कर्णाली कोरिडोरको कालीकोटको नरहरिनाथ गाउँपालिका– ८, खुलालुमा बन्दै गरेको पक्की पुल मापदण्डविपरीत निर्माण भइरहेको पाइएको छ ।
पुलको स्टिल पार्ट्सको जिंक कोटेट गरी जोड्नुपर्नेमा मापदण्डविपरीत निर्माण भएको डिप्लोमा इन्जिनियर्स एसोसिएसन जिल्ला समिति कालीकोटले जनाएको छ ।
पुलमा स्टिल पार्ट्सको जिंक कोटेट गरी जोड्नुपर्ने भए पनि प्राविधिक मापदण्डअनुसार काम नगरी मनपरी रूपमा पुलको पार्ट जोडिएकाले त्यसले जोखिम निम्त्याउने डिप्लोमा इन्जिनियर्स एसोसिएसन जिल्ला समितिका अध्यक्ष इन्जिनियर कम्मरबहादुर बमले बताए ।
‘मोटरेबल पुलको डिजाइन, स्टेमेन्ट विपरीत हतारमा लतर पतर काम भएको छ,’ उनले भने, ‘यस विषयमा अनुगमन र निमायक निकायले छानविन गर्न जरुरी छ ।’
खुलालु मोटरेबल पुलमा डिप्लोमा इन्जिनियर्स एसोसिएसन जिल्ला समिति कालिकोटको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘गैरजिम्मेवार ढंगले मापदण्ड पूरा नगरी मोटरेबल पुल निर्माण गर्दा कति मानवीय र धनजनको क्षति हुन्छ,’ एसोसिएसनका जिल्ला उपाध्यक्ष लवराज शाहीले भने, ‘त्यो हेक्का राख्नुपर्छ कि पर्दैन । यो हेर्ने काम नियमक निकायको हो ।’
भविष्यमा ठूलो दुर्घटना निम्त्याउने संघीय सरकार, प्रदेश र स्थानीय सरकार समयमै सचेत हुनुपर्ने इन्जिनियर बमले बताए ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७ १३:५६