१९६० काे दशकमा अमेरिकाबाट शुरु भएकाे हाे, ‘स्टिम’ शिक्षा । यो शिक्षामा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स समावेश गरिएको थियो, जसलाई स्टेम भनिन्थ्यो ।
२००६ मा भएको मोमेन्टले आर्ट्स विषय अत्यावश्यक रहेको निष्कर्ष निकालेपछि साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्सलाई जोड्न आर्ट्स थप गरिएको हो । त्यसपछि ‘स्टिम’ एजुकेसनमा रूपान्तरण भएको हो । इन्टरनेटको विकास र आईसीटीे प्रयोगसँगै स्टिम एजुकेसनको अवधारणा आएको हो ।
इन्टरनेटको विकाससँगै हिसाब गर्ने तरिका र साइन्सको प्रिजेन्टेसन गर्ने शैलीमा परिवर्तन आयो । पढाउनका लागि कला महत्त्वपूर्ण हुन्छ । त्यसैले स्टिम शिक्षामा आर्ट्सलाई समावेश गरिएको हो ।
नेपालमा स्टिम शिक्षा
स्टिम शिक्षाको इतिहास लामो छैन । नेपालमा अघिल्लो वर्षदेखि मात्र यो शिक्षाको अध्ययन अध्यापन सुरु गरिएको हो । यो साउथ एसियाकै पहिलो हो । काठमाडौं विश्वविद्यालयले गतवर्षदेखि यो कोर्स सञ्चालन गरेको हो ।
छोटो समयमा पनि स्टिम एजुकेसनप्रति धेरैले चासो राखेका छन् । पहिलो ब्याचमा नौ जनाबाट सुरु गरिएको यो कोर्समा दोस्रो ब्याचमा २० जनालाई विश्वविद्यालयले पढाउने भएको छ ।
कस्तो कोर्स हो ?
काठमाडौं विश्वविद्यालयले एमफिल लेबलमा सुरु गरेको डेढवर्षे कोर्स हो स्टिम एजुकेसन । यसमा तीनवटा सेमेस्टर हुन्छन् । ४० प्रतिशत थ्यौरी र ६० प्रतिशत प्राक्टिकल रहेको यो कोर्समा बढीमा २० जनाको मात्र कोटा छ । विद्यार्थीले डेढ वर्षमा आठवटा कोर्स र एउटा थेसिस गर्नुपर्छ । एमफिलपछि स्टिममै पीएचडीसमेत गर्न सकिन्छ । हङकङ थाइल्यान्डमा समेत गएर स्टिममा पीएचडी गर्न सकिन्छ ।
कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
मास्टर्स लेबलमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स पढेका विद्यार्थीले यो कोर्स पढ्न पाउँछन् ।
कस्तो रुचि भएकाले पढ्ने ?
जो विद्यार्थी शिक्षकबाट ट्रेनर बन्न, अनुसन्धान गर्न, पाठ्यक्रम बनाउन, विश्वविद्यालयमा पढाउन, स्टिम विद्यालय खोल्न रुचि राख्छन्, त्यस्ता विद्यार्थीले यो कोर्स पढ्दा उपयुक्त हुन्छ ।
खर्च कति लाग्छ ?
