! किनभने मिर्मिरेको सम्भोग काइदाको हुन्छ । प्रातःकालीन कायाकलाप फाइदाको हुन्छ ।
१३) THE INNOCENCE OF MEMORIES

सन् २००६ मा ओह्रान पामुकले नोबल प्राइज पाए । पुरस्कार ग्रहण समाहोरोहमा उनले आफ्नो सम्भाषणमा –My Father's Suitcase– नामक संस्मरण सुनाए । मैले ओह्रानलाई पढ्न थालेको त्यही संस्मरणबाट हो, जो उनको Other Colours नामक सुन्दर किताबमा संगृहीत छ । मलाई लाग्छ, त्यो संस्मरण संसारका कुनै पनि लेखक बन्न चाहने ड्रिमरले पढ्नुपर्छ ।
त्यो संस्मरण पछि मात्र मैले ओह्रानका Snow, My Name is Red, The Museum of Innocence जस्ता कृतिहरू पढेको हुँ । उनका अन्तर्वाताहरू अनुवाद गरेको हुँ ।
अब कुरा गरौँ INNOCENCE OF MEMORIES को ।
यदि तपाईंले ओह्रान पामुकको The Museum of Innocence पढ्नुभएको छ भने INNOCENCE OF MEMORIES तपाईंकै लागि डिजाइन गरी बनाइएको हो, जहाँ टर्किस लेखकले कला, प्रेम र स्मृतिबारे आत्मिक–चर्चा गरेका छन् ।
किताबको सबैभन्दा ठूलो आकर्षणचाहिँ ओह्रानले लेखेको स्क्रिन–प्ले हो ।
The Museum of Innocence लेख्दै गर्दा त्यसकै परिकल्पनामा पामुकले इस्तानबुलमा एउटा सङ्ग्रहालय बनाएका थिए, जहाँ उपन्यासका काल्पनिक पात्रहरूसित सम्वन्धित सामानहरू सङ्ग्रह गरी राखिएका छन् । त्यो म्युजियम अहिले साहित्यिक पर्यटनको विशेष स्थान भएको छ ।
मलाई लाग्छ त्यो एक दुर्लभ साहित्यिक परिघटना थियो ।
फिल्म मेकर ग्रान्ट लीलाई यही साहित्यिक परिघटनामाथि एउटा डकुमेन्ट्री–फिल्म बनाउन मन लागेर ल्यायो । तिनले ओह्रान पामुकलाई नै स्क्रिन–प्ले लेख्न अनुरोध गरे । The Innocence of Memories पनि तपाईं हेर्न सक्नुहुन्छ । किताबमा चाहिँ त्यसको स्क्रिन–प्ले पढ्न सक्नुहुन्छ । त्यसबाहेक गज्जबका छोटा–मीठा संस्मरण त भइहाले, जसलाई पढेर तपाईं तृप्त हुनुहुनेछ ।
यो किताब मेरो हातमा संयोगवश पर्न गएको हो ।
दुई वर्षअघिको कुरा हो । पाटन ढोकाको बुकशपमा किताब किन्न छिरेको थिएँ । पसलमा एउटा ग्राहकको हातमा मैले The Innocence of Memories देखेँ, जुन एक प्रति मात्र रहेछ ।
मैले निजलाई सोधें, 'यो किताब तपाईंले किनेको हो ?' उसले भन्यो, 'किन्न लागेको हो ।'
बुझी ल्याउँदा उसलाई कसैले ‘ओह्रान पामुकका किताबहरू पढ्नु’ भन्नेसल्लाह दिएको रहेछ । तसर्थ उसले पसलमा The Innocence of Memories को छनोट गरी किन्नै आँटेको रहेछ ।
ओह्रान पामुकका अरु किताबहरू पनि प्रशस्तै थिए पसलमा । किन त्यही किताब छानेको ? किनभने उसलाई किताबमा भएका पानै पिच्छेका रंगिन फोटाहरूले सम्भवतः लोभ्याएको हुनुपर्छ ।
मैले बुक–शेल्फबाट Other Colours निकालेर उसलाई लोभ्याउँदै भनेँ, 'यो किताब निकै दामी छ । ओहान पामुकलाई तपाईं यही किताबबाट पढ्न सुरु गर्नुस् । त्यो किताबचैँ मलाई किन्न दिनुस् ।
मैले उसलाई Other Colours दिएँ । उसले मलाई The Innocence of Memories दियो । यसरी यो किताब संयोगले मेरो हातमा आइपुग्यो र मेरो गुफाको स्थायी निवासी भइगयो ।
१४) रात पश्मीने की

