साउनमा पर्साको वीरगञ्जमा कोरोना भाइरस भुसको आगोझैँ फैलियो । तापक्रम बढेसँगै कोरोनाको ग्राफ पनि वीरगन्जमा उच्च बन्यो । समुदायस्तरमै कोरोना देखिन थाल्यो । के युवा, के ज्येष्ठ नागरिक, कसैलाई पनि कोरोनाले छोडेन । गण्डक अस्पताल संक्रमितले भरिए ।
ओहो ! अब सचेत हुनुपर्छ । जुन बेला जसलाई पनि सर्न सक्छ । घरमै कोरोना आउने त होइन ? वीरगन्जमा कोरोना फैलिएसँगै तेजस्वी श्रेष्ठको परिवारले सावधानी अपनाउन थाल्यो । १९ वर्षीया तेजस्वीलाई आफ्नोभन्दा पनि ५० प्लस बुबा आमा र ८६ वर्षका हजुरबुबाको चिन्ताले पोल्थ्यो ।
वीरगञ्ज महानगरमा मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भयो । यो समाचार एकाएक फैलिएसँगै तेजस्वीको परिवार सशंकित बन्यो । कारण– उनका बुबा महानगरमै काम गर्ने । महानगरका सबैको कोरोना परीक्षण हुने भयो ।
‘बुबाको पीसीआर गरियो । पहिलो रिपोर्ट नेगेटिभ आयो,’ तेजस्वी भन्छिन्, ‘रिपोर्ट नेगेटिभ आयो तर बुबालाई ज्वरोले सतायो । प्रत्येक वर्ष साउन–भदौमा बुबालाई यस्तै समस्या हुन्थ्यो । सुरुमा त्यही होला भन्ने सोचियो । फेरि अर्को दुई दिनपछि पीसीआर गरियो । ४ दिनपछि रिपोर्ट पोजिटिभ आयो ।’
बुबाको रिपोर्ट पोजिटिभ आएपछि तेजस्वीको परिवारमा सन्नाटा छायो । परिवारमा अरुलाई पनि कोरोना सरेको त छैन । अब ८६ वर्षको हजुरबुबालाई कसरी सुरक्षित राख्ने । तेजस्वीको परिवार सोच्न थाल्यो ।
पोजिटिभ रिपोर्ट आएपछि उनको बुबालाई घरमै आइसोलेट गरियो ।
केही दिनपछि घरको सबैको पीसीआर हुने भयो । पीसीआर गर्नुअघि नै उनका हजुरबालाई ज्वरो र खोकीले च्याप्यो । बिस्तारै आमा, दाई र काकालाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिन थाल्यो । अन्तत: तेजस्वीलाई पनि लक्षण देखियो ।
परिवारमा ७ जनालाई नै ज्वरो, रुघाखोकी, खाएको बासना थाहा नहुने, खान मन नलाग्ने, थकाइ लाग्ने, शरीर दुख्नेलगायतका लक्षण देखियो । परिवारका सबैमा फरक–फरक लक्षण देखियो । लक्षण देखिएसँगै डरले घरमा डेरा जमायो ।
‘पीसीआर गर्नुअघि नै लक्षण देखिएको थियो । सबैलाई कोरोना लाग्यो भन्ने भयो । यद्यपि २३ साउनमा घरका सबैको पीसीआर गरायौँ । शुक्रबार स्वाब दिएको सोमबार राति ७ जनाकै रिपोर्ट पोजिटिभ आयो,’ स्तब्ध हुँदै उनी भन्छिन्, ‘त्यसपछि केही सोच्नै सकिएन । घरमा आकाशै खसेझैँ भयो । कसले कसलाई सहयोग गर्ने ? सबै संक्रमित ?’
