सरिता (नाम परिवर्तन) र नवीन (नाम परिवर्तन)को भेट सामाजिक सञ्जाल इमो हुँदै भएको थियो । नवीनलाई सरिताका बारेमा सबै कुरा थाहा भएर नै इमोमा एड गरेका थिए । किनकि उनी सरितालाई साथ दिन चाहन्थे ।
उनलाई लाग्थ्यो, अरूलाई सहयोग गर्नु, दुःखमा साथ दिनु धर्म हो ।
यहीँबाट सुरु भएको थियो उनीहरूको दोस्ती । सरिता एकल महिला अनि एक सन्तानकी आमा । १७ वर्षको उमेरमा उनको विवाह भएको थियो ।
ठकुरी थरकी उनको आफ्नै फूपूको छोरासँग मागी विवाह भयो, जतिबेला उनी कक्षा ९ मा पढ्दै थिइन् । उनका श्रीमान् नेपाल आर्मीमा जागिरे थिए । सरकारी जागिरे, चिनेजानेको मान्छे नै श्रीमान्, परिवारको राजीखुसी अनि आफू पनि खुसी नै थिइन् उनी ।
श्रीमान्को त्यो बेला चितवनमा जागिर थियो । विवाह भएको ६ महिनापछि नै सरिता श्रीमान्सँगै बस्न भनी चितवन आइन् । उनीहरूको जीवन खुसीसाथ नै बितिरहेको थियो ।
विवाह भएको १५ महिनामा उनको गर्भमा उनको र श्यामको मायाको चिनो हुर्किंदै गयो । दुवै जना एकदमै खुसी थिए । परिवारमा पनि खुसीको सीमा थिएन ।
दिन बित्दै गए । पेटमा बच्चा आएको ९ महिना पनि पूरा भयो । उनीहरूको छोरा जन्मियो, भरतपुर अस्पतालमा ।
सरितालाई लागेको थियो, उनी संसारकै भाग्यमानी हुन् किनकि आफ्नो रहरअनुसार नै जिन्दगी जिउँदै थिइन् उनी ।
छोराको न्वारन गरेसँगै सुत्केरी खान माइत लमजुङ गएकी उनी ३ महिनापछि चितवन नै फर्किइन् । यसबीचमा श्याम आफैँ छुट्टी मिलाएर छोरा र श्रीमती भेट्न लमजुङ गइरहन्थे ।
उनको उज्यालो जीवन एकाएक अन्धकारमय बन्यो । श्यामको ड्युटी चितवन राष्ट्रिय निकुञ्जमा परेको १ महिना मात्रै भएको थियो । त्यहीँ डिउटी गर्ने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी उनको मृत्यु भयो ।
श्रीमानको मत्युको खबरले सरितालाई पागल जस्तै बनायो । उनी छिनमै होसमा, छिनमै बेहोस हुन थालिन् । यो घटनासँगै सरिताका लाखौँ सपना, रहर उडेर गए । उनी विधवा भइन् अनि सुरु भए उनका दुःखका दिन ।
उनको हँसिलो अनुहार अब सधैँजसो मलीन हुन थाल्यो, आँखामा पोखिन नसकेका आँसुका ढिक्का, मुस्कुराउन चाहेर पनि मुस्काउन नसकेका उनका ओठ, उनलाई सधैँ देखिरहने मान्छेका लागि झनै विरक्तलाग्दा भए ।
भनिन्छ, ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी ।’ त्यस्तै हुन थाल्यो सरिताको जीवन ।
श्याम हुँदा सबैको हाइहाइ भएकी सरिता अब भने सबैको आँखाको तारो बन्न थालिन् । आफ्नै (फुपू) सासूले उनलाई उपनाम दिइन्– लोग्ने टोकुवी ।
श्रीमान् गुमाउनुको पीडा, काखमा दूधे बच्चा, कलिलो उमेर, जब उनलाई परिवारको साथ, माया अनि हौसलाको जरुरत थियो, तब उनी ‘लोग्ने टोकुवी’ र ‘अलच्छिनी’ बनिन् ।
