सिमकोट गाउँपालिका- ७ डाँडाफयाको जबुकानजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप सात जना घाइते भएका छन् ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जीप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका- ७ को डाँडाफयामा राति ११ः०० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका हुम्लाले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी छ । दुर्घटनामा घाइते हुनेमा सिमकोट-२ ठेहेका जीप चालक सिंगम भण्डारी, सिमकोट-६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट-८ खाल्सीकी कल्पना सिंह, सिमकोट-८ खाल्सीका १ वर्षे बालक मिलन सिंह, सिमकोट-८ खोल्सीकी सम्झना शाही, नाम्खा गाउँपालिका-१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह छन् ।
घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप मुल सडकभन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७ ०६:०४