'मलाई त नर्स बन्नु छ अनि गायिका पनि ।'
बाल्यकालमा कसैले अस्मिता अधिकारीलाई 'ठूलो भएर के बन्ने ?' भन्ने प्रश्न गर्यो भने आउने उत्तर यही थियो । आखिर उनी अहिले नर्स पनि बनिन् अनि सफल गायिका पनि ।
सानो उमेरदेखि नै अस्मितालाई गाउने सोख थियो । उनले विशेषत: भजन गाउँथिन् । उनको स्वरको धेरैले तारिफ गर्थे ।
कहीँ कतै हुने जमघटमा पनि अस्मिताकी आमाले अस्मितालाई गाउन अघि सार्थिन् । आमामा एउटा विश्वास थियो- छोरी पछि राम्रो गायिका बन्न सक्छे भन्ने ।
केही शान्त स्वभावकी अस्मिताले ६ कक्षासम्म अगाडि गएर कसैलाई गीत सुनाउने आँट गरिनन् । आफ्ना साथीहरूसँग भने बेला मौकामा गुनगुनाउने गर्थिन् । साथीहरूले राम्रो प्रतिक्रिया दिँदा स्टेजमै चढेर गाइदिऊँझैँ लाग्ने गर्थ्यो तर त्यो आँट अस्मितामा आएन ।
आफ्नो सन्तानको पढाइ र भविष्य सोचेर अस्मिताकी आमा काठमाडौं छिर्ने निधो गरिन् । जतिबेला अस्मिता कक्षा ७ मा पुगेकी थिइन् ।
नयाँ ठाउँ, नयाँ विद्यालय, नयाँ साथी, नयाँ शिक्षक/शिक्षिका ।
अनि सुरु भयो अस्मिताको नयाँ जिन्दगी ।
नयाँ विद्यालयमा हरेक शुक्रबार 'गुड फ्राइडे' मनाउने चलन थियो । नयाँ विद्यार्थी भएका कारण शिक्षकले उनलाई कथा, कविता वा कुनै गीत सुनाउन प्रेरित गरे । अस्मिताले सोचिन्- 'मैले मेरो प्रतिभा देखाउने मौका यही हो । मैले यहाँ गीत सुनाउनुपर्छ ।'
कक्षामा रहेका साथीहरूको अगाडि पुगेर अस्मिता गुनगुनाइन्- 'सिन्कासिन्का जोडेर, परेलीले गुँड लायो ।'
त्यो पल सम्झिँदै अस्मिता भन्छिन्, 'मेरो त हात-खुट्टा काँपेको थियो । आँसु नै आएको थियो ।'
तर, कक्षामा निरन्तर गाउन थालेपछि अस्मिताको 'कन्फिडेन्स' बढ्यो, जसका कारण उनले स्टेजमा चढेर पनि गाउने हिम्मत जुटाइन् । विद्यालमा हुने हरेक कार्यक्रममा उनले गीत सुनाउन थालिन् ।
प्लस २ पढ्दा पनि उनले गीत गाउन छाडिनन् । हरेक ठाउँमा प्रशंसा पाइरहेकाले पनि उनले निरन्तर गीत गाइरहिन् ।
नर्सिङ पढाइ
बाल्यकालमा अस्मिताको सपना गायिका बन्ने थियो । त्यससँगै नर्स पनि बन्नु थियो । नर्स बन्ने रुचि किन थियो ? त्यसको उत्तर अस्मितासँग छैन । तर, गायकीमा जस्तै उनलाई नर्सिङको पनि भोक थियो ।
त्यसैले अस्मिताले नर्सिङ पढाइ सुरु गरिन् । पढाइमा राम्रै थिइन् अस्मिता । त्यसैले पनि उनलाई नर्सिङ पढ्न गाह्रो थिएन ।
आफ्नो पढाइबारे अस्मिता भन्छिन्, 'मलाई सधैँ पढ्नुपर्छ भन्ने लागिरहन्थ्यो । त्यसमाथि मलाई त नर्सिङ पढेर नर्स बन्नु थियो । यता, गायिका बन्नलाई पनि यसले असर नगर्ने भएपछि मैले नर्सिङ पढेकी हुँ ।'
नर्सिङ पढ्दै गर्दा पनि अस्मिताको गायिकीको धेरैले प्रशंसा नै गर्थे । धेरैले उनलाई गाउन प्रोत्साहन गर्थे ।
'नर्सिङ पढ्दा मैले धेरै नै प्रोत्साहन पाएँ', अस्मिता भन्छिन्, 'उहाँहरूले नै मलाई नेपाल आइडलसम्म जाने हौसला दिनुभएको थियो ।'
नेपाल आइडलको यात्रा
नेपालमा विश्व चर्चित गायक फ्रेन्चाइज शो 'नेपाल आइडल' सुरु हुने समाचार बाहिरियो । गायनमा रुचि भएका तर राम्रो स्थान नपाएकाहरूका लागि यो राम्रो 'प्लेटफर्म' बन्दै थियो ।
तर, अस्मिता पहिलो सिजनमा सहभागी हुन पाइनन् । आफ्नो नर्सिङ पढाइ अन्तिम वर्षमा चलिरहेका कारण पनि उनले पहिलो सिजनमा भाग लिन सकिनन् ।
