प्रमुख प्रतिपक्षी दलको नेताका लागि कार्यकक्ष बनाएर चर्चामा आएका उदयपुर बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा (स्वस्तिक) संकटका बेला के गर्दै छन् ? विपक्षीसँग समन्वय गरिरहेका छन् कि छैनन् ? प्रस्तुत छ, शिलापत्रकर्मी नवराज कुँवरले नगरप्रमुख थापासँग गरेको कुराकानीको अंश :
........................... ..................................... .................................... .............................
बेलका नगरपालिकामा लकडाउनको प्रभाव कस्तो छ ?
लकडाउन लम्बिरहँदा सबैतिरको जनजीवन अलि असहज बनेको छ । तर, हामीले बेलकावासीको दैनिकी कष्टकर बन्न दिएका छैनौँ ।लकडाउनबाट खासगरी विपन्न परिवार र दैनिक ज्यालादारी मजदुर बढी प्रभावित भएका छन् । हाम्रो नगर औद्योगिक क्षेत्र नभएकाले यहाँ दैनिक ज्यालादारी मजदुर कम छन् तर विपन्न परिवार १६ सयभन्दा बढी छन् । उनीहरूको चुल्हो निभ्न नदिन हामीले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेका छौँ । राहतमा प्रतिपरिवार २५ किलो चामल, १ किलो दाल, तेल र साबुन दिएका छौँ ।
भनेपछि पुनः राहत दिने तयारीमा हुनुहुन्छ ?
लकडाउन कति दिन जान्छ टुंगो छैन । हामीले दिन हिसाब गरेर वैशाख ५ गतेसम्मलाई रासन, दाल, नुन तेल दिएका छौँ । लकडाउन थपिए विपन्न परिवारलाई फेरि राहत वितरण गर्ने गरी तयारी गरिरहेका छौँ । अब राहत वितरण गर्दा परिवार संख्या हेरेर १५ दिनलाई खान पुग्ने गरी दिन्छौँ ।
धेरै ठाउँमा स्थानीय सरकारले हुने खानेलाई राहत दिएको पाइन्छ । यहाँ पनि त्यस्तै गुनासो छ नि ?
बेलका नगरपालिकामा त्यस्तो छैन । बरु मसँग केही मान्छे रिसाएका छन् । तपाईंले भनेजस्तै कतिपय हुने खानेले पनि राहतको आशाचाहिँ गर्दा रहेछन् । नपाएपछि मेयरले नदिएको भनेर रिसाउँछन् । वास्तवमा यो समय विपन्नलाई साथ दिनुपर्ने समय हो, म यही भनेर कतियलाई सम्झाउँछु ।
‘उत्पादनमा हाम्रो साथ, बस्दिनँ म खाली हात’ जस्तो लोकप्रिय नारासहित अघि बढेको नगरका नागरिक लकडाउनको पाँचाैँ दिनदेखि नै भोको हुनुपर्ने स्थिति देखियो, यसले तपाईंहरू कागजी काम मात्र गरिरहनुभएको पुष्टि गर्दैन ?
हामीले उत्पादनको पहिलो वर्ष मात्र पार गरेका छौँ । कृषकलाई बल्ल कृषिमा भविष्य रहेछ है भन्ने महसुस गराएका छौँ । सबै कुरा एकाएक हुँदैन । कृषि र उत्पादन दीर्घकालीन भए मात्र भविष्यमा आइपर्ने धेरै समस्यासँग जुध्न सकिन्छ । लालभित्तीमा १ सय विगाहमा मकै लगाइएको छ । अन्य ठाउँमा पनि हामीले बाली लगाएका छौँ । योभन्दा महत्त्वपूर्ण कुरा कृषि पेसाबाट भाग्न लागेका कृषकलाई यसमा टिकाएर उत्पादनमा लाग्न उत्साह भरेका छौँ ।
संकटका बेला हुने खरिद प्रक्रियामा व्यापक अनियमितता हुने गरेको देखिन्छ । तपाईंहरूको पारदर्शितामाथि पनि केहीले प्रश्न उठाएका छन् त ?
नियत नै खराब भएकाहरूले यस्तो प्रश्न उठाउने हो । मैले त नगरको पैसा जोगाएको छु । आफ्नै सक्रियतामा रासन सिधै मिलबाट उठाउँदा बीचमा जाने अढाइ लाख रुपैयाँ जोगियो । म कुनै पनि काम अपारदर्शी ढंगले गर्दिनँ । अहिले राहतका लागि संकलन गरिएको रकम, खर्चलगायतका पाइपाइ हिसाब सार्वजनिक गर्छु । यसमा कसैले शंका नगरे हुन्छ ।
राहत लिनु गरिबको बाध्यता हो भने दिनु जनप्रतिनिधि वा सरकारको दायित्व हो । तर, राहत बाँड्दा गरिबको निरिहता र कमजोरी छताछुल्ल पारेर सामाजिक सञ्जालमा तस्वीर हाल्ने प्रवृत्तिलाई तपाईं जायज मान्नुहुन्छ ?
