कोभिड-१९ को विश्वव्याधि महामारी, फैलिँदो संक्रमण र मृत्युका खबरले बितेका सात महिना नेपाली जनजीवन नराम्ररी खल्बलियो । आर्थिक-सामाजिक सम्बन्धहरू तहसनहस भए । खबर नै नबनेका घरघरका संकट त कतिकति ! यो स्थिति कहिलेसम्म लम्बिने हो, अनुमान गर्न कठिन छ । आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब-करिब असफलजस्तै देखियो ।
यस्तोमा बादलमा चाँदीको घेरा बनेका केही त्यस्ता पात्रहरू हामीले खोजेका छौँ, जसले चरम निराशाका बीच पनि आशाको सञ्चार गरेका छन् । चौतर्फी नकारात्मक खबरका बीच सकारात्मक सन्देश प्रवाह गरेका छन् । यस वर्षको दसैँ विशेषमा हामी तिनै आशाका आधारशिला पस्किनेछौँ । - सम्पादक
नेपालमा गत १० माघ पहिलो पटक कोरोना संक्रमण पुष्टि हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा जनस्वास्थ्यकै कार्यक्रमका लागि वीरगञ्जमा थिइन् । नेपालमा पनि कोरोना भेटियो भन्दै हल्लाखल्ला मच्चियो । डर र त्रास पनि उत्तिकै ।
काठमाडौंबाट उनलाई फोन आयो, ‘तपाईँ तत्काल फर्किनु पर्यो ।’ फिल्डको कार्यक्रम स्थगित गरेर डा. रुणा १२ माघमा काठमाडौं फर्किइन् । सिधै मन्त्रालयमा पुगिन् । मन्त्रालयबाट प्रस्ताव आयो, ‘भोलिदेखि नै कोरोनाको परीक्षण सुरु गर्नुपर्यो ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको एक मात्र प्रयोगशाला थियो । परीक्षणको नेतृत्व लिनुको विकल्प थिएन । इन्फ्लुएञ्जा परीक्षण गर्ने छ जनाको टिम प्रयोगशालामै थियो । त्यसैले डा. रुणाको नेतृत्वमा १३ माघदेखि नेपालमा कोरोनाको परीक्षण सुरु भयो ।
उनी भन्छिन्, ‘मलिकुलर सेटअप पहिले नै थियो । रिसर्चका लागि रिएजेन्ट मगाएको रहेछ । त्यसैबाट हामीले परीक्षण सुरु गर्यौँ ।’
परीक्षण त सुरु भयो तर जति परीक्षण गरे पनि रिपोर्ट नेगेटिभ आउँथ्यो । सुरुको चरणमा ५०/६० जनाको परीक्षण हुन्थ्यो । नयाँ भाइरस थियो । के हो ? कस्तो हो ? अन्योल नै थियो । डर र त्रासले पनि उनलाई उत्तिकै पिराेल्थ्यो ।
जति परीक्षण गरे पनि रिपोर्ट नेगेटिभ आएपछि प्रयोगशालाले परीक्षण गरेको भएन, जान्दै जानेन भनेर प्रश्नहरू उठ्न थाले । त्यस्ता प्रश्नले रुणाको टिम निराश हुन्थ्यो । बाहिरबाट जति नै प्रश्न उठे पनि उनको टिमले हरेस खाएन । हरेक प्रश्न र विरोधको सामना गर्दै उनले टिम अघि बढाइन् ।
‘परीक्षण सही भएको छ भन्नेमा हामी ढुक्क थियौँ । परीक्षण गर्दा पहिलो संक्रमितको स्याम्पल पनि राखेका थियौँ । त्यो पोजिटिभ आउँथ्यो । अरू स्याम्पल नेगेटिभ आउँथ्यो,’ उनी भन्छिन् ।
