आजको वैज्ञानिक युगमा भौतिक रूपले सम्पन्न मानव–सामाजमा बस्ने व्यक्ति अनेक मानसिक तनाव र दुश्चिन्ताहरूले भरिएको छ । उसलाई राति सुत्दा निन्द्रामा पनि आराम छैन ।
भगवान् बुद्धको जीवनमा आधारित विश्वप्रसिद्ध र सर्वाधिक बिक्री भएकोमा सूचिकृत पुस्तक ‘ओल्ड पाथ ह्वाइट क्लाउड’ का लेखक थेरवादका प्रसिद्ध भियतनामी भिक्षु ‘तिक न्यात हन्ह’को अर्को चर्चित पुस्तक ‘प्रेजेन्ट मोमेन्ट, ब्युटिफूल मोमेन्ट’ मा उनी लेख्छन्, ‘हामी यतिसम्म ब्यस्त छौँ कि हामी को हौँ र के गरिरहेका छौँ, त्यो पनि बिर्सेका छौँ । म कसैलाई चिन्दछु, जो भन्छन्, 'मलाई श्वास फेर्न पनि फुर्सद छैन ।’
‘आफूलाई माया गर्ने व्यक्तिलाई हेर्न र मायाको कदर गर्न पनि बिर्सन्छौँ हामी । जब सम्झन्छौँ ढिलो भइसकेको हुन्छ ।’
‘यदि कहिले हामीले फुर्सद पायौँ भने पनि आफूमा भित्र र बाहिर के भइरहेकाे छ त्यससँग सम्पर्क साध्ने उपाय नै हामीलाई थाहा छैन । त्यसैले हामी कि टेलिभिजन खोल्छौँ, कि टेलिफोन समात्छौँ । मानौँ, हाम्रा यी कृत्यहरूले हामी आफैँसँग भाग्न सक्छौँ होला ?’
तिक न्यात हन्हको यो साधारण भनाइ एकाइसौँ शताब्दीको भौतिक रूपले सम्पन्न बुद्धिवादी मानिसको मनस्थितिको असाधारण चित्रण हो ।
आउनुहोस्, आज हामी आफूमा भित्र र बाहिर के भइरहेकाे छ ? त्यससँग सम्पर्क साँध्ने अनेक उपायमध्ये योगासनअन्तर्गत गरिने प्रभावशाली ‘शवासन’को विधि र प्रक्रिया सम्बन्धमा केही चर्चा गराैँ:
शिथिलीकरण
योगपथमा आसनअन्तर्गत गरिने विभिन्न आसन विधिहरू (चाहे त्यो जुनसुकै समूहमा पर्ने हाेस्) मध्ये शिथिलीकरणअन्तर्गत गरिने शवासन, अद्वासन, जेष्टिकासन, मकरासन र मत्स्य–क्रीडासनको आफ्नै विशिष्ट महत्त्व छ । यिनीहरूमध्ये पनि ‘शवासन’को स्थान सर्वाेच्च छ ।
शिथिलीकरणका आसनहरूको जति प्रशंसा गरे पनि कम हुन्छ ।
शिथिलीकरणका आसनहरू अन्य आसन–सत्रको अभ्यास गर्नुपहिले बीचमा वा अन्त्यमा अथवा आसन गर्दागर्दै थकाइको अनुभव भएमा जुनसुकै बेला पनि गर्न सकिन्छ ।
शवासन
बाहिरबाट पहिलो पटक झट्ट हेर्दा शवासन सजिलो लाग्न सक्छ । तर विधि पुर्याएर सही ढंगले यसलाई गर्नु बडाे गाह्रो छ । किनभने यो शरीरको बाहिरी अवस्थासँग मात्र सम्बन्धित छैन । यसमा शरीरका सबै अंग र मासंपेशीहरूलाई चेतन रूपले शिथिल गरेर ध्यानलाई स्वाभाविक शवासनमा केन्द्रित गर्नुपर्ने हुन्छ । अनि मात्र शरीर र मन शिथिल र शान्त हुन्छ ।
शवासन आफैँमा जुनसुकै विधिबाट ध्यान गर्ने एउटा ‘पूर्ण आसन’ हो ।
