महाभूकम्पले मुलुक उसै संकटमा थियो । त्यसमाथि नेपाललाई ‘छोटे भाइ’ ठान्ने छिमेकी भारतले नाकाबन्दी गरेको थियो । राजधानी काठमाडौं चरम अभावले प्रताडित थियो ।
मान्छेहरू चुलो बाल्न संघर्ष गरिरहेका थिए । एक खालको मानवीय संकट नै आइपरेको थियो ।
नाकाबन्दीको प्रभाव मिडियामा नपर्ने कुरै भएन । लोडसेडिङको मार उस्तै थियो । म रेडियोमा काम गर्थें । डिजेल, पेट्रोलको चरम अभाव ।
चोबीसै घण्टा चल्ने रेडियोलाई एकातिर विद्युत् र अर्कोतिर पेट्रोलियम पदार्थको अभावले लगभग थला पारेको थियो । लामो लाइन बसेर ल्याएको डिजेल फारू गर्नुपर्ने बाध्यता थियो ।
बिहान ६ बजेको समाचार भन्न म ५ बजेभित्र रेडियो स्टेसन छिरिसक्नुपर्थ्यो । अन एयर भएकाले समयको निकै महत्त्व थियो । पुस महिनाको समयमा ५ बजे पूरै अँध्यारो । ६ बज्दा त बल्ल झिसमिसे उज्यालो हुने ।
लाइनमा बसेर ल्याएको तेलले नपुग्ने भएकाले ‘ब्ल्याक’मा किन्नुपर्ने अवस्था थियो रेडियोलाई । त्यस कारण जेनेरेटरबाट प्रसारित विद्युत् फारू गर्नुपर्ने बाध्यता थियो । अत्यावश्यकबाहेक अरू बत्ती पनि बाल्न नपाइने । अफिसको गेट र बाहिरतिर समेत अँध्यारो हुन्थ्यो ।
म अफिस पुग्दा गेटको छेउमा सधैँ एउटा कालो कुकुर बसिरहेको हुन्थ्यो । कैले-कैले अँध्यारोले गर्दा त्यसलाई कुल्चिन पुग्थेँ । त्यतिबेला ऊ कराउँथ्यो । म रेडियोमा आबद्ध भएदेखि नै त्यो कुकुरलाई मैले त्यही ढोकामा देखेको थिएँ । प्रायः सुतिरहेको हुन्थ्यो । निदाउँथ्यो कि निदाउँदैन थियो, थाहा छैन । तर, ऊ घुम्रिएको पुच्छर ओछ्याई, चारपाउ दोबरी मुन्टो लुकाएर नतमस्तक पल्टेको देख्थेँ ।
पहिलो दिन त उसले ममाथि धावा बोल्यो । झोला भिरेको, हेल्मेट लगाएर कार्यालय प्रवेश गर्न खोजिरहेको मलाई भुक्यो । निकै खाइलाग्दो थियो त्याे कुकुर । अरू कुकुरजस्तो फोहोरी देखिँदैन थियो । चिल्ला र सफा देखिने रौँ, कसैले दैनिक नुहाइदिन्थ्यो कि झैँ लाग्थ्यो । उसको अनुहार पनि मायालाग्दो थियो ।
पहिला-पहिला भुके पनि पछि उसले मलाई चिन्न थाल्यो । भनिन्छ, कुकुरको मस्तिष्क एकदमै तीक्ष्ण हुन्छ । उसले मान्छेसँग सम्बन्ध विस्तार गर्छ ।
बिहान म गेटमा आइपुग्दा कार्यालयको पालेभन्दा छिटो ऊ गेटमा आइसक्थ्यो । बन्द गेटको फारिएको प्वालबाट मलाई हेरेर पुच्छर हल्लाउँथ्यो । उसले त्यो गेटको ताला खोल्न सक्दो हो त पालेभन्दा पहिले नै मेरो स्वागत गर्ने थियो ।
तर, उसको पछि-पछि आइरहेका पाले लालबहादुरले उसको पिठ्यूँमा लात्ती बजार्थे । तर पनि ऊ त्यहाँबाट भागेर पर जाँदैनथ्यो । ऊ लालबहादुरलाई बाटो छाडेर गेटकै छेउमा उभिन्थ्यो ।