यो कोर्स पूरा गर्न ३ लाख रुपैयाँ लाग्छ । यदि पढ्न रुचि भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले छात्रवृत्ति दिने गरेको छ ।
दैनिक जीवनसँग जोड्न स्टिम
बालचन्द्र लुइँटेल, प्रोफेसर, काठमाडौं विश्वविद्यालय

बालचन्द्र लुइँटेल
प्रोफेसर, काठमाडौं विश्वविद्यालय
साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र म्याथम्याटिक्स पहिले अलग–अलग पढाइ हुन्थ्यो । एकआपसमा यी विषयको सम्बन्ध नबुझी पढ्ने र पढाउने गरियो ।
कहाँबाट गणित सुरु हुन्छ ? कहाबाट टेक्नोलोजी सुरु हुन्छ ? कहाँबाट विज्ञान सुरु हुन्छ ? यसको सुरु र अन्त्य थाहै नपाई पढाउने गरियो । यी महत्त्वपूर्ण विषय सिकाउने विधि पनि थिएन, जसका कारण रिजल्ट राम्रो निस्कन सकेन ।
विद्यार्थीका लागि सिकाउन कला महत्त्वपूर्ण हुन्छ । कुनै पनि कुरालाई कसरी अभिव्यक्त गर्ने ? कसरी कनेक्ट गर्ने ? कसरी क्रिएट गर्ने ? भन्ने आर्ट हो । यही अवधारणामा आर्ट्सलाई पनि समावेश गरेर स्टिम एजुकेसनको विकास गरिएको हो ।
गणित, विज्ञान, टेक्नोलोजीजस्ता विषय सुगा रटाइ र धर्मशास्त्र पढाएजसरी पढाइन्छ, अनि कसरी हुन्छ गुणस्तरीय शिक्षा ? पाठ कण्ठ गराएर कहिलेसम्म विद्यार्थीलाई पढाउने ? यो अवधारणाको विकल्पमा आएको हो स्टिम एजुकेसन ।
साइन्स, म्याथम्याटिक्स, टेक्नोलोजी र इन्जिनियरिङ घोकाउने विषय होइन । स्टिम एजुकेसनले विद्यार्थीलाई घोकाउने विधि सिकाउँदैन । अनुसन्धानमा आधारित मानिसको दैनिक जीवनसँग जोडिएको विषय सिकाउँछ ।
अहिले यो कोर्स एमफिलमा सुरु गरिएको छ । साइन्स, म्याथम्याटिक्स, टेक्नोलोजी र इन्जिनियरिङ पढेकालाई सिकाउने विधिबारे छलफल गर्ने र अनुसन्धान गर्न विश्वविद्यालयले स्टिम एजुकेसन सुरु गरेको हो ।
स्टिममा एमफिल गरेपछि माध्यमिक तहमा पढाउन, ट्रेनर भएर काम गर्न, पाठ्यक्रम बनाउनका लागि आवश्यक पर्ने जनशक्ति तयार पार्न विश्वविद्यालयले यो कोर्स ल्याएको हो ।
माध्यमिक तहदेखि नै स्टिम शिक्षा आवश्यक छ । विद्यालय शिक्षा भनेको समस्याको समाधान गर्न सक्ने नागरिक तयार पार्ने हो । तर, अहिले विद्यालय शिक्षाले फ्रस्टेड नागरिक तयार पारेको छ ।
विद्यार्थीलाई चासो नभएको विषय पढाइएको छ । कतिपयमा गणित विज्ञान पढेर कामै छैन भन्ने धारणा छ । पढाउने विधि नभएकाले हो विद्यार्थी फ्रस्टेड भएका । यी सबै समस्याको समाधान गर्न विद्यालय तहमै स्टिम एजुकेसन आवश्यक छ । जसले विद्यार्थीलाई स्वउद्यमी बनाउँछ ।
गणित, विज्ञान, टेक्नोलोजीजस्ता विषय सुगा रटाइ र धर्मशास्त्र पढाएजसरी पढाइन्छ, अनि कसरी हुन्छ गुणस्तरीय शिक्षा ? पाठ कण्ठ गराएर कहिलेसम्म विद्यार्थीलाई पढाउने ? यो अवधारणाको विकल्पमा आएको हो स्टिम एजुकेसन
त्यसैले नेपाल सरकारले समेत स्टिम शिक्षालाई प्राथमिकतामा राखेको छ । नयाँ शिक्षा नीतिमा समेत ‘स्टेम’ शिक्षा भनेर समावेश गरिएको छ । यो सकारात्मक पक्ष हो ।
अब तीन घन्टाको परीक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन । समृद्ध देश बनाउने हो भने अध्ययन, अनुसन्धानमा जोड दिइनुपर्छ ।
ज्ञानको नवीकरण अहिलेको आवश्यकता हो । ज्ञानशास्त्रजस्तो होइन । शास्त्र परिवर्तन हुँदैन । ज्ञान विज्ञान परिवर्तनशील छ । त्यसैले केही प्राइभेट विद्यालयले स्टिम शिक्षासमेत सुरु गरेका छन् ।
जबसम्म सरकारी विद्यालयमा स्टिम शिक्षा सुरु हुँदैन, तबसम्म शिक्षामा प्रगति हुन सक्दैन । विद्यार्थीलाई कक्षा कोठामा राखेर पढाउने, पाठ कण्ठ गराउने, नोट लेखाउने परम्पराको अन्त्य हुनुपर्छ । विद्यार्थीलाई समूहमा छलफल गराउने, एकअर्कामा कुरा सेयर गर्न लगाउने र अन्वेषणमा प्रेरित गर्नुपर्छ । अनि मात्र शिक्षाको गुणस्तर र समृद्ध मुलुक बन्छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६ १६:२०