परबाट हेर्दा भव्य बंगला । बंगलावरिपरि घाँसैघाँस । ढोकाको छेउमा रहेको फ्रन्ट डेस्कमा फोहोरले छोपिएको । मान्छे छन् कि छैनन्, थाहा पाउन मुश्किल ।
बंगलाको भुइँमा रहेका अधिकांश कोठामा ताला मारिएको छ । माथिल्लो तल्लामा गाइँगुइँ आवाज सुनिन्छ । चहलपहल खासै छैन ।
यो दृश्य हो– त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) कार्यालयको ।
०००
त्यसबेला परम्परागत चुह्लोबाट निस्कने धूवाँ घरभित्रै मडारिएर रहन्थ्यो । धूवाँका कारण आँशु झार्दै खाना पकाउनुपर्ने बाध्यता थियो । धूवाँकै कारण अकालमा कतिले ज्यान गुमाए ।
त्यसैले परम्परागत चुह्लोलाई विस्थापित गर्न सुधारिएको चुह्लोको विकास गरियो । सुधारिएको चुह्लो ग्रामीण भेगमा अहिले पनि लोकप्रिय छ ।
सुधारिएको चुह्लोको विकास भएपछि ग्रामीण भेगका मानिसमा खुशी छायो । धूवाँमा निसास्सिएर खाना पकाउनुपर्ने दिनको अन्त्य भयो । तर, सुधारिएको चुह्लो आविष्कार गर्ने व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) अहिले आफैं निस्सासिएर बसेको छ । अहिले रोगले थलिएजस्तै भएको छ रिकास्ट ।
०००
रिकास्ट कार्यालयकै प्राङ्गणमा छ– महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र । केन्द्रमा २१ वटा परियोजनामा काम भइरहेको छ । सेल रोटी बनाउने मेसिनदेखि ड्रोनसम्मको आविष्कार भइरहेको छ । चहलपहल देखिन्छ । मानिसको आवतजावत पनि बाक्लो छ । २४ घण्टा केन्द्र खुला रहन्छ । तर, रिकास्ट भने अहिले ओझेलमा परेको छ ।
के हो रिकास्ट ?
व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) २०३४ भदौ २३ मा स्थापना भएको हो । परम्परागत र रैथाने प्रविधि के छ पत्ता लगाएर आधुनिकीकरण गर्दै देशको उन्नतिमा प्रयोग गर्ने, नयाँनयाँ प्रविधिको खोज, अनुसन्धान गरेर प्रयोगमा ल्याउने उद्देश्यले रिकास्टको स्थापना गरिएको हो ।
विशेषगरी ग्रामीण क्षेत्रको विकासमा टेवा पुर्याउन आवश्यक पर्ने टेक्नोलोजीको आविष्कार रिकास्टको प्राथमिकतामा थियो ।
त्यसैको उदाहरण हो– सुधारिएको चुह्लो । पहिलो पटक रिकास्टले सुधारिएको चुह्लो प्रयोगमा ल्याएको हो । रिकास्टबाट यो प्रोजेक्ट दशौं वर्ष चल्यो तर अहिले यो प्रविधिको विकास निजीक्षेत्रबाट हुन थालेको छ ।
यो त एउटा उदाहरण मात्र हो । रिकास्टले अन्य थुप्रै आविष्कार गरेको थियो, जसको अहिले पनि प्रयोग भइरहेको छ ।
रिकास्टले बनाएको प्रविधि
- सुधारिएको चुह्लोे
- बिनामेसिन बिजुली निकाल्ने
- हावाबाट बिजुली निकाल्ने
- गाडी बनाउने
- माइक्रो हाइड्रोका लागि टर्बाइन बनाउने
- फुड्स/मसरुम/जुस उत्पादन
- अल्लो प्रशोधन
- रङ उत्पादन (सेतो कपडालाई कस्तो बनाउने, त्यस्तै रङको उत्पादन हुन्थ्यो ।)
- पानी तान्ने मेसिन
- अलैंची प्रशोधन
- औषधि ।
तत्कालीन समयमा कुनै पनि मेसिन आवश्यक पर्यो भने बनाउन रिकास्टलाई सम्झने गरिएको थियो । तर, अहिले रिकास्ट भने प्रयोगविहीन भएको छ । राज्यको उपेक्षामा पर्दा रिकास्टबाट अध्ययन, अनुसन्धानको काम हुन सकेको छैन ।
२०४६ सालपछि ओरालो लागेको रिकास्ट आजसम्म उकालो चढ्न सकेको छैन । रिकास्टमा नेतृत्व गर्नेको संख्या थपिँदै गयो तर राजनीतिक भर्तीकेन्द्रमा परिणत भएपछि रिकास्टको काम भने घट्दै गयो ।
अहिलेसम्म नेतृत्व गर्ने रिकास्टका कार्यकारी निर्देशकहरू
१. अमीरबहादुर श्रेष्ठ
२. डा. केदारलाल श्रेष्ठ
३. शैलेशचन्द्र सिंह
४. डा. माधव शर्मा
५. डिल्लीदेवी शाक्य
६. डा. तुलसी पाठक
७. मोहनविक्रम ज्ञवाली
८. रमेश सिंह
९. रामप्रपाद चौधरी
१० विष्णुमान श्रेष्ठ
११. रामेश्वर अधिकारी (वर्तमान कार्यकारी निर्देशक) ।
रिकास्टले यसबीचमा ११ जना नेतृत्व पायो तर स्वयमको गरिमा भने घट्दै गयो ।
किन कमजोर भयो रिकास्ट ?