लालबहादुरले कुकुरमाथि गरेको त्यो रवैया मलाई विल्कुल ठीक लागिरहेको थिएन । तर, म नयाँ थिएँ । कार्यालयका हरेक कर्मचारीसँग सुमधुर सम्बन्ध विकास गर्न ममाथि प्रारम्भिक चुनौती थियो । यद्यपि, म लालबहादुरको त्यस्तो व्यवहारप्रति सांकेतिक विरोध जनाउँथेँ । गेटबाट भित्र छिर्नेबित्तिकै कालेलाई सुम्सुम्याउँथेँ ।
ती लालबहादुरले के बुझ्थे, बुझ्ने भए अर्को दिन पनि कालेमाथि लात्ती प्रहार गर्दैन थिए होलान् । त्यत्रा पाका व्यक्ति थिए लालबहादुर, आज-भोलि गर्दै थलिएपछि उनको हालत यही कालेको जस्तो हुन्छ, अरूकै आसमा बाँच्नुपर्ने ।
त्यतिबेला उनीमाथि कसैले लात प्रहार गर्यो भने कस्तो होला ? लालबहादुर त रोलान्, कराउलान् र आँसु झार्लान् । तर, काले रोएर अरूलाई सुनाउन सक्छ र ? मनको वेदना आँसुबाट अभिव्यक्त गर्न सक्छ र ? विल्कुल सक्दैन । यो कुरा लालबहादुर दाइले कहिल्यै बुझेनन् ।
मेरो प्रवेशमा स्वागत र प्रस्थानमा बिदाइ गर्दै कार्यालयमा बस्ने त्यो कालेप्रति मभित्र विस्तारै सहानुभूति थुप्रिए । उसले पनि मसँगको सम्बन्ध अब विकास भइसकेको सोच्दो हो । त्यसैले म चिया पिउन जाँदा पछिपछि जान्थ्यो । म चिया पिउँदा उसलाई कहिले बिस्कुट र कहिले पाउरोटी किनेर दिन्थेँ ।
कतिपय सहकर्मीहरू प्रश्न गर्थे, ‘कुकुरलाई यसरी बिस्कुट किनेर साध्य हुन्छ ?’
म भन्थेँ- साध्य भएसम्म नै गर्ने हो । सबैभन्दा ठूलो कुरा मान्छेको हृदय हो, यसले सत्कर्म चितायो भने ईश्वरले पनि साथ दिन्छन् ।
म जनावरहरूप्रति निकै सहानुभूति राख्छु । गाउँमा धुर्वे काकाले गोरू कुटेको देख्दा म घरबाट हेरेर रून्थेँ । असारको हिलोमा भोकभोकै हलो तानिरहेका ती गोरू । १२ बजेको घाममा समेत धर पाउँदैन थिए । उनीहरू ज्यादै थकित देखिन्थे ।
भोक र थकानले मुखबाट र्याल काड्थे । जुवाले रगेडिएर काँधका छाला पूरै कुष्ठरोग लागेजस्तै अररिएका हुन्थे । त्यसमाथि धुर्वे काकाले पिठ्यूँमा दुवाँली बर्साउँथे । विवश थिए, विचरा ती गोरू ।
गलेर सहनै नसक्ने अवस्था आएपछि एउटा गोरू बस्थ्यो, जसलाई धुर्वे काका कानो भन्थे । तर, ‘गोरू अल्छी र सुतुवा भयो’ भनेर धुर्वे काकाले झन् धेरै पिट्थे । दुब्लोचाहिँ गोरू भार तान्न मुस्किल परेपछि बल गरेर हिँड्ने प्रयास गर्थ्यो तर उसको बल नै पुग्दैन थियो । त्यो हिलो माटोको लुँडिसहितको हलो तानेर छिटो हिँड्न उसलाई हम्मेहम्मे थियो । तर, हिँड्नैपर्थ्यो । ‘म सक्दिनँ’ भन्न सक्दैन थियो । सांकेतिक भाषा धुर्वे काकाबाट सम्बोधन हुनेवाला पनि थिएन ।
‘गोरू अल्छी भयो’ भन्दै धुर्वे काकाले त्यसलाई झन् पिट्थे । त्यो देखेर मलाई साह्रै नरमाइलो लाग्थ्यो । पशु ऐन कानुन छ भन्ने कुरा बकवास लाग्थ्यो । न्यायका लागि कानुन छ भने जनावरको पक्षमा किन लागू हुँदैन त्यो कानुन ? के जनावरलाई दुख्दैन ? उनीहरू हामीजस्तै सास फेर्ने प्राणी होइनन् ?
