मोरङ रङ्गेली नगरपालिकाका कवीर पन्तले शंकरदेव क्याम्पसबाट बीबीएको सीम्याट प्रवेश परीक्षा उत्तीर्ण गरे । सीम्याट पास गरेपछि बीबीए पढाइ हुने जुनसुकै कलेजमा पढ्न पाइने भएकाले उनी घर पायक पर्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फारम भर्न २३ फागुनमा पुगे । तर, कलेजले उनलाई फारम दिएन ।
‘फारम भर्न २३ गते कलेज गएको थिएँ । अर्को ठाउँबाट सीम्याट पास गरेर आएकाले ५ सय तिर्नुपर्ने रहेछ । प्रभु बैंकमा गएर पैसा तिरेँ तर बिल दिइएन’, कवीरले भने, ‘जसले बिल काट्नु भनेको उसको चिट्ठी लिएर आउनू भनियो ।’
त्यसपछि उनी चिट्ठीका लागि कलेजमा गए । तर, कलेजले चिट्ठी दिएन । ‘बाहिरबाट आएकालाई दिन मिल्दैन भनियो’, उनले भने, ‘२३ गते ढिला भएकाले २५ गतेका लागि बोलाएको थियो ।’
२५ फागुन उनी फेरि कलेज पुगे । तर, कलेजले दिन नसकिने जानकारी गरायो । त्यसपछि उनी पढ्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पुगेका छन् । उनले बीबीए विभाग र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । ‘म यही ठाउँको पनि हो । पढ्न नपाउने भएपछि बाध्य भएर अदालत पुगेको हुँ’, उनले भने ।



कवीरले फारम भर्न पाउनुपर्ने विद्यार्थीहरूले माग गरेका छन् । ‘सीम्याट पास गरेपछि विद्यार्थीले जहाँ पनि पढ्न पाउनुपर्छ । पढ्न नपाउने भएपछि अदालत जानुपरेको हो । पढ्न पाउनुपर्छ’, कवीरका साथी योगराज दाहालले भने ।
क्याम्पसका विद्यार्थी नेताहरू भने पहिलो प्राथमिकता आफ्नै कलेजबाट सीम्याट उत्तीर्ण गरेकाले पाउने बताउँछन् ।
‘महेन्द्र मोरङबाट इन्ट्रान्स दिएका पहिलो प्राथमिकतामा पर्छन्’, विद्यार्थी नेता दीपेन्द्र मेहताले भने, ‘कोटा पुगेन भने मात्र बाहिरका विद्यार्थीलाई भर्ना गर्ने हो ।’
क्याम्पस प्रशासनले भने विद्यार्थीको कागजात नमिलेर फारम नभरिएको बताएको छ ।
‘डकुमेन्ट पूरा नभएर फारम नदिएको हो । चाहिएको कुरा दिनु पर्यो नि । के कागजात नपुगेको हो, सबै मलाई थाहा छैन’, क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले भने, ‘कलेजले फारम नदिने नपढाउने भन्ने हुँदैन ।’
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले भने जुनसुकै कलेजबाट इन्ट्रान्स पास गरेका विद्यार्थीले जुनसुकै क्याम्पसमा फारम भर्न पाउने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७ १५:४२