मान्दिनँ । नाम र प्रचारको लागि यस्तो गरिनु गलत हो । कानुनले पनि कसैको तस्वीर खिच्दा उसको अनुमति लिनुपर्ने भन्छ । तर, यहाँ धेरैले राहत वितरण गर्दा अनुमतिविनै फोटो सेसन गरेको देखिन्छ । हरेक मान्छेले पोषणयुक्त खाना खान पाउने जनताको खाद्य अधिकारसम्बन्धी मौलिक हक संविधानको धारा ३६ ले नै सुरक्षित गरेको छ । त्यसैले जनप्रतिनिधि वा सरकारले वितरण गर्ने राहत दान होइन, जनताको अधिकारका रूपमा मैले बुझेको छु ।
तर, तपाईंकै केही तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन्, जहाँ तपाईंले पनि पोज दिनुभएको छ नि ?
मलाई दुःख लागेको छ । तर, ती तस्वीर मैले आफ्नो फेसबुक वालमा राखेको होइन । अरुले नै सेयर गरेका रहेछन् । फेरि मैले ती फोटो अनुमतिविना खिचेकाे पनि होइन । नगरको वेबसाइटमा राख्नका लागि खिचाइएको तस्वीर थियो । कसैले सामाजिक सञ्जालमा हालिदियो र आलोचना भएपछि मैले गल्ती महसुस गरिसकेँ । आगामी दिनमा त्यस्तो हुँदैन । सफा नियतले आएका र राम्रा सुझावलाई म हृदयदेखि नै स्वागत गर्ने मान्छे हुँ ।
राहत वितरणमा बढी ध्यान गएको तर कोरोना भाइरस (कोभिड–१९) रोकथाममा त्यति ध्यान जान नसकेको जस्तो देखिन्छ नि !
यो सरासर गलत हो । राहत वितरणमा जति काम भइरहेको छ, कोरोना भाइरस रोकथामका लागि त्योभन्दा बढी काम भइरहेको छ । हामीले नगरभरी एन्टी कोरोना स्प्रे गर्ने काम गरिरहेका छौँ । विदेशबाट मात्र होइन, काठमाडौं वा पश्चिमका अन्य शहरबाट बेलका आएकाहरूलाई समेत क्वारेन्टाइनमा राखेका छौँ । सामाजिक दूरी कायम गरी नगरपालिकामा दिनहुँ छलफल र योजना बनाएर कार्यान्वयन गरिरहेका छौँ । प्रदेश १ मा बेलका नगरपालिका नै पहिलो होला जसले स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री सबैभन्दा पहिले उपलब्ध गरायो । प्रदेश १ मै पहिलो पटक बेलका नगरपालिकाले कोभिड–१९ बारे नगरवासीलाई जानकारी दिने उद्देश्यले belaka.susasan.org यूआरएलको वेबसाइट नै विकास गरेको छ । हामीले कोभिड–१९ का सम्बन्धमा घरघर पुगेर परामर्श सेवासमेत दिइरहेका छौँ ।
यो बीचमा विदेशबाट कति मानिस आएछन् बेलकामा ?
विदेशबाट मात्र होइन, छिमेकी मुलुकका नाका र छेउछाउ काम गर्नेलाई समेत हामीले क्वारेन्टाइनमा राख्नुपर्ने सूचीमा राखेका छौँ । यस्ता मानिसको संख्या ३ सय ७० को हाराहारीमा छ । बाहिरबाट आएकाहरूलाई राख्न २ ठाउँ गरेर ४५ शय्याको क्वारेन्टाइन तयार गरेका छौँ । अहिले १७ जना त्यहाँ बसिरहेका छन् । १५ दिनयता बेलका प्रवेश गरेकालाई खोजीखोजी क्वारेन्टाइनमा राख्ने क्रम जारी छ ।
क्वारेन्टाइनका लागि बनाइएको शय्या प्राविधिक दृष्टिले सुरक्षित देखिँदैन नि ?
हामीले मेडिकल नियमकै आधारमा शय्या तयार गरेका हौँ । ३ फिटको दूरीमा बेडहरू राखिएको छ ।
क्वारेन्टाइनमा बस्न आग्रह गर्दा मानिसहरू सहजै मान्छन् ?
कहाँ मान्नु ! अस्ति मात्र १ जना भागेर खोलाबाट छेकेर समात्नुपर्यो । तर, क्वारेन्टाइनमा पुगिसकेपछि चाहिँ त्यहाँ अडिन्छन् । किनकि, त्यहाँ हामीले प्रशस्त सुविधा उपलब्ध गराएका छौँ ।
नगरपालिकामा प्रमुख प्रतिपक्ष दलका नेताका लागि कार्यकक्ष बनाएर प्रशंसा कमाउनुभयो । तर, यो संकटका समयमा प्रतिपक्षीसँग खासै राम्रो समन्वय गर्न सक्नु भएन नि, किन ?