आफ्नै घरका परिवारले हेला गर्न थालेपछि उनलाई गाउँमा सबैले ‘अलच्छिनी’ भन्दै छिछि दूरदूर गर्न थाले । पानीपँधेरादेखि मेलापातसम्म उनी बहिस्कृत बनिन् ।
गाउँमा सबैको दुव्र्यहार सहनै नसक्ने भएपछि उनी चितवन फर्किइन्– काखमा दूधे छोरो च्यापेर ।
श्रीमान्को कमाइमा बसेकी उनलाई अब भने आमाछोराले के लाउने, कसरी खाने, घरभाडा कसरी तिर्ने भन्ने समस्या पर्यो । त्यति मात्र होइन, जुन घरमा श्याम र उनी भाडामा बसेका थिए, ती घरभेटीले उनलाई कोठा छाड्न भन्न थाले ।
श्यामको मृत्यु, मृत्युसँगै उनले पाएको उपनाम ‘लोग्ने टोकुवी’ अनि ‘अलच्छिनी’ आदि कारण थिए उनले कोठा छाड्नुपर्ने । अन्ततः १ महिना जसोतसो बसेपछि उनी कोठा सरिन् ।
सरसमान सार्न उनलाई निकै समस्या भयो । खबर गर्दा पनि उनको घरबाट कोही मद्दतका लागि आएनन् । उनको माइतीबाट पनि आउने कोही भएनन् । वृद्ध बाआमा, घरमा गाईवस्तु, भएको एउटा भाइ वैदेशिक रोजगारीमा कतार ।
कोठा सर्नेवित्तिकै उनले खर्चको जोहो गर्नुपर्ने भयो । सबै कागजातहरू मिलाएर उनले श्रीमान्को सरकारी जागिरबाट पाउने सेवा सुविधा त पाउने भइन्, त्यसले उनलाई केही राहत त मिल्यो । तर, त्यो उनका लागि पर्याप्त के हुन्थ्यो !
छोरालाई पढाउन, बढाउन अब आफैँले पनि केही गर्नुपर्छ भन्ने सोच थियो उनको । तर, पढाइ ९ कक्षा पास अनि काखमा बच्चा भएपछि कतै काम पाउने कुरा नै भएन ।
उनले घरेलु कामदारको रूपमा एउटा घरमा काम गर्न थालिन् । त्यहाँबाट उनले महिनाको १० हजार रुपैयाँ पाउँथिन् । ढाडमा बच्चा बोकेर, अर्कोको घरमा झाडुपोछा गर्नु, खाना बनाउनु, जुठा भाँडा माझ्नु, लुगा धुनु उनको दैनिकी बन्यो ।
सरिताको जीवनमा भएका यी घटनाहरूका बारेमा कतारमा रहेका नवीनलाई थाहा थियो । सरिताको माइतीतिरका दाइ पर्नेले यी सबै कुरा नवीनलाई भनेका थिए– उनको फोटो इमोमा देखेर । नवीन सरितालाई सहयोग गर्न चाहन्थे । उनको साथी बन्न चाहन्थे ।
दिनहरू बित्दै गए । सरिता आफ्नो दैनिकी सकेर रातको केही घण्टा नवीनसँग इमोमा अनलाइन बसेर समय बिताउन थालिन् । यो उनीहरू दुवैका लागि नियमित प्रक्रिया बनिसकेको थियो । सरिता आफ्नो दैनिकी सुनाउँथिन् भने नवीन आफ्नो दैनिकी ।
नवीन नेपाल आउने भए ३ महिनाको छुट्टीमा । उनको घर नेपालगञ्ज । उनले आउनुभन्दा एक हप्ता अगाडि नै सरितालाई खबर गरेका थिए । २ दिनअघि उनले एसएमएस गरेर भने, ‘सरिताजी, समय छ भने मलाई काठमाडौंमा लिन आउनुस् न ल ! म तपाईंलाई भेट्न चाहन्छु नेपाल आउनेवित्तिकै । घर गएपछि के कसो होला । हामी काठमाडौंमै भेटौँ न है प्लिज ! आई एम वेटिङ फर यु, अनि फुच्चेलाई पनि त्यस्तै भेट्न मन छ ।’
