एमसीसीको पक्ष र विपक्षमा धेरै बहस भए, भइरहेका छन् । राजनीतिज्ञ मात्रै नभएर सम्बन्धित विषयका विद्यावारिधिवाला डाक्टरसा बहरू नै यसको पक्ष र विपक्षमा वकालत गरिरहेका छन् । अतः निष्कर्ष त पक्कै निस्किएला ।
यस्तोमा एमसीसीको पक्ष वा विपक्षको भनौरीमा लागेर समय किन बर्बाद गरौं ।
फेरि अरूका तर्कका आधारमा धारणा बनाएर कुर्लने फक्कडदास म होइन । आफूले स्पष्टरूपमा नबुझेसम्म म चुपचाप नै बस्न रुचाउँछु न कि पनपच्छे बहसमा होमिऊँ ।
लाग्छ, मजस्तै अरु पनि बुझिसकेपछि मात्रै बोल्दा हुन् त विवाद नै हुँदैन थियो होला । खैर, सबै मजस्ता कहाँ हुन्छन् र ? म सबैजस्तो कहाँ हुन सक्छु ? यस्तोमा मूढाग्रहको के अर्थ ?
त्यसैले आज पक्ष वा विपक्षमा होइन, एमसीसीको अर्कै पाटोमा लेख्न मन लाग्यो, एमसीसीको फुल फर्म ।
एमसीसीबारे विवाद बल्झिरहँदा रमाइलो पनि भइरहेको छ । विवाद नहुन्थ्यो भने सामाजिक सञ्जालमा एमसीसीको बडो रोचक फुल फर्महरू देख्न पाइँदैन थियो होला । विवादमा रमाइलो भन्न खोजेको होइन, विवादका क्रममा भइरहेका तर्कवितर्क र शब्दहरूले चाहिँ रमाइलो गराइरहेको भन्न खोजेको हुँ ।
खासमा एमसीसीको फुल फर्म मिलेनियम च्यालेन्ज कर्पोरेसन हो । तर, सामाजिक सञ्जालका पण्डित हरूले यसलाई विभिन्न नाम दिएका छन् । अश्लील शब्दहरू राखेर पनि एमसीसीको फुल फर्म बनाइरहेका छन् पण्डित महाशयहरूले ।
छिमेकी भाइ सरोजले फेसबुकमा एमसीसीको फुल फर्म लेखेको छ– मलाई चाहिँदै चाहिँदैन ।
उसले ज्ञानेन्द्र शाहीको अन्तर्वार्ता हेरेपछि यस्तो फुल फर्म जुराएको रे !
अरु कुरा थाहा छैन दाइ, यो नराम्रै हो भन्छन्, त्यसैले एमसीसी अर्थात् मलाई चाहिँदै चाहिँदैन भनेर लेखेको हुँ, उसले स्पष्टीकरण दियो ।
ट्विटरमा अज्ञात भन्ने एक जनाले लेखेका छन्– एमसीसी अर्थात् मलाई चाबी चाहियो । एमसीसीमार्फत अमेरिकाले नेपाल चलाउने चाबी मागेको भन्ने आशय उनले डिस्क्रिप्सनमा खुलाएका छन् ।
कतिपयले सीलाई कम्युनिस्टको रूपमा अर्थ्याएर एम र पछाडिको सीलाई अश्लील शब्दमा जोडिदिएका छन् । अब एमसी को फुल फर्म त धेरैलाई थाहै होला, रिस उठेका बेला प्रयोगमा आउँछ ।
त्यसपछिको सी मा कम्युनिस्ट जोडेर पनि आक्रोश पोख्ने काम पनि भइरहेको छ । । कतिपय फुल फर्मचाहिँ चाहेर पनि यहाँ लेख्न मिल्दैन ।
अब यो फुल फर्म आउनुको कारणबारे थोरै चर्चा गरौं ।
यसरी फुल फर्म बनाउने अरु कोही नभएर एमसीसीको आलोचना गरिरहेकाहरू नै हुन् । अर्थात्, एमसीसी स्वीकार्न हुँदैन भन्नेहरू जो विश्वास गर्छन्, एमसीसीसँगकाे सम्झौता लागू भए अमेरिकी सेना नेपाल आउँछ, देश इराक र सिरियाजस्तो हुन्छ, भारतसँग झुक्नुपर्छ, चीनले च्याप्छ, देशको स्वाभिमान धरापमा पर्छ ।
हुन पनि हल्ला यस्तो चलाइएको छ कि एमसीसी लागू भयो भने अमेरिकाले खर्लप्पै निल्छ । त्यस्तो त नहोला भन्यो भने कुट्न खोज्छन्, फेसबुकमा ब्लक नै हान्देलान् भन्ने पिर छ ।
अर्कातिर सरकार एमसीसी पारित गर्ने योजनामा छ । त्यसैले कतिपयले फुल फर्म राखेरै पनि विरोध गरिरहेका छन् । मैलेचाहिँ यसलाई विरोधको एउटा स्वरुप ठानेको छु ।
अमेरिकामा नाङ्गै सडकमा हिँडेर विरोध गरे भनेको सुन्दा अचम्म लाग्थ्यो । पछि त्योजति प्रभावकारी विरोध अरु हुँदैन रहेछ भन्ने थाहा भयो । नेपालमा फुल फर्म राखिदिएर विरोध गर्ने चलन सुरु भएको छ, हेरौं यसको प्रभावकारिता रहन्छ वा रहँदैन ।
सामाजिक सञ्जालमा पण्डितहरूले यो शैलीको विरोध गरिरहँदा एमसीसी पारित गर्न कम्मर कसेको सरकार के हेरेर बसेको छ ? मनमा प्रश्न उठेको छ ।
एमसीसी किन चाहिन्छ र यसबाट कसरी खतरा छैन भन्ने कुरा आम सर्वसाधारणलाई बुझाउने काम सरकारको हो कि होइन ? मन्त्रीहरूका प्रतिवाद र त्यसमा प्रयोग हुने भाषा सुन्दा त मलाई पनि एमसीसीको फुल फर्म जुराउने झोंक चलेको छ । अरुले जस्ताे भन्न मन नलागेर पो त ! त्यसैले अहिलेलाई यति मात्रै, ‘मचाहिँ चुपचाप ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६ १३:१६