‘२५ वर्षअघि मलाई क्यान्सर भएको भए उहिल्यै मरिसक्थेँ होला तर विमानस्थलले दिएको घाउले मलाई न मारिहाल्यो, न त शान्तिसँग बाँच्न नै दिएको छ’, लौरोको सहारामा बारास्थित टाँगिया बस्तीको पीपल चोकमा आइपुगेका ८० वर्षीय सूर्यबहादुर आलेले दुखेसो पोखे, ‘यो सबैको जिम्मेवार मेरो राज्य हो, मेरो सरकार हो ।’
३० वर्षअघि काभ्रेमा रहेको घर पहिरोले लगेपछि बारास्थित टाँगिया बस्तीमा आएर बस्न थालेका थिए सूर्यबहादुर । उनी बस्न थालेको ५ वर्षपछि नै उक्त क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने हल्ला चल्यो । यो सुनेर उनी निकै हौसिए । सोचे, ‘ठीकै ठाउँमा आएर बसिएछ, भाग्य खुल्ने भयो ।’
तर, सोझा सूर्यबहादुरलाई थाहै थिएन, विमानस्थल क्षेत्रभित्र परेकाले उनको गाउँ राज्यबाट पाउने आधारभूत सुविधाबाट समेत वञ्चित भइसकेको थियो । उनले अब हरेक दिन चिन्तैचिन्तामा गुजार्नुपर्नेछ ।
त्यतिबेला त आसपासका गाउँमा आधारभूत पूर्वाधार थिएनन् । त्यसैले सूर्यबहादुरले केही भेउ पाएनन् । केही वर्षपछि टाँगिया बस्तीभन्दा दुर्गम गाउँहरू बिजुली बत्तीले झिलीमिली भए, स्वास्थ्यचौकीहरू बने, क्याम्पस खोलिए, धारा ठड्याइए तर सूर्यबहादुर बसेको टाँगिया बस्ती भने अँध्यारो नै रह्यो । न राम्रो सडक, धारापानी, स्वास्थ्य संस्था, न त राम्रो स्कुल नै बन्यो ।
विमानस्थल बन्ने कुराले हौसिएका सूर्यबहादुरलाई अब तिनै कुराहरूले पोल्न थाल्यो । एकातिर टाँगिया बस्ती राज्यबाट पाउने आधारभूत सुविधाबाट समेत वञ्चित थियो भने अर्कातिर सरकारले भोलि हटाऊला कि पर्सी हटाऊला भन्ने चिन्तामा समय गुजार्नुपर्ने बाध्यता थियो ।
‘यसरी भय र त्रासमा मैले २५ वर्ष बिताएँ । म त बाँची नै रहेको छु तर मैले आफन्तका चारवटा जीउ यहीँ पोलिसकेँ’, सूर्यबहादुर भन्छन्, ‘मेरा हजुरबुबा, आमा, सासू र जेठी श्रीमतीको चितामा आगो लगाइसकेँ तर विमानस्थल बनाउने कुरा पहिले जसरी हुन्थ्यो, जति हुन्थ्यो त्यसरी, त्यति नै भइरहेको छ, केही विकास भएको पाइनँ ।’
आफ्नै देशमा आफू प्रताडित भएर बस्नुपर्दा धेरै पटक रोएको उनी सुनाउँछन् । आँखाभरि आँसु पार्दै उनी भन्छन्, ‘म पनि यही देशको मान्छे हुँ, नेपाली नागरिकता नै बोकेको छु, मलाई किन यति हेला गरियो ?’