पिठ्युँको सहारामा चित्त भई लमतन्न सुत्नुहोस् । दुवै खुट्टाहरूबीचमा केही खाली ठाउँ राखेर फैलिएको होस् ।
दुवै हातहरू शरीरलाई नछोई कम्मरको छेउमा हत्केला माथिपट्टि पारेर फैलिएको होस् । शरीर पूरै उत्तानो परेर लासझैँ लमतन्न त होस् तर खुकुलो र हलुको होस् । यसका लागि शरीरका सबै हाडजाेर्नी र मांसपेशीहरूलाई खुकुलो बनाउने प्रयास गराैँ । तत्कालका लागि घर व्यवहार, काम झन्झट आदिबाट मुक्त भई तनावरहित हुने प्रयास गर्नुहोस् ।
शवासनमा हामी तीनवटा विधिको अभ्यास गर्न सक्छौँ । ती विधिहरूको एक–एक गरी चर्चा गराैँ:
१. शिथिलीकरण र योगनिन्द्रा
शरीर र मनलाई शिथिल गर्ने एउटा विशेष सरल तर शक्तिशाली यौगिक–विधि हो योगनिन्द्रा ।
दिनभरिको कठिन परिश्रमपछि साँझ वा राति सुत्नुभन्दा अगाडि यसको अभ्यास गरेमा यसले धेरै फाइदा पुर्याउँछ ।
विधि
शवासनमा सुत्नुहोस् । हत्केला खुला होस् । पूरै शरीरलाई खुकलो राख्नुहोस् । शरीरको कुनै अंग वा मासंपेशीमा तनाव भए त्यसलाई विस्तारै हल्लाएर, चलाएर खुकुलो र तनावरहित बनाउनुहोस् ।
आँखा बन्द गरेर तनावरहित भई आफ्नो सम्पूर्ण शरीरलाई अवलोकन गर्नुहोस् । शरीरको अनुभव गर्नुहोस् । आफ्नो श्वासप्रश्वासप्रति सजग रहनुहोस् । म शिथिलीकरणको अभ्यास गर्दै छु भनेर सचेत रहनुहोस् ।
अब आफ्नो चेतनालाई शरीरका विभिन्न भागमा डुलाउनु होस् । मानसिक रूपले अनुभव गर्नुहोस् कि पिठ्युँ र दुवै हात फर्शको नै एउटा अंग हो । अब एक–एक गरेर शरीरको विभिन्न अंगप्रति सचेत हुनुहोस् ।
शरीरको आधा भाग एकातिरबाट चेतनालाई डुलाउनुहोस् । दाहिने हातबाट सुरु गर्नुहाेस् । बूढीऔँला, चोरऔँला, माझिऔँला, काइँलीऔँला, कान्छीऔँला, हत्केला, नाडी, कुहिना-पाखुरा, काँध, काखी, कमर, फिला, तिघ्रा, घुँडा, पिँडुला, कुर्कुचा, पैताला, खट्टाको औँलाहरू पहिलो दाेस्राे, तेस्राे, चौथो कान्छी ।
यसै प्रक्रियालाई शरीरको अर्को भाग देब्रेहातबाट सुरु गर्नुहोस् । त्यसपछि माथि टाउको, निधार, कान, आँखा, नाक, गाला, ओठ, चिउँडो, घाँटी, छाती, पेट, नाइटो, ढाड, तथा भित्री अंगसम्म चेतनालाई पुर्याउनुहोस् ।
शरीरका सबै भाग शिथिल भएर फर्शको हिस्सा भएको अथवा फर्शमा नै मिलेको अनुभव गर्नुहोस् । यस प्रक्रियालाई दुई/तीन पटक दोहाेर्याउनुहोस् । तपाईंको शरीर र मनको तनाव निश्चित रूपले हट्छ । यसै अवस्थामा केही समय सुत्नुहोस् ।
यदि तपाईं यसै अवस्थामा आधा घण्टा निदाउन सक्नुभयो भने उठ्दा आफूलाई तनावरहित हलुको, स्फुर्त, प्रसन्न र शान्त पाउनुहुनेछ ।
२. आनापान सत्तियोग र विपश्यना
