स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार ९४ प्रतिशत कोरोना संक्रमित विदेशबाट नेपाल आएका हुन् भने ४ प्रतिशतको कन्ट्याक्ट हिस्ट्री देखिँदैन ।
कन्ट्याक्ट हिस्ट्री नहुनु भनेको कोरोना भाइरस समुदायमा छिरेको छ भन्ने बुझ्नुपर्छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एक कार्यक्रममा ६ प्रतिशत संक्रमित समुदायमा रहेको बताएका थिए ।
बाहिरबाट आएकाको मात्र परीक्षण गरिएकाले संक्रमितको संख्या पनि बाहिरबाट आउने नै धेरै छ । अहिलेसम्म धेरै मात्रामा समुदाय स्तरमा कोरोना परीक्षण गरिएको छैन । अहिले समुदायमा कोरोना परीक्षण नगर्ने हो भने पछि स्थिति नियन्त्रणबाहिर जाने विज्ञहरू बताउँछन् ।
समुदायमा कोरोना छिरेकै हो त ?
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ९४ प्रतिशत संक्रमित विदेशबाट आएका र बाँकी ४ प्रतिशत यहीँको भएको बताए । उनका अनुसार विदेशबाट आएका, होल्डिङ सेन्टरमा राखिएका र जाँचका लागि अस्पताल पुग्नेको परीक्षण गरिएको छ ।
एक/दुईवटा केस देखिएको छ
समुदायमा एक/दुईवटा केस देखिएकाले समुदायमा जान सक्ने भएकाले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ । ‘अहिलेको तथ्याङ्कअनुसार समुदायमा गएको भन्न मिल्दैन । तर एक/दुईवटा केस समुदायमा देखिएको छ । त्यसैले समुदायमा नजाला भन्न सकिन्न । सतर्कता अपनाउनुपर्छ,’ उनले भने ।
कन्ट्याक्ट हिस्ट्री नभएकाको लिङ्क खोजिरहेको उनले बताए । ‘लिङ्क नभएको ठाउँमा खोजिरहेका छौँ,’ उनले भने, ‘काठमाडौंकै नख्खु टोल र तीनकुनेमा परीक्षण गरेका थियौँ । त्यहाँ नेगेटिभ रिपोर्ट आएको छ । शङ्खमूल, टोखा र भक्तपुरमा परीक्षण भइरहेको छ । त्यसको रिपोर्ट आउन बाँकी छ,’ डा. पाण्डेले भने, ‘समुदायमा लिङ्क भएको छ/छैन, हेर्छौं ।’
देशभरबाट ४४ हजारको नमुना परीक्षण गरिँदै
देशभरबाट ४४ हजार जनाको स्याम्पल परीक्षण गर्ने तयारी गरेको उनले बताए । ‘देशभरबाट ४४ हजार स्याम्पल परीक्षण गर्ने योजना छ । त्यो सबै रिपोर्ट आएपछि मात्र समुदायमा गएको हो होइन भन्न सकिन्छ,’ उनले भने ।
ट्रेसिङमा समस्या
कन्ट्याक्ट ट्रेसिङमा समस्या रहेको उनले बताए । ‘नेपालको मात्र होइन, कन्ट्याक्ट ट्रेसिङ विश्वकै समस्या हो । केन्द्रमा २० वटा टोली छन् । अरु प्रदेश र स्थानीय तहमा पनि छन् । व्यक्ति कतै बाहिर गएर आएको हो भने उसले भन्नुपर्यो,’ उनले भने, 'व्यक्ति सचेत हुने हो भने कन्ट्याक्ट ट्रेसिङमा समस्या हुँदैन । संक्रमित पत्ता लगाउन र रोग नियन्त्रणमा पनि सजिलो हुन्छ ।’
समुदायमा कोरोना छ भन्न लाज नमानौँ
तर विज्ञहरूले समुदायमा कोरोना भाइरस छिरिसकेको बताएका छन् । ‘समुदायमा कोरोना भाइरस छिरेको छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘समुदायमा भाइरस छ भन्न लाज मान्नु हुन्न । सत्य बोल्नुपर्छ । भएको कुरा बोल्यो भने जनता पनि सचेत हुन्छन् । सावधानी पनि अपनाइने भएकाले रोग फैलिन पाउँदैन ।’
समुदायस्तरमा कोरोना परीक्षण गर्नुपर्नेमा उनले जोड दिए । ‘बाहिरबाट आएकाको परीक्षण भएको छ तर अस्पतालमा भर्ना भएका अन्य बिरामीको परीक्षण भएको छैन । निमोनिया भएका, ज्वरो आएका बिरामीको परीक्षण भएको छैन,’ उनले भने, ‘अस्पतालमा रहेका सबै बिरामीको कोरोना परीक्षण गर्नुपर्छ ।’