अहिले पनि उनी टाँगिया बस्तीमा कुनै नयाँ मान्छे छिर्नेवित्तिकै लौरो टेक्दै भेट्न पुगिहाल्छन् । जो भए पनि सुरुमा हकार्छन्, ‘तिमीहरूले हाम्रो बिजोग बनायौ ।’ पछि आफ्नो दुःख सुनाउन थाल्छन्, ‘म डाँडामाथिको घाम भइसकेँ, मलाई अब केहीको लोभ छैन, मैले भोगेको पीर मेरा छोरानातिमा सर्ने हो कि भन्ने चिन्ता छ ।’
ढल्नै लागेको छ उनको घर । ७६ वर्षीया श्रीमती ठूली आलेमगरतिर देखाउँदै सूर्यबहादुर भन्छन्, ‘ऊ, मेरी जहान त्यही हो, यसलाई पनि मलाईभन्दा कम चिन्ता छैन । नयाँ मान्छे आयो कि हामीलाई हटाउन आएको हो ? के दिएर हटाउने रहेछन् भनेर सोध्छे ।’
छोरा दिलबहादुर आलेमगर पनि ५० वर्ष नाघे । बुबाको घरनजिकै उनले सानो घर बनाएका छन् । उनलाई पनि आफ्नो बुबाको जस्तै चिन्ताले सताइरहेको छ, ‘आखिर यो ठाउँमा बस्न पाइने हो कि होइन ? हट्नुपरे कहिले ?’

दिलबहादुर आलेमगर, स्थानीय, टाँगिया बस्ती, बारा
सूर्यबहादुरको जस्तै गुनासो ७० वर्षीय प्रेमबहादुर तिमल्सिनाको पनि छ । ‘खै, विमानस्थल बन्छ भनेको सुन्दा त खुशी नै लागेको थियो तर यति दुःख पाइएला भन्ने सोचिएको थिएन । बूढेसकालमा साह्रै दुःख पाइयो बाबु’, प्रेमबहादुर भन्छन्, ‘धारा छैन, इनार खन्न दिँदैन, खन्यो भने पुलिसले पक्रिएर लान्छ, बाटो बनाउँछौँ भन्दा नगरपालिकाले विमानस्थल बन्ने क्षेत्रमा धेरै खर्च दिन सकिँदैन भन्छ, हामी त दोस्रो दर्जाका नागरिकजस्तो पो भा’का छौँ ।’
टाँगिया बस्तीकै ६० वर्षीया फूलमाया बम्जन गाउँका महिला सुत्केरी भएकाे बेला एम्बुलेन्ससमेत आउन नमानेको बताउँछिन् । ‘केही दिनअघि छिमेकी महिला सुत्केरी भएर साह्रोगाह्रो भएकाे बेला एम्बुलेन्स बोलायौँ, आउँदै आएन’, उनी भन्छिन्, ‘धन्य ! भगवानले हात थामे र उनी बाँचिन् ।’

फूलमाया बम्जन, स्थानीय, टाँगिया बस्ती, बारा
निजगढकै अन्य गाउँका बासिन्दालाई देख्दा आफ्नो जीवन धिक्कार लाग्ने गरेको बताउँछिन् उनी । ‘उनीहरूले राम्रो सडक पाएका छन्, घरघरमा धारा छन्, बिजुली बत्ती छ, राम्रो स्कुल छ’, फूलमाया भन्छिन्, ‘हामीकहाँ आफैँ बनाउँछौँ भन्दा पनि पाउँदैनौँ ।’
सूर्यबहादुर, प्रेमबहादुर र फूलमायाजस्ता टाँगिया बस्तीका करिब १५ सय घरधुरी यस्तै गुनासो गरिरहेका छन् । ‘२५ वर्षदेखि बत्तीमुनिको अँध्यारोमा किन राखियो ?’, उनीहरूको प्रश्न छ ।
भन्नलाई जीतपुर–सिमरा उपमहानपालिकाका हुन् टाँगियावासी तर उनीहरू बसेको बस्ती कुनै विकट गाउँपालिकाको दुर्गम वडा जस्तै छ । उपमहानगरको १६ नम्बर वडामा पर्ने टाँगिया बस्तीमा माविस्तरको विद्यालय छैन, स्वास्थ्य चौकी छैन, राम्रो सडक छैन, सञ्चार सुविधा छैन, धारा छैन, बिजुली छैन ।
अधिकांश घरमा सोलार जडान गरिएको छ भने भित्रभित्रका कतिपय घर अझै मट्टीतेलवाला टुकीको सहारामा छन् ।
