प्रदीपकुमार ज्ञवाली अहिले संघीय सरकारमा परराष्ट्रमन्त्री छन् । मृदुभाषी नेताका रूपमा चिनिन्छन् उनी । त्यसो त, ज्ञवालीको अर्को सशक्त परिचय छ, उनी एक सिद्धहस्त साहित्यकार पनि हुन् । ज्ञवाली साहित्यमा ‘शीतविन्दु’ नामले परिचित छन् । यो नाम उनले भूमिगत रहँदा जुराएका रे !
उपन्यास, कथा, कविता, गीति एल्बम र राजनीति, दर्शनसँग सम्बन्धित पुस्तक गरी करिब एक दर्जन कृति उनले साहित्य क्षेत्रलाई सुम्पिइसकेका छन् ।
ज्ञवालीलाई धेरैले विनम्र र रचनात्मक व्यक्ति मान्छन् । उनी वास्तवमै शिष्ट, शान्त र सौम्य रूपमा प्रस्तुत हुन्छन् । उनको राजनीतिक जीवन र साहित्यिक सिर्जनाहरूमा पनि यी कुरा झल्किन्छन् ।
सानैदेखि साहित्यमा झुकाव
२८ भदौ २०१९ मा गुल्मीको साविक बलेटक्सार गाविस (हाल रुरु क्षेत्र गाउँपालिका)को निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली सानैदेखि कविता र गीत लेख्न रुचाउँथे । बाआमाका ३ भाइ–बहिनीमध्ये कान्छा उनी पढाइमा पनि अब्बल थिए ।
उनी सानैदेखि सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणबारे सोच्थे– राजनीति थाहा नपाए पनि । समाजमा देखिएका सामाजिक, सांस्कृतिक, आर्थिक विकृति र विसङ्गतिले उनमा एक प्रकारको विद्रोह पैदा हुन्थ्यो तर अव्यक्त ।
त्यही भएर उनले आफ्ना बाल्यकालीन सिर्जनामा समेत सामाजिक विभेदविरुद्ध भावना पोख्थे । देशभक्तिका भावले ओतप्रोत सिर्जना त आज पनि उनको रुचि नै हो ।
प्रदीपकुमार ज्ञवालीउनले कक्षा ६ मा पढ्दादेखि नै कविता लेखनमा कलम चलाए । विद्यालयमा कविता भनेरै अक्सर उनी पुरस्कृत भइरहन्थे रे ! उनका सिर्जनामा सामाजिक यथार्थ अर्थात् समाजमा भइरहेका घटनाको चित्रण गरिएको हुन्थ्यो ।
‘त्यसबेला वामपन्थी आन्दोलनको प्रभाव गाउँमा पर्दै थियो । हाम्रो समाज विविधतापूर्ण थियो । धेरै जातजातिको मिश्रित बसोबास थियो । दलितहरूमाथि विभेद भएको देख्थेँ । त्यसले मलाई दुखाउँथ्यो । त्यसैले कविता र गीतबाट विद्रोह बोल्थेँ’, ज्ञवाली सम्झिन्छन् ।
कविता लेख्न उनले २०२८ सालतिरै सुरु गरेका हुन्, जतिबेला उनी ६ कक्षामा पढ्थे ।
२०३१ सालमा रिडी (रुरु क्षेत्र)मा पहिलो पटक उनले कविता प्रतियोगितामा भाग लिए । त्यहाँ उनले ‘किन’ शीर्षकको कविता वाचन गरे । १२ वर्षीय ज्ञवालीले समाजमा विभेद किन ? भनेर सशक्त प्रश्न कवितामार्फत गरेका थिए ।
‘सिधा समाज र नीति निर्मातालाई प्रश्न गर्न साहित्य एउटा महत्त्वपूर्ण माध्यम हो । सानैदेखि यस्तै खालको आदत विकास भयो’, ज्ञवाली भन्छन् ।
