नेपालले विश्व मानचित्रमा १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो विश्वको कुल भू–भागको ० दशमलव १ प्रतिशत क्षेत्रफल मात्र हो ।
विश्वका अन्य देशहरूको तुलनामा यति थोरै क्षेत्रफलमा पनि नेपालले विविध भौगोलिक विशेषताहरूलाई आफ्नो गर्भमा समेटेको छ । हावापानी तथा तापक्रमको विविधताले यहाँ उष्ण–प्रदेशीय जङ्गलदेखि समशीतोष्ण र शीताष्ण प्रदेशमा पाइने कोणधारी जङ्गलसमेत पाइन्छ ।
भौगोलिक दृष्टिले हेर्दा करिब ८८५ किलोमिटर लम्बाइ र १९३ किलोमिटर औसत (कम्तीमा १४५ किलोमिटर र बढीमा २४१ किलोमिटर) चौडाइ भएको नेपालले समुद्री सतहबाट तराईको समथर ७५ मिटरको उचाइदेखि विश्वको सर्वोच्च शिखर ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथासमेतलाई आफूभित्र राखेको छ । त्यसैले त यहाँ विविध किसिमका प्राणी, वनस्पति तथा परिस्थिकीय प्रणाली (इकोसिस्टम) पाइन्छ ।
यही जैविक विविधताले गर्दा सानो क्षेत्रफल ओगटेको दक्षिण एसियाको यस मुलुकमा विश्वमै पाइने कुल पुतलीहरूमध्ये ४ दशमलव २ प्रतिशत, चराहरूमध्ये ८ दशमलव ५ प्रतिशत, फूल फुल्ने वनस्पतिमध्ये २ दशमलव २ प्रतिशत र सफा पानीमा पाइने माछामध्ये २ दशमलव २ प्रतिशत पाइन्छ । यसरी हेर्दा नेपाल विश्व मानचित्रमा जैविक विविधताको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो ।
खोजी, साहसिक पर्यटक, पर्वतारोही, अनुसन्धानकर्ताहरूका लागि यो देश आफ्नो भौगोलिक तथा जैविक विविधताले कौतुहल र आकर्षणको केन्द्र रहदै आएको छ ।
त्यति मात्र कहाँ हो र ? दुरुह लेक तथा शैलशिखरहरूको खोँच तथा काखमा भएका रहस्यमय गुफा र कन्दराहरूमा कठोर साधना गर्न अध्यात्मका साधकहरूका लागि प्राचीनकालदेखि नै यो देश गन्तव्यको केन्द्र रहँदै आएको छ । अहिले पनि मानव बस्ती र जनसम्पर्कविहीन यस्ता स्थलहरूमा योगी–तपस्वीहरू साधनारत रहेको अध्यात्मका खोजीहरू स्वीकार गर्छन् ।
मानवशास्त्रीय–सामाजशास्त्रीय आकर्षण
राष्ट्रिय जनगणना सन् २०११ ले नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय चार रहेको थियो भनेर किटान गरेको छ । यी हरफहरू लेखिँदा यो जनसंख्या २ करोड ९१ लाख ३६ हजार ८ सय आठ पुगेको अनुमान गरिएको छ ।
भौगोलिक क्षेत्रफल सानो र सीमित जनसंख्या भएको यस मुलुकमा १ सय २५ जातजातिले बसोबास गर्छन् भने १ सय २३ भाषा बोल्छन् । आ–आफ्नो जातीय परम्परा र विश्वासका आधारमा विश्वका प्रमुख १० धर्म मान्दछन् र सोअनुसारका पर्वहरू मनाउँदछन् ।