टाँगिया बस्तीका चोकमा हिजोआज फेरि दोस्रो विमानस्थलको हल्ला फैलिएको छ । अब त उनीहरू जतिसक्दो छिटो टाँगिया बस्तीबाट अन्यत्रै सारिदिए हुन्थ्यो भन्न थालेका छन् । ‘सधैँ कति त्रास, दोधारमा बस्नू बरु सारिदिए भने ढुक्कले त बस्न पाइन्छ’, स्थानीय अम्बिका तिवारी भन्छिन् ।
चुनावका बेला नेताहरूले लालपुर्जा बाँड्ने आश्वासन दिएको सम्झिरहेका छन् टाँगियावासी ।
रमेश सापकोटा, संयोजक, टाँगिया वस्ती सरोकार समिति, बारा‘चुनावका बेला भोट माग्न आउने नेताले लालपुर्जा दिने आश्वासन दिए, हामीले भोट दियौँ तर हामीले चौटैचोट मात्र पायौँ’, टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा भन्छन्, ‘चुनावका बेला गाउँमा एनसेल, एनटीसीको नेटवर्क मज्जाले टिप्थ्यो, अहिले हेर्नु त स्काईबाहेक कुनै नेटवर्कले काम गर्दैन । अब धेरै आसमा बस्नुभन्दा हाम्रो उचित व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो ।’
सानासाना पसलका अगाडि मूढा बालेर आगो तापिरहेका महिलाहरू पनि विमानस्थलकै चर्चा गरिरहेका छन् ।

लौरो टेक्दै चिया पसलमा आइपुगेका पाका व्यक्तिहरू पनि हिजोआज अन्तर्राष्ट्रिय विमानस्थलकै बारेमा कुरा गरिरहेका भेटिन्छन् । यस पटकचाहिँ आफूहरूको पक्षमा केही होला भन्ने अपेक्षा उनीहरूको छ । टाँगिया छाड्नुपरे हरेक परिवारले २ बिघा ५ कट्ठा जग्गा पाउनुपर्ने माग उनीहरूले राखेका छन् ।
स्थानीय सरकारले टाँगियावासीको पीरमर्का संघीय सरकारले बुझ्नुपर्नेमा जोड दिएको छ । जीतपुर–सिमरा उपमहानगरपालिका नगर प्रमुख डा. कृष्ण पौडेल नगरपालिकाले गर्न सक्ने काम टाँगियावासीका लागि गरिरहेको तर केन्द्र सरकारले गर्नुपर्ने काम भने बाँकी रहेको बताउँछन् ।
डा. कृष्ण पौडेल,नगर प्रमुख, जीतपुर-सिमरा उपमहानगरपालिका, बारा‘२५ वर्षदेखि टाँगियावासी तड्पिएका छन्, उनीहरूको व्यवस्थापनमा अब ढिलाइ नगरियोस्’, नगर प्रमुख डा. पौडेल भन्छन् ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना भने टाँगिया बस्ती व्यवस्थापनको विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने बताउँछ । ‘हामीले टाँगिवासी, स्थानीय सरकार तथा अन्य सरोकारवालासँगको छलफल तथा अध्ययनका आधारमा एक खालको प्रतिवेदन माथि (केन्द्र सरकार) पठाएका छौँ । अब मन्त्रिपरिषद्ले जे निर्णय गर्छ, त्यही आधारमा टाँगिया बस्ती व्यवस्थापनको कुरा टुङ्गो लाग्छ’, आयोजनाका निमित्त प्रमुख इन्जिनियर विजय यादव भन्छन् ।
राष्ट्रिय वन क्षेत्रअन्तर्गत पर्ने टाँगिया बस्ती साढे ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस बस्तीमा १४ सय ७६ (२०६८ को जनगणना) घरधुरी बसोबास गरिरहेका छन् । यो बस्ती हटाएर यहाँ दुईवटा धावनमार्ग बनाउने योजना सरकारको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६ १३:३५