अस्मिता भन्छिन्, 'कतिपय साथीहरूले त जाऊ भन्नुभएको थियो । तर, अन्तिम वर्षको पढाइ सकेर अर्को वर्ष जाने सोचले पहिलो सिजनमा गइनँ ।'
दोस्रो सिजन सुरु हुनु अगाडि अस्मिताले केही गायनका कक्षाहरू लिइन् । सङ्गीतका केही ज्ञानहरू लिइन् ।
'नेपाल आइडलमै जानका लागि मैले गायन कक्षा लिएकी थिएँ', अस्मिता भन्छिन्, 'त्यहाँ जान त केही ज्ञान हुनै पर्यो नि भन्ने लागेर मैले कक्षा लिएकी हुँ ।'
जब नेपाल आइडलको दोस्रो सिजनमा आस्मिता सहभागी भइन्, उनको चर्चा एकाएक चुलियो । अस्मिताको स्वरको धेरैले तारिफ गरे । अस्मिताले आफ्नो स्वरबाट धेरैलाई फ्यान बनाइन् ।
नेपाल आइडलको दोस्रो सिजनमा उनी उत्कृष्ट ४ मा परिन् । अस्मिताले उपाधि भने जितिनन् । तर, सङ्गीत क्षेत्रकै विभिन्न व्यक्ति समक्ष भने उनले आफ्नो परिचय बनाइसकेकी थिइन् । त्यसैले होला, अहिले उनलाई गीत रेकर्डिङमा भ्याई नभ्याई नै छ ।
कोरसपछिकी गायिका
अस्मिताको नर्सिङ पढाइ चलिरहेको थियो । अस्मिता आफ्नो ड्युटी सकिएलगत्तै रेकर्डिङ स्टुडियोमा धाउने गर्थिन् ।
रेकर्डिङ स्टुडियो धाउनुको एउटै उद्देश्य थियो- कसैले गीत गाउने अवसर दिइहाल्छ कि !
स्टुडियो धाउने क्रममा अस्मिताले केही गीतहरूमा भने कोरस गाउने अवसर पाइन् । अस्मिता भन्छिन्, 'धेरै गीतमा त होइन, यसो केही गीतमा भने कोरस गाउने अवसर मिलेको थियो ।'
कोरस नै गाउन पाउँदा पनि अस्मितामा छुट्टै खुसी थियो । 'कोरस नै भए पनि गाउन पाइरहेकी थिए । स्वरमा केही सुधार गर्ने मौका पाइरहेकी थिएँ । स्टुडियोका विषयमा पनि बुझ्ने अवसर मिलेको थियो', अस्मिता भन्छिन्, 'त्यसैले कोरसमा नै भए पनि गाउँदा खुसी लाग्थ्यो ।'
कुनै समय लिड गायिका बनेर गीत गाउन धोको बोकेकी अस्मितालाई अहिले भ्याई नभ्याई नै छ । चलचित्रमा पार्श्व गायनदेखि सोलो गीतहरूमा पनि अस्मिताले आवाज भरिरहेकी छन् ।
नेपाल आइडल प्लेटफर्मले दिएको परिचय र आफ्नो निरन्तर मिहिनेतले आफू अहिले व्यस्त बनेको अस्मिताको बुझाइ छ ।
अहिले अस्मितालाई धेरै गीतको अफर आइरहेको हुन्छ । तर, उनले सबै गीत गाउन स्वीकार गर्दिनन् । समाजलाई अपाच्य हुने शब्द भएका गीतहरू अस्मिताले अस्वीकार गर्छिन् । 'मेरो स्वर सुहाउने गीत छैन भने पनि मैले अस्वीकार गर्ने गरेकी छु', अस्मिताले बताइन् ।
ट्रेण्ड र ट्रेण्डिङबारे
अहिले युट्युब ट्रेण्डिङ र भ्युजलाई 'हिट' मान्ने प्रचलन छ, जुन कुरामा भने अस्मिता सहमत छैनन् । ट्रेण्डिङ नै हिटको मापदण्ड नभएको उनको भनाइ छ ।
अस्मिता भन्छिन्, 'ट्रेण्डिङ तथा भ्युजले गायक/गायिका तथा कलाकारहरूको काममा विशेष अर्थ राख्छ । हामीलाई त जति धेरैले हेरे वा सुने, त्यति नै राम्रो हो । तर, सफलताको मापदण्डचाहिँ त्यो मात्र होइन ।'
आफू सन्तुष्ट भएर गाएका गीतहरू ट्रेण्डिङमा नपरे पनि मन खुसी नै हुने अस्मिता बताउँछिन् । अस्मिता भन्छिन्, 'आफूलाई सन्तुष्टि मिलेका गीतहरू ट्रेण्डिङमा आए भने त्यसले थप खुसी दिन्छ ।'
'मेरालागि त सफलता भनेको नै सन्तुष्टि हो', अस्मिताले कुरा टुंग्याइन् ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७ १३:११