कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मानसरोवर जाने एक जना तीर्थयात्री गएका छैनन् । फागुनबाट सुरु हुने मानसरोवर तीर्थयात्रा यसवर्ष कोभिड–१९ भाइरसको त्रासका कारणले कम भएको हो ।
फागुन महिनादेखि नै मानसरोवर कैलाश तीर्थ यात्राका लागि भारतीयहरु नेपालगञ्ज विमानस्थलमा लाम नै लाग्ने गरेको भएपनि यस आर्थिक वर्षमा कोभिड–१९ भारइसका कारणले एक जना पनि तीर्थ यात्राका लागि आएको छैनन् ।
विश्वभरी नै कोभिड–१९ को त्रासमा रहेका कारणले पनि नेपालगञ्जबाट मानसरोवर कैलाश जाने तीर्थयात्री नआएको हुनसक्ने नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए ।
‘कैलाश मानसरोवर जाने यात्रु यो मौसममा एक जना पनि आएका छैनन्,’ उनले भने, ‘कोभिड १९ भाइरसको प्रभावले पनि यस्तो भएको हुनसक्छ ।’
कैलाश मानसरोवर जाने यात्रुहरुमा आन्तरिक यात्रुमात्र रहेको र विदेशीहरु एक जना पनि नगएको निर्देशक ठाकुरले जानकारी दिए । ‘मानसरोवर जानका लागि आजभोलिको सिजनमा हानथाप नै हुने गरेको थियो,’ उनले भने, ‘यो वर्षको आजसम्म एक जना पनि गएको छैन् ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय काठमाडौंका उपनिर्देशक सुरेशप्रसाद खनालका अनुसार गत आर्थिक वर्ष नेपालगञ्ज विमानस्थल हुँदै मानसरोवरमा १० हजार भारतीय तीर्थ यात्रामा गएको भएपनि यो आर्थिक वर्षका निकै कम भएको बताए ।
‘गत आर्थिक वर्षको यो मौसममा कैलाश मानसरोवर जाने यात्रुको चाप नै हुने गरेको थियो,’ उनले भने, ‘यो वर्ष एक जना पनि देखिएका छैनन् । यो कोभिड–१९ भाइरसको प्रभाव भएर नै होला ।’
विगतमा मानसरोवर कैलाश जाने तीर्थयात्रीका चापका कारणले भनेको बेला टिकट नपाइने गरेको र यो वर्ष सजिलै हवाइजहाजको टिकट पाउन थालिएको हुम्ला सिमीकोट गाउँपालिकाका रामबहादुर शाहीले बताए ।
विगतमा मानसरोवर कैलाश जाने यात्रुको चापले गर्दा नेपालगञ्ज र हुम्लाको सिमीकोटमा निजी हेलिकोप्टर कम्पनीहरुको हेलिकोप्टर तैनाथ अवस्थामा रहने गरेको भएपनि हाल कुनै पनि नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
कोभिड–१९ भाइरसका कारणले पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको पर्यटन क्षेत्रका व्यवसायीले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६ १५:३७