सरिता द्विविधामा परिन्– जाऊँ कि नजाऊँ भनेर । आफ्नो साथीको त्यो एसएमएसले उनलाई केही खुसी बनाएको थियो भने डर पनि पैदा गराएको थियो ।
जान त जाने, न कहिले देखेको छ, कस्तो होला के होला, के भनुँला, त्यही भेट हाम्रो अन्तिम भेट त बन्दैन ? यस्तैयस्तै, प्रश्नको आँधी मनमा बोकेर काठमाडौं गइन् उनी, छोरोलाई बोकेर ।
रातको ७ बजे नवीन नेपाल आइपुग्दै थिए । सरिता ५ बजेदेखि नै उनलाई कुरेर बसिरहेकी थिइन् । उनका मनका प्रश्नहरूले नदीको छाल जस्तै मनको अशान्त बनाइरहे ।
नवीन आइपुगे । सरितालाई देख्नेवित्तिकै यसरी अँगालोमा बाँधे कि मानौँ, उनले आफ्नै श्रीमतीलाई धेरै वर्षको पर्खाइपछि भेट्टाएका थिए ।
कलिलो उमेरमै पति गुमाएकी उनलाई धेरै वर्षपछिको त्यो न्यानो अँगालोले धेरै खुसी दिएको थियो । लाग्यो, उनी आफ्नै श्रीमान्को अँगालोमा छन् ।
नवीनले सरिताका छोरालाई पनि त्यस्तै माया गरे । त्यसरी नै लिए, जसरी श्यामले आफ्नो छोरालाई लिन्थे । सानो छोरोलाई नवीनले लिएको, खेलेको अनि तोते बोलीमै हालचाल सोधेको देखेर सरिताका आँखामा आँसु सलबलाए पनि छताछुल्ल भएर पोखिन भने सकेनन् । उनी नवीनलाई आँसु देखाउन चाहन्नथिन् ।
त्यो रात उनीहरूले काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा काट्ने निधो गरे । रातको खाना खाएर होटलको कोठामा छिरे । सरितालाई एकदमै डर लाग्यो । एउटै कोठामा एउटै खाटमा नवीनसँग कसरी रात काटौँ भनेर । डरका बाबजुद पनि उनी कोठामा छिरिन् ।
ठूलो कोठा, बीचमा एउटा टेबुल, टेबुलमाथि फोन अनि फूलको गमला । दायाँबायाँ २ वटा खाट ।
कोठामा पस्दासम्म छोरो सुतिसकेको थियो । एउटा खाटमा छोरोलाई सुताएर रातोपीरो हुँदै बसिरहिन् सरिता ।
नवीनले भने, ‘सरिताजी, मैले आउनुस् त भनेँ, गाह्रो भयो होला है ! बाबू पनि थाकेको भएर होला हेर्नुस् न कति आनन्दले निदाएको छ । कति मायालु देख्या’ छ । अनि तपाईंचाहिँ किन रातोरातो भइराख्नु भा’को ? न डराउनुस्, केही हुँदैन, तपाईं कति हिम्मतवाली हुनुहुन्छ मलाई थाहा छ । म तपाईंलाई धेरै माया गर्छु अनि त्यत्तिकै धेरै इज्जत पनि गर्छु । म कतारमा हुँदादेखि नै केही पैसा तपाईंलाई पठाएर सहयोग गर्न चाहन्थेँ तर डर लाग्थ्यो के सोच्नु होला भनेर ।’
नवीन भन्दै गए, ‘तर, मैले जतिबेलादेखि तपाईंका बारेमा थाहा पाएँ, त्यसबेलादेखि नै खै किन हो, तपाईंका लागि केही गरौँगरौँ भन्ने लाथ्यो । त्यसैले मेरो कमाइबाट अलिकति रकम मैले तपाईंको बाबू (छोरो)का लागि जोगाएको छु । प्लिज, नाइँ नभनी, ममाथि केही शंका नगरी लिनुस् ल !’
