अंग्रेजीमा एउटा वाक्यांश छ- किक अप्सटेयर । अर्थात् लात्तीले हानेर माथिल्लो तलामा चढाउनू । ईश्वर पोखरेलको हकमा यस्तै भएको छ ।
उनी रक्षा मन्त्रालयबाट खुम्चिएर बिनाविभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री कार्यालय तानिएका छन् ।
सबैलाइ थाहा छ, नेकपाभित्रका शक्ति आकांक्षी हुन् ईश्वर पोखरेल र विष्णु पौडेल । पाेखरेललाई छाया पार्दै पाैडेललाई एकाएक नेकपा महासचिव बनाइएपछि उनी क्रुद्ध थिए । पौडेललाई एकीकृत पार्टीको शक्तिशाली महासचिवका रूपमा जिम्मेवारी दिइँदै गर्दा पोखरेललाई मन्त्रिपरिषद्मा तुलनात्मक रूपमा कम महत्त्वको मानिएको रक्षा मन्त्रालयमा खुम्च्याइएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका थिए ।
तैपनि सामुन्नेको मन्त्री किन छाड्ने ? त्यो पनि पाँच वर्षका लागि । पोखरेल अन्ततः मन्त्रालय सम्हाल्ने निर्णयमा पुगेका थिए ।
एमाले छँदा आफ्ना अध्यक्ष रहेका प्रधानमन्त्री ओलीसँग 'लभ हेट' को सम्बन्ध बनाएका पोखरेल पछिल्लो समय न्यानाेपन फर्काउन ब्यग्र थिए । त्यसका लागि उनी अर्का अध्यक्ष प्रचण्डलाई बढ्तै प्रहार गर्ने, अनि ओलीको नजिक देखिने प्रयासमा लागे । उनले माधव नेपाल र झलनाथ खनाललाई पनि प्रहार गर्न छाडेका थिएनन् । जे-जे गर्दा ओली खुसी हुन्छन्, त्यही-त्यही गर्नेमा उनी थिए ।
ओलीनजिक देखिनका लागि उनले अर्का अध्यक्ष प्रचण्डविरुद्ध तिखा अभिव्यक्ति पनि दिने गरे । उनले आफू जनताको बहुदलीय जनवाद नै ब्युँताउनुपर्छ भन्नेमा रहेको पनि जिकिर गर्थे । यस कारण पोखरेलसँग प्रचण्ड रुष्ट थिए ।
पछिल्लो समय सेनाको कार्यशैलीलाई लिएर रक्षा मन्त्रालयमा पोखरेलले दिएको अभिव्यक्तिप्रति जंगी अड्डा असन्तुष्ट थियो । सेनापतिकै अघिल्तिर पाेखरेलले बाेलेका केही शब्दलाई लिएर प्रधानसेनापति पूर्णचन्द्र थापा बिच्किएका थिए । थापाले लगत्तै प्रधानमन्त्री ओलीसँग भेटेर पाेखरेलप्रति असन्तुष्टि व्यक्त पनि गरेका थिए ।
कोरोना भाइरस (कोभिड- १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठन गरिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को समन्वय प्रभावकारी नभएको अपजस पोखरेलमाथि छँदै थियो । मेडिकल सामग्री किन्ने क्रममा सेना नचाहिँदो विवादमा तानिएको भन्दै पोखरेलसँग जंगी अड्डा क्रुद्ध पनि थियो । उनले विश्वासमा लिने असफल प्रयास पनि गरी हेरे ।
उता, उनको प्रतिष्पर्धी विष्णु पौडेल यसैबेला सक्रिय बन्न पुगे । बालुवाटार जग्गा प्रकरणपछि पूरै रक्षात्मक देखिएका पौडेल कसरी एकाएक शक्तिशाली मन्त्रीका रूपमा उदाउन पुगे त ?
पहिलाे, लुम्बिनी विवादकाे बैठानमा उनकाे भूमिका । बालुवाटार स्राेतका अनुसार लुम्बिनी प्रदेशकाे राजधानी मामिला सल्टाउन माैनता साँधेर पाैडेलले ओलीलाई गुन लगाएकाे अर्थमा हेरिएकाे छ । दाेस्राे, उनी प्रचण्डसँग पनि सहज छन् । माधव नेपालले पनि उनलाई अस्वीकार गर्नुपर्ने कारण छैन ।
पाैडेललाई युवराज खतिवडाले छाडेकाे, अनि प्रधानमन्त्रीकाे महत्त्वाकाङ्क्षासँग जाेडिएकाे मन्त्रालय थमाउँदै गर्दा प्रतिस्पर्धी पाेखरेल भने बिलखबन्दमा परेका छन् । याेसँगै उनी पार्टीभित्र पनि असाधारण रूपमा कमजाेर भएका छन् ।
पोखरेललाई ‘कारबाही’ स्वरूप प्रधानमन्त्री कार्यालयमा बढुवा गरेका छन्, ओलीले । तर, यथार्थमा उनको हैसियत अब ‘विना विभागीयमन्त्री’ का रूपमा हुनेछ ।
प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफ्नोमातहत राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पोखरेललाई प्रधानमन्त्रीका कार्यालयमा खुम्च्याउने र उनका प्रतिस्पर्धी पौडललाई अर्थमन्त्री बनाउनुलाई नेकपाभित्रको शक्ति सन्तुलन गर्ने प्रधानमन्त्रीको रणनीतिका रूपमा बुझिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने पोखरेललाई मन्त्रिपरिषद् कार्यालयमा पहिलेभन्दा झन् महत्त्वपूर्ण भूमिका दिइएको प्रष्टीकरण दिए ।’ प्रधानमन्त्री कार्यालयअन्तर्गत पाँचवटा महत्त्वपूूूर्ण विभाग छन् । पाँच जना त सचिवै छन् त्यहाँ,’ भट्टराईले शिलापत्रसँग भने, ‘त्यसैले ती सबैलाई हेर्नेगरी उहाँ (पोखरेल) को जिम्मेवारी थपिएको हो ।’
तर नेकपाको उच्च स्रोत त्यसाे भन्दैन । स्राेतका अनुसार क्याबिनेटबाट पोखरेललाई हटाउनुपर्ने माग बलियाे बन्दै गएकाे भए तापनि प्रधानमन्त्रीलाई अप्ठेरो परेकाले उनलाई सांकेतिक रूपमा यस्तो जनाउ दिइएको हो ।
यस अर्थमा अबको राजनीतिक मार्गचित्र के हुने, ईश्वर पोखरेल स्वयंले तय गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७ १८:५३