किताबमा गुलजारका १६५ थान कविताहरू छन् । ठीकै छ, यसमा मलाई केही भन्नु छैन । यसबाहेक किताबमा कविताका त्रिवेणी छन्– तीन पङ्क्तिका कविता–६९ थान । यसमा चाहिँ मलाई केही भन्नु छ । के भन्नु छ भने त्रिवेणी–कविता ‘दामी’ छन् । पाँच उदाहरण मुनि छन्:
* हाथ मिलाकर देखा, और कुछ सोच के मेरा नाम लिया
जैसे ये सरवरक किसी नावल पर पहले देखा है
* रिश्ते कुछ बस बन्द किताबो मे ही अच्छे लगते है
कोई चादर की तरह खीचें चला जाता है दरिया
कौन सोया है तले यसके जिसे ढूड रहे है
डुब्ने वाले को भी चैन से सोने नही देते
* मै सब सामान लेकर आ गया इस पार सरहद के
मेरी गर्दन किसी ने कत्ल करके उस तरफ रख ली
उसे मुझ से बिछड जाना गवारा न हुवा शायद
* इतने अर्से बाद ‘हैंगर’ सो कोट निकाला
कितना लम्बा बाल मिला है ‘कालर’ पर
पिछले जाडो मे पहना हथा, याद आता है
* कोने वाली सीट पे अब दो और ही कोई बैठते है
पिछले चन्द महीनो से अब वो भी लडते रहते है
क्लर्क है दोनो, लगता है अब शादी करने वाले है ।
१५/१६) MEN WITHOUT WOMEN/ BIRTHDAY STORIES
हारुकी मुराकामीको किताब जब तपाईंको हातमा हुन्छ, तब तपाईं विशेष देखिइनु हुन्छ ।
Something like other wordly. That you're about to board a flight which takes you towards the different hemisphere of your sub-consciousness.
मुराकामीको किताब तपाईं स्वयम्को अवचेतन मनको डार्क एन्ड ग्रे ल्यान्डस्केपिक संसारमा पुर्याउने एउटा बोर्डिङ–पास हो ।
उल्लेखित दुवै किताब कथा–सङ्ग्रह हुन् । दुवै सङ्ग्रहका कथाहरू थिमेटिक छन् । पहिलो किताबको थिम ‘स्त्रीबिनाका पुरुष’ हुन् र दोस्रोको थिम हो: जन्मदिन ।

MEN WITHOUT WOMEN का पुरुषहरू एकलकाँटे छन्, अन्तर्मुखी छन्, साइकोसाइको टाइपका छन् । तिनीहरू एक्ला छन्, भीडमा छन्, उदास–उजाड छन्, एल्कोहोलिक छन् र छन् मेलाङकोलिक ।
तिनीहरूलाई स्त्रीको खाँचो छ । प्रेमिका–कलगर्लको खाँचो छ । पार्टनर–स्वास्नीको खाँचो छ ।
स्त्रीहरूसित प्रेम, आनन्द र सपनाहरूको साँचो छ । माचो पुरुषहरूलाई त्यही साँचोको खाँचो छ । तपाईंलाई चैँ केको खाँचो छ ?
गर्लफ्रेन्डको ? या सिम्प्ली सेक्स–पार्टनरको ?
मौजुदा गर्लफ्रेन्ड र सेक्स–पार्टनरसित तपाईंको खराब समय चलिरहेको छ भने MEN WITHOUT WOMEN किनेर पढ्न थालिहाल्नुस् । मन हल्का हुनेछ । तर, यो किताब पढिसक्नुभएको छ भने मुराकामीको BIRTHDAY STORIES पढ्नुस् ।

यो किताब जन्मदिनमा घट्नुपर्ने रोचक या अरोचक घटनाहरूको फेहरिस्त हो, जसमा विभिन्न लेखकका १४ प्लस १ कथा संगृहीत छन् ।
यो किताबको प्रसङ्गमा भन्नुपर्दा, मुराकामीले आफूलाई मन पर्ने जन्मदिनसित सम्बन्धित १४ कथाहरूलाई अंग्रेजीबाट जापानी भाषामा अनुवाद गरी आफ्ना पाठकहरूलाई उपहार चढाएका थिए । यसलाई जापानमा खुबै रुचाइयो ।
VINTAGE BOOKS ले पछि हामीजस्ता अन्तर्राष्ट्रिय पाठकहरूका खातिर यो किताब अंग्रेजीमा पनि निकाल्यो, जसको कभरमै लेखिएको छ: SELECTED AND INTRODUCED BY MURAKAMI !
१४ कथाहरू जापानी संस्करणमा थिए । अंग्रेजी संस्करणका निम्ति मुराकामीले पनि एउटा बर्थ–डे–स्टोरी लेखे, जसको शीर्षक रहेको छ: बर्थ–डे–गर्ल !

मुराकामीको बर्थ–डे–गर्ल छुट्टै स्वतन्त्र पुस्तिकामा समेत निस्केको छ । जो मसित हुने भइहाल्यो । तर, यदि तपाईं चाहनु हुन्छ भने, बयालिस पेजको यो पुस्तिका म तपाईंलाई उपहार दिनेछु । मुराकामीको ७०औँ जन्मदिन सेलिब्रेट गर्न ‘पेन्गुइन’ ले यो पुस्तिका छापेको थियो ।
उपहारमा बर्थ–डे–गर्ल दिन पाउँदा म खुसी नै हुनेछु ।
बर्थ–डे–गर्ललाई तपाईं शिलापत्रको कार्यालयबाट ‘उठाउन ’ सक्नुहुनेछ । कुनै सर्त लागू हुने छैन । NO CONDITIONS APPLY, YOU SEE ! आउनुस्, बर्थ–डे–गर्ल लिएर जानुस । साथमा मुराकानिकै BIRTHDAY STORIES पनि बोनसमा हुने नै छ । त्यसलाई पनि लानुस् र आफ्नै वर्थ–डे–स्टोरी लेख्नुस् । किनभने तपाईंसित पनि लेख्न लायकको आफ्नै खालको जन्मदिनको कथा जरुर होला । चियर्स ।
१७) तीन रोज इश्क