त्यसपछि उनको परिवार नै आइसोलेट भयो । एकले अर्कोलाई छुन मिल्दैन । अब हजुरबालाई के गर्ने ? कसले रेखदेख गर्ने ? कसले अक्सिजन चढाउने ? खाना कसले पकाउने ? अनेकन प्रश्नले हान्न थाल्यो ।
‘सबैको पोजिटिभ आउनुअगाडि नै घरमा अक्सिजन ल्याएका थियौँ । तर, घरमा सबै संक्रमित भएपछि समस्या भयो,’ तेजस्वी भन्छिन्, ‘हजुरबालाई दमको पनि समस्या भएकाले अस्पतालमा राख्यौँ । हामी घरमै आइसोलेट भयौँ ।’
हजुरबाको रेखदेख पनि उनले नै गर्थिन् । ‘घरबाट बाहिर निस्कन नपाइने । हजुरबालाई अस्पताल राखेपछि भनेको बेला भेट्न पनि नमिल्ने,’ उनी भन्छिन्, 'पीडामाथि पीडा थपिँदै गयो ।’
कोरोना पोजिटिभ देखिएसँगै तेजस्वीको कक्षा पनि रोकियो । तेजस्वी काठमाडौं विश्वविद्यालयमा स्नातकमा अध्ययनरत छिन् । लकडाउन हुनुअगाडि उनी घर गएकी थिइन् । इन्भाइराेन्मेन्टल इन्जिनियरिङ पढ्दै गरेकी तेजस्वी घरमा सबैलाई कोरोना लागेपछि अनलाइन कक्षामा सामेल हुन् सकिनन् ।
केयूका प्राध्यापकहरूलाई उनले एक लाइन मेल गरिन्, ‘मेरो परिवारलाई कोरोना पोजिटिभ देखिएको छ । म कक्षामा सामेल हुन सक्दिनँ ।’
तेजस्वीको मेल केयूका प्राेफेसर डा. विकास अधिकारलाई पुग्यो । डा. अधिकारी पनि केही बेर त झसङ्ग भए । आफ्नै विद्यार्थी संक्रमित भएपछि उनको मन स्थिर बस्न सकेन । तत्काल तेजस्वीलाई उनले फोन डायल गरे ।
‘यो महामारी तिमीलाई मात्र परेको होइन । विश्व नै जुधिरहेको छ । तिम्रो परिवारले पनि लड्नुपर्छ । कोरोनालाई जित्नुपर्छ । हरेस खाने होइन । आत्मबल बलियो बनाउने हो । निको हुन समय लाग्दैन । घरका सबैलाई हेर्ने पनि तिमीले हो । डराउने आत्तिने होइन । पढाइको चिन्ता नलिनू । विश्वविद्यालयमा हामी मिलाउँछौँ,’ गुरुको परामर्शले आत्तिको तेजस्वीको मन हलुका भयो ।
प्रोफेसर विकास र अरु प्रोफेसरहरुले मेलबाट नै परामर्श दिएपछि संक्रमित भए पनि उनी कक्षामा सामेल भइन् । तर उता अस्पतालको आईसीयूमा हजुरबुबालाई झन् गाह्रो भयो । खोकी, दम, ज्वरोले गाँज्यो । डाक्टर र नर्सले उनका हजुरबाबुलाई बचाउन अथक प्रयास गरे ।
जे नसोचेको त्यहीँ समय आयो । जे नहुनु पर्थ्याे, त्यही भयो । डाक्टर नर्सको प्रयासले पनि काम गरेन । अन्तत: २ भदौमा अस्पतालको बेडमै हजुरबाको प्राण गयो ।
भावुक हुँदै उनी भन्छिन्, ‘कोरोनाका कारण हामीले हजुरबालाई गुमाउनुपर्यो । घरको अभिभावक गुमाउँदाको पीडा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।’
घरको अभिभावक गुमाउनुको पीडा एकातिर, अर्कोतिर घरका अन्य ६ जनाले कोरोनालाई जित्नु छ । प्रकृतिको नियम नै हो । जन्मिएपछि एक दिन यो धर्ती छोड्नैपर्छ । उनको परिवारले सम्हाल्दै गयो ।