यसो भन्दै १ लाख रुपैयाँ सरिताको हातमा थमाए नवीनले ।
सरिताले उक्त घटना मसँग खुलेर यसरी बताइन् ।
... म निशब्द भएँ । मनमनै लाग्यो, एक रात बिताउनका लागि मैले १ लाख पाएँ । छिः घीन लागेर आयो आफैँसँग । म एउटा यस्तो मान्छेसँग छु, जो पैसाको आडमा मेरो दुःखलाई आधार बनाएर मसँग शारीरिक सम्पर्कमा रहन चाहन्छ । अनि म पनि उस्तै, यो स्वार्थी दुनियाँमा एउटा सच्चा साथी मानेर, उसलाई विश्वास गरेर, नाबालक छोरा काखमा च्यापेर आएँ । मनैमनै यी कुरा खेलाएर, उसको अगाडि एक शब्द ननिकाली बसेँ । उसले हातमा थमाएको पैसाको बिटो उसकै आडको टेबुलमा राखिदिएँ ।
उसले फेरि थप्यो, ‘सरिताजी तपाईंलाई थकाइ लागेको होला, निर्धक्क भएर सुत्नुस् । भोलि बिहानै फर्किनु पनि छ । निद्रा पुगेन भने गाह्रो हुन्छ । गुड नाइट ।’
यति भनेर बलिरहेको बत्ती निभाएर ऊ खाटमा पल्टियो, सायद निदायो पनि ।
मलाई भने निद्रा नै परेन, डर लागिरह्यो मनमा, कतै उसले रातको फाइदा त उठाउँदैन भनेर । रातको २ बजेको थियो । छोरो एक्कासि रुन थाल्यो । धेरै फकाएँ, मान्दै मानेन अनि नवीनले अँगालोमा लिँदै उसलाई थमथमाउन थालेपछिचाहिँ बल्लतल्ल निदायो ।
म दंग परेँ उसको काखमा जानेवित्तिकै बाबू निदाएको देखेर ।
म पनि निदाएछु । भोलिपल्ट बिहानै हामी आआफ्नो घर फर्कने भयौँ ।
उसले कल्पना गरी– ‘मैले पैसा लिन नमान्दा तिमी कस्तरी रिसाएका थियौ, याद छ मलाई, अनि कति मायालु देखिएका थियौ, त्यो पनि याद छ । रिसाएरै तिमीले मलाई चितवनका लागि बिदा गर्यौ ।’
सरिता मसँग पोखिँदै गई ।
हाम्रो त्यो भेटपछि कताकता माया गर्न थालेकी म, नवीनलाई मायाभन्दा बढी इज्जत गर्न थालेँ । यो स्वार्थी दुनियाँमा उसले मलाई दिएको माया, केयर अनि इज्जत बिर्सनै नसक्ने गरी दिलमा बसेको थियो । लाग्यो, उसको माया मेरा लागि निस्वार्थ थियो ।
उसले मलाई माया गथ्र्यो तर भन्न सकेन । चाहेको भए त्यो बन्द कोठामा उसले मलाई जे पनि गर्न सक्थ्यो ।
घर फर्किसकेपछि हाम्रो सम्पर्क नै भएन । म सधैँ उसलाई कुर्दै आफ्नो दैनिकी सकेर पहिलेझैँ अनलाइन बस्दै कुरिरहेँ । यो बानी मलाई उसले नै जो लगाएको थियो ।
दिन बित्दै गए, साढे ३ महिनापछि बल्ल अनलाइनमा देखेँ नवीनलाई– रातको साढे १० बजे ।
उसले मेरा लागि एउटा लामो एसएमएस छाडेको रहेछ, जसमा लेखिएको थियो– ‘हेलो सरिताजी, कस्तो छ तपाईंलाई ? म धेरै समय अनलाइन आइनँ, नरिसाउनु ल ! म घरबाट फर्किसकेँ, आउने बेला भेट्ने मन थियो तर त्यस्तै भयो । धेरै समयअघिदेखि तपाईंलाई एउटा कुरा भन्छु भन्ने लागेको थियो तर डर थियो– तपाईंलाई गुमाउँछु भनेर । हाम्रो दोस्ती सकिन्छ भनेर । तपाईंसँग बोल्न पाउँदिनँ भनेर ।’
