‘गोविन्द केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको हो । तपाईंजस्तो अभियन्ता देशलाई चाहिन्छ । जनआवाज उठाउनुभएको छ ।’
विश्व अहिंसा दिवसको दिन सत्याग्रही डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा भेट्न पुगेका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यसो भन्दै गर्दा डा. केसीका आँखाबाट आँसु झर्दै थिए ।
एउटा हातमा ब्यान्डेज । अर्को हातमा स्लाइनका थोपा तप्प झर्दै थियो । कलेटी परेको सुक्खा चिरचिर फुटेको ओठ । मोनिटरमा मुटुको चाल कहिले ६५, कहिले ६९, कहिले ७३ पुग्थ्यो । घरि अनुहार चिम्म पार्दा छाला र निधार खुम्चन्थ्यो । डा. केसीलाई शरीरमा भएको पीडा प्रष्टै देखिन्थ्यो । तर, डा. केसी आफ्नो दुखाइ अरुलाई सुनाउन चाहँदैनन् । १५ मिनेटपछि उनको शरीर चलमल भयो । आफैँ कोल्टे फेर्न सकेनन् । सहयोगीले उनलाई कोल्टे फर्काए ।

‘उहाँको शरीर सिथिल भएको छ । ट्वाइलेट जान पनि नसक्ने हुनुभयो । कहिलेकाहीँ बोल्नुहुन्छ,’ सहयोगी प्रितम सुवेदीले भने, ‘मेरो लागि होइन, जनताका लागि अनशन बसेको हुँ भन्नुहुन्छ । गरिब जनता उपचार नपाएर मरेका छन् । त्यसैका लागि सत्याग्रह सुरु गरेको हुँ । राजनीतिक उद्देश्य होइन ।’
फलोअपमा आएका डाक्टरले सोध्छन्, ‘तपाईंलाई कस्तो छ ?’ डा. केसी मौन बस्छन् । ठीकै भएको हात र मुन्टोले इशारा गर्छन् । बोली पनि प्रष्ट छैन । लरबरिएको मसिनो बोली सुनिँदैन । सहयोगीले नै डा. केसीलाई जानकारी गराउँछन्, ‘पिसाब कम भएको छ ।’
डा. केसीको बेडमा झुन्ड्याइएको प्लेकार्डमा लेखिएको छ, ‘दूरदराजमा मेडिकल शिक्षा खोइ ?’ यो प्रश्नको जवाफ सरकारले दिन सकेको छैन । १९औं पटक अनशन बसेको १९ दिन बित्यो तर सरकार आँखा चिम्म पारेर बसेको छ ।
‘डा. केसीलाई सरकारले पूरै इग्नोर गर्यो । राज्यले उठाउनुपर्ने कुरा डा. केसीले उठाउनुभएको छ । जनताका लागि कठिन बाटोमा डा. केसी हिँड्नु भएको हो । हामी पनि टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ डा. केसीसँगै रहेका वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

सरकारले अहिलेसम्म वार्ताका लागि पहल नगरेको उनले बताए । ‘वार्ताका लागि कुनै पहल सरकारले गरेको छैन । डा. केसीको कुरा सरकार सुन्नै चाहँदैन,’ उनले थपे । वार्ताको पहल त परको कुरा, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अहिले सत्याग्रहको समय नभएको टिप्पणी गरे । माग सम्बोधन गर्ने भन्दा पनि अहिले कोरोना महामारी भएकाले सत्याग्रहको समय नभएको उनले बताए ।
‘डा. केसीका धेरै माग पूरा भएका छन् । केही प्रक्रियामा छन् । केही बाँकी भए छलफलबाट पछि गर्न सकिन्छ । अहिले कोरोनाविरुद्ध लड्ने समय हो । असामन्य अवस्थामा सत्याग्रह सुहाउँदो विषय होइन,’ प्रवक्ता ज्ञवालीले भने ।
नागरिक अगुवाहरूले डा. केसीको माग पूरा गर्न सरकारलाई भनेका छन् । माइतीघर मण्डलामा दैनिकजसो शान्तिपूर्ण प्रदर्शन भइरहेको छ । तर सरकार भने अहिले सत्याग्रहको समय नरहेको भन्दै वार्ताबाट पछि हटेको छ । डा. केसी माग पूरा नभएसम्म अनशन तोड्ने पक्षमा छैनन् ।

डा. केसीको अनशनमा ऐक्यवद्धता जनाउन प्रथम राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगाययतका नेता तथा सामाजिक अगुवा पुगेका छन् ।
शुक्रबार डा. केसीलाई भेट्न पुगेका प्रथम राष्ट्रपति डा. यादवले वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गरे । ‘डा. केसीका माग जायज छन् । वार्ताबाट समाधान गर्नुपर्छ । कति अहिले पूरा गर्न सकिन्छ । कति पछि पूरा हुन्छ । डा. केसीको स्वास्थ्य जटिल भएको छ । वार्ता गर्न सरकारलाई म आग्रह गर्दछु,’ डा. यादवले भने । डा. केसीका मागका विषयमा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका पदाधिकारी बोल्न चाहँदैनन् । एउटाले अर्कोलाई, अर्कोले एउटालाई देखाएर पन्छिन्छन् ।
डा. केसीले १९ दिनअघि जुम्लाबाट अनशन सुरु गरेका थिए । जुम्लामा हिंसा हुन सक्ने भन्दै उनी काठमाडौं आएर अनशन बसेका हुन् । डा. केसीका अधिकांश माग पुरानै हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गर्नुपर्ने । प्रदेश–२ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रियाअघि बढाउनुपर्ने डा. केसीको माग छ ।
पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्नुपर्ने र ठूला भ्रष्टाचार काण्डको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने डा. केसीको माग छ ।
पत्रकारलाई कडाइ
डा. केसीका सहयोगी र पत्रकारलाई त्रिवि शिक्षण अस्पताल प्रशासनले कडाइ गरेको छ । डा. केसी रहेको कोठाअगाडि नै प्रहरी राखिएको छ । पत्रकार भन्नेबित्तिकै गेटबाट भित्र छिर्न दिइँदैन । गेटमा रहेका गार्डले भने, ‘माथिको आदेश हो । पत्रकारलाई छिर्न नदिनू भनेको छ । माथि निर्देशकसँगै कुरा गर्नुहोस् ।’

हामीले प्रहरी र अस्पताल प्रशासनलाई छिचोल्दै डा. केसीलाई भेटेका थियौँ । ‘डा. केसीले आईओएमको पदाधिकारी वरिष्ठताका आधारमा हुनुपर्ने माग राख्नुभएको छ । त्यसैले प्रशासन रुष्ट बनेको हो,’ डा. केसीका एक सहयोगीले भने ।
तस्वीर : सुशील श्रेष्ठ
याे पनि...
Explainer : डा. केसी सत्याग्रहका १९ शृङ्खला, कहिले के–के सहमति भए ?
‘डा. केसीकाे जीवनरक्षाका लागि अहिंसात्मक जनविद्रोह’
कोरोनाकै नाममा भ्रष्टाचार गर्न मिल्ने, मैले अनसन बस्न नमिल्ने ?
कुकुरलाई राजा बनाएर सडकमा घुमाउनेहरू सत्तामा, तर कति असहिष्णु !
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७ २१:५८