हुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोग निदान हुन नसके पनि मौसमी रुघाखोकीले मृत्यु भएको हुन सक्ने जनाएको छ ।
मृत्यु हुनेमा ७६ वर्षीया उमकली मल्ल, ७० वर्षीयालालसरा रिठाल, ६० वर्षीयसुरजित खडका, ५५ वर्षीयलक्ष्य सुनार, ५५ वर्षीयबजिरी सुनार, ५५ वर्षीयवीरबल रिसाल, ५० वर्षीयरंगे कोली, ४ वर्षीयासुनकेसा सुनार र १० महिने रन्जती सुनार छन् ।
चैत २६ देखि शनिबारसम्म उनीहरूको मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत तुलसीप्रसाद अधिकारीले बताए । उनका अनुसार दुई बालकको निमोनियाँ र झाडापखालाबाट मृत्यु भएको हो । अन्य मृतक लामो समयदेखि दम तथा श्वासप्रश्वासका बिरामी र मौसमी रुघाखोकीको मारमा परेको उनको भनाइ छ ।
औषधि अभाव
ताजाकोटको वडा नं. १ मा पर्ने जिमाना र काँडागाउँ तथा वडा नं. २ मा पर्ने मैला, तोलीबाडा र खटिकबाडामा प्रकोप बढी देखिएको छ । सुरुको चरणमा दैनिक ५०/६० बिरामी आउने गरेका थिए । अहिले यो संख्या २०/२५ जनामा झरेको मैला स्वास्थ्य चौकीका अहेव मोतिलाल जैसीले बताए । उनका अनुसार गाउँमा औषधि अभाव देखिएको छ ।
कोटि्रमोक्साजोल, एमोक्सोसिलन र सेपोटेक्सिनजस्ता एन्टिबायोटिक सकिएका छन् । यी औषधि १-२ दिनलाई रहेको अहेव जैसीले जनाए । पारासिटामोल र कफ सिरफ पनि बढीमा एक हप्तालाई पुग्लान्, उनले टेलिफोनमा भने, यस्तै अवस्था रहिरह्यो र थप औषधि आएन भने त कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको छ ।
ताजाकोट गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १४ लाख रुपैयाँको औषधि खरिद गरेको थियो । उक्त औषधि मैला र मदाना स्वास्थ्य चौकीमा पठाइएको छ । गाउँपालिका अध्यक्ष बागदल मल्लले त्योमध्ये आधा औषधि सकिएको बताए ।
रोग महामारीका रूपमा फैलियो भने औषधि अभाव हुन सक्छ, उनले भने, त्यसैले हामीले औषधि र चिकित्सकको पर्याप्त व्यवस्था गर्न सम्बन्धित निकायमा माग गरेका छौं ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६ १७:०५