यो साल पढिएका किताबहरूमध्ये कुनै किताब ‘दिल के करिब ’ रह्यो त यही किताब रह्यो । यही किताब सबैभन्दा मनप्रिय रह्यो । त्यसैले यो किताब मेरो मन पर्ने अंक १७ मा पर्यो ।
यो किताबमा रहेका कथाहरूको शीर्षक नै कति मन–मोहित पार्ने खालका ! उदाहरणहरू पेस गरिएका छन् । कथा–शीर्षकहरूको भरपुर मजा लिनुस् ।
* दुआए बुनने वाला उदास जुलाहा
* रुखसतनामे पर तुम्हारे दस्तखत पेन्डिङ है
* आदमखोर इमारतों मे बन्द रुहो को आजाद कर दो
* तुम से सुकून से बात किए अरसा बीता
* मेरी उंगलियो मे तुम्हारा लम्स न सही, तुम्हारे बदन की खुश्बू तो है
* जिश्म का काला जादु
* कला हम सब मे मौजूद उस आदिम प्यासका टुटा हुआ हिस्सा है
* सिगरेट के डब्बे की उस वार्निङ की तरह: स्मोकिङ किल्स
* इश्क जब मुस्कुराता है तो उसके गालो के गहरे गढ्डे मे सब गिर जाते है
* उसके होठो को छुते ही नदी ओक भर प्यास मे विलीन हो गई
* खुश्बुओं का सौदागर
* बट टाइम माइ फ्रेन्ड, इज लिनीयर
* तुम मेरा दर्द हो की मारफीन ?
* फाल्टलाइन पर बसा शहर कि जिसे दिल कहते है
* उस लडकी मे दो नदियाँ रहती थी

कविताका पङ्क्तिजस्ता लाग्ने कथाका यस्ता शीर्षक रच्ने भारतीय नवलेखिका पूजा उपाध्यायले यो वर्ष मेरो मन अपहरण गरिन् । यी पङ्क्तिहरू लेख्ने बेलासम्म मेरो अपहृत मन उसैको ‘बन्दगी’ मा छ ।
सङ्ग्रहमा ४६ वटा सर्रियल एवम् स्वैरकाल्पनिक कथाहरू छन्, जसलाई मैले प्रत्येक दिन एउटा कथाको दरले ४६ दिनसम्म पढेँ ।
४७औँ दिनमा म यो किताब खोज्न शहर पसेँ । अर्काे एक प्रति किनेर कवि अविनाश श्रेष्ठलाई उपहार दिनु थियो । किन–किन आफूले पढेको प्रति दिन मन लागेन । ‘दिल के करिब’ रहेको – बसेको किताबलाई पराया हातमा कसरी सुम्पने ?
प्रेमिकालाई कसरी अन्माएर पठाउने ?
शहरका कुनै पनि किताब–पसलमा ‘तीन रोज इश्कः गुम होनी कहानिया’ पाइएन । किताब कहाँ ‘गुम’ भयो, थाहा–पत्तै लागेन । घर फर्कदा त्रिपुरेश्वरको पुष्प–पसल छिरेँ र दुइटा गुलाफ किनेँ । रातो र पहेँलो ।
अनि साँझपख एउटा सुन्दर काम गरेँ । गुलाफका पत्रहरूलाई ‘तीन रोज इश्क’ का पानाहरूमा बिच छरिदिएँ । यसरी किताबलाई सेलिब्रेट गरेँ ।
केही दिनअघि मात्रको कुरा हो । आत्मीय मित्र रोशन शेरचनलाई लिएर म पुन: शहरका किताब पसलहरू चहारेँ । यो किताब खोज्न । कहीँ–कतै फेला परेन । ठमेलको पिलग्रिम्स’ छिर्यौँ । बुक–शपका नवयुवकले मसित भने, 'तपाईंले खोजेको किताब न्यु दिल्लीबाट मगाइदिऊँला । बरु कति पिस मगाइदिऊँ ?'
मैले १० पिसको अर्डर गरेँ ।
सेल्सम्यानलाई आफ्नो फोन नम्बर टिपाएँ । र, भने, 'किताब आउनासाथ मलाई फोन गरिहाल्नुस् । पाँच पिस म तत्कालै लिइहाल्छु ।'
'अरु पिस चैँ कसले लान्छ ?', उनले भने ।
'यो शहरमा मजस्ता थुप्रै पागलहरू छन्', मैले भनेँ, 'तिनै पागलहरूले लान्छन् । धन्दा नमान्नुस् । तिनीहरू आएनन् भने म नै लान्छुु ।'
यस्तैमा रोशन शेरचनले पाँच पिस किताबको अग्रिम भुक्तानी गर्ने इच्छा गर्दै मसित भने, ‘तपाईंले त्यति विघ्न मन पराएको किताबको पैसा म अहिल्यै तिर्न चाहन्छु ।' मेरो जवाफै नकुरी उनले सेल्सम्यानसित भनेँ, ‘हिसाब गर्नुस् त भाइ, पाँच पिसको कति पर्न आउँछ ?'
सेल्सम्यानले भनेँ, ‘त्यसो गर्न मिल्दैन । जुन किताब स्टकमै छैन, त्यसको पैसा कसरी लिने ? किताब आउनासाथ म फोन गरिहाल्छु । किताबको हिसाब–किताब त्यति बेलै गरौँला ।'
‘पिलग्रिम्स’बाट फोन आएको छैन । पसलेका नवयुकले किताब अर्डर गरिसकेका छन् । ‘तीन रोज इश्क’ बाटोमै होला । काठमान्डु भित्रिँदै होला ।
प्रिय पूजा उपाध्याय !
‘तीन रोज इश्कः गुम होती कहानियाँ’ को कथा यस्तै भयो । आज त्यो किताब पल्टाएर हेरेँ । पानाहरूबीच छरिएका राता–पहेँला गुलाफका पत्रहरू देखेँ । फूलहरू अब त सुकिसकेछन् ।
तिमीलाई थाहा छँदै छ, पाकिस्तानका उर्दु कवि अहमद फराजले ‘बहुत खुबसुरत’ पङ्क्तिहरू हामीलाई छाडेर गएका थिए । तिमी ती पङ्क्तिहरू सम्झ र गुनगुनाऊ: अब के हम बिछडे तो शायद ख्वाबो मे मिले । जिस तरह सुखे हुए फूल किताबो मे मिले ।
प्रिया पूजा !
मलाई लाग्छ, अहमद फराजले यी पङ्क्तिहरू ‘तीन रोज इश्क’ कै निम्ति लेखेका हुन् । यही किताबका निम्ति रचेका हुन् ।
१८) THE WHITE BOOK
त्यसो त मेरो मनप्रिय रङ ब्ल्याक नै हो । ब्ल्याक वस्त्र लगाई ब्ल्याक कफी पिउँछु र मेटाफरमा बोल्छु: ब्ल्याक वस्त्र लगाई ब्ल्याक कफी पिउने मान्छेको मन ब्ल्याक हुन्छ । तसर्थ मेरो मन ब्ल्याक नै छ ।
यो वर्ष भने केही अनौठो भयो ।
सधैँ ब्ल्याकमा देखिइने मलाई यस पटक मान्छेहरूले ह्वाइट वस्त्रमा देखे । ह्वाइट वस्त्रमा शिलापत्रमा कविता वाचन गरेँ । ह्वाइट वस्त्रमा टेलिभिजनको पर्दामा Shadows of Nagarkoti नामक प्रस्तुति पेस गरेँ । नाटककार बालकृष्ण समको घरको पटाङ्गिनीमा बुके समातेर फोटो खिचाएँ ।