जातजाति, भाषा, परम्परा, धर्म, संस्कृति, दर्शन आदि क्षेत्रमा रहेको नेपालको यो विविधता सामाजशास्त्रीय, मानवशास्त्रीय खोज, अध्ययन र विवेचनाको दृष्टिकोणले यस क्षेत्रका खोजी तथा विज्ञहरूका लागि अत्यन्तै आकर्षणको विषयवस्तु रहेको छ ।
नेपालमा भएको यसै विविधताभित्रको एकतालाई सुदृढ र समृद्ध गराउन यहाँ मनाइने चाडपर्वहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
हामीले भर्खरै ठूलो तथा लामो पर्व विजया दशमीलाई विश्वव्यापी कोरोना महामारीको विषम असहज परिस्थितिमा मनाएर बिदा गर्यौँ । कोरोना महामारीको बढ्दो संक्रमण अवस्थामै अब यमपञ्चक तिहार र सूर्योपासना तथा छठीमाईको छठपर्व हाम्रो सामुन्ने छ ।
यमपञ्चक तिहार
कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी, चतुर्दशी, औँसी, प्रतिपदा र द्वितीया जम्मा पाँच दिनसम्म नेपालको हिमाल, पहाड, तरार्ई–मधेसमा मनाइने दसैँपछिको अर्को महत्त्वपूर्ण पर्व हो यमपञ्चक तिहार ।
दसैँको कोजाग्रत पूर्णिमादेखि तिथिअनुसार तेह्रौँ वा चौधौँ दिन त्रयोदशीमा काग तिहार गरी सुरु हुने पर्यावरणमैत्री र भगिनी–भ्रातृ प्रेम, स्नेहको यो पर्व प्रतिपदा वा द्वितीयामा भाइटीका गरी समाप्त हुन्छ ।
काग तिहार
यमपञ्चकको पहिलो दिन त्रयोदशीमा यमदूतका रूपमा कागपूजा गरेर मनाइन्छ । घरमा पाकेको चोखो खाना (भात, रोटी, खीर आदि) मा दूध, दही, तरकारी, मासुको टुक्रा टपरीमा राखेर फूलको थुँगा वा मालासहित कागलाई अर्पण गरिन्छ ।
कालो प्वाँख भएको रुखो र कर्कस स्वर निकालेर काँ..आ, ...काँ..आ गरी कराउने अनाकर्षक काग मानिसका लागि अत्यन्तै उपयोगी पन्छी हो ।
प्रकृतिको सुचिकार गीद्ध पन्छी भएजस्तै मानव गाउँ–बस्ती र शहरको सुचिकार काग चरा हो । मानिसले खान नसकेर घर, गाउँ, टोल वरिपरि यत्रतत्र फालेको सडेगलेको खानेकुरा र मानिसका लागि अनुपयोगी कीरा, फट्याङ्ग्राहरू खाएर गाउँ–बस्ती, शहरको वातावरण सफा राख्न कागले महत्त्वपूर्ण भूमिका निर्वाह गरेर मानिसलाई ठूलो गुण लगाएको छ ।
कागलाई सन्देशवाहक पन्छी पनि भनिन्छ । आफ्नु तथा आफ्नो जातिको रक्षाका लागि सधैँ सतर्क तथा सावधान रहने स्वभाव, केही खानेकुरा पाउँदा आफ्नो वरिपरिको नाताकुटुम्बलाई पनि सूचना दिएर, बोलाएर मिलेर खाने, एकलाई आपत पर्दा सबै भेला हुने, एक गठ भएर बस्ने नैसर्गिक स्वभाव कागजातिको विशिष्ट गुण हो ।
