शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई अक्सिजन नै चलाउनुपरेको छ ।
कोरोना भाइसका कारण वीरगञ्जमा १७ वर्षीया युवतीको मृत्यु भयो । उनलाई जटिल प्रकारको लक्षण देखिएको थियो । सप्तरी, विराटनगर, वीरगञ्जमा ५० प्रतिशत संक्रमितमा लक्षण देखिएको छ । काठमाडौंको टेकुमा रहेका संक्रमितमध्ये ३० प्रतिशतमा लक्षण देखिएको छ । केहीलाई अक्सिजन र आईसीयूमै राख्नुपरेको छ । लकडाउन खुलेसँगै संक्रमितमा लक्षण देखिन थालेपछि जोखिम बढेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।
लक्षण भएका संक्रमित बढिरहेका छन्
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले लक्षण भएका संक्रमित बढिरहेको बताए । ‘वीरगञ्जमा लक्षण भएर जाँच गर्न जाँदा पोजिटिभ देखियो । काठमाडौंमा पनि ९ जनामा लक्षण देखिएको छ । लक्षण भएका संक्रमित बढिरहेका छन् । लक्षण देखिनु भनेको जोखिम बढ्नु हो,’ उनले भने ।
संक्रमितलाई अक्सिजन आवश्यक
लक्षण देखिएका कोरोना संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ । पहिले खोकी लाग्ने र सामान्य ज्वरो आउने थियो अहिले अरु लक्षण पनि देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारीका अनुसार पहिले खोकी लाग्ने, ज्वरो आउने मात्र थियो, अहिले श्वास फेर्न गाह्रो हुने, जिउ दुख्ने, बासना थाहा नपाउने, नाक ब्लक हुने, खाएको स्वाद थाहा नपाउने, थकाइ लाग्ने, जाडो हुने, टाउको दुख्नेलगायतका लक्षण देखिन थालेको छ ।
‘एक जना गम्भीर संक्रमितलाई अक्सिज नै चलाउनुपरेको छ,’ उनले भने, ‘पहिलेभन्दा सुधार त भएको छ । लक्षण देखिनु भनेको जोखिम बढ्नु हो ।’
भाइरसको उत्परिवर्तन कि अर्को प्रजातिको हो ?
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले संक्रमितमा के कारणले लक्षण देखिएको हो, त्यसको अनुसन्धान हुनुपर्ने बताए ।
‘के कारणले लक्षण देखिन थालेको हो, त्यसको अनुसन्धान हुनुपर्छ । भाइरसको उत्परिवर्तन भएको हो कि अर्को प्रजातिको भाइरस हो, यो अनुसन्धानको विषय हो,’ उनले भने ।’
कोरोना सर्ने जोखिम बढ्यो
संक्रमितमा लक्षण देखियो भने अरुलाई सर्ने जोखिम पनि धेरै हुन्छ । ‘लक्षण नहुँदा खोकी लाग्दैन, हाछ्यूँ हुँदैन, घ्यारघ्यार हुँदैन । त्यसैले अरुलाई सर्ने जोखिम कम हुन्छ । तर, लक्षण देखिएपछि अरुलाई सर्ने जोखिम धेरै हुन्छ,’ डा. पाण्डेले भने । लक्षण देखिएपछि अहिले स्ट्रोङ खालको भाइरसको संकेत गरेको उनले बताए ।
समुदाय जोखिममा
लकडाउन खुलेसँगै लामो तथा छोटो दूरीका सवारी चलाउने, अन्तर्राष्ट्रिय उडान चलाउने हो भने यसले समुदायमा जोखिम बढाउने उनले बताए ।
‘काठमाडौंमा सरकारले जहाँ टेस्ट गरेको थियो । ती ठाउँमा संक्रमित देखिएनन् । जहाँ सरकारले टेस्ट गरेको थिएन, हामीले टेस्ट गर्नुपर्छ भनेको ठाउँमा अहिले संक्रमित भेटिएको छ,’ डा. पाण्डेले भने ।
डा. पाण्डेले बैंक, मालपोत कार्यालय, हस्पिटलमा परीक्षण गरियो तर समुदायमा परीक्षण गर्ने हो भने संक्रमितको सङ्ख्या बढ्ने बताए । ‘सरकारले दैनिक १८ हजारको परीक्षण गर्न सकिने बताएको छ । तर, ३/४ हजारको मात्र परीक्षण किन गरेको ? क्षमताअनुसार परीक्षण गर्ने हो भने नियन्त्रणमा सहयोग पुग्छ,’ उनले भने ।
समुदायको भित्रभित्र कोरोना भाइरस
कोरोना भाइरस समुदायको भित्रभित्र छिरिसकेको उनको दाबी छ । ‘भाइरस समुदायमा भित्रभित्र नै छिरिसकेको छ,’ उनले भने, ‘नियम पालना नगर्ने हो भने एक हप्ताभित्र स्थिति खतरा हुन सक्छ ।’
नियम पालना नगर्नेलाई जरिमाना
मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने र भीडभाड गर्नेलाई जरिमाना लगाउन उनले सरकारलाई सुझाव दिए । ‘नियम पालनामा कडाइ गरेन भने गाह्रो हुन्छ । मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने र भीडभाड गर्नेलाई जरिमाना लगाउने हो भने नियम पालाना गर्ने क्रम बढ्छ,’ डा. पाण्डेले भने ।
समुदायमा कोरोना भाइरस छैन : सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायस्तरमा कोरोना भाइरस संक्रमण नफैलिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालसम्म कोरोना भाइरस समुदायस्तरमा नफैलिएको बताए ।
‘हाल देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिएका छन् । एकै ठाउँमा धेरै संक्रमित भेटिएकाले समुदायस्तरमा कोरोना फैलिएका कुराहरू बाहिर आएका छन्,’ उनले भने, ‘हालसम्म नेपालमा कोरोना समुदायमा फैलिएको प्रमाणित भएको छैन ।’
कोरोना भाइरस समुदायमा फैलिएको छ/छैन भनेर स्थानीय तहबाट थप खोजपड्ताल निरन्तर भइरहेको उनले बताए । ‘समुदायमा कोरोना नफैलिए पनि संक्रमणको जोखिम यथावत् नै छ,’ उनले भने, ‘जीवनशैली सामान्य हुने बेला भएको छैन । घरबाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ ।’
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७ १७:२३