फेरि तेजस्वीको परिवारको पीसीआर हुने भयो । ‘कोरोना पोजिटिभ भएपछि दोस्रो पटक परिवारकै पीसीआर गरियो । बुबाको रिपोर्ट नेगेटिभ आयो । बुबा कोरोनामुक्त हुनुभयो । तर अरुको पोजिटिभ नै आयो,’ उनी भन्छिन्, 'बुबाको रिपोर्ट नेगेटिभ आएपछि घरमा अलिकति उज्योलो प्रतित भयो ।’
कोरोनाको औषधि छैन । भ्याक्सिन छैन । अहिलेकोे औषधि भनेकै आत्मबल र खानपान हो । डरायो आत्तियाे भने झन् रोगले गाह्रो बनाउँछ । कोरोनाबाट मुक्त हुन उनको परिवारले पनि खानपानमा विशेष ध्यान दिएको छ । किनमेलका लागि बाहिर जान मिल्दैन । उनको छिमेकी पसल र महानगरकै सहयोगी मनहरूले घरमा अत्यावश्यक सामान ल्याइदिन्छन् ।
‘मान्छेको इम्युन सिस्टम राम्रो भयो भने छिटो निकाे भइन्छ । खान मन नलाग्ने हुन्छ । तर खान मन नलागे पनि तातो पकाएको खानेकुरा खान छोड्नु हुँदैन,’ उनी भन्छिन्, ‘बेसारपानी, जुवानाे, मेथी, अधुवा दिनको ३ पटक खाने गरेका छौँ । सँगै भिटामिन बी र सी पनि खाएका छौँ ।’
अहिले तेजस्वीको परिवारमा सबैले आत्मबल बलियो बनाएका छन् । हजुरबालाई अस्पतालमा राख्दा तेजस्वीले जनशक्ति थोरै देखेकी थिइन् । डाक्टर नर्सको एउटा टिमले १५ दिन काम गर्ने र त्ययसपछि अर्को टिम आउने । १५ दिन गरेपछि एउटा टिम क्वारेन्टाइन बस्ने गरेको उनले देखेकी थिइन् । अहिलेको महामारीमा सरकारले स्वयम्सेवक खटाउनुपर्ने उनले बताइन् ।
‘डाक्टर र नर्सले भ्याएसम्म गर्नुभएको छ । तर, थोरै जनशक्ति हुँदा डाक्टर नर्सलाई नै हम्मेहम्मे पर्दो रहेछ । अस्पताल बिरामीले भरिएको हुन्छ । डाक्टर नर्सले कति जनाको उपचार गर्ने ? समस्या नै रहेछ,’ उनी भन्छिन्, ‘कोरोना महामारीपछि कति अभिभावकले नर्स पढाउन पनि रोक्नुभएको छ । अहिले घरमै रहेका युवा जनशक्तिलाई तालिम दिएर खटाउन सकिन्छ । हजुरबाको फिबर हेर्ने र अक्सिजन दिने काम म आफैँ गर्थे । अस्पतालमा पनि यस्तै भोलिन्टियर खटाउने हो भने धेरै सहज हुन्थ्यो ।’
सरकारले स्वयम्सेवक राख्यो भने यो महामारीमा कोरोना संक्रमितको सेवामा खटिने उनी बताउँछिन् ।
‘यदि स्वयम्सेवक राख्ने हो भने सबैभन्दा पहिले म नै कोरोना संक्रमितको सेवा गर्न जान्छु । अर्को भनेको प्लाज्मा डोनेट हो । अहिले धेरै गाह्रो भएकालाई प्लाज्मा दिएर बचाउन सकिन्छ । हजुरबालाई पनि प्लाज्मा दिन खोजिएको हो । दिन नपाउँदै उहाँ बित्नुभयो । अब म निको हुनेबित्तिकै प्लाज्मा पनि दिन्छु । अरुको ज्यान बचाउन मेरो प्लाज्माले काम गरोस् ।’
उनको परिवार अहिले तेस्रो रिपोर्टको प्रतीक्षामा छ । ‘तेस्रो पटक परीक्षणको लागि स्वाब दिएका छौँ । अबको रिपोर्ट नेगेटिभ आउने आशा छ,’ कुराको बिट मार्दै तेजस्वी भन्छिन्, ‘रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको सेवामा खटिन्छु ।’
नाेट : संक्रमित परिवारकाे अनुमतिमै नाम र फाेटाे सार्वजनिक गरिएकाे हाे।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७ १८:५९