बाठो तथा धूर्त व्यक्तिलाई हामी ‘कागझैँ बाठो वा धूर्त’ भनी उपमा दिने गर्छौं ।
हाम्रा सनातनधर्मी पूर्वजहरूले यमपञ्चक तिहारको पहिलो दिन कागपूजाको परम्परा बसाएर कागले मानिसलाई लगाएको गुणको सम्मान गरेका हुन् । मानव जीवनमा कागको महत्त्वलाई दर्शाएको हो । कागको पूजा गर्नु भनेको पर्यावरण संरक्षणमा भावी पुस्ताहरू सधैँ सचेत भइरहून् भन्ने मूल सन्देश हो ।
कुकुर तिहार
मानिसले यायावर शिकारी जीवनबाट कृषिमा प्रवेश गर्ने चरणमा जंगली जनावरहरूमध्ये आफूलाई अनुकूल हुने कुकुर, गाई, भैँसी, बिरालो, घोडा आदिजस्ता जनावरहरूलाई समयानुकूल घरपालुवा बनाएको हो । शिकारी युगको मानिसले गुफामा उत्किर्ण गरेका चित्रहरू हेर्दा त्यही कालखण्डको कुनै चरणमा कुकुरलाई घरपालु बनाउन ऊ सफल भएको हो भन्ने पुष्टि हुन्छ ।
तीव्र घ्राणशक्ति र सूक्ष्म श्रवणशक्ति भएको कुकुर आफ्नो वफादारिता अर्थात् स्वामीभक्तिका लागि प्राग–ऐतिहासिककालदेखि नै मानिसहरूमाझ प्रसिद्ध छ ।
पातलो निन्द्रा, मसिनो आवाज पनि सुन्न सक्ने क्षमता, गन्ध सुँघ्ने र छुट्याउन सक्ने विशेषता, आक्रामक स्वभाव, प्रतिकूल वातावरणमा पनि आफूलाई जोगाउन सक्ने क्षमता, आज्ञाकारिता, स्वामीको रक्षा आदि कुकुरमा निहित विशिष्ट नैसर्गिक गुणहरू हुन् । कार्यथलोबाट वर्षौंपछि घर फर्किंदा पनि कुकुरले आफ्नो मालिकलाई चिन्दछ । अनुहार छोपेर आउँदा पनि बोलीले ठम्याउँछ । त्यसैले प्राग–ऐतिहासिककालदेखि नै कुकुर मानिसका लागि अत्यन्तै उपयोगी जनावरको रूपमा रहँदै आएको छ ।
कुकुरमा भएका यिनै नैसर्गिक गुणहरूलाई पहिचान गरी आधुनिककालमा आएर मानिसले कुकुरलाई विशेष प्रशिक्षण दिई अपराधी पत्ता लगाउने र विशेष सुरक्षादस्तामा समेत सहभागी गराउँदै आएको छ ।
पाँच पाण्डव स्वर्ग जाँदा युधिष्ठिरको पछाडि कुकुर पनि गएको महाभारतमा उल्लेख छ । यस युगमा पनि अन्तरीक्ष यानमा बसेर पृथ्वीको कक्ष बाहिर अन्तरीक्षमा पहिलो पटक पृथ्वीको परिक्रमा गर्ने ‘लाइका’ नाम गरेकी कुकुर नै थिइन् ।
यमपञ्चकको दोस्रो दिन चतुर्दशीमा यमलोकको द्वारपालको रूपमा कुकुरको पूजा गर्ने परम्परा बसाएर सनातनधर्मी पूर्वजहरूले भावी पुस्तालाई ‘उपकारको बदला सम्मानले तिर्ने । गुणको बदला गुणले तिर्ने’ शिक्षा दिएको देखिन्छ ।
तर यस्तो परोपकारी र गुणी कुकुर जातलाई पनि किन होला हामीले मानिसलाई हेपेर, होच्याएर भन्नुपर्दा ‘कस्तो कुकुरजस्तो’ भनेर उपमा दिने गरेको ?
