कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ३७ जना कर्मचारीको करारमा कर्मचारी भर्नाका लागि आह्वान विज्ञापनमा एक हजार दुई सय ५८ जनाले आवेदन दिएका छन् ।
मन्त्रालयले विभिन्न समूहमा करार कर्मचारीको माग गरेर पुस २७ गते आह्वान गरेको थियो । मन्त्रालयले आह्वान गरेको ११ समूहमा सेवा करारमा माग गरेको थियो ।
मन्त्रालयका अनुसार कृषि अर्थ विज्ञ अधिकृत सातौँ तहमा ३ जनाको माग गरिएका २८, कृषि प्रसार अधिकृतमा ५ जना माग गरिएकोमा २६९, बाली विकास अधिकृतमा १ जनाको माग गरिएकोमा १७६ जना, बाली संरक्षण अधिकृत सातौँ तहमा ३ जना माग गरिएकोमा २२३ जनाको आवदेन दिएका छन् ।
त्यस्तै, पशु विकास अधिकृत सातौँमा २ जनाको माग गरेको १७ जना, पशु चिकित्सक सातौँ तहमा ४ जनाको माग गरिएकोमा १७ जनाले दरखास्त दिएका छन् ।
प्राविधिक सहायक पाँचौँ तहमा ४ कर्मचारी माग गरिएकोमा ९९ जनाको दरखास्त परेको छ । प्राविधिक सहायक कृषि प्रसार पाँचौँ तहअन्तर्गत २ कर्मचारी माग गरिएकोमा १ सय जनाको दरखास्त परेको छ ।
पशु सेवा प्राविधिक सहायक पाचौँमा १ जनाको दरखास्त आह्वान गरिएकोमा १६ जनाको दरखास्त परेको छ ।
पशु स्वास्थ्य प्राविधिकतर्फ सहायक पाँचौँ भेटेनरीतर्फ ४ जनाको दरखास्त आव्हान गरिएकोमा २४ जनाले दरखास्त दिएका छन् ।
कृषि क्षेत्रमा पढेको जनशक्ति धेरै भएको र बेरोजगारी समस्या पनि बढ्दै गएका कारणले आवेदन दिनेको संंख्या बढ्दै गएको मन्त्रालयका सूचना अधिकारी धनबहादुर कडायतले बताए ।
‘यसले बेरोजगारी समस्याका बिषयमा अहिले अवस्था कस्तो रहेछ भन्ने देखाउँछ,’ उनले भने, ‘कर्णालीमा पनि कृषि क्षेत्र पढेलेखेको जनशक्ति ठूलो छ भन्ने यसले देखाउँछ ।’
कृषि क्षेत्रमा आक्र्रषण धेरै भएका कारणले अध्यायन गर्नेको संख्या बढ्दै गएको सूचना अधिकारी कडायतले बताए ।
कृषि क्षेत्रमा पढेको जनशक्तिमा ठूलो संख्यामा बेरोजगार भएको कृषि क्षेत्रमा पढेलेखेका युवाहरूलाई कृषि क्षेत्रमा अवसर दिनुपर्ने राष्ट्रिय कृषक महासंघ सुर्खेतका उपाध्यक्ष शशीराम आचार्यले बताए ।
‘कृषि क्षेत्रमा ठूलो संख्या युवा जनशक्ति बेरोजगार रहेको यसले देखाउँछ,’ उनले भने, ‘अब पढेलेखेको जनशक्ति कृषि क्षेत्रमा अवसरको खाँचो रहेको छ ।’
युवाहरूले कृषि क्षेत्रमा अध्ययन गरेको ज्ञानलाई कृषिकर्ममा लगाएर सिकेको सीपलाई सदुपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारले नयाँ कार्ययोजना तयार पार्नुपर्ने आचार्यले बताए ।
‘एक गाउँ एक कृषि पकेट क्षेत्रको नीति सरकारले लिएको छ,’ उनले भने, ‘यी क्षेत्रमा कृषि क्षेत्र पढेको युवाहरूलाई अवसर दिनुपर्छ ।’
जेटीए पढेर तरकारी खेती
जिल्लाको रास्कोट नगरपालिका–फुकोटका २५ वर्षीय पुष्पराज बराल जेटीए अध्ययन गरेर गाउँमा नै तरकारी खेती गरिरहेका छन् । बरालले ७ बर्ष अघि कृषि जेटीए पास गरेर घरमा नै तरकारी खेती गर्ने गरेका हुन् ।
जेटीए पास गरेर सरकारी जागिर खाने सपनाभन्दा कृषि पेशा गरेर राम्रो आम्दानी लिनका लागि बरालले तरकारी सुरु हुन् ।
कृषि जेटीए गरेर आफूले सरकारी जागिर खाए बराबरको पैसा कृषि पेशाबाट पनि आउँन सक्छ भनेर तरकारी खेतीमा लागेको बरालले बताए ।
‘कृषि जेटीए सरकारी जागिर खाएको मासिक बार्षिक ५ लाखभन्दा कम कमाई हुन्थ्यो होला ।’ उनले भने, ‘तर, अहिले बार्षिक ५ लाखभन्दा बढी कमाई गर्ने गरेको छु ।’
बरालले गाउँमा नै तरकारी उत्पादन गर्ने र नर्सरी स्थापना गरेका छन् । तरकारी र नर्सरीबाट राम्रो आम्दानी हुने भएकाले आफूले कृषि पेशा अगाले उनी बताउँछन् ।
बरालले नर्सरीमा स्याउ र ओखरका बिरुवाहरु उत्पादन गर्ने र त्यसलाई विभिन्न ठाउँमा निर्यात गर्ने गरेको बरालले बताए । ‘मैले उत्पादन गरेका स्याउ र ओखर बिरुवाहरु अहिले बाहिरी जिल्लामा निर्यात गर्ने गरेको छु,’ उनले भने, ‘बिरुवाको माग निकै बढ्दो रहेको छ ।’
तर, तरकारी गाउँमा राम्रो उत्पादन हुने गरेको भएपनि बजारीकरणको समस्या रहेको बरालले बताए । ‘तरकारीको राम्रो उत्पादन हुने गरेको छ ।’ उनले भने,‘तर, बजारीकरणको निकै समस्या रहेको छ ।’ बरालले आफ्नो बारीमा विभिन्न फलफूलका बिरुवा समेत रोपेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६ ०९:२०