परीक्षण सुरु गरेको दुई महिनासम्म पनि पोजिटिभ केस आएन । यतिसम्मकी परीक्षण ठीक छ भनेर देखाउनका लागि पनि एउटा केस पोजिटिभ आए हुन्थ्यो भन्ने उनलाई लागेको थियो ।
१० चैत । पहिलो संक्रमण पुष्टि भएको दुई महिना पुगेको थियो । फ्रान्सबाट आएकी एक किशोरीमा कोरोना संक्रमण पुष्टि भयो । कोरोना देखिनु दुःखको कुरा थियो । तर प्रयोगशालाको लागि भने यो सफलतासँगै खुसीको कुरा थियो । जब दोस्रो संक्रमण नेपालकै ल्याबमा पुष्टि भयो, त्यसपछि राष्ट्रिय प्रयोगशालाले गरेको परीक्षणमाथि प्रश्न उठाउनेहरूको मुख बन्द भयो ।
दोस्रो केस भेटिएपछि नेपालमा पनि लकडाउन भयो । परीक्षणको दायरा बढाउनुपर्ने भयो । ५०/६० जनाको मात्र परीक्षण हुन्थ्यो । रिजेन्ट पनि सरकारले ल्यायो । त्यसपछि १ हजार ५ सयसम्म परीक्षण गर्न सक्ने क्षमताको विकास भयो ।
‘परीक्षण गर्न स्टाफ पनि डराउने अवस्था थियो । आफू र परिवारलाई सर्छ भन्ने डर थियो । विस्तारै युज टु हुँदै गयौँ । सिक्दै काम गर्दै अगाडि बढ्यौँ । स्टाफ पनि थप गरेर रातदिन पूरै परीक्षण गर्न थाल्यौँ,’ उनी भन्छिन् ।
परीक्षण गर्यो । रिपोर्ट किन ढिला भन्ने प्रश्न आउन थाल्यो । ‘देशभर एउटा मात्र ल्याब थियो । सबै ठाउँबाट आएको स्याम्पल मिलाउन नै समय लाग्थ्यो । कतिको नाम थर मेटिएको हुन्थ्यो, मिलाउन नै समय लाग्थ्यो,’ उनी भन्छिन्, ‘छिटो रिपोर्ट चाहियो भन्ने प्रेसर आउँथ्यो । रिपोर्ट दिन पनि समस्या थियो । डाक्टरलाई खबर गर्थ्याैं । तर बिरामीलाई भन्ने सकिने अवस्था थिएन ।’
सुरुका दिनमा त स्याम्पल ल्याउन नै सकस थियो । कसरी ल्याउने स्याम्पल ? प्रयोगशालाले कुरियरबाट स्याम्पल ल्याएर परीक्षण गर्थ्याे । तर, लकडाउन भएपछि कुरियर पनि बन्द भयो । त्यसपछि सरकारले प्लेनबाट नै स्याम्पल ल्याउन थाल्यो ।
रिपोर्ट खोई ? परीक्षणमा किन ढिला ? यी प्रश्नका फोन उनको मोबाइलमा धेरै आउन थाल्यो । अनि सुरु गरिन्, ‘एसएमएस सेवा’ ।
‘स्याम्पल आउनेबित्तिकै तपाईंको स्याम्पल आयो भनेर म्यासेज पठाउन थाल्यौँ । रिपोर्ट आएपछि नेगेटिभ/पोजिटिभको रिपोर्ट के हो, त्यो पनि म्यासेज पठाउन थाल्यौँ । त्यसपछि फोन आउने क्रम कम भयो,’ रुणा भन्छिन् ।
परीक्षणको दायरा प्रयोगशालाले बढाउँदै लग्यो । चीनमा नेपाली विद्यार्थी अलपत्र परे । नेपाल त ल्याउने तर कसरी ल्याउने ? ल्याएर कहाँ राख्ने ? परीक्षण कसरी गर्ने ? ठूलो समस्या बन्यो । उनको टिमले हिम्मत लियो । चीनबाट खरिपाटी ल्याएर राख्ने । परीक्षण गर्दै रिपोर्ट नेगेटिभ आए घर पठाउने ।
