सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना (कोभिड १९) राेकथामका लागि गरिएकाे लकडाउनका कारण कृषि क्षेत्र प्रभावित हुनसक्ने भन्दै चालु आर्थिक वर्षमा नगदे बाली तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत कृषि अनुदान दिने भएको हो ।
बन्दाबन्दीको कारणले विभिन्न बालीको खेती गर्न बीउबिजन, मल प्राप्त गर्न कठिनाई हुने कृषकका लागि चालु आर्थिक वर्षका विभिन्न तालिम गोष्ठी आन्तरिक भ्रमणलगायत चालु खर्चतर्फ विनियोजित बजेट कटौती गरी किसानलाई अनुदान दिन लागेको नगरपालिकाले जनाएको छ ।
धान, मकै, बोडी, फर्सी,लौका, सिमी, चिचिण्डा, घिरौंलालगायतका माैसमी तरकारी बालीको बीउबिजनमा ८० प्रतिशत अनुदान दिने निर्णय भएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘मल तथा बिषादीमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेका छौं , उनले भनिन्, ‘नगरपालिकाका विभिन्न क्षेत्रहरुमा व्यावसायिकरूपमा फलफूल खेती गर्न चाहने व्यक्ति वा फर्मले कम्तीमा ३०० बिरुवा रोप्ने गरी आफ्नै जग्गाको व्यवस्थापनसहित प्रस्ताव पेस गरेमा कम्तीमा ५० प्रतिशत अनुदानमा निर्णयसमेत भएको छ ।’
नगरपालिका क्षेत्रका सम्पूर्ण जग्गा जमीनमा खेती गर्ने र बाँझो नराख्न सबै जग्गा धनीहरूलाई आग्रह गर्ने उपप्रमुख ढकालले बताइन् । ‘कुनै जग्गा धनी आफैँले बालीनाली लगाउन नसक्ने परिस्थितिमा सम्बन्धित वडा कार्यालयले समन्वय गरी जग्गा बाँझो नराख्ने निर्णय भएको छ’, उनले भनिन्, ‘कुनै जग्गा धनीले खेती गर्न नसक्ने भए कुनै कृषकलाई जग्गा प्रयोग गर्न दिइने छ ।’
खोलानालामा गिट्टी कुट्ने र बालुवा चाल्ने मजदुरहरूलाई भौतिक दूरी कायम गरी कार्य निरन्तरता दिने र उनीहरूले ज्याला पाउने व्यवस्था गरी राहत उपलब्ध नगराउने नगरपालिकाले निर्णय गरेको छ ।
कृषि र विकास निर्माणका कार्य गर्न पुनः सुरू नभएसम्म खाद्य संकट झेलिरहेका विपन्न परिवारलाई नगरपालिकाले राहत उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७ १२:००