लक्ष्मीपूजा
यमपञ्चकको तेस्रो दिन ऐश्वर्य, प्रतिष्ठा र धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । समुद्र मन्थनबाट उत्पन्न भएकी लक्ष्मीलाई खुसी पार्ने, रमाइलो गर्ने, घर–आँगन सफा–सुग्घर बनाई झलमल्ल पारी हर्ष एवं उमङ्गका साथ लक्ष्मीपूजा गरिन्छ ।
यमपञ्चक तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजा सबैभन्दा उत्सवमय उत्सर्गको दिन हो । लक्ष्मीपूजाको साँझमा लक्ष्मीदेवी विष्णुलोकबाट पृथ्वीमा आउने विश्वास गरिन्छ । लक्ष्मीलाई खुसी पार्न घर, आँगन, कौसी, बार्दली सफाइ गर्ने, लिपपोत–रङ्गरोगन गरी टल्काउने, सबैतिर बत्ती बाली झिलीमिली बनाउने र राम्राराम्रा फूलका मालाहरूले सजाई आकर्षक बनाउने प्रचलन छ ।
घरकोठा सजाउने, मूल ढोकामा रङ्गीन मण्डप बनाउने र त्यहाँबाट लक्ष्मीदेवी हिँडेको प्रतीकस्वरूप उनको पाउ बनाउँदै ती पाउहरूलाई मुख्य भण्डारकोठा वा पूजाकोठासम्म लाने र दियो बाल्ने काम गरेपछि परिवारका सदस्यहरू जम्मा भएर लक्ष्मीको पूजा आरती गरिन्छ । लक्ष्मीपूजाको रातमा जाग्राम बस्ने, भजन गाउने, देउसीभैलो खेल्ने र कौडा, तास खेलेर मनोरञ्जन गर्ने परम्परा पनि छ ।
मानिसले शिकारी जीवनबाट कृषिमा आधारित जीवन पद्धतिमा प्रवेश गरेपछि अन्न र पशु संग्रह भई धन–सम्पत्ति जम्मा हुन थाल्यो । सञ्चित धनले व्यक्ति, परिवार र समाजको अग्रगामी रूपान्तरणमा भूमिका खेल्न थाल्यो । यसैले घर–आँगन, बाटोघाटो सफा गरी पर्यावरण स्वच्छ राख्ने, स्वस्थ रहने, कृषि तथा पशुजन्य उत्पादन बढाउने र मानिसको जीवनमा धन–सम्पत्तिको महत्त्वलाई दर्शाउने विशिष्ट सन्देश ‘लक्ष्मीपूजा’ले दिन्छ ।
गाई तथा गोवर्धन पूजा
यमपञ्चकको चौथो दिन गाई, गोरुसँगै गोवर्धन पर्वत र दानवराज बलिको पनि पूजा गरिन्छ । शिकारीको फिरन्तु जीवनबाट तुलनात्मक रूपमा स्थायित्व दिने कृषिमा आधारित जीविकोपार्जनमा आफूलाई रूपान्तरित गर्दा मानिसले आफ्नो अनुकूल हुने केही जंगली जनावरहरूलाई पनि आफूसँगै रूपान्तरण गरी घरपालुवा बनायो । तीमध्ये गाई अग्रणी घरपालुवा जनावर हो ।
गाईको सौम्यता, शालीनता, सहनशीलता, दयालुपनबाट ऊ आकर्षित भयो । गाईको दूधलाई पौष्टिक आहारको रूपमा र गोबरलाई कृषि उत्पादन बढाउन मलको रूपमा प्रयोग गर्न जान्यो । गाईको बाच्छालाई गोरुको रूपमा कृषि कर्म र यातायात तथा ढुवानीको साधनमा प्रयोग गर्न थाल्यो ।
गाईको दूध पौष्टिक र सुपाच्य हुने ठहर गर्यो । दूधबाट दही, मोही, नौनी, घ्यू र अनेक स्वादिष्ट परिकार बनाउन जान्यो । गाई तत्कालीन मानव सभ्यताको अभिन्न अङ्गको रूपमा जोडियो ।
सनातन धर्मावलम्बीहरूले गाईको यिनै स्वभाव, रूप र गुणलाई पहिचान गरी गाईलाई गौमाता, लक्ष्मी, देवीको दर्जा दिए, सम्मान गरे अनि श्रद्धाभक्तिपूर्वक तिहारमा गाईसँगै गोरुको पनि पूजा गर्ने प्रचलन बसाले । गाईको दूध, दही, घ्यूँंगै गोबर र गहुँतसमेतलाई पवित्र मानेर धार्मिक–सामाजिक कर्मादिमा प्रयोग गर्न थाले । हिन्दुहरूले गर्ने सम्पूर्ण कर्मकाण्डमा गाईदानको ठूलो महत्त्व देखाइएको छ ।