मनमनमा सोच्थेँ । तर सानो थिएँ । मैले के भन्न, के गर्न सकूँला ? म ती गोरूजस्तै निरीह थिएँ । मुकदर्शक बन्नु र ती गोरूको पीडामा सहानुभूतिमा सीमित हुनबाहेक मसँग अर्को विकल्प पनि थिएन ।
एक दिन धुर्वे काकाको छोरा सुशीलले जोत्दाजोत्दै एउटा गोरूको खुट्टामा फालीले रोप्यो । रगतले हिलो माटो रातै देखिन्थ्यो । धुर्वे काका आएर छोरालाई हप्काएजस्तो गरी घर पठाए । त्यसपछि त्यही घाइते गोरूलाई पिट्दै बाँकी मेलो जोतेरै छाडे ।
साँझदेखि गोरू उग्राउन छाड्यो । त्यति बेला घाउमा उपचार गरेजस्तो गरे तर भोलिपल्ट पनि जोताउन छाडेनन् । एक हप्तापछि त्यो गोरूले धुर्वे काकाको खेतबारीबाट बिदा लियो । संसार त उसले के देख्नु र, त्यही खेत र गोठको परिवेशलाई उसले सधैँसधैँका लागि छाड्यो । खुट्टामा कीरा परेकाले जति उपचार गरे पनि त्यसले कुनै असर गरेन । गोरूले घाँस नै खान छाडेको थियो ।
एक रात ऊ गोठमा सधैँका लागि सुतिदियो । तर, धुर्वे काका घाटा लाग्यो भनेर दुःखी भए, अर्को गोरू किन्न पैसा फेरि जुटाउनुपर्ने कुरा सम्झिएर दुःखी भए । चार महिनापछि आएको गोरू तिहारमा उनले अर्को बाँचेको गोरूलाई फूलमालाले पूजा गरे । तर, प्राणीप्रतिको सहानुभूतिमा भने एक इन्च पनि फेरबदल भएनन् । सधैँ निर्दयी नै रहे ।
कालेलाई बाहिरका मान्छेले कुकुर भनेर हेप्थे । तर, म उसमा हामीजस्तै संवेदनशीलता देख्थेँ । हामीभन्दा इमानदार देख्थेँ । ऊ कोहीप्रति द्वेष, उत्पट र रिस राख्दैन थियो । सिर्फ पहरेदारको आफ्नो भूमिका निर्वाह गर्थ्यो ।
एक दिन म कार्यालयबाट बाहिरिने क्रममा काले मेरो पछिपछि आयो । हुन त, गेटसम्म सधैँ नै आउँथ्यो । तर, त्यो दिन मेरो मोटरसाइकललाई पछ्याउँदै दगुरिरहेको थियो, बीच बाटोमा । मैले गेटबाट अलि पर पुगेपछि ‘फर्की काले’ भनेँ । मैले बोल्ने सामान्य भाषा पनि उसले बुझ्न थालिसकेको थियो ।
ऊ फर्कियो तर फेरि म अघि बढेलगत्तै पछ्याएर आयो । शायद उसले पनि मलाई निकै माया गर्थ्यो । तर, त्यो बेला भने म अगाडि बढिरहेँ । लुकिङ ग्लासबाट म पछाडि हेर्दै थिएँ । ऊ मेरो मोटरसाइकल पछिपछि मुख्य सडकमा दगुरिरहेको थियो ।