‘खर्पन’ नामक गीतको म्युजिक भिडियोमा निर्देशक भूपेन्द्र खड्का र छायाकार नितिन चन्दले मलाई फिल्मभरि पूर्णतः ब्ल्याक वस्त्रमा खिच्न चाहे । तर, मैले बलजफ्ती फिल्मको पच्चीस प्रतिशत मात्र भए पनि ह्वाइट वस्त्रमै शुट गरेँ ।
सबैले सबैतिर मलाई प्रश्न गरे, किन ह्वाइट ? किन ह्वाइट ? किन ह्वाइट ?' मैले कसैलाई जवाफ दिइनँ । किनभने जवाफ दिन म अभिशप्त थिइनँ ।

सबैले सोधेको ‘किन’ को जवाफ आज म तपाईं समक्ष पेस गर्छु । मैले ह्वाइट वस्त्र किन लगाएको थिएँ भने यो वर्ष मैले हान काङको THE WHITE BOOK पढेको थिएँ ।
कोरियन उपन्यासकारा हान काङको गहिरो छाप मभित्र परेको थियो । किताबको आत्माको रङ मेरो शरीरमा सरेको थियो ।
बाई द वे, म विशुद्ध मांसाहारी पशु हुँ । अ रजिस्टर्ड नन्–भेजिटेरियन वाइल्ड एनिमल ! हान काङको मास्टरपिस The Vegetarian पढ्दा हजार प्रयासका बाबजुद भेजिटेरियन बन्न सकिएन । माँस–भक्षणको कुलत कसैगरी त्याग्न सकिएन ।
THE WHITE BOOK पढ्दा कम्तीमा ह्वाइट वस्त्र लगाउन सकिन्थ्यो । त्यसैले किताब र लेखिकाको सम्मानका खातिर ह्वाइट वस्त्र लगाइयो । घाट, कफी–घाट र शहरका गल्लीहरू चहारियो ।
१९) देश देशावर
जीवाजी !
तिमीलाई जीवा लामिछाने भनी सम्बोधन गर्नुभन्दा ‘जीवाजी’ भन्नु–लेख्नु नै प्रीतिकर लागेर ल्यायो । ‘जीवाजी’ कर्णमैत्री लाग्यो । ‘जीवाजी’ श्रुति मधुर सम्पन्न भएको बोध भइगयो ।
आगेबाट उच्चारण गर्दा पनि ‘जीवाजी’ र पिछेबाट उच्चारण गर्दा पनि ‘जीवाजी’ । कस्तो राम्रो ! आगे–पिछे दुवैतिर ‘जी’ । हिन्दीमा ‘जीजाजी’ भनेजस्तो !
अँ त जीवाजी, कुरा खासमा के हो भन्देखिन् तिम्रो पहिलो किताब ‘सरसर्ती संसार’ थियो, जसलाई मैले रुचाएको थिएँ । ‘देश देशावर’ तिम्रो दोस्रो किताब हो । यसलाई पनि मैले रुचाएको छु ।