एसएमएसमा लेखिएको थियो, ‘म विवाहित हुँ । मेरी एउटी सानी छोरी पनि छ । म मेरी श्रीमतीलाई धेरै माया गर्छु अनि छोरीको त झन् कुरै नगर्नुस् कतिकति माया । म मेरो परिवार गुमाउन चाहन्नँ । अनि तपाईंलाई पनि किनकि म तपाईंलाई पनि उस्तै माया गर्छु । जुनदेखि बाबूलाई देखेँ, त्यसबेलादेखि नै लाग्छ, ऊ मेरै छोरो हो । मेरी छोरी र तपाईंको बाबूमा म फरक गर्न चाहन्नँ । म बाबूलाई पनि त्यो सबै खुसी दिन चाहन्छु, जुन मैले मेरी छोरीलाई दिएको छु ।’
निकै लामो एसएमएस पढ्दै गएँ, ‘म तपाईंलाई विवाह नै गरेर मेरो घरमा लगेर सँगै राख्न त सक्दिनँ तर बाहिर बसेर नै म तपाईंलाई आफ्नो बनाउन चाहन्छु । माया गर्न चाहन्छु । प्लिज, मलाई नराम्रो नसोच्नुहोला । मेरो मायामा शंका नगर्नुस् । म साँच्चिकै तपाईं र बाबूलाई धेरै माया गर्छु । लब यु सो मच ।’
त्यो म्यासेज मेरा लागि मात्र म्यासेज थिएन । म छाँगाबाट खसेजस्तै भएँ । चिच्चाएर रुन मन लाग्यो तर रुन सकिनँ । एक मनले भन्यो, ‘तँलाई धोका भयो ।’ अर्को मनले भन्यो, ‘भाग्यमानी छस्, तँलाई माया गर्ने मान्छे भेटेकी छस् ।’
यस्तैयस्तै मनका अनेक तरङ्गलाई साम्य पार्ने कोसिस गर्दै मलै उसको म्यासेजको रिप्लाई गरेँ ।
‘नवीनजी, आई लभ यु टु । मलाई यति धेरै माया गर्नुभएकामा धेरै खुसी छु । साथीबाट सुरु भएको हाम्रो सम्बन्धले कतिबेला मायाको रूप लियो, मलाई पनि याद छैन । तपाईंसँगका मेरा ती पलहरू निकै सुन्दर छन् । म त्यसलाई धमिलो पार्न चाहन्नँ । मेरो बारेमा यति धेरै सोच्ने भए पनि तपाईंका बारेमा जान्ने मैले कहिल्यै प्रयास गरिनँ । गल्ती भयो मबाट । मलाई गुमाउने डरले तपाईंले जेजति कुरा लुकाउनुभयो, त्यो लुकाउन लायक थियो सायद !’
मैले लेखेँ, ‘श्रीमान् गुमाउँदाको पीडा कस्तो हुन्छ, त्यो मैले महसुस गरेकी छु । अनि तपाईंले आफ्नी श्रीमतीलाई यति धेरै माया गर्नुहुन्छ भन्ने जान्दाजान्दै उनीबाट तपाईंलाई खोस्न सक्ने हिम्मत ममा छैन । तपाईं विवाहित हो भन्ने मैले पहिले नै थाहा पाएको भए सायद म तपाईंसँग यति धेरै नजिक पनि हुने थिइनँ । नजिक भएर पनि हामीले कुनै सीमा नाघेका छैनौँ ।’
लामै लेखेछु मैले पनि, ‘हो, म तपाईंलाई धेरै माया गर्छु तर म कसैकी सौता बन्न सक्दिनँ । तपाईंकी कान्छी श्रीमती बन्न सक्दिनँ । मलाई माफ गर्नुस् । बी ह्याप्पी ।’
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६ ०७:१७