कृषि र पशुपालन प्रमुख पेसा भएको महाभारतकालमा पर्वत, रुख र वर्षाको कस्तो अन्योन्याश्रित सम्बन्ध र महत्त्व हुन्छ भनेर प्रकृति र पर्यावरणको संरक्षणमा लागेका कृष्णले गोवर्धन पर्वतको पूजा सुरु गराएका हुन् । वैदिक देवता इन्द्रको स्थान कमजोर हुँदै गएको र पौराणिक देवताको उत्थानको सङ्केत र प्रतीकस्वरूप इन्द्रले अतिवृष्टि गरेको र गोकुलवासीलाई बचाउन कृष्णले पर्वत उठाएको वर्णन वैष्णव पुराणमा उल्लेख छ ।
दानव राजा बलिको दानशीलतादेखि देवराज इन्द्र आत्तिएको अनेक कथा पुराणमा उल्लेख छ । आफूले दिएको बचन पूरा गर्न आफ्नो प्राणसमेतको पर्वाह नगर्ने दानीराजा बलिलाई देउसीभैलोमा स्मरण गरिन्छ र सम्मानस्वरूप यसै दिन उनको पनि पूजा गरिन्छ ।
यसै दिन नेवार समुदायले ‘नेपाल संवत्’ को सुरु हुने दिन भएकाले ‘म्हःपूजा’ धुमधामसँग मनाउँछन् । इ. ८७९ देखि गणना सुरु भएको नेपाल संवत् नेपाली माटोको आफ्नै उपज हो ।
भाइटीका
यमपञ्चकको अन्तिम दिन यम, यमुना, अष्टचिरञ्जीवी, नवग्रहसहित दाजुभाइको पूर्ण आयुको कामना गर्दै दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाएर यो पर्व मनाइन्छ ।
वैदिक देवता यमराजलाई मृत्युको देवताको रूपमा पुराणहरूमा उल्लेख गरिएको छ । यमीले आफ्ना दाजु यमलाई पूजा गरेको दिनको सम्झनामा कार्तिक शुक्ल द्वितीयाको दिनमा सर्वसाधारणहरूले पनि आ–आफ्नो रीतिथितिअनुसार भाइटीका मनाउँदै आएका छन् ।
यस दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई तेल र पानीले तीनपल्ट परिक्रमा गर्ने, कपालमा तेल लगाइदिने, सम्पूर्ण शरीर पूजा गर्ने र निधारमा सप्तरङ्गी (सेतो, कालो, हरियो, नीलो, पहेँलो, रातो र गुलाबी) टीका लगाएर घाँटीमा माला (मखमली, सयपत्री, गोदावरी, दुबो) लगाइदिन्छन् र फलफूल, रोटी, मिठाई, मसला, खान दिन्छन् । दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई टीका लगाई गच्छेअनुसार दक्षिणा, लुगा र गहना उपहारस्वरूप दिने गर्छन् ।
तिहारको विशेषता
तिहार प्रकृति र पर्यावरणमैत्री पर्व हो । यस पर्वमा गरिने पशुपन्छीको पूजा भनेको तिनीहरूले मानव समाजलाई पुर्याएको प्रत्यक्ष तथा परोक्ष सकारात्मक योगदानको कदर, सम्मान र भक्ति हो ।
यो पर्वले प्रकृतिमा भएका सबै वनस्पति र जीवहरूबीच अनन्य सह–अस्तित्वको सम्बन्ध भएको दर्शाउँछ । यस पर्वमा लगाइने टीका, माला र खाइने फलफूल, मिठाई, मसला सबैको व्यावहारिक पक्ष, दार्शनिक अर्थ र मनोवैज्ञानिक आधार छ ।
दसैँ र तिहार पर्वको मुख्य भिन्नता
दसैँ पर्व वैदिक र तान्त्रिक विधिद्वारा मातृशक्तिको पूजा, आराधना, उपासना गरी मनाइन्छ । यस पर्वमा सप्तमी, अष्टमी र नवमीमा शक्तिपीठहरूमा पशुबलि दने प्रचलन छ । साधकहरूले रहस्यमय शक्ति आर्जनका लागि नवरात्रिमा नवदुर्गाको उपासना, साधना गर्दछन् । राजनीतिक होस् वा आध्यात्मिक, शक्तिआर्जनको चाहना दसैँ पर्वको केन्द्रमा छ । पशुबलि र मांसहारको परिकार यो पर्वको विशेषताजस्तै भएको छ ।