प्रकाशन भएपश्चात् तिमीले ‘देश देशावर’ पढ्यौ त ! पढेका छैनौ भने, पढिहाल । तिम्रो किताब म तिमीलाई नै पढ्न सिफारिस गर्छु । किनभने अधिकांश लेखकहरू मजस्तै तोर्पे–स्वाँठ हुन्छन्, जो आफ्ना किताब कहिल्यै पढ्दैनन् । तिनीहरू केवल अरुले लेखेका समीक्षा र फेसबुक स्टाटस मात्र पढी बस्छन् ।
तिम्रो किताबलाई परदेशीको डायरी पनि भन्न सकिँदो हो, जहाँ तिमीले भेटेका मनुष्यहरू अनि स्थान–विशेषको चुम्बकीय वर्णन गरेका छौ । ती मनुष्य एवम् स्थान–विशेषलाई आफ्नै देशका मनुष्य र स्थान विशेषहरूसित जोडेर घतलाग्दा कुराहरू किताबमा थपक्क राखेका छौ ।
यति हुँदाहुँदै पनि कतिपय प्रसङ्गमा तिमी फगत एक पर्यटक भएका छौ । हतारको टुर गाइडजस्तै देखिएका छौ । म चाहन्छु, तिमी एक यात्री बन ।
जो गुगल–सर्च गरेर घुमघाममा निस्कन्छ, ऊ फगत एक पर्यटक बन्छ । जो मन–सर्च गरेर घरबाट निस्कन्छ, ऊ असल यात्री बन्छ ।
तिमी हतारको टुर गाइड या पर्यटक होइन, असल यात्री बन । मेरो शुभेच्छा सदा तिम्रो साथमा छ । तिम्रो आगामी किताब र आगामी यात्राको अनन्त शुभकामना छ ।
२०) yesterday i was the moon

यो किताब यो कविता–सङ्ग्रह मैले छोराको लागि किनेको हुँ ।
छोरालाई ‘दिन’ होइन, छोरालाई कविता ‘सुनाउन’ । सन्तानलाई तपाईं के दिनुहुन्छ ? यो महत्त्वपूर्ण होइन । सन्तानलाई तपाईं के सुनाउनुहुन्छ ? योचाहिँ महत्त्वपूर्ण कुरा हो ।
‘दिएको’ कुरा उसले हराउन सक्छ । ‘सुनेको’ कुरा उसले मन मस्तिष्कमा साँचेर राख्छ ।
जस्तो कि मुनिको कविता मैले आफ्नो सन्तानलाई सुनाएको हुँ । तपाईं पनि आफ्नो सन्तानलाई यो या यस्तै कविता सुनाउनुस् । आफ्नो सन्तान छैन भने पनि केही छैन । अरुको सन्तानलाई भए पनि सुनाउनुस् । किनभने यो देशको भविष्य भनेको तिनै सन्तानहरू हुन् । हामीले आर्थिक, राजनीतिक र मनो–सामाजिक रूपले भ्रष्ट र खोक्रो पारेको यो मुलुकलाई बनाउने भनेको तिनै सन्तानहरूले हो ।
पाकिस्तानी युवा कवयित्री नुर उन्नहारको कविता मैले आफ्नो छोरालाई सुनाएँ । तपाईं पनि आफ्ना छोरा–छोरीलाई सुनाउनुस् ।
i am building
a house
where the floor is
made up of strength
where the walls are
crafted with motivation
where the roof is
a masterpiece of forgiveness
i am building
myself.
२१) GUNS &THIGHS
अम्रिकाने हार्ड रक ब्यान्ड GUNS N' ROSES बिर्सिदिनुस् किनभने बजारमा RGV अर्थात् राम गोपाल वर्माको GUNS & THIGHS आइसकेको छ ।
GUNS & THIGS अर्थात् बन्दुक र फिलाहरू ।
बुबा पुलिस फोर्समा भएका कारण बच्चैदेखि म पिस्तोल, रिभोल्भर र राइफलजस्ता बन्दुकहरूप्रति आकर्षित भएको हुँ । तर जब जवान भएँ, तब बन्दुक होइन, बरु स्त्रीका चिल्ला फिलाहरूप्रति भुतुक्क भएँ ।
एक दिन लीला–लेखनका संरक्षक (के गर्नु ! इन्द्रबहादुर राई त बितिहाल्नुभयो) श्री कृष्ण धरावासीले झम्सिखेलको एउटा लिट्रेरी ग्यादरिङमा मलाई क्याजुअल्ली सोध्नुभयो,' कुमार भाइ, नेपाली साहित्यमा तपाईं आफ्नै किसिमले नयाँ–नयाँ प्रयोगहरू गरिरहनुभएको छ । तपाईंलाई म लीला–लेखनमै आउनुस् त भन्दिनँ तर मलाई तपाईंबाट एउटा कुरा जान्ने इच्छा छ । त्यो के भने, तपाईंलाई लीला–लेखनचैँ कस्तो लाग्छ ?'
जमघट रमाइलो थियो । वातावरणलाई अझ रमाइलो बनाउँदै मैले आफ्नै प्रकारको सेन्स–आफ्–ह्युमरमा भने, ‘धरावासी दाइ, लीला त वास्तवमा गोकुल निवासी श्रीकृष्णकै राम्रो । तपाईंको नाम पनि कृष्ण भएकोले तपाईंको लीला पनि खुब राम्रो । जहाँसम्म मेरो कुरा छ, मलाई त लीला–लेखनभन्दा फिला–देखन नै राम्रो !'
धरावासी दाइ र अन्य लेखकहरूलाई मेरो ठट्यौली मन परेछ क्यारे ! वातावरण हाँसो र खित्काले गुलजार भयो । कसले भन्छ, नेपाली लेखकहरूको सेन्स–आफ्–ह्युमर गएगुज्रेको छ !
लीला या फिला ! लीला–लेखन या फिला–देखन ! के रोज्ने, तपाईंको मर्जी । अब कुरा गरौ, रामुको अर्थात्, RGV को अर्थात्, राम गोपाल वर्माको ।
राम गोपाल वर्मा ‘सादा जीवन, उच्च विचार’ टाइपको मान्छे होइन । त्यसैले यो मान्छे मलाई अनुराग कश्यपझैँ मन पर्छ । अनुराग रामुकै सिने–चेला हुन् । अचेल इन्डियन सिनेमामा वर्माको नभई कश्यपकै जगजगी छ ।
एउटा अन्तर्वार्तामा राम गोपाल वर्माको प्रसङ्ग आउँदा यिनै अनुराग ठट्टाको भाकामा भन्छन्,'को राम गोपाल वर्मा ? इन्डियन सिनेमामा अचेल यी मान्छे छन् र !'
ओरालो लागेको राम गोपाल वर्मालाई अनुराग कश्यपले पनि लखेट्छ, बाबै !

