मंगलबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाले मापदण्डविपरीत १२ वटा ए–लेभल कार्यक्रम सञ्चालन गरेका कलेज खारेज गरिएको सूचना निकाल्यो ।
कलेज नै खारेज भएको भन्ने सूचनाले निजी कलेजहरूमा तरङ्ग छायो ।
यथार्थमा कलेज नभएर विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएको ए–लेभल कार्यक्रम मात्र खारेज भएको रहेछ ।
‘कलेज नै खारेज भएको होइन’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘मापदण्ड पूरा नगरेका कार्यक्रम मात्र खारेज गरिएको हो ।’
अब ती कलेजले ए–लेभलको कार्यक्रममा भर्ना लिन पाउनेछैनन् ।
यस्तो छ खारेज हुनुको कारण
समयमा राजस्व दाखिला नगरेको, नवीकरण नगरेको, जुन विश्वविद्यालयबाट सम्बन्धन लिएको हो, त्यस विश्वविद्यालयको मापदण्ड पूरा नगरेको, गुणस्तरीयता कायम नगरेको कारण कार्यक्रम खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
के हुन्छ अध्ययनरत विद्यार्थीको भविष्य ?
कार्यक्रम खारेज भएपछि ए–लेभलमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विद्यार्थीहरूको समस्या समाधान गर्ने दायित्व कलेजहरूकै भएको सरकारको प्रतिक्रिया छ ।
‘नियमसङ्गत ढंगले विद्यार्थी भर्ना भएको भए कलेजहरूले व्यवस्थापन गर्नुपर्छ’, प्रवक्ता शर्माले भने, ‘विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न मिल्दैन ।’
कार्यक्रम खारेज भएपछि कलेजहरूले नयाँ भर्ना लिन पाउनेछैनन् । अब विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार विद्यार्थी नै हुनेछन् ।
यी हुन् कार्यक्रम खारेज भएका कलेज

हामीमाथि अन्याय भयो : कलेज सञ्चालक
कलेज सञ्चालकहरूले आफूहरूमाथि अन्याय भएको बताएका छन् ।
‘कोहीलाई पाखा कोहीलाई काखा गरिएको छ’, एक ए–लेभल सञ्चालन गर्ने कलेज सञ्चालकले भने, ‘मानवीय त्रुटिलाई लिएर कार्यक्रम नै खारेज गरिएको छ ।’
१६ वटा कलेजका कार्यक्रम खारेजीको सूचीमा थिए तर ४ वटालाई भने जोगाइएको उनीहरूको आरोप छ ।
‘स्पष्टीकरण पनि दिइएको हो’, उनले भने, ‘सरकारकै स्वामित्व भएको कलेजलाई भने कारबाही गरिएन ।’
‘अध्ययनरत विद्यार्थीको पढाइ रोकिँदैन’, उनले भने, ‘नयाँ भर्ना लिन नपाउने हो । आफ्नो कुरा सम्बन्धित ठाउँमा राख्छौँ ।’
के हो ए–लेभल ?
ए–लेभल सन् १९५१ मा सुरु भएको २ वर्षे कोर्स हो । क्याम्ब्रिज युनिभर्सिटीले सुरु गरेको प्लस टु जस्तै कोर्स हो यो । ए–लेभलमा ७० वटा विषय हुन्छन् ।
विद्यार्थीले आफ्नो इच्छाअनुसार विषय पढ्न पाउँछन् । ए–लेभलको पाठ्यक्रम, परीक्षा, ग्रेडिङ क्याम्ब्रिज विश्वविद्यालयले बनाउँछ ।
नेपालमा पनि ए–लेभल कोर्सको आकर्षण बढ्दो छ । नेपालमा भने ए–लेभल सन् १९८६ बाट सुरु भएको हो । नेपालमा बर्सेनि झण्डै १ हजार ५ सय विद्यार्थीले ए–लेभल पढ्ने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६ १८:०३