कोरोना भाइरस (कोभिड १९) को त्रास । लकडाउन शहर । मानिस घरबाट बाहिर निस्कन पाएको छैन । घरमै बसेपछि घरायसी सामानको प्रयोग पनि धेरै । सामान बिग्रियो । अब के गर्ने ? बनाउन कहाँ जाने ? अहिले धेरैको समस्या यस्तै छ ।
सजिलो मर्मत सेवाको टिम छलफलमा जुट्यो । यो संकटमा हाम्रो भूमिका के हो ? हाम्रो दायित्त्व के हो ? हामीले के गर्न सक्छौँ ? के गर्दा आमनागरिकले थोरै भए पनि राहत पाउँछन् ।
टिमले आइडिया निकाल्यो अनलाइनबाट निःशुल्क सेवा दिने ।
जहाँ समस्या, त्यहाँ सजिलो
‘घर बस्दाबस्दै कति समस्या आएको छ । यो समयमा बाहिर जान पनि मिलेन । सामानको प्रयोग धेरै हुन्छ,’ सजिलो मर्मत सेवाका संस्थापक सुजित रेग्मीले भने, ‘अरु बेला अफिस जाने हुन्छन् । अहिले घरमा बस्दा बत्ती, वासरुम, कम्प्युटरको धेरै प्रयोग हुन्छ । बिग्रने पनि धेरै । त्यसैले यो संकटमा अनलाइनबाट निःशुल्क सेवा दिन लागेका हौँ ।’
अहिले सजिलो मर्मत सेवाबाट अहिले ११ हजारले सेवा लिइरहेक छन् । अत्यावश्यक अस्पतालदेखि सामान्य उपभोक्तासमेत रहेका छन् ।
कसरी सेवा दिने ?
सजिलाे मर्मत सेवाले एउटा हटलाइन नम्बर राखेको छ । त्यो हटलाइन नम्बरमा ४ जना टेक्निसियन हुन्छन् । फोनबाटै समस्या के हो बुझेर सम्बन्धित टेक्निसियनले सोलुसन बताउने हो । त्यस्तै सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम र भाइबरबाट पनि सेवा लिन सकिन्छ । भिडियो कलबाट डेमो देखाउने वा के बिग्रेको हो त्यो बनाउन सिकाइन्छ । त्यसपछि तत्कालका लागि समस्या समाधान गर्न सकिन्छ ।
२५ चैतदेखि पनि लकडाउन लम्बियाे सरकारसँग थप अनुमति लिएर सेवा दिने सजिलाे मर्मत सेवाको तयारी छ ।
‘घरघरमा गएर सेवा दिँदा कोभिडको जोखिम हुन्छ । त्यसैले तत्कालका लागि हामीले अनलाइनबाट सेवा दिन लागेका हौँ,’ उनले भने, ‘लकडाउन लम्बियो भने सरकारसँग अनुमति लिएर थप सेवा दिन्छौँ ।’
अहिलेलाई ३ सेवा
सजिलाे मर्मत सेवाले अहिले प्लम्बिङ, इलेक्ट्रोनिक र कम्प्युटर सेवा गरी ३ वटा सेवा दिएको छ । ‘यो समयमा यी ३ वटा कुरा धेरै प्रयोग हुने भएकाले यसमा फोकस गरेका छौँ,’ रेग्मीले भने, ‘संकटको समयमा पनि अनलाइनबाट सामान मर्मत गर्न सकिन्छ । तपाईंको घरमा पनि समस्या भए हामीलाई सम्पर्क गर्नुहोस्, हामी निःशुल्क सेवा दिन्छौँ ।’
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६ १३:१७