शवासनमा गर्न सकिने अर्को ध्यान विधि हो आनापान सतियोग र विपश्यना ध्यान । स्वाभाविक श्वास–प्रश्वासमा ध्यान केन्द्रित गरेर होस साँध्ने कार्यलाई बुद्धले ‘आनापान सतियोग’ भन्नुभएको छ । आनापानबाट मनलाई एकाग्र र नियन्त्रण गर्ने अभ्यास गरिन्छ । त्यसपछि नियन्त्रित मनलाई शरीरमा निरन्तर भइरहने संवेदनाहरू (सुखद वा दु:खद) को अनुभव गर्नतिर लगाइन्छ, जसलाई विपश्यना भनिन्छ । विपश्यना र आनापानलाई पर्यायवाची शब्दको रूपमा पनि प्रयोग गरिन्छ ।
विधि
शिथिलीकरणमा उल्लेख गरेअनुसार शवासनमा सुत्नुहोस् र शरीरलाई शिथिल गर्नुहोस् ।
बिनाकुनै प्रयास श्वासको प्रवाह स्वतः र सामान्य रूपले चलिरहोस् । शरीरमा सामान्य रूपले स्वतः भइरहेकाे श्वासप्रश्वासलाई हेर्नुहोस् । यो गाह्रो काम हो । सामान्य श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्नासाथ त्यो सामान्य रहँदैन । आउने–जाने प्रवाहमा घटीबढी हुन थाल्छ । हो, यसैमा हो दक्षता प्राप्त गर्ने । धैर्यतापूर्वक सचेत भई शवासन प्रवाह अवलोकनको सीप विकास गर्नुपर्ने हुन्छ ।
नआत्तिनुस् । शवासन सामान्य हाेइन भन्ने अनुभव हुनासाथ दुई/चार पटक लामोलामो श्वास लिने र छाड्ने गर्नुहोस् । त्यसपछि फेरि श्वासलाई खुकुलो गरी आफ्नो नैसर्गिक लयमा फर्किन दिनुहोस् र पुनः अवलोकन गर्नुहोस् ।
केही हप्ताको सचेत प्रयासपछि अभ्यास सहज हुन थाल्छ । सुरुमा अभ्यास गर्दा श्वास भित्र आएको र श्वास बाहिर गएको भनेर गन्ती पनि गर्न सकिन्छ । तर अभ्यास सहज हुँदै गएपछि गन्ती गर्न छाड्नुपर्छ नत्र भने ध्यान श्वासप्रश्वासमा नभएर गन्तीमा केन्द्रित हुन थाल्छ ।
स्वाभाविक श्वासप्रश्वासमा ध्यान केन्द्रित गरेर आत्मनिरीक्षण अर्थात् स्व–निरीक्षणको अभ्यास गरिन्छ । मनमा उठ्ने कुनै पनि राम्रा–नराम्रा विचारहरूलाई समभाव राखी वर्तमानमा शरीर तथा मनमा हुने प्रत्येक घटनालाई निरीक्षण गर्नु नै आत्मनिरीक्षण वा विपश्यना साधना हो ।
आनापान र विपश्यना साधनाको सीप विकास गर्न अभ्यासीहरूले कम्तीमा पनि एक पटक विपश्यना शिविर लिएर यसको अभ्यास गरेमा बढी प्रभावकारी हुन्छ ।
३. साक्षीभाव
शिथिलीकरणमा उल्लेख गरेअनुसार शवासनमा सुत्नुहोस् र शरीरलाई शिथिल गर्नुहोस् । श्वासप्रश्वास आफ्नो स्वाभाविक गतिमा चलिरहेको हुन्छ । साक्षीभाव साँध्ने प्रक्रियामा हामी सचेत हुनुपर्ने मनमा उठ्ने आफ्नो विचारहरूप्रति हो ।
