राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिस्ट (नेकपा)का उम्मेदवार मायाप्रसाद आचार्य (पारशमणि) र सुमित्रा बिसी विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा नेकपा उम्मेदवारहरू विजयी भएका हुन् ।
राष्ट्रियसभा सदस्यमा मायाप्रसाद शर्मा र सुमित्रा बिसी विजयी भएका छन् । मायाप्रसाद शर्माले ३ हजार ६ सय ४८ मतभार ल्याए भने उनका निकतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले १ हजार २६, सुमित्रा बीसीले ३ हजार ६ सय ८४ र गणेशकुमारी बस्नेतले १ हजार २६ मतभार ल्याए ।
शिक्षकदेखि राष्ट्रियसभा सदस्यसम्म
नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव रहेका मायाप्रसाद शर्मा (पारशमणि) २०३८ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका हुन् ।
२०४७ सालदेखि पार्टी राजनीतिमा संलग्न शर्मा तत्कालीन नेकपा (मसाल)को खुलामञ्च नयाँ जनवादी मन्चको उपाध्यक्ष हुँदै पार्टी सदस्यता प्राप्त थिए ।
२०४७ मंसिरमा मसालको जिल्ला समिति सचिवालय सदस्य भएका उनी २०४९ चैत्देतखि पूर्णकालीन राजनीतिमा होमिएका हुन् । २०५१ सालदेखि भूमिगत भएका शर्माले २०५२ सालमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धमा सहभागी भएका थिए ।
२०५५ साल असोजदेखि नेकपा माओवादीको दैलेख र सुर्खेतको जिल्ला सेक्रेटरी, २०५७ माघदेखि पश्चिम क्षेत्रीय ब्यूरो सदस्य, २०६० मा केन्द्रीय सदस्य, २०६२ आश्विनको चुनवाङ बैठकपछि पार्टीका हरेक सदस्यहरू एक–एक तह तल झर्ने नितिअनुसार सेती महाकाली ब्यूरो सचिवालय सदस्य, २०६३ चैत्रमा सेती ब्यूरो सेक्रेटरी भएका थिए ।
२०६४ सालको संविधानसभाको निर्वाचनपछि २०६५ सालमा समानुपातिक सभासद, २०६५ मंसिरमा पुःन माओवादीको केन्द्रीय सदस्य तथा भेरी कर्णाली राज्य समितिको सहइन्चार्ज जिम्मेवारी शर्माले सम्हालेका थिए ।
२०६९ सालमा नेकपा माओवादीको विभाजनपछि बैद्य समुहमा लागेका शर्मा २०६९ साल असारदेखि वैद्य नेतृत्वको माओवादीको भेरी कर्णाली राज्य समितिको इन्चार्ज, २०६९ वैद्य नेतृत्वको माओवादीको माघमा सम्पन्न सातौं महाधिवेशनमा पोलिटब्यूरो सदस्य तथा भेरी कर्णाली राज्य समिति इन्चार्ज, रामबहादुर थापा बादलसँगै एकीकृत माओवादीमा पुन: समाहित भएका थिए ।
जनयुद्धका क्रममा शर्माका माइला भाइ ईन्द्रलाल, बहिनी ममिता ,ज्वाइँ बुद्धि चपाईं र ठूलो बुबाका छोरा भद्रलाल शर्माले ज्यान गुमाएका छन् ।
बैंकको जागिरेदेखि राष्ट्रियसभाको सदस्यसम्म
सुमित्रा बीसीलाई उनका बुबाले राजनीतिमा ल्याएका हुन् । बिसीका बुबा हरिबहादुर बुढाथोकी तत्कालीन कम्युनिस्ट किसान संगठनमा संगठित भएका थिए ।
२०३९ सालमा नेकपा तत्कालीन मालेबाट पार्टी सदस्यता लिएर राजनीतिक यात्रा सुरू गरेकी बीसीले कम्युनिस्ट राजनीतिमा लामो योगदान गरेकी छन् ।
२०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा स्थायी भएकी बीसीले कम्युनिस्ट राजनीतिकमा लागेको भन्दै तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई जागिरबाट बर्खास्त गरेको थियो । जनआन्दोलन सफलतापछि बहुदलीय व्यवस्थाको स्थापना भएपछि बीबिसीले २०४८ सालमा राष्ट्रिय वाणिज्य बैंकको पुनर्वहाली भएको थियो ।
राजनीतिकमा लागेका कारणले विभिन्न बेला जेलजीवन बिताएकी बीसीलाई २०६२/०६३ सालको जनआन्दोलनमा २०६२ साल चैत्र २४ गते काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेपछि २०६३ साल वैशाख ११ गतेको शाही घोषणापछि मात्र रिहा गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६ १७:५२