मैले त समन्वय गर्न चाहेकै हो । हरेक ठाउँमा हुने कार्यक्रममा पत्र काटेरै उहाँहरूलाई बोलाउँछु तर आउनु हुन्न, यसमा मेरो के गल्ती ? मैले त कार्यालय मात्र होइन, चेकसमेत विपक्षी नेतालाई देखाउनुपर्ने कार्यविधि नै बनाएको छु । अरु सबै पार्टीले समन्वय गर्न हात अगाडि बढाएका छन्, गरिरहेका छन्, कांग्रेस मात्र छेउछाउ पर्न चाहँदैन ।
तपाईंले सर्वदलीय बैठक बोलाउनुभएको हुन्थ्यो भने कोरोनाविरुद्ध लड्न शक्ति मात्र एकट्ठा हुँदैन थियो, संकटमा एकता भन्ने सन्देश पनि जान्थ्यो, जस तपाईंले नै पाउनुहुन्थ्यो । खै त तपाईंको पहल ?
यो प्रयास पनि मैले कहाँ नगरेको हो त ! उहाँहरू छेउछाउ नै पर्न चाहनु हुन्न । प्रत्येक वडाका कार्यक्रममा उहाँहरूलाई बोलाइन्छ, आउनु हुन्न । उहाँहरू विज्ञप्तिबाजीमै सीमित हुनुहुन्छ ।
तपाईंले आफन्त र कार्यकर्तालाई मात्र राहत बाँडिरहनुभएको छ भनिरहेका छन्, अनि कहाँ आउँछन् त ?
यो मिथ्या आरोप मात्र हो । अझ उहाँहरूले ‘आफन्तलाई मात्र’ वितरण गरेको भन्नुभएको रहेछ । मेरो पुस्ताभित्रको कसैलाई मैले राहत दिएको भए एउटा मान्छे उभ्याउन् न त ! कसैले यो प्रमाणित गर्न सक्छ भने सजाय भोग्न तयार छु । मेरो राजनीति अल्पकालीन होइन, म आफ्नो कृत्याकृत्यप्रति सचेत छु । विरोधको राजनीति देखेर मलाई आश्चर्य लाग्छ, कम्तीमा राम्रोलाई राम्रो भन्न नसके पनि निराधार आरोप त नलगाइदिनु नि ।
विपक्षीले त विरोध मात्र गर्ने चलन छ । तर, तपाईं आवद्ध पार्टी (नेकपा)कै कतिपय नेता, कार्यकर्ता तपाईंको कार्यशैलीप्रति सन्तुष्ट देखिँदैनन् । तपाईं एकलौटी ढंगले अघि बढ्न खोज्नुहुन्छ भन्छन् त ?
मलाई त त्यस्तो कहिल्यै लागेन । म त सर्वपक्षीय सहमति खोजेर हिँड्ने मान्छु हुँ । अब पार्टी बैठकमा पनि सबै मै हुँ भन्ने खालका हुन्छन् । दुइटा पार्टी एक भएकाले नेता पनि धेरै भए । नगर प्रमुखको हैसियतमा बैठकहरू बोलाउँदा आफ्नो पार्टीका दुई जना अर्को पार्टीको एकजना बोलाउन पनि भएन । म सबैको मेयर हुँ । यति भन्दै गर्दा यहाँ नेकपाको संगठन विस्तार गर्न वा भनौँ नेकपालाई शसक्त बनाउन पनि मैले भूमिका खेलेको छु । मैले कुनै काम एकलौटी ढंगले गरेको भए प्रमाणसहित भन्नुपर्यो साथीहरूले ।
बेलका नगरपालिकामा राहत वितरणका क्रममा चरम राजनीति देखिइरहेको छ । जस्तो कि, नगर सरकारले छुट्टै राहत संकलन गरिरहेको छ, तपाईं आवद्ध नेकपाले छुट्टै, विपक्षी कांग्रेसले छुट्टै, यस्तो किन भयो ?
राहत जसले उठाए पनि वितरण गर्दा एकद्वार प्रणालीअनुसार नै हुन्छ । चाहे नेकपाले होस् वा कांग्रेसले, संकलन गरेको राहत नगर सरकारलाई बुझाउँछन् र हामी लक्षित वर्गमा त्यो सहयोग उपलब्ध गराउँछौँ ।
नेकपा र कांग्रेसले आफूले उठाएको सहयोग आफैँ वितरण गर्न थाले भने के गर्नुहुन्छ ?
नेकपाले त संकलन गरेको राहत रकम नगर सरकारलाई बुझाउने भइसकेको छ । कांग्रेसले पनि एकद्वार प्रणाली मान्नुपर्छ भन्ने मेरो आग्रह हो । तर, उहाँहरूले जबर्जस्ती गर्न खोज्नुभयो भने म वितरणमा रोक लगाउँछु र आवश्यक कदम चाल्छु ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७ १२:१२