म आश्चर्यचकित भएँ । बाटोमा केही मान्छेहरू कालेको त्यो चर्तिकला देखेर छक्क परेका हुँदा हुन् । उनीहरू मोटरसाइकलको पछि दौडिरहेको कालेलाई हेर्दै थिए । म चप्पल कारखाना पुग्नै लागेको थिएँ । मैले कालेलाई दौडाइराख्नु उचित ठानिनँ र रोकेर केही खानेकुरा किन्देर फर्काउने विचार गरेँ ।
मैले चप्पल कारखाना चोकभन्दा २ सय मिटर अगाडि नै मोटरसाइकल रोकेँ र कालेलाई पर्खिएँ । ऊ आइपुग्दा नपुग्दै चप्पल कारखाना चोकबाट एउटा ठूलो आवाज आयो । मैले हत्तपत्त त्यता फर्केर हेरेँ । त्यतिबेलासम्म काले आएर मेरो नजिक उभियो र जिब्रो निकालेर स्वाँ, स्वाँ गर्न थाल्यो ।
मेरा आँखा चप्पल कारखाना चोकमा पुगिसक्दा एक जना पुरुष टाउकोविहीन अवस्थामा सडकमा छटपटाइरहेका थिए । उनीसँगै अर्की अर्धबैँसे महिला सडकमा लडिरहेकी थिइन् ।
मेरो सारा शरीर गलेर लत्रक्क भयो । कस्तो भयावह देखियो ! मैले मोटरसाइकल अलि साइड लगाएँ । त्यो हताहती हेर्न मान्छेहरू पर-परबाट दगुरिरहेका थिए । त्यसलाई उठाएर एम्बुलेन्समा हाल्न भन्दा पनि ‘मान्छे मरेको हेर्न’ मान्छेहरूको घुइँचो लागेको थियो ।
पाइला लरबराउँदै म त्यहाँसम्म पुगेँ । तर, त्यतिबेलासम्म दुवै जनाको जीवन समाप्त भइसकेको थियो । पानी बोकेको एउटा ट्याङ्करले स्टेरिङ फेल भई ठक्कर दिएको रहेछ । मोटरसाइकल चालकको टाउकोमा ट्याङ्करको पछाडिको चक्का चढेको थियो ।
त्यो मोटरसाइकल मलाई नै केही सेकेन्डअगाडि उछिनेर चप्पल कारखाना चोक पुगेको थियो । मैले झट्ट आफूलाई सम्झिएँ । मैले आज मोटरसाइकल रोकेर यो कालेलाई नकुरेको हुन्थेँ त आज यो घटना मैमाथि पनि हुन सक्थ्यो । मेरो यो शंका मैले मोटरसाइकल रोकेको समय र घटनास्थलसम्मको दूरीले बलियो पारेको थियो ।
त्यो घट्नास्थलमा काले पनि गयो । उसले केही कुरा सुँघ्दै थियो, तर ट्राफिक प्रहरी आएर उसलाई त्यहाँबाट धपायो । मलाई यो जुनिभर तिर्न नसक्ने गुन लगाएर फर्कियो काले ।
त्यो दिन मेरा आँखा र मस्तिष्कमा त्यही एउटा भयावह घटनाले डेरा जमाइरह्यो । मलाई रातभर निन्द्रा लागेन । भोलिपल्ट बिहान म अफिस गएँ । म जाँदा आज गेटमा काले आएन । मैले सोचेँ, कतै सुतेको होला ।
गेटबाट भित्र ढोकामा पनि काले थिएन । कतै बाहिर गएको होला, अहिले आइहाल्छ । मैले ६, ८ र ९ बजेको समाचार पढिसक्दा पनि कालेलाई नदेखेपछि लालबहादुर दाइलाई सोधेँ । उनले पनि अनभिज्ञता प्रकट गरे । मैले अफिसका अरू साथीहरूलाई पनि सोधेँ । सबैले थाहा नभएको जनाए । मन चिन्तातुर बन्यो । कालेको अभाव महसुस भयो ।