विचारहरू मनमा आउँछन् । विचारहरूलाई सचेत रही अवलोकन गर्नुहोस् । कुनै पनि विचारलाई नदबाउनु होस् । राम्रो–नराम्रो, उत्तेजित–अनुत्तेजित, सफा–फोहाेरी जेजस्ता विचारहरू मनमा आए पनि त्यसलाई साक्षीभावले हेर्ने प्रयास गर्नुहोस् । भावनात्मक रूपले मनमा आएका कुनै पनि विचारहरूबाट प्रभावित नहुनु हाेस् । यो अति नै कठिन कार्य हो तर अभ्यास वा साधना पनि त यसैका लागि गर्ने हो ।
हामी सधैँजसो भोक्ताभावमा रहनाले मनमा राम्रा (आ–आफ्नो सोचअनुसार) विचार आउनासाथ हामी त्यसको सुखभोग गर्न थाल्छौँ र नराम्रा विचार आउनासाथ त्यसबाट पीडित हुन थाल्छौँ ।
एकपछि अर्को गर्दै राेग र द्वेषका विचारहरूको प्रवाहले मन आक्रान्त हुन्छ । तटस्थ भई मभित्रको वर्तमान यही हो । अहिले मभित्र यही छ भनेर विचारलाई साक्षीभावले हेर्न थाल्नुभयो भने आकाशमा बादल छाँटिएझैँ विचारहरू पनि छाँटिन थाल्छन् । अभ्यासले जतिजति साक्षीभाव बढ्दै जान्छ, विचारका लहरहरू आउँछन् तर यसको अन्तराल बढ्न थाल्छ र भावनात्मक संवेगमा शिथिलता आई मनमा शान्तिको अवतरण हुन थाल्छ । भोक्ताभावबाट साक्षीभावमा रूपान्तरण हुनु नै यो साधनाको प्रक्रिया हो ।
अन्त्यमा
‘शवासन’को महत्त्व योगसाधनामा मात्र नभई ध्यानसाधनाका अन्य विधिहरूमा पनि यसको विशिष्ट महत्त्व छ । यसको प्रमुख कारण भनेको यो शरीरको यस्तो अवस्था हो जसमा शरीर र मनले सजिलैसँग विश्रान्ति लिन पाउँछन् र निकै लामो अवधिसम्म पनि साधकहरू यस अवस्थामा रहिरहन सक्छन् ।
उच्चस्तरका सिद्ध याेगीहरूले शवासनमा रहेर नै रहस्यमय यौगिक साधनाहरू सम्पन्न गरेको हामीले सुनेको, पढेको वा देखेको पनि हुन सक्छ ।
शारीरिक थकाइ वा मानसिक तनाव भएको जुनसुकै अवस्था र समयमा पनि शवासनमा रही शिथिलीकरण, आनापानसत्तियोग वा साक्षीभावको अभ्यासले शरीर र मनलाई पुनर्ताजगी दिन सकिन्छ । प्रकृतिले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति पनि दिएको छ । शरीर शिथिलीकरणको अभ्यासले शरीरभित्र भएको रोग प्रतिरोधात्मक शक्तिलाई जगाउने काम गर्छ ।
आधुनिक एलोपेथिक चिकित्सा विज्ञानमा पनि साध्य–दुःसाध्य रोगहरूको उपचार गर्दा प्रयोग गरिने रसायनयुक्त सिडेटिभ औषधिहरूको प्रयोजन पनि शरीर र मनलाई शिथिल गरी एन्टिबायोटिक औषधिले गर्ने रोग प्रतिरोधात्मक कार्यलाई सहज बनाउने भूमिका निर्वाह गर्नु नै हो ।
योग साधनामा यस्ता धेरै विधिहरू छन् जसको अभ्यासले शरीर र मनलाई शिथिलीकरण गरी शरीरभित्र भएको रोग प्रतिरोधात्मक शक्तिलाई जगाउने काम गर्छ । ध्यान दिनुपर्ने महत्त्वपूर्ण सूत्र भनेको कुनै पनि विधिलाई सही तरिकाले गर्नु हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७ ०६:३१