बाल्यकालीन सिर्जना भने अहिले उनीसँग छैनन् । २०३३ सालसम्म ज्ञवालीले थुप्रै कविता लेखे । ‘त्यसबेला एउटा खण्डकाव्य अन्तिममा पुर्याएको थिएँ तर पूरा गर्न सकिनँ’, उनी भन्छन् ।
उनले २०३६ सालदेखि २०४६ सालसम्म भूमिगत जीवन बिताएका थिए । भूमिगत अवस्थामै २०४१ सालमा ज्ञवालीको विवाह पाल्पा मदनपोखराकी सरस्वती अर्यालसँग भएको थियो । सरस्वती आफैँमा सशक्त लेखक पनि हुन् ।
ज्ञवाली दम्पतीकवितामा जीवराज आश्रितको त्यो टिप्पणी
२०३४ साल मंसिरमा एउटा संयोगले प्रदीप ज्ञवालीको जीवन मोडियो वा भनौँ ट्र्याकमा आयो । २०३२ सालमा एसएलसी गरेका ज्ञवाली उमेरका हिसाबले सानै थिए । त्यसबेला गाउँमा लाहुर जाने चलन थियो । उनका काकाहरू लाहुरे थिए, बुबाले पनि केही समय लाहुरमै बिताए ।
उच्च शिक्षाका लागि गाउँमा क्याम्पस थिएन । सानै भएकाले उनलाई घरबाट बाहिर पठाउन परिवारले मानेन । त्यसैले ज्ञवाली घरदेखि १ घण्टा टाढाको जनज्योति प्रावि काउलेमा पढाउँदै घरमै बसेका थिए ।
उनी खण्डकाव्यको तयारीमा थिए । एउटा शारीरिक रूपले अक्षमले मागेर जीवन धान्नुपर्ने बाध्यतामा आधारित थियो तयारी गरिएको खण्डकाव्य । विद्यालयमा उनी उक्त काव्यका सर्गहरू लेख्दै बसेका थिए । त्यही बेला एक जना नयाँ व्यक्ति विद्यालयभित्र छिरे र ज्ञवालीकै छेउमा आएर बसे ।
ती व्यक्तिले उनलाई प्रश्न गरे, ‘यो घमाइलो समयमा के लेख्दै हुनुहुन्छ ?’
लेखिरहेको डायरी बन्द गरेर ज्ञवालीले ‘केही होइन’ भनेर टार्न खोजे । ‘म सानैदेखि अलिक सङ्कोची थिएँ । यति सफा, चिटिक्क व्यक्ति विद्वान् नै हुनुपर्छ, मेरो कविता पढेर नकारात्मक टिप्पणी गर्लान् वा हल्का रूपमा लिइदेलान् भन्ने लाग्यो’, ज्ञवाली भन्छन्, ‘तर, उहाँले निकै कर गरेपछि मैले कविता देखाएँ ।’
ती व्यक्तिले ज्ञवालीले लेखेका कविता मनमनै पढे । एकैछिनमा उनले प्रशंसा त गरे नै सँगै ‘एउटा कुरा मनपरेन’ पनि भनिदिए ।
‘कवितामा तपाईंले गरिबीको चित्रण राम्रोसँग गर्नुभएको रहेछ, यो तपाईंको लेखनको राम्रो पक्ष हो’, ती व्यक्तिले भने, ‘तर, तपाईंले यो कवितामा जे कुरा समावेश गर्न छुटाउनुभयो, त्यो निकै महत्त्वपूर्ण छ, त्यसैले तपाईंको यो कविता अलिक अपूरो छ ।’
किशोर अवस्थामा स्वभाविक हो, आफूले जे गरिरहेको छु, त्यो नै सही हो, कसैले प्रश्न नउठाइदेओस् भन्ने लाग्छ । ज्ञवालीलाई ती व्यक्तिको टिप्पणी सुन्नेवित्तिकै सुरुमा अलिअलि रिस पनि उठ्यो रे !