GUNS & THIGHS राम गोपाल वर्माको अवैध आत्म–कथा हो । जहाँ एउटा भिडियो लाइब्रेरी चलाएर बस्ने अञ्जान शहरको एउटा अन्जान ठीटो कसरी इन्डियन मोडर्न सिनेमाको गडफादर बन्यो भन्ने कथा तपाईं पढ्न सक्नुहुन्छ । जसले ‘सत्या’, ‘कम्पनी’ र ‘शिवा’ जस्ता उत्कृष्ट फिल्महरू वल्र्ड सिनेमालाई दिए ।
यदि तपाईंलाई बन्दुक र फिलाहरू मन पर्छ भने, तपाईंलाई यो किताब पनि मन पर्छ । यदि होइन, म त शाकाहारी टाइपको साधु–सन्त हुँ भन्ने तपाईंलाई लाग्छ भने, म के नै पो भन्न सक्छु र !
२२) CONSTELLATION OF GENIUS

यो गज्जब–ओ–गज्जब किताब हो, जसले मलाई आश्चर्यचकित पारिदियो । नेपालमा पनि यस्तो खालको किताब ‘निर्माण’ भइदिए क्या गज्जब हुन्थ्यो !
यो किताबभित्र तपाईंले प्रेम गरेका गज्जबका कविहरूलाई भेट्न सक्नुहुन्छ । यसभित्र गज्जबका साहित्यकार छन् । गज्जबका दार्शनिक छन् । गज्जबका चित्रकार छन् । गज्जबका वैज्ञानिक छन् । गज्जबका गायक–संगीतकार, नृत्यकार–चित्रकार, नाटककार–मूर्तिकार, सप्पै गज्जबै गज्जब ! त्यस्ता गज्जबका मान्छेहरू जसले बीसौँ शताब्दीको निर्माण गरे ।
अनि किताबमा एउटा गज्जबको वर्ष छ, सन् १९२२ !
सन् १९२२ किन गज्जब ? किन गज्जब भने त्यो वर्ष विश्व साहित्यले दुईटा महानतम कृति प्राप्त गरेको थियो । जेम्स जोयसको Ulysses र टि.एस. इलियटको The Wasteland ! वर्षको सुरुवात Ulysses को प्रकाशनबाट भएको थियो र अन्त्य The Wasteland बाट ।
किताब १२ महिनामा विभाजित छ । महिना निश्चित दिनहरूमा विभाजित छन । जेम्स जोयस र टीएस इलियटका किताब निस्कदै गर्दा त्यस बेलाका अरु कवि, लेखक, दार्शनिक, चित्रकार, फिल्ममेकर इत्यादि के गर्दै थिए ? त्यसैको फेहरिस्त किताबमा छ ।
मानौँ, तपाईंलाई जान्न मन लाग्यो । १६ अगस्ट १९२२ मा भर्जिनिया उल्फ र एडोल्फ हिटलर के गर्दै थिए ? त्यसको उत्तर पेज नम्बर २८० मा मिल्नेछ । त्यो दिन हिटलरले म्युनिखमा ठूलो जनसमूहलाई सम्बोधन गरेको थियो । अनि भर्जिनिया उल्फ ?
भर्जिनियाको त्यो दिन मुड खराब थियो किनभने जेम्स जोयसको Ulysses उसलाई खराब लागेको थियो । त्यो दिनको डायरीमा उसले युलिसिसका कारण आफू –puzzled, bored, irritated & disillusioned– भएको उल्लेख गरेकी थिई ।
यस्तो रोचक प्रसङ्गहरूद्वारा किताब भरिएको छ । आफ्ना प्यारा मान्छेहरूको गुप्त ऐतिहासिक चर्तिकलाहरू पढेर तपाईंलाई मज्जा आउनेछ । तपाईंको दिल खुश भइजानेछ । दिल ‘खुक्स’ भइजानेछ ।
२३) आपा क्हार्प