दसैँको तुलनामा तिहार प्रेम, सद्भाव, अपनत्व, प्रकृति, पर्यावरणमैत्री र जीवनजगतप्रति बढी संवेदनशील देखिन्छ । यो पूर्णतया हर्ष, उमङ्गको पर्व हो । फूलको अत्यधिक प्रयोग र खपत हुने यसलाई फूलको पर्व पनि भनिन्छ । मानिसले कम महत्त्व दिएको ज्यामिर, भोगटे, ओखर आदिजस्ता फलफूल र विविध रङ्गहरूको प्रयोग गरेर यस पर्वले हरेक पदार्थको आफ्नो अलग गुण भएको र त्यो मानवका लागि उपयोगी भएको सन्देश दिन्छ ।
शाकाहारी भोजन यस पर्वको विशिष्ट विशेषता हो । अन्न, फलफूल, मसलाबाली, दूधजन्य पदार्थ र मिठाईको प्रयोग यो पर्वमा प्रचुर मात्रामा गरिन्छ । लक्ष्मीपूजाको दिन यो पर्वमा मांसहारलाई निषेध नै गरिएको छ ।
अन्त्यमा
कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गाई–गोरुपूजा र भाइटीका गरेर यमपञ्चक तिहारका यी पाँच पर्व समग्रमा प्रकृति, पर्यावरण, कृषि, पशुपालन, धनसम्पत्ति, ऐश्वर्य, धर्म, दर्शन र प्रेम, सद्भाव अनि सह–अस्तित्वसँग अन्योन्याश्रित रूपले जोडिएको छ ।
तर चन्द्रमामा पनि दाग छ भनेजस्तै विश्व समुदायलाई नै शिक्षा दिने सनातन धर्मी पूर्वजहरूले बसालेको यस्तो गौरवमय पर्वलाई पनि हामीले आडम्बर र विकृतिले महिमामण्डित गरेका छौँ । धन–सम्पत्ति आदान–प्रदान, त्यसको न्यायोचित बाँडफाँटको विषयलाई धुर्त तरिकाले जुवामा परिणत गरेर प्रतिष्ठाको नाममा युधिष्ठिरले राज्य मात्र होइन, भुवन मोहिनी द्रौपदीसमेतलाई दाउमा लगाएको र उनको चीरहरणले दक्षिण एसियाको समाजमा नै युगान्तकालीन नकारात्मक असर पारेको महाभारत युद्धलाई हामीले बिर्सेका छौँ । त्यसको कालो छायाले अझै यस भेगको समाजलाई पछ्याइरहेको छ । पर्वको नाममा जुवा खेल्ने–खेलाउने परम्परालाई निषेध गर्नुपर्छ ।
प्रकृति र पर्यावरण संरक्षणमा जोड दिएको यस पर्वमा उमङ्गको उत्तेजनामा हामीले पर्यावरण दूषित गर्ने पटाकाहरू पड्काएर त्यसको उपहास गरेका छौँ । त्यसै त यातायातका साधन, उद्योगधन्दा आदिले वातावरणलाई प्रदूषित गरेकै छन्, अझ पर्वको आडमा यस्ता क्रियाकलाप गर्नु भनेको पर्वको शिक्षाविपरीत हो । लक्ष्मीपूजामा पड्काइने पटाकासँग आपराधिक क्रियाकलाप र दुर्घटनाहरू पनि जोडिएका छन् ।
देउसी–भैलो खेलेर मनोरञ्जन गर्ने, सद्भाव र शुभेक्षा दिने, सामाजिक कार्यका लागि सक्दो सहयोग संकलन गर्ने यस पर्वको मर्मविपरीत देउसी–भैलोमा गरिने उच्छृङ्खल गतिविधि र माग गरेको रकम नदिएसम्म आशिषको बहानामा गरिने दुर्व्यवहारले यसको औचित्यमाथि प्रश्न खडा गरेको छ । सांस्कृतिक उचाइ हासिल गर्नुपर्ने यो प्रथा जोखिममा परेको छ ।
हामीले नै भित्र्याएको विकृति, विसंगति र आडम्बरलाई हटाउने हो भने यो पर्वले दिएको शिक्षाले विश्व समुदायलाई पनि आकर्षित गर्नेछ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७ ०७:४८