‘त्यसपछि उहाँले जे भन्नुभयो, त्यहीँबाट मेरो जीवनले नयाँ मोड लियो’, ज्ञवाली स्मरण गर्छन् ।
‘तपाईंको कविताले गरिबका दुःख मात्र बोलेका छन्, उनीहरूको भविष्य नै छैन भन्ने खालको निराशा पोखिएका छन्, मेरो असहमति यहीँनेर हो’, ती व्यक्तिले ज्ञवालीलाई भनेका थिए, ‘संसारमा गरिबको सत्ता सम्भव छ । उनीहरूका पक्षमा विचार र सिद्धान्तहरू छन्, बोलिदिने व्यक्ति छन् । गरिबको पनि भविष्य छ ।’
यसरी उनलाई सम्झाउने व्यक्ति थिए, वामपन्थी नेता जीवराज आश्रित । ज्ञवालीको कविता लेखनलाई उनले दार्शनिक कोणबाट टिप्पणी गरिदिए । यसले ज्ञवालीको मन छोयो ।
‘म बाँचेको समाज विविधतायुक्त थियो । सानैदेखि मैले देखिरहेको थिएँ, दलितमाथि विभेद गरिन्थ्यो, गरिबमाथि अन्याय हुन्थ्यो’, ज्ञवाली भन्छन्, ‘कवितामा म जे देखिरहेको थिएँ, त्यही लेख्थेँ । तर, जीवराज आश्रितबाट मैले नौलो कुरा सुनेँ– गरिबको पनि सत्ता हुन्छ, उनीहरूका पक्षमा छुट्टै विचार छ, छुट्टै संसार छ ।’
जीवराज आश्रितसँगको त्यो भेटले उनको साहित्य सिर्जनाको आकार, आकृति, आशय बदलिदियो । उनले लेख्दै गरेको खण्डकाव्य रोके । ज्ञवालीले पढाउने विद्यालयका प्रधानाध्यापकका ज्वाइँ थिए जीवराज आश्रित । जेठानलाई भेट्न स्कुल छिरेका बेला उनले ज्ञवालीलाई दिएको एउटा सुझावले वैचारिक नेता मात्र जन्माएन, लेखनमा निख्खर राजनीतिक विचारधारा र प्रगतीशील चिन्तन पोख्न सक्ने सिद्ध साहित्यकार पनि जन्मायो ।
‘मलाई लाग्छ २०४१ सालभन्दा अगाडिका मेरो लेखाइ स्वतन्त्र र स्वतस्फूर्त थियो । सिर्जनामा यथार्थवादी चिन्तन पोखिएको हुन्थ्यो’, ज्ञवाली सम्झिन्छन्, ‘तर, जीवराज आश्रितको सङ्गतपछि मैले मार्क्सवादी विश्व दृष्टिकोण बुझेँ । अब मैले निश्चित सैद्धान्तिक मान्यतामा उभिएर लेख्न थालेँ । समाजलाई हेर्ने मेरो नजर नै बदलियो । साहित्यमा पनि यस्तै विचार र दृष्टिकोण अभिव्यक्त हुन थाल्यो ।’
विचार र साहित्य
उनीभित्र कम्युनिस्ट विचार मडारिइरहेको थियो तर उनले त्यसलाई पहिचान गर्न सकेका थिएनन् । जबकि, ज्ञवाली चौतारा स्कुलमा पढ्दा २०२८ सालदेखि नै जानी नजानी वामपन्थी आन्दोलनमा जोडिएका थिए । ‘त्यसबेला स्कुलबाट थोर्गासम्म जुलुस निकालेका थियौँ, नेतृत्व मैले नै गरेको थिएँ । तर, मलाई वैचारिक कुरा खासै थाहा थिएन’, उनी भन्छन् ।

त्यही समय गाउँमा विभिन्न स्वरूपमा वामपन्थी आन्दोलन चलिरहेको थियो । जस्तो कि, नाचगान, साहित्यिक सभा, सांस्कृतिक कार्यक्रममार्फत वाम नेताहरूले आन्दोलनको विगुल फुक्ने काम गरिरहेका थिए ।
‘१०-११ वर्षको थिएँ, त्यसैले यस्ता कार्यक्रमको सन्देशलाई राम्रोसँग बुझ्ने भइसकेको थिइनँ । गाउँमा ‘लाहुर जाने धोको’, ‘५० रुपैयाँको तमसुक’ जस्ता नाटक हुन्थे’, ज्ञवाली सम्झिन्छन्, ‘अलिक बुझ्ने भएपछि संश्लेषण गरेँ, ती नाटक र कार्यक्रमले विद्रोह बोलेका थिए, आन्दोलनको माहोल तयार गरिरहेका थिए ।’
