कक्षा सञ्चालनको गृहकार्यमा मन्त्रालय
कोरोना भाइरस (कोभिड-१९)का कारण रोकिएको विद्यार्थीको पठनपान १५ भदौबाट सुरु गर्ने तयारी गरिएको छ । सरकारले १ भदौबाट विद्यार्थी भर्ना गर्ने निर्णय गरेसँगै १५ भदौबाट पठनपाठन सञ्चालन गर्ने तयारी गरेकाे हो ।
१५ भदौबाट कक्षा सञ्चालन गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य गरिरहेको छ । शैक्षिकसत्र असर नपर्ने गरी कक्षा सञ्चालन गर्ने गृहकार्यमा मन्त्रालय जुटेको हो । मन्त्रालयले सरोकारवाला निकायसँग पनि छलफल गरिरहेको छ ।
तामझामका साथ विद्यार्थी भर्ना अभियान नहुने
अघिल्लो वर्षमा वैशाखबाट नै तामझामका साथ विद्यार्थी भर्ना अभियान हुने गरेको थियो । प्रधानमन्त्री, मन्त्री, सांसददेखि नेतासम्मले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने गरेका थिए । तर, यस वर्ष तामझामका साथ भर्ना अभियान नहुने भएको छ ।
‘तामाझाम गरेर भर्ना अभियान गर्ने सम्भावना छैन । सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना गर्ने हो’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले भने, ‘सामान्य तवरले विद्यार्थीलाई विद्यालय प्रवेश गराउने हो । १ देखि १५ भदौसम्म पहिलो चरणमा कति विद्यार्थी भर्ना हुन्छन्, त्यसपछि दोस्रो चरणमा विद्यालयबाहिर रहेका विद्यार्थीलाई ल्याउन पहल गर्नुपर्छ ।’
१५ भदौदेखि पठनपाठनको गृहकार्य
१५ भदौदेखि पठनपाठन गर्न पाए शैक्षिक सत्र प्रभावित नहुने उनको भनाइ छ । ‘१५ भदौदेखि कक्षा नै सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने हो’, उनले भने, ‘क्रिटिकल अवस्था भयो भने त सकिँदैन तर अहिलेकै जस्तो अवस्था रह्यो भने अगाडि बढ्न सकिन्छ ।’
१५ भदौदेखि कक्षा सञ्चालन गर्यो भने १५ वैशाखसम्म शैक्षिक सत्र पूरा गर्न सकिने उनले बताए । यस वर्ष वैकल्पिक शिक्षण सिकाइलाई पनि मूल्याङ्कन गर्न सकिने निर्देशक गौतमको भनाइ छ ।
पहिले जस्तो भर्ना अभियान हुँदैन
नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले पहिले जस्तो भर्ना अभियान नहुने बताए । ‘भर्ना अभियान पहिलेको जस्तो हुँदैन । विद्यालयमा आएका विद्यार्थीलाई भर्ना लिने हो । विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम पनि हुँदैन,’ उनले भने ।
स्थिति अहिलेको जस्तै रह्यो भने १५ भदौदेखि पठनपाठन पनि सुरु गरिने उनले बताए । ‘१५ भदौदेखि पठनपाठन गर्न तयारी गरेका छौँ । अहिलेको जस्तै स्थिति रह्यो भने कक्षा सुरु हुन्छ’, उनले भने ।
ग्रिन जोनमा कक्षा चलाउन सकिन्छ
एनप्याब्सनका महासचिव सुवास न्यौपानेले ग्रिन जोनमा कक्षा सञ्चालन गर्न सकिने बताए । ‘कोभिडसँग त्रसित मानसिकतामा बस्नुभएन । ग्रिन जोनमा कक्षा चलाउन सकिन्छ,’ उनले भने, ‘शिक्षण सिकाइलाई रोक्नुहुँदैन । कक्षासँगै तत्काल रेडियो, टेलिभिजन र भर्चुअल कक्षालाई पनि रोक्नुहुँदैन ।’
विद्यार्थीले विद्यालय परिवर्तन गर्ने भएकाले भर्ना अभियानलाई सुरु गर्नुपर्ने उनले बताए । ‘विद्यार्थी, शिक्षक र कर्मचारीले विद्यालय परिवर्तन गर्ने हुन्छ । त्यसैले विद्यार्थी भर्नालाई सुरु गर्नुपर्छ । अनलाइनबाट पनि विद्यार्थी भर्ना गर्न सकिन्छ’, उनले भने ।
अभिभावक भन्छन्, 'ज्यानभन्दा ठूलो पढाइ होइन'
नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरीले १५ भदौदेखि स्कुलमा पठनपाठन गर्न नसकिने बताए । ‘काठमाडौंमा कोरोना संक्रमित बढिरहेका छन् । त्यसैले १५ भदौदेखि विद्यालयमा पठनपाठन गर्न सम्भव छैन । अभिभावकलाई बालबालिकाको ज्यानभन्दा ठूलो पढाइ हुँदैन ।’
सम्पूर्ण कुरा सुचारु नभएसम्म विद्यालयमा पठनपाठन नगर्न उनले आग्रह गरे ।
सरकारले १ असारदेखि वैकल्पिक शिक्षण सिकाइ सञ्चालन गरे पनि प्रभावकारी हुन सकेन । सबै विद्यार्थी वैकल्पिक शिक्षण सिकाइको पहुँचमा नआएपछि विद्यालय नै सञ्चालन गर्नुपर्ने स्थिति आएको हो । कोरोना भाइरसका कारण ७५ लाख बालबालिका विद्यालयबाहिर छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७ १६:४६