झलमल्ल उज्यालो हुनेवित्तिकै सडकको छेउमा राखिएको रिक्सामा पुग्न हतार हुन्छ उनलाई । त्यो हतार टोखास्थित बानियाँटारको पुलमा रहेको प्रतीक्षालयमा पुगेपछि प्रतीक्षामा नै परिणत हुन्छ ।
जताजता मान्छे, उतैउतै उनको ध्यान तानिन्छ । ‘कतैबाट सामान ल्याइदिनुपर्यो भनेर आवाज आउँछ कि भन्दै बुढेसकालको कान टाठो बनाएर बस्छु । तर पनि यस्तो नसुनेको हप्तौँ भइसक्यो’, मलिन आवाजमा भने उनले ।
काभ्रेपलान्चोक स्थायी घर भई हाल गोंगबुमा कोठा भाडामा बस्दै आएका अरुण तामाङले लामो समयदेखि रिक्सा चलाएरै आफ्नो गुजारा चलाइरहेका थिए । तर, पछिल्लो समय भने बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ भइरहेको छ उनलाई ।
रिक्सामा सामान ओसारपसार गर्दै कमाउने अनि घरपरिवार चलाउने अरुणलाई अहिले भने काम पाउन मुस्किल छ ।
‘काम पाइन्छ कि भनी बिहानै जुरुक्क उठेर यही पाटीमा आएर बस्छु अनि साँझमा लुत्रुक्क परेर कोठामा जान्छु । आजभोलि दिन यसरी नै बितिरहेको छ’, उनको कुरा सुन्दा मन कुँडिन्छ जोकोहीको पनि ।
आफ्नो पसिना बेचेर राम्रै कमाइ गरी हाँसीखुसी जीवन धानिरहेका उनको खुसी विगत ४ महिनादेखि कोरोनाले खोसेको छ ।
असारको झमझम पानीमा निथ्रुक्क रुझ्दै त कहिले दिनभर भोकै पेट लिएर यसरी नै कामको खोजीमा भौँतारिइरहेका छन् गोंगबु, नयाँ बसपार्क क्षेत्रमा अरुण ।
होलसेल पसलका सामान, फर्निचरका सामान त कहिले कोठा सर्नेका सामान ओसार्ने काम हो उनको । यही कामबाट एक दिनमै १ हजारदेखि २ हजार रुपैयाँसम्म कमाउने गर्थे ।
‘खलखली पसिना चुहाएर रिक्सा चलाउन सजिलो त कहाँ छ र ! तैपनि काम सकेपछि गोजीमा राखेको लक्ष्मीलाई छामेर पसिना पुछ्नुको मज्जा नै बेग्लै छ’, उनी भन्छन् ।
अहिले समय फेरिएको छ । एक त काम पाउनै मुस्किल, कहीँ कतै पाइहाले पनि थारै पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता अनि दिनभर काम गरेर बेलुकाको छाक टार्नुपर्ने अवस्था छ । बल्लतल्ल काम पाएर गर्दा दिनको २ सय रुपैयाँ कमाइ हुन्छ ।
‘त्यो पैसा हेरेर घुटुक्क थुक निल्नुबाहेक अरू उपाय छैन’, उनले भने ।
१३ वर्षअघि गाउँ छाडेर काठमाडौं आएपछि इँट्टा बोक्ने, घर बनाउने ठाउँमा मसला घोल्ने कामसमेत गरिसकेका अरुण रिक्सा चालक बन्दासम्म अहिले ५९ वर्ष पुगे । तर पनि परिश्रम गर्न भने पछाडि हटेका छैनन् ।
भन्छन्, ‘जे गर्छ, यही पापी पेटले गर्छ । पेट पाल्नकै लागि यो उमेरमा पनि पाखुरा खियाउनुपरेको छ ।’
बजारमा कामको खोजीमा निस्किँदा पनि काम पाइन्छ नै भन्ने टुंगो नहुने बताउँछन् उनी । कारण, उनीभन्दा कम उमेरका थुप्रै रिक्सा चालकहरू छ्यापछ्याप्ती जो छन् । कतिपयले त उमेर काटेको बुढो भनेर पत्याउँदैनन् रे, जसले गर्दा समस्यामाथि समस्या थपिएको बताउँछन् अरुण ।
