कर्णालीलाई अर्ग्यानिक प्रदेशका रूपमा विकास गर्नका लागि ‘प्रथम कर्णाली जैविक कृषि सम्मेलन, २०७६’ सुर्खेतको एक तारे होटलमा बुधबारदेखि सुरु भएको छ ।
कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई जैविक तथा अर्ग्यानिक प्रदेश बनाउनका लागि सम्मेलन तारे होटलमा भएको हो ।
कर्णालीका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका उच्चपदस्थ पदाधिकारी, नेपाल तथा भारतका कृषिविज्ञहरू सम्मेलनमा सहभागी छन् ।
कर्णालीका किसान तथा स्थानीय तहका जनप्रतिनिधिका बीचमा हुनुपर्ने कार्यक्रम किसान र स्थानीय जनप्रतिनिधिहरूको न्यून सहभागिता रहेको छ ।
कर्णालीलाई कृषि उपजका वस्तु उत्पादन गर्न प्रोत्साहन गर्नका लागि कर्णाली प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा किसानको सहभागिता नभएकामा किसान अगुवाहरूले विरोध गरेका छन् ।
किसानका नाममा तारे होटलमा कार्यक्रम हुने गरेको र तारे होटलमा हुने सम्मेलनको खर्च कृषि क्षेत्रमा लगानी गरे कृषि क्षेत्रको उत्पादन वृद्धि हुने दैलेख दुल्लु नगरपालिका– ४ का किसान रामबहादुर थापाले बताए ।
‘तारे होटलमा किसानका नाममा करोडौँ रुपैयाँ लगानी गर्नेभन्दा किसानलाई अनुदान दिए कृषि उत्पादनका वस्तुमा वृद्धि हुने थियो’, उनले भने, ‘किसानका नाममा ठूलाबडाले नै ठग्ने काम गरेका छन् ।’
किसानहरूका नाममा तारे होटलमा सम्मेलन गरिएपछि किसानहरूले जैविक सम्मेलन कृषि उत्पादन हुने गाउँमा गर्नुपर्ने माग गरेका छन् ।
सम्मेलनमा बोल्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीलाई पूर्ण जैविक बनाउन कृषिका लागि गुरुयोजना निर्माणको थालनी गरिएको जानकारी दिइन् । उनले कर्णालीलाई पूर्ण जैविक प्रदेश निर्माण गर्न सरकारले किसान लक्षित कार्यक्रम सञ्चालन गरेको बताइन् ।
प्रदेशभित्रका प्रत्येक जिल्लाका कम्तीमा एउटा स्थानीय तहलाई नमुनाका रूपमा विकास गर्ने गरी जैविक कृषि कार्यक्रम सञ्चालन गरिएको कृषिमन्त्री केसीले बताइन् ।
संसारको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने गरी जैविक कृषि कार्यक्रम तथा अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ १४:५८