तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशकअघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका- ९ ब्रह्मदेवबाट सुरु हुने करिडोर निर्माण अझै यहाँबाट सुरुवात हुन सकेको छैन ।
करिव ४२५ किलोमिटर लम्बाइ भएको करिडोर अन्तर्गत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । ‘ब्रह्मदेवबाट २/३ किलोमिटरपछि जंगल सुरु हुन्छ,’ महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले भने, ‘लामो समय सो क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कन हुन नसक्दा काम सुरु भएन ।’ उनले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको र उक्त क्षेत्र निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।
नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि करिडोर निर्माणको अवधारणा अगाडि सारिएको भए पनि करिडोर अन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको काम सन्तोषजनक छैन । ‘लकडाउन भएकाले तीन वटै प्याकेजको काम गर्न निर्माण कम्पनीलाई ६ महिना (मंसिर) सम्मको समय थपिएको छ ।’ उनले भने, ‘अब छिट्टै ब्रह्मदेवबाट पनि ठेक्का भएर काम सुरु हुनेमा आशावादी छौँ ।’
३ वर्षअघि करिडोर अन्तर्गत ४ जिल्लामा ट्रयाक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण योजनाको काममा आंशिक प्रभाव परेको जनाइएको छ । ‘मजदुरहरू सबै स्थानीय भएकाले काममा त्यति धेरै बाधा पुुगेन,’ उनले भने. ‘बर्षातका बेला भने काम रोकिएको थियो ।’
०६५ सालदेखि निर्माण सुरु भएको दार्चुला तिंकर सडकलाई ०७२ सालमा महाकाली करिडोर अन्तर्गत गाभिएको हो । करिडोरअन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कुल ६७ किलोमिटर सडक खण्डको ट्रयाक खुलाइएको छ । साविकको दार्चुला तिंकर सडक खण्डको कुल १३४ किलोमिटरमध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका-२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
यस्तै दार्चुला तिंकर सडकको ठेक्का लागेको ४७ किलोमिटरमध्ये ४३ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाइएको इन्जिनियर रैखोलाले जानकारी दिए । यस्तै कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरासम्मको सडक खण्डको ठेक्का लाग्न बाँकी छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको ढिलाइले काम पनि हुन सकेको थिएन् । अहिले करिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन आएको छ । सबैभन्दा ढिलाई दार्चुला तिंकर सडक खण्डमा भइरहेको छ । करिब १२ वर्षमा ४३ किलोमिटर सडकखण्डको ट्रयाक खुलाइएको भएपनि सबै क्षेत्रमा अहिले सवारी साधन चल्न सक्ने अवस्था छैन् । बर्खायाममा यस सडक खण्ड पूरै अवरुद्ध छ ।
सडकको ४ किलोमिटर सडकको ट्रयाक खुलाउन अमर सूर्यसँग ०६९/०७० मै ठेक्का भएको हो । ५ पटक म्याद थप भइसकेको छ । अझै काम सुचारु भएको छैन । सडक योजनाले निर्माण काम ढिलाई गरेको जनाउँदै सरकारले गत १४ वैशाखमा निर्णय गरेको हो । रासस
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७ १८:१७