कला, साहित्यमार्फत समाजिक रूपान्तरण सम्भव छ भन्ने उनलाई लाग्यो । त्यसैले ज्ञवालीले राजनीतिसँगै साहित्यलाई पनि समानान्तर ढंगले अघि बढाए ।
शीतविन्दु
शीतविन्दु उनको साहित्यिक नाम हो, जुन नाम उनले २०४३ सालतिर जुराएका हुन् । त्यसअघि शिशिर, स्मृति जस्ता नाम उनले प्रयोग गर्थे ।
‘दिनको पहिलो प्रहरमा देखिने शीतको थोपा हेर्दा सानो देखिन्छ तर त्यो सानो थोपाभित्र नियालियो भने विशाल संसार पाउन सकिन्छ । त्यसभित्र आशा, ऊर्जा, जोस, जाँगर धेरै कुरा हुन्छन् । त्यसैले शीतविन्दु नाम जुराएँ’, ज्ञवाली भन्छन् ।
एउटा घटनाले २ वर्ष ‘पेन डाउन’
२०४१ सालको कुरा हो । नवलपरासीमा पार्टीको एउटा कार्यक्रम थियो । त्यस प्रशिक्षण कार्यक्रममा कविता सँगालिएको एउटा डायरी लिएर उनी गएका थिए ।
एक जनाले डायरी पढ्न मागेपछि उनले दिए । तर, यसपछि जे हुनेवाला थियो, त्यो उनका लागि अत्यन्तै अप्रत्यासित र अकल्पनीय थियो ।
कविता पढिसकेपछि ती व्यक्तिले अरूलाई पनि पढ्न दिए । त्यसको केही समयपछि आयोजित उनीसम्बद्ध बैठकमा नेताहरूले ज्ञवालीको चर्को आलोचना गरे ।
‘उहाँमा व्यक्तिवादी, आत्मप्रशंसायुक्त चरित्र देखियो । यो सोच वामपन्थी आन्दोलनका लागि घातक हुन सक्छ’ यस्तैयस्तै ।
कविता लेख्नु र कविताको डायरी बोक्नुमा उनको निम्नपुँजीवादी विकृति पो प्रकट भयो रे !
भूमिगत रहँदा पनि उनी साहित्य कोरिरहेका थिए । २०४१ सालसम्म उनले छिटपुट कविता प्रकाशन गर्न थालिसकेका थिए । ‘तर, त्यो घटनाले मलाई निकै निराश बनायो । त्यसपछि मैले करिब २ वर्ष लेख्नै छाडिदिएँ’, ज्ञवाली स्मरण गर्छन् ।
साहित्यमा सक्रियता
त्यही पनि साहित्यिक मन, नलेखी त किन मान्थ्यो र ! उनले शीतविन्दु नाममा आफ्नो न्वारन गरे र उपन्यास लेख्न थाले ।
उनको पहिलो उपन्यास 'सहयात्री' पञ्चायतविरोधी आन्दोलनको उत्कर्षका बेला प्रकाशन भयो । यो निकै लोकप्रिय पनि बन्यो । पछि उक्त उपन्यासमा टेलिफिल्म नै बन्यो । त्यसपछि उनले निरन्तर लेख्दै गए ।
अहिलेसम्म साहित्यिक हिसाबले उनका ५, वैचारिक र सैद्धान्तिक क्षेत्रका ६ गरी ११ वटा कृति प्रकाशित छन् ।
उनले २०५३ सालमा कवितासङ्ग्रह ‘चिता जलिरहेछ’, २०५८ सालमा कवितासङ्ग्रह ‘आस्था, ओ मेरी प्रिया’, २०६० सालमा पहिलो कथासङ्ग्रह ‘कुहिरो’ सार्वजनिक गरे । ‘आस्था, ओ मेरी प्रिया’लाई पछि गीतमा ढालिएको थियो ।

२०५७ सालमा ‘मार्क्सकाे सिर्जनात्मक प्रयोग’, २०५९ सालमा ‘प्रचण्डपथ : विचारको केन्द्रीकरण कि भ्रष्टीकरण’, २०६४ सालमा ‘फिनिक्स पन्छी र एमालेको पुनर्जीवन’ ल्याए ।
ज्ञवालीका कृतिहरूमा २०६६ सालमा ‘युवा : एक बहस’, २०७० सालमा ‘राष्ट्रियता, पहिचान र सामाजिक रूपान्तरण : एक अर्थराजनीतिक बहस’ पनि महत्त्वपूर्ण मानिन्छन् ।
