कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन नभएको भए विद्यालय तहका विद्यार्थी माथिल्लो कक्षाको नयाँ किताब बोकेर विद्यालय गएका हुने थिए । तर विडम्बना, उनीहरूले कोरोना भाइरसको कारण पास वा फेल के भएँ भन्नेसमेत थाहा पाउन सकेका छैनन् ।
कक्षा १ देखि ९ सम्मका विद्यार्थी नजिताको प्रतीक्षामा छन् भने कक्षा १०, ११ र १२ का विद्यार्थी परीक्षा कहिले हुने हो भनेर बसेका छन् । कक्षा १ देखि ९ सम्मको नयाँ शैक्षिकसत्र सुरु भइसक्नुपर्ने हो । लकडाउनका कारण शैक्षिकसत्र पनि प्रभावित भएको छ ।
तर सरकारले कसरी शैक्षिकसत्र सञ्चालन गर्ने भन्ने निर्णय गर्न सकेको छैन । पठनपाठन सञ्चालन गर्ने विकल्पका विषयमा छलफल चलिरहेको शिक्षा मन्त्रालयका अधिकारी बताउँछन् । तर, लकडाउन नखुलेसम्म नयाँ सत्र सुरु हुने छाँटकाँट देखिँदैन ।
आपतकालीन समयमा कसरी शैक्षिकसत्र चलाउने त ? हामीले शिक्षाविद् डा. विद्यानाथ कोइरालासँग कुरा गरेका छौँ ।
उहाँसँग गरेको कुराकानीको सम्पादित अंश :
नतिजा निकाल्ने काम शिक्षकको
कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा निकाल्ने काम शिक्षकको हो । लकडाउनलाई देखाएर नतिजा रोक्नुपर्ने कारण छैन । यो सरकारको काम हो भनेर बुझेकाले समस्या भएको हो । नतिजा निकाल्ने, भर्ना गर्ने, कक्षा संचालन गर्ने काम त शिक्षकको हो । अहिले सञ्चारका विभिन्न साधन छन् । कसैको घरमा रेडियो, टीभी, अनलाइन, फोन छ । कसैको घरमा केही पनि छैन । त्यो स्थानीय तह र शिक्षक मिलेर तत्काल निकाल्न सकिन्छ । के माध्यमबाट निकाल्दा विद्यार्थीले नतिजा थाहा पाउँछन्, त्यो साधनको प्रयोग गर्न सकिन्छ । दूरी कायम गरेर पनि विद्यार्थीको नतिजा निकाल्न सकिन्छ । तर, शिक्षकलाई तताउन सकिएन । यसैको कारण हो नतिजा निकाल्न नसकिएको ।
पढाउने कसरी त ?
विद्यार्थी ७ वटा घेरामा हुन्छन् । एउटा घरमा केही पनि नभएका विद्यार्थी । अर्कोमा रेडियो टेलिभिनज, अनलाइन इन्टरनेट सबै प्रविधि भएका हुन्छन् । केही नभएकालाई पढाउने कसरी ? अनलाइनमा भएकालाई पढाउने कसरी ? यसलाई चाहिने प्राविधिक सामग्री बनाउनुपर्छ ।
प्राविधिक सामग्री बनाएपछि केही पनि नभएका विद्यार्थीलाई पनि पढाउन सकिन्छ । यो चिन्ता कसको हो ? यो काम भनेको शिक्षको हो । तर, शिक्षकहरू नै लकडाउन छ भनेर बस्न मिल्छ ? शिक्षकलाई चिन्तित नबनाउने काम हिजाेको संस्कारले गर्यो । पार्टीले आदेश नदिएसम्म काम नगर्ने शिक्षक भए । जसका कारण आपतकालीन समयमा पनि विद्यार्थीलाई पढाउन नसकिएको हो ।
यदि शिक्षकलाई जागरुक बनाइयो भने यो समयमा पढाउन नसक्ने भन्ने कुरै छैन । पढाउने कसरी भन्ने मात्र हो । पालिकालाई संविधानले रोकेको छ । शिक्षा मन्त्रालयको रबैयासँग स्थानीय तह रिसाएको छ ।
संविधान नै बाधक
पालिकालाई संविधानले गाह्राे बनाएको छ । संविधानले दिएको आठाैँ अनुसूचीको अधिकारलाई प्रयोग गर्न दिने कि नवाैँ अधिकारलाई ? यो विषय अदालतले छिनोफानो गर्न किन ढिलाइ गरेको ? यसले पनि समस्या निम्त्याएको छ ।
कक्षा १२ सम्म स्थानीय तहले हेर्ने हो भने उसले जिम्मा लिन्थ्यो । पालिका, शिक्षक महासंघ र शिक्षक तात्ने हो भने प्रविधिलाई प्रयोग गरेर पढाउन सकिन्छ । अनि न शैक्षिक क्यालेन्डर प्रभावित हुन्छ, न जाँच नै रोक्नुपर्छ ।
पढाउने तरिका धरै छन् । कसरी पढाउने भन्ने मात्र हो । इङ्ल्यान्डमा मेरो नातिनी ५ मा पढ्छिन् । स्कुलले रुटिन दिएको छ । बिहान यतिबेला उठ्ने, यो पाठ आजको हो र बेलुका यतिबेला सुत्ने भन्ने रुटिन दिएको छ । त्यो पाठ शिक्षकलाई अनलाइनबाट देखाउने हो कि, बाआमालाई देखाउने हो ? वा पाठ तयार गरेर राख स्कुल खोलेपछि हेर्छौं भन्ने हो । शिक्षकले विद्यार्थीलाई दैनिक पाठ दिन सक्छन् । यसरी पनि हामीले पढाउन सक्छौँ ।
ओपन सोर्सको प्रयोग
शिक्षा मन्त्रालयले अहिले देशभरमा विद्यालयमा केके समस्या छन् भनी खोजेर सामग्री तयार पार्न खोजेको छ । यसरी खोजेर कहिले पूरा हुन्छ ? अहिले त ओपन सोर्सको प्रयोग गर्न सकिन्छ । कोसँग कस्ता सामग्री छन् ? ती सामग्रीको प्रयोग गरेर पढाउन पनि सकिन्छ ।
यो काम गर्ने समय हो, छलफल गर्ने होइन । कर्मचारी रिल्याक्स, मन्त्रीको दोहोरो चाल, स्थानीय तह अन्योलमा भएका कारण समस्या निम्तिएको छ । रेडियो, टीभी, अनलाइन, फोनजस्ता प्रविधिलाई प्रयोग गर्ने हो भने अबको ५–६ वर्षपछि यो मूलधारको बन्छ । र विद्यालय कलेज जाने प्रणाली चाहिँ सहायक बन्छ । त्यसैले यो अवसर हो । शिक्षामा यो समयमा परिवर्तन गर्न सकिन्छ । यो अवसरलाई गुम्न नदिऔँ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७ ११:२४