दिउँसोको खाना खाएर एक डोज निदाउँछु । सियस्ता अर्थात् दिवा–निद्रा मन पर्छ । त्यो दिन पनि म सदाझैँ सियस्तामा थिएँ । एक्कासि गुफामा वज्रेको ‘बुद्रुक्क’ आवाजले म निद्राबाट ब्युँझिएँ ।
कोठामा एउटा बाँदर छिरेको रहेछ ।
बाँदरहरू छरछिमेकका घर–कौशीमा पस्ने गरेका घटनाहरू सामान्य नै हो । घरको ग्राउन्ड फ्लोरमा एउटा किराना पसल खुलेको थियो । मलाई सहज भएको थियो । सामानहरू किन्न बाहिर गइरहनु परेन ।
पसलबाट बाँदरहरूले पाउरोटी र दूधका पोकाहरू जिप्ट्याउन थाले । खिद्रिङमिद्रिङ सामानहरू ओसार–पोसार गर्न थाले । बिचरो पसले । बाँदरहरूबाट हत्तुहैरान भएर उसले पसलै बन्द गर्नुपर्यो । बाँदरहरूले उसको सर्वस्वहरण गरे । उसको बिल्लीबाँठ लगाए ।
मेरो गुफामा चाहिँ पहिलो पटक बाँदर छिरेको थियो ।
बिहानैदेखि तीर्थ गुरुङको नयाँ कथा–सङ्ग्रह ‘आपा क्हार्प’ पढ्न सुरु गरेको थिएँ । किताबभित्रका ‘दुर्गन्ध’, ‘बाजे जमदार’ तथा शीर्ष कथा ‘आपा क्हार्प’ले रोमाञ्चित पारेको मेरो मन तब खिस्रिक्क परेको थियो, जब किताबमा पिउँदै गरेको चिया पोखियो ।
दिउँसो कोठामा घाम छिर्छ । किताबलाई भुइँमा सुकाउन राखेको थिएँ । तर, त्यो दिन झ्यालबाट घामसितै बाँदर पनि छिर्यो ।
बाँदरलाई मैले भुइँ–बेडबाटै सुती–सुती हेरेँ । त्यसले पनि मलाई हेर्यो ।
हारुकी मुराकामीको एउटा चाखलाग्दो कथा छ, जसको नाम A Shinagawa Monkey हो । त्यो कथामा एउटी सुन्दर नायिका छे, जसले आफ्नो नाम बिर्सेकी छे । किन बिर्सेकी छे भने एउटा बाँदरले उसको नाम चोरिदिएको छ ।
सोफानेर अलमलिएको बाँदर मैले आँखा तरे पछि चलमलाउन थाल्यो । भुँइमा सुकाउन राखेर ‘आपा क्हार्प’ लाई चलाउन थाल्यो । उठेर धपाउन खोज्दा बाँदर बजिया किताबै बोकी झ्यालबाट हाम फालेर गयो ।
हारुकी मुराकामीको बाँदर मेरो कोठामा किताब चोर्न आएको रहेछ ।
२४) TIGER FOR BREAKFAST