लकडाउन भए पनि सामान्य बिरामी र एम्बुलेन्सबाट काठमाडौं छिरेका मान्छेका कारण पनि कोरोना भाइरसको जोखिम धेरै रहेको डा. मरासिनीले बताए ।
‘नाकाबाट एम्बुलेन्समा सामान्य बिरामी र अरु मान्छे पनि आएका छन् । एउटा एम्बुलेन्सले दिनभर ओहोर–दोहोर र मान्छे ओसारिरहेको छ । त्यसबाट कति मान्छेलाई सरेको होला ? सावधानी पनि अपनाइएको छैन । त्यसैले समुदायमा भाइरस छिरिसकेको छ । अब समुदायमा परीक्षणको दायरा बढाउनुपर्छ,’ उनले भने ।
इबोलाको समयमा पनि कन्ट्याक्ट ट्रेसिङका आधारमा काम गरिएको थियो । अहिले पनि इबोलाको जस्तै गरी कन्ट्याक्ट ट्रेसिङ गरिएको डा. मरासिनीले बताए । ‘इबोलामा पनि यसैगरी कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो,’ उनले भने, 'कोरोनामा पनि त्यसैगरी गरिँदै छ । कन्ट्याक्ट ट्रेसिङलाई बदल्नुपर्छ,’ उनले भने । राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ नभएकाले कोरोना एक व्यक्तिबाट अर्कोमा सरेको उनको भनाइ छ ।
समुदायमा गएको संकेत गर्छ
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले विकसित घटना क्रमले संक्रमण समुदायमा गएको संकेत गरेको बताए ।
‘धेरै मान्छेमा संक्रमण देखिएको छ । ट्राभल हिस्ट्री नभएका मान्छेमा देखिएको छ । तर, व्यापक रूपमा छ छैन भनेर हेर्न अनुसन्धान नै गर्नुपर्छ । धेरैको स्रोत खुलेन भने समुदायमा गयो भन्ने हो,’ उनले भने ।
प्रारम्भिक निष्कर्ष: समुदायमा भाइरस छ
सेन्टर फर मलिकुलर डायनामिक्सका विज्ञहरूले काठमाडौंको ढलमा पनि कोरोना भाइरस रहेको पत्ता लगाएका छन् ।
यसबाट समुदायमा कोरोना भाइरस छ भनेर देखाएको जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितले बताए । ‘काठमाडौंको ४ स्थानका ढलबाट स्याम्पल लिएर परीक्षण गर्दा २ स्थानका ढलमा कोरोना भाइरस भेटियो । यो अनुसन्धानबाट समुदायमा कोरोना भइरस छ भन्ने निष्कर्ष निकालेको छ । त्यस्तै कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो, सावधानी अपनाउन र समुदायमा परीक्षण गर्नुपर्ने यो अध्ययनको निष्कर्ष हो,’ उनले भने ।
संक्रमित शहरमा छिरे
जनस्वास्थ्यका डाक्टर रवीन्द्र पाण्डेले कोरोना संक्रमित परीक्षण नै नगरी गाउँ बस्ती र शहरमा छिरेको बताए । ‘१० दिनयता विभिन्न नाकाबाट संक्रमित काठमाडौंमा आएका छन् । उनीहरूलाई क्वारेन्टाइनमा पनि राखिएको छैन । सिधै समाजमा घुलमिल भएका छन् । यसले गर्दा काठमाडौंमा जोखिम बढेको छ,’ उनले भने ।
काठमाडौंमा परीक्षण नै नभएकाले समस्या भएको उनले बताए । ‘काठमाडौंको समुदायमा परीक्षण नै भएको छैन । समुदाय कुन अवस्था छ ? के छ भन्ने अवस्था छैन तर काठमाडौंका सबै ठाउँमा पोजिटिभ देखिएको छ,’ उनले भने ।
अस्पतालमा संक्रमित भेटिनु, हरेक ठाउँमा भीड, जुलुस प्रदर्शन र विदेशबाट रिपोर्ट ल्याएकालाई सिधै घर पठाएकाले संक्रमण समुदायमा पुगेको डा. पाण्डेले बताए ।
काठमाडौंमा परीक्षण नगर्ने हो भने पछि नियन्त्रण गर्न नसक्ने स्थिति आउने उनले बताए । ‘ट्राभल हिस्ट्री पनि छैन । बालबालिका संक्रमित भएका छन् । अस्पतालहरूमा भेटिन थालेको छ । त्यसैले काठमाडौंमा परीक्षण नगर्ने हो भने पछि नियन्त्रण गर्न नसक्ने स्थिति आउँछ,’ उनले भने ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७ १६:५३