नेपाली सेनाले खरिद गरेर ल्याउने भनिएको मेडिलकल सामग्रीका लागि चीनसँग सम्झौता गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सेनाले २ अर्ब २५ करोड बढीको सम्झौता गरेको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार १ करोड ८४ लाख ४१ हजार ७ सय अमेरिकी डलर (नेपाली करिब २ अर्ब २५ करोड रुपैयाँ) को सम्झौता भएको छ । चीनबाट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्कलगायतका ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याइनेछ । स्वास्थ्य सामग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।
सेनाले चीन र भारतबाट १ सय २० प्रकारका मेडिकल सामग्री ल्याउन लागेको हो । त्यसमध्ये चीनबाट ६७ प्रकारको र बाँकी ५३ प्रकारको सामग्री भारतबाट ल्याइने सैनिक प्रवक्ता सहायक रथी पाण्डेले बताए ।
सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्रीका लागि प्रस्ताव राखेको थियो । प्रस्ताव चीन र भारतबाट आएपछि पहिलो चरणमा सेनाले चीनबाट सामग्री ल्याउन लागेको हो । सेनाले चीन र भारत दुवै देशबाट खरिद गर्ने मेडिकल सामग्रीको मूल्य निर्धारणसहितको सम्झौतापत्र ४ वैशाखमै स्वास्थ्य मन्त्रालयबाट ‘ओके’ गराएर रक्षा मन्त्रालय पठाएको थियो ।
रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको उक्त प्रक्रियाको बजेटको कामसमेत सकिएकाले नेपाली सेनाले यो साता नै मेडिकल सामग्री ल्याउने तयारी थालेको हो । अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले मेडिकल सामग्री खरिदका लागि अर्थ मन्त्रालयले रक्षालाई बजेट उपलब्ध गराइसकेको बताए ।
‘हामीले आवश्यक रकमका लागि जुनसुकै मन्त्रालयले माग गरेपछि सम्बन्धित मन्त्रालयलाई पठाउने हो । सेना वा कुनै कम्पनीलाई दिने होइन् । रक्षाबाट आएको माग रकम उपलब्ध गराइसकेका छौँ, सामग्री ल्याउने काम उहाँहरूको हो,’ अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले भने ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई दिएको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले ओम्नी इन्टरनेसनलमार्फत १ अर्ब रुपैयाँभन्दा बढीको मेडिकल सामग्री ल्याउन सम्झौता गरेको थियो ।
सम्झौताअनुसार ओम्नी समूहले मेडिकल सामग्री नल्याएको र चीनले अनुदानमा उपलब्ध गराएका उही सामग्रीको तुलनामा १८ गुणासम्म महँगो परेपछि खरिद प्रक्रिया विवादमा परेको थियो । त्यसपछि ओम्नीसँगको सम्झौता रद्द गरेर सरकारले सेनालाई मेडिकल सामग्री खरिद गर्ने जिम्मा दिएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७ १६:०२