यो वर्ष किताबमा भेटिएका मान्छेहरूमध्ये सर्वाधिक रोचक एवम् आकर्षक मलाई बोरिस लिसानेभिच लाग्यो । नेपालमा पर्यटन व्यवसायको शुभारम्भ गर्नै बोरिसलाई, मेरो एकल निर्णयअनुसार MAN OF THE YEAR : 2077 घोषणा गर्छु ।
TIGER FOR BREAKFAST लाई ‘वर्ष–पुस्तक’को ताज पहिराउँछु ।
पूजा उपाध्यायको ‘तीन रोज इश्क’ मेरो ‘दिल के करिब’ रहेको किताब हो । प्यार और इश्कले भरिएको त्यो एक इश्कालु किताब हो भने TIGER FOR BREAKFAST सर्वाधिक स्वादिलो किताब हो ।
यस्तो स्वादिलो किताब मैले किन यति ढिलो पढें ? बडा लाजमर्दाे कुरा हो ।
मिसेल पिसेल (Michel Peissel लाई म यस्तै उच्चारण गर्छु) द्वारा लिखित यो किताब एक एनिग्मेटिक मान्छे बोरिस लिसानेभिचको जीवन–कथा हो, जसका प्रत्येक पाना आश्चर्य एवम् खुल्दुलीले भरिएका छन् । किताब पढुञ्जेल बोरिसको लार्जर–द्यान–लाइफ इमेजले तपाईंलाई भुतुक्कै पार्छ । कुनै सन्की युरोपियन फिल्मकार या फिल्मकाराले यति दुर्लभ पात्रमाथि अझैसम्म किन कुनै फिल्म बनाएन ? ताज्जुब लाग्छ ।
नेपालमा पहिलो पटक स्ट्रबेरी भित्र्याउने बोरिसको बङ्गुर–किस्सा म यस बेला सम्झिरहेको छु ।
सन् १९५२ ताकाको कुरा हो । बोरिसको ‘रोयल होटल’ मा रातारात एक ट्रक बङ्गुरहरू आइपुगे ।ती बङ्गुर भारतबाट आएका थिए । कुच–बिहारका महाराजाले बोरिसलाई पठाइदिएका ।
योर्कशायर नश्लका श्वैत बङ्गुरहरू काठमान्डुका आकर्षण भइहाले । त्यतिका अन्तर्राष्ट्रिय बङ्गुरहरूलाई ‘रोयल होटल’ मा राख्ने कुरा भएन तिनीहरूलाई बोरिसले इचङ्गु–डाँडामा लगेर खोर बनाई राखे ।
बङ्गुरहरूको क्याराभानलाई एउटा खाइलाग्दो ज्यान भएको ‘खैरे’ ले धपाउँदै लगेको अद्भूत नजारालाई स्थानीयवासीहरूले चाखपूर्वक हेरे ।
वास्तवमा बङ्गुरहरूको संख्या कति थियो ? यो नै मेरो समस्या भइदियो । किनभने यो लेखमा म तिनीहरूको एक्ज्याक्ट संख्या उल्लेख गर्न चाहन्थे । तर, किताब मसित थिएन । मन परेको किताब मन पर्ने पात्रलाई बाँडिहाल्ने आदत जस्तो भएकाले THE TIGER FOR BREAKFAST मैले हिमाल म्यागजिनका मित्र रबिन गिरीलाई उपहार दिएको थिएँ ।
अब रबिन गिरी दैव सन्जोगले परे धरानका । धरान भनेपछि तपाईंलाई ‘धराने बङ्गुर यहाँ पाइन्छ’ भन्ने शहरका गल्ली–गल्लीका साइनबोर्डहरूको याद आउने भइहाल्यो । रबिन गिरीसित धराने बङ्गुर तथा योर्कशायर बङ्गुरबारे बातचित गर्न मनासिब होला भन्ने ठानी उनलाई फोन गरेर भने, ‘मैले तपाईंलाई उपहार दिएको TIGER FOR BREAKFAST फिर्ता ल्याइदिनुस् । त्यो किताबभित्र कति वटा बङ्गुर छन् भनी म हेर्न चाहन्छु । गन्न चाहन्छु ।'
गिरी बन्धुले किताब ल्याइदिए ।
धराने बन्धुसित धराने बङ्गुर र योर्कशायर बङ्गुर बारे चियापसलमा एक घण्टा लामो बङ्गुर–वार्ता भयो ।
उनी गएपछि घरमा आएर मैले किताबभित्र बोरिसका बङ्गुरहरू गर्ने । जम्मा त्रिचालीसवटा रहेछन् । कुच–बिहारका महाराजाले बोरिसलाई बङ्गुरियन डिश bacon बनाउन त्रिचालीसवटा बङ्गुरहरू ट्रकमा लोड गरी पठाइदिएका रहेछन् ।
रह्यो कुरा बङ्गुरहरूको । बङ्गुरहरूको यतिका प्रसङ्ग आइसकेपछि, मलाई लाग्छ, अब किताबको नाम फेर्नुपर्नेछ । ‘टाइगर फर ब्रेकफास्ट’ होइन, किताबको नाम ‘बङ्गुर्स फर ब्रेकफास्ट’भनी राख्नुपर्नेछ ।
२५) ZEN FLESH, ZEN BONES

नगरकोटी यो किताब घरी–घरी, बेला–कु–बेला पढी बस्छ । दुई/चार दिनको छोटो यात्रामा यो किताब नगरकोटीसितै यात्रा गर्छ । यो किताब नगरकोटीसित्तै बाँच्छ । यो किताब नगरकोटीसितै मर्छ ।
यो किताब घरमा नगरकोटीसितै बस्छ । यो किताब नगरकोटीसितै घाट जान्छ ।
दुई वर्षअघि पढ्दा किताबका ZEN मास्टरहरूको भावले नगरकोटीलाई एउटा कुरा ‘भन्छ’ । यो वर्ष पढ्दा ZEN मास्टरहरूको भावले नगरकोटीलाई अर्काे कुरा ‘भन्छ’ । अर्काे वर्ष पढ्दा ZEN मास्टरहरूको भावले नगरकोटीलाई सम्भवत: अर्कै कुरा ‘भन्छ’ ।
यो वर्षको भाव–ग्रहणपश्चात् नगरकोटी यति मात्र भन्छ:
ZEN हुँ म जोगी पनि
हिप्पी हुँ म, मै हुँ फकिर
गुम्बा हुँ म चर्च पनि
मस्जिद हुँ म, मै हुँ मन्दिर ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ ०७:१३