एउटा मिल्ने साथीजस्तै थियो ऊ । म भौतिक रूपमा काममा अभ्यस्त रहे पनि मन र मस्तिष्क कालेको पर्खाइमा थिए । यद्यपि, काले आएन । १२ बजे म घर फर्किन लाग्दासम्म मैले कालेको बाटो हेरेँ ।
नआएपछि म निराश भएर घरतिर लागेँ । मूल बाटोमा निस्कनेबित्तिकै महानगरपालिकाको गाडीले सडकको देव्रेपट्टिबाट केही उठाइरहेको देखेँ । मैले मोटरसाइकल त्यतैतिर मोडेँ । त्यो दृश्यले मेरा आँखा जफत गर्यो । ममा सन्नाटा छायो ।
आँखाबाट वेदनाका आँसु घोप्टिए । त्यहाँ मैले मरेको शरीर देख्न पुगेँ, त्यो पनि कालेकै । मलाई बचाएर आएको काले आफैँले यो संसारबाट बिदा कसरी लियो ?
मैले नजिकैको बैंकमा पुगेर पालेदाइलाई कालेको मृत्युबारे सोधेँ । उनले सबै बेलिविस्तार लगाए ।
मबाट छुट्टिएर काले दाहिनेतिरको सडकपेटीबाट आउँदै थियो । तर, उसकै अगाडि भएका तीन जना मानिस जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्न थाले । त्यतिबेलै उही दिशाबाट आइरहेको बसले ती मान्छेलाई बचाउन खोज्दा बसका चक्का आफ्नै साइडमा हिँडिरहेको कालेमाथि चढे र नियतिले उसको जीवन लुट्यो ।
कालेको आत्माले त भन्दो हो, ‘असभ्य र निर्दयीहरूको भीडबाट म मुक्त भएँ ।’ हुन पनि बाँचुन्जेल कालेले मान्छेबाट सधैँ अपमान, दुःख र भोक थुप्रै खेप्नुपर्यो । मेरा आँखाबाट घोप्टिरहेका आँसुका धारा रोकिन मानेका थिएनन् । हत्तपत्त हेल्मेट लगाएँ । शरीर निचोरेको कागतिजस्तो लत्रक्कै भएको थियो ।
हुन त म पनि मान्छे नै हुँ । तर, असभ्य र कठोर मानिसप्रति घृणाको पहाड उठ्यो मनभित्र ।
आँखाबाट झरिरहेका आँसुमा कालेप्रतिको माया र असभ्य मान्छेप्रतिको घृणा मिसिएको थियो । म कुकुर भएको भए यी निर्दयी मानिसहरूको हुलमा बस्ने थिइनँ । बाघको शिकार नै किन हुन नपरोस्, जंगलमा स्वतन्त्र र आत्मसम्मानका साथ बस्थेँ । यो कुरा शायद कालेले अन्तिम सास लिँदै गर्दा महसुस गर्यो । म त्यहाँ अब एकैछिन बसेर घोत्लिन थालें भने मलाई हेर्न पनि मान्छेहरू भेला हुनेछन् । मरेर गएको कालेले सिकाएका अनेकन पाठ मनन गर्दै म घरतिर लागेँ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ ०६:४३