यसैगरी २०७२ सालमा ‘सांस्कृतिक रूपान्तरण : एक विमर्श’ शीर्षकको पुस्तक साझाबाट प्रकाशन भयो । २०७३ मा ज्ञवालीले ‘विनाशालिकका नायकहरू’ तेस्रो कवितासङ्ग्रह सार्वजनिक गरे ।
पुस्तकमा वैचारिक तर्क, समाजको यथार्थ र विकासक्रमबारे बोल्ने उनी अक्सर देशभक्ति र प्रेमभावपूर्ण गीत/कविता लेख्न रुचाउँछन् । ज्ञवालीका ‘शहरहरूसँग एउटा प्रश्न सोधिरहेछ गाउँ’ र ‘आस्था ओ मेरी प्रिया’ चर्चित गीत हुन् । नेपालको गौरवपूर्ण इतिहास झल्काउने ३२ श्रृंखलाको ‘नेपाल गाथा’ (गिती कथा) मञ्चन भइसकेको छ ।
राजनीति र साहित्य
राजनीति र साहित्य सामाजिक चेतनाकै महत्त्वपूर्ण अंग भएको ज्ञवालीको बुझाइ छ । भन्छन्, ‘राजनीति र साहित्य फरक तर अन्तरसम्बन्धित विधा हुन् । यी दुईका बीचमा नाघ्नै नसकिने पर्खाल छ भन्ने लाग्दैन ।’
साहित्यले घटना, समाज र यथार्थ बोल्ने उनी बताउँछन् । ‘साहित्यमार्फत हामीले देखिरहेका सामाजिक यथार्थ अभिव्यक्त गर्न सकिन्छ, जसरी मैले ९-१० वर्षको उमेरमा आफ्नो समाजमा देखेका विभेदका घटनालाई कवितामा बाँध्थेँ’, ज्ञवाली भन्छन्, ‘राजनीतिक जीवनमा कहिलेकाहीँ सिधै भन्न नसकिने वा नमिल्ने कुरा साहित्यमार्फत अभिव्यक्त गर्न सकिने रहेछ, त्यसैले पनि साहित्यको महत्त्व उच्च छ ।’

समाज रूपान्तरणमा साहित्यको असाध्यै ठूलो भूमिका हुने उनी ठान्छन् । उनको बुझाइमा प्रगतिशील र जनमुखी साहित्यले समाज परिवर्तनमा ठूलै सहयोग पुर्याउँछ । ‘वामपन्थी आन्दोलनका क्रममा सांस्कृतिक कार्यक्रमले समाजमा छाडेको छाप देखेँ । विश्वका सन्दर्भमा विभिन्न पुस्तक, विचार र सिद्धान्तले राजनीतिको नापनक्सा बदलेको पाएँ । साहित्यले समाजलाई कायापलट गराउन सक्छ भन्ने निष्कर्षमा म पुगेँ र साहित्य सिर्जनामा होमिएँ’, ज्ञवाली भन्छन् ।
देशकै ठूलो राजनीतिक दल, जो अहिले प्रस्ट बहुमतसहित सत्तामा छ, नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य हुन् उनी । नेकपाभित्रको वर्तमानमा देखिएको विवाद समाधानमा सक्रिय रहनु, परराष्ट्र मन्त्रालयको जिम्मेवारी, त्यसमाथि छिमेकी भारतसँग चिढिँदो सम्बन्धका कारण अहिले ज्ञवाली निकै व्यस्त छन् ।
उनले लेखनमा राम्रोसँग समय दिन पाएका छैनन् । अध्ययनका लागि भने समय निकाल्छन् । ‘लेख्नका लागि फुर्सद हुनुपर्छ । तनावमुक्त हुनुपर्छ । मेरो अहिलेको परिस्थिति लेख्नका लागि अनुकूल छैन तैपनि पुस्तकहरू भने समय निकालेर पढ्ने गरेको छु’, उनी भन्छन् । साहित्यिक र गैरसाहित्यिक पुस्तक बराबरी जस्तो पढ्ने गरेको उनी बताउँछन् ।
आगामी योजना
अहिले लेख्न नपाए पनि मन्त्री हुनुभन्दा अगाडि लेखेका कतिपय पाण्डुलिपि ज्ञवालीसँग छन् । फुर्सद मिल्नेवित्तिकै ती पाण्डुलिपिलाई पुस्तकमा रूपान्तरण गर्ने योजना उनले सुनाए । ‘केही साहित्यिक कृति छन् भने केही राजनीतिक पुस्तक प्रकाशन गर्ने योजना छ’, उनले भने ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७ १३:५१