देशमा शान्ति आयो । विकासले उधुमै मच्चायो । सरकारले देशमै फर्किन आह्वान गरेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा कुनाकाप्चामा गुञ्जिएको छ ।
‘अब किन अर्काको देशमा रगत र पसिना बगाउने ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि जहाजमा उडिरहेका गणेश कुँवरको मनमा यिनै कुराहरू घुमिरहेका थिए ।
आठ वर्ष दुबई बसेर बिहीबार बिहान कुँवर विमानस्थलमा अवतरण गरे । उनी जे सोचेर फर्किएका थिए, त्योभन्दा ठीक विपरीतका दृश्य उनले देखे । आज ‘आमहडताल’ भन्ने देशको भूमिमा टेकेपछि मात्र उनले थाहा पाए ।
‘आज नेपाल बन्द रहेछ । जहाजबाट झरेपछि बन्द भन्ने थाहा पाएँ । जाँदा पनि यस्तै थियो । आउँदा पनि उस्तै रहेछ’, उनी भन्छन्, ‘हाम्रो भाग्यमै दुःख लेखिएको रहेछ ।’
खास दोषी त उनको भाग्यभन्दा पनि नेता पो थिए कि !
बन्दले गाडी चलेको छैन । घर जान सम्भव छैन । उनको दुःख कसले बुझ्ने ? भन्छन्, ‘आज यतै बस्छु । अर्को दिन जानुपर्ला नि ।’
.jpg)
०००
धादिङका रामबहादुर तामाङ पनि दुबईबाटै आएका रहेछन् । १ घण्टाभन्दा बढी उनी विमानस्थलमै अलमलिए । पुग्नुपर्ने धादिङ । सडक आन्दोलनले देश जति तातेको थियो, त्योभन्दा बढी रिसले उनको मन तातेको थियो ।
‘लास्टै दुःख पाइयो नि । देशमा कहिल्यै शान्ति नहुने रहेछ । अर्काको देशमा पसिना बगाएर आयौँ । आफ्नै देशमा भने दुःख पाइयो’, आक्रोशित हुँदै उनले भने, ‘गाडी चलेको छैन। अब हिँड्दै जाने त हो नि । ट्याक्सीले पनि तेब्बर भाडा भन्छ ।’
गाडी नपाएपछि सुटकेस डोर्याउँदै कोटेश्वरतर्फ लाग्दै गर्दा उनले भने, ‘आज कोटेश्वर बसेर भोलि धादिङ जाने भनेको हो । भोलि पनि सभा छ रे ! घर पुगिने हो कि होइन, थाहा छैन ।’
.jpg)
०००
तीन वर्ष कतार बसेर नेपाल फर्किएका काभ्रेका नवराज कुँवर झोक्किँदै थिए । ‘जहाजभित्रै झोलाको सामान टुटफुट भएछ । जहाजमै दु:ख पाएको थिएँ । बाहिर निस्कँदा त नेपाल बन्द पाे रहेछ । आज जडीबुटी गएर बस्ने हो’, उनी ट्याक्सी भएतर्फ लम्किए ।
ट्याक्सी ड्राइभरले जडीबुटी पुर्याएको ७ सय रुपैयाँ माग्दै थिए । झर्नेबित्तिकै उनी विमानस्थलमै ठगिएको आभास गर्दैै थिए । ५ सय रुपैयाँमा जान ड्राइभर दाइ राजी भए । ‘ट्याक्सी जाने भयो तर कोटेश्वरमा ठूलो भीड छ रे ! जान दिएको छैन भन्छन्’, आन्दोलनकारीले केही गर्ने हो कि भन्ने संशय पनि उत्तिकै थियो उनलाई ।
.jpg)
०००
विमानस्थल प्रवेश गर्ने मूलगेटअगाडि उभिइरहेका थिए गोदावरीका सुजन तामाङ । चार वर्षअघि दुबई पुगेका तामाङ नेपाल फर्किन पाएकोमा जति खुसी थिए, त्योभन्दा बढी उनी आमहडतालका कारण दुःखी देखिन्थे । ‘तनाव भयो नि । गाडी पाएको छैन । ट्याक्सी बोलाएको छ । कति बेला आउने हो । अझैँ कति कुर्नुपर्ने हो, थाहा छैन । बेलुकासम्म त घर पुगिएला नि’, उनी घरपरिवारलाई सम्झन्छन् ।
.jpg)
०००
यी त प्रतिनिधिपात्र मात्र हुन् । वैदेशिक रोजगारीमा गएका श्रमिक दैनिकजसो ७ सयको हाराहारीमा नेपाल फर्किन्छन् भने ३ सयको हाराहारीमा जाने गरेका छन् । बिहीबार बिहानैदेखि जाने र आउनेको एउटै समस्या थियो । आएकाहरू कतिबेला घर पुगौँ भन्नेमा थिए । कति फोनबाटै परिवारसँग खुसी साटिरहेका थिए । जानेहरू परिवारसँग टाढिन लागेकोमा आँसु झारिरहेका थिए ।
फर्किएका अधिकांशलाई हामीले एउटै प्रश्न सोधेका थियौँ, 'नेपाल नै बस्नुहुन्छ कि फेरि उतै फर्किनुहुन्छ त ?'
‘सबैको एउटै जवाफ थियो, ‘देशको हालत यस्तो छ । नेतालाई नै पुगेको छैन । हामीलाई कसले हेर्छ ? यहाँ बसेर के गर्ने ? ढिलो चाँडो मात्र हो, हामी त उतै फर्किन्छौँ ।’
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७ १६:३०