रासनपानी, लुगाफाटोबाहेक ४ हजार रुपैयाँ मासिक कोठाभाडा तिरेर गोंगबुमा बसेका छन् उनी । तर, लकडाउन भएर काम गर्न नपाएपछि ४ महिनाको भाडा पनि तिर्न सकेका छैनन् । खाना भने श्रीमान्–श्रीमतीले आधा पेट नै खाएर कयौँ रात गुजारेका छन् ।
१५ असारको दिन ।
‘असारको १५ गते दही चिउरा खाने दिन । मेरो कोठामा एउटा दाना चामल थिएन । ग्यास पनि सकिएको थियो । त्यो दिन सबेरै ४ बजे कामको खोजीमा निस्किएँ तर दिनभर काम भएन’, आँखाभरि आँसुका दाना टप्काउँदै भने, ‘यही पाटीमा टोलाएर बस्दाबस्दै रातको ९ बजेको थियो । त्यसपछि यहीँ निदाएछु ।’
विश्वभर महामारीको रूप लिएको कोरोनाको त्रासका कारण सबै जना घरभित्रै छन् । तर, अरुण भने मुखमा मैलो मास्क लगाएर दिनहुँ कामको खोजीमा काठमाडौंका विभिन्न ठाउँमा पुग्छन् ।
कतै काम दिने भइहाले भने स्यानिटाइजरसम्म बोकेका छैनन् । ‘कोरोना लाग्छ, भो फुटपाथमा हिँड्ने मान्छे’ भन्दै तर्किन्छन् उनीसँग ।
उनले भने, ‘हामीलाई कोरोनाको होइन, भोकको डर छ । रोगले भन्दा छिटो भोकले मार्छ जस्तो भएको छ । मुखमा लाउनी माड नभएपछि हातमा दल्ने चिजको के अर्थ हुन्छ र ?’
यसरी सडकका छेउछाउमा रिक्सा राखेर कामको खोजीमा बस्ने अरुण तामाङ मात्र होइनन्, अरू पनि थुप्रै भेटिन्छन् । तिनैमध्येका अर्का रिक्सा चालक हुन् विशाल पहरी ।
सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विशाल एक वर्षदेखि काठमाडौंमा रिक्सा चलाइरहेका छन् ।
ऋण काढेर वैदेशिक रोजगारीका लागि कतारमा २ वर्ष बिताएर आएका उनी त्यही ऋण तिर्नका लागि रिक्सा चालक बन्न बाध्य भएका हुन् ।
‘सोचेजस्तो जिन्दगी कहाँ हुन्छ र ! गाउँमा ऋण काढेर काम गर्न विदेश गएँ, कतारको त्यो चर्को घाममा खटेर काम गर्दा महिनाको २० हजार कमाइ हुने, न त जोगाउन नै सकेँ, न ऋण तिर्न नै’, उनले सुनाए ।
कक्षा ८ सम्म पढेका उनलाई गाउँमा पक्की घर बनाउने सपना छ, जसका लागि उनी एकचित्त भएर काम गरिरहेका थिए । तर, लकडाउन सँगै उनको सपना फेरिएको छ । अब उनलाई घर बनाउन होइन, काठमाडौंमा आफू बसेको कोठाको भाडा तिर्न मात्र पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ ।
‘लकडाउन भएदेखि कोठाभाडा तिर्न सकेको छैन, घरभेटीले कराएर हैरान छ, आफ्नो काम नै परेको छैन । त्यसैले कचकच सुन्नुभन्दा कहिलेकाहीँ त सडककै पेटीमा रात काट्ने गरेको छु’, उनले भने ।
बिहान–बेलुका छाक टार्न मुस्किल परेको बेला काम पाइन्छ कि भन्दै हिँड्न पनि सजिलो छैन अहिले । कहिले वडाका मान्छे, कहिले टोलका त कहिले पुलिस आएर कराउँछन् ।
‘तेरो रिक्सा खोलामा फाल्दिम्, लकडाउन छ भन्ने थाहा छैन ? काँ बस्छस्, त्यहीँ जा’ भन्दै कराउने गरेको उनी बताउँछन् । ‘तर, तिनीहरूलाई भोको पेटको पीडा के थाहा ?’, उनको गुनासो छ ।
‘काम गर्ने जोस, ऊर्जा र बल भएर पनि अहिले भोको पेट लिएर सडकका छेउछाउमा बस्न बाध्य हुनुपरेको छ’, उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७ २३:२९