खरिपाटीको प्राङ्गणमा डा. रुणाकै टिम स्वाब संकलनका लागि पुगेको थियो । भन्छिन्, ‘१ सय ७५ जना विद्यार्थीको परीक्षण गर्नुपर्ने थियो । त्यहाँ पहिलोपटक खुट्टा टेक्ने स्वास्थ्यकर्मी नै थिए । युद्धमा जान लागेको सैनिकझैँ थियो । बमलाई छुन गएको जस्तै लाग्थ्यो ।’
संक्रमितको ग्राफ एकपछि अर्को गर्दै बढ्दै गयो । उनको टिम बिदा त परको कुरा, २४ घण्टा नै परीक्षणमा खटिन थाल्यो । एउटा मात्र प्रयोगशालाले नभ्याउने भयाे । देशका विभन्न ठाउँमा उनकै पहलमा ल्याब बनाउन सुरु भयो ।
‘आज ६० वटाभन्दा बढी ल्याब सुरु भएका छन्,’ उनी भन्छिन् ।
आफू पनि जोगिनुपर्ने । अरुलाई पनि जोगाउनुपर्ने । संक्रमितलाई बचाउनु पनि पर्ने । सुरुका दिनमा अनेकन चुनौती थिए । परिवारबाट समेत टाढा बस्नुपर्यो । काम एकातिर छ । अर्कोतिर परिवारको दायित्व पनि उनलाई थियो ।
‘छोरीलाई कहिल्यै छोडेकी थिइनँ । विदेशसम्म नगई बसेकी थिएँ । कोरोनापछि परिवारबाट एक्लै बस्नुपर्यो । छोरी र श्रीमान् जनकपुर जानुभयो । म यतै काममा खटिएँ,’ उनी भन्छिन्, ‘परिवारबाट टाढिएकोमा दु:ख भए पनि यसलाई अवसरको रूपमा लिएँ । मानव जातिका लागि पनि गर्नै पर्थ्याे ।’
पाँच महिनापछि मात्र उनको छोरीसँग भेट भयो । परिवारवारभन्दा पनि यो समय देशका लागि उनको माग धेरै थियो । त्यसैले रातदिन नै उनी ल्याबमै खटिइन् ।
हिजो जति डर थियो, अहिले डर कम छ तर सचेत भने झन् बढी हुनुपर्ने उनी बताउँछिन् । ‘हरेक व्यक्तिलाई कोभिड छ भनेर तयार हुनुपर्छ । इबोला र सार्स केही समयमा हटेको थियो । यो कति समयमा हट्छ, थाहा छैन । मानिसको जीवनलाई नै यसले परिवर्तन गरायो । अब डराएर मात्र पनि हुँदैन,’ उनी भन्छिन् ।
गल्तीबाटै सिक्दै अगाडि बढिरहेको उनी बताउँछिन् । कहिलेकाहीँ साना कमजाेरी पनि हुन्छन् । तर परीक्षण नै नगरी रिपोर्ट दियो भन्ने हल्ला गरियो । कहिले परीक्षण गरेको भएन भनियाे । ‘सबै कुरालाई फेस गर्दै काम छोडेका छैनौँ । सिक्दै द्रुत गतिमा काम गरिरहेका छौँ,’ उनले भनिन् ।
दसैँपछि अझै ल्याबकाे क्षमता बढाउने उनको योजना छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक २ हजारसम्म परीक्षण गर्ने क्षमता छ । दसैँपछि ३ हजार पुर्याउने तयारी गरेकाे उल्लेख गर्दै भन्छिन्, ‘महामारी नियन्त्रण नभएसम्म काममा कुनै कमी हुन दिँदैनाैँ । देश र जनताका लागि काम गर्ने यो अवसर हो । हामीले गर्नैपर्छ ।’
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७ १३:३५