- राजनीतिक हस्तक्षेप
- रिसर्चरको अभाव
- बजेटको अभाव
- भौतिक पूर्वाधार नहुनु
- कामभन्दा जागिर खाने थलो ।
पञ्चायतकालमा तत्कालीन राजा र सरकारहरूले अनुसन्धान केन्द्रसँग समन्वय गरेर काम गर्थे । देशका लागि कस्तो प्रविधिको आवश्यक छ भनेर अध्ययन, अनुसन्धान हुन्थ्यो । कुन भूगोलमा कस्तो टेक्नोलोजी चाहिन्छ ? कसरी छिटो छरितो काम गर्न सकिन्छ ? शहर र ग्रामीण क्षेत्रमा आवश्यक पर्ने उपकरणको अध्ययन अनुसन्धान रिकास्टबाट हुन्थ्यो ।
तर, बहुदलीय व्यवस्थापछि यी थिङ्क ट्याङ्क संस्थामा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुन थाले । अध्ययन, अनुसन्धान पनि राजनीति गर्ने थलो बन्न थाल्यो, जसका कारण अध्ययन, अनुसन्धानको काम प्रभावकारी हुन सकेन । काम गर्नेभन्दा पनि जागिर खाने थलो बन्न पुग्यो । राम्रा रिसर्चरहरू नहुँदा अध्ययन, अनुसन्धानको काम हुन पाएन ।
प्राइभेट क्षेत्र हावी
सरकारी थिङ्क ट्याङ्कभन्दा पनि प्राइभेट क्षेत्र सक्रिय भए । सरकारी निकायबाट भन्दा पनि गैरसरकारी संस्थाबाट अध्ययन, अनुसन्धानको काम हुन थाल्यो । सरकारले पनि सरकारी थिङ्क ट्याङ्कलाई भन्दा प्राइभेट क्षेत्रलाई अध्ययन, अनुसन्धानको प्रोजेक्ट दिन थाल्यो ।
यसका कारण रिकास्टले काम पाउन सकेन । पाएका काम पनि दक्ष रिसर्चर नहुँदा प्रभावकारी नभएपछि रिकास्ट कमजोर बन्न पुग्यो ।
बजेट छैन
त्रिभुवन विश्वविद्यालययले कर्मचारीलाई तलब खुवाउनेबाहेक अनुसन्धानका लागि बजेट दिने गरेको छैन । सरकारले पनि अनुसन्धानका लागि बजेट नदिँदा अनुसन्धानको काम हुन पाएन । बजेटको अभावका कारण रिकास्ट जीर्ण बन्यो ।
रिसर्चरको अभाव
कुनै समय एक सयभन्दा बढी रिसर्चर कर्मचारी रहेको रिकास्टमा अहिले ४० जना मात्र छन् । यसमा रिसर्चर १५ जना रहेका छन्, अरू टेक्निसियन र कर्मचारी रहेका छन् । भएका रिसर्चरहरू पनि दक्ष नहुँदा अध्ययन, अनुसन्धानको काम हुन सकेको छैन ।
भ्याट र प्यान
सरकारले भ्याट र प्यान खोजेपछि रिकास्टले प्रोजेक्ट पाएको छैन । रिकास्ट सरकारी थिङ्क ट्याङ्क भएकाले भ्याट र प्यान हुँदैन । सरकारले भ्याट र प्यान खोजेपछि रिकास्टले अध्ययन, अनुसन्धानको काम पाएको छैन ।
अब के गर्ने ?
दक्ष रिसर्चर र डिग्री कार्यक्रम आवश्यक
रामेश्वर अधिकारी, कार्यकारी निर्देशक, रिकास्ट
त्रिभुवन विश्वविद्यलय स्थापना भएको ६० वर्षभन्दा बढी भयो । अध्ययन, अनुसन्धान गर्ने अनुसन्धान केन्द्र स्थापना भएको ४० वर्ष पुग्यो । यो लामो इतिहास बोकेको रिकास्टले प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ ।
कुनै समय अब्बल रहेको रिकास्ट विविध कारणले कमजोर हुन पुग्यो । पहिले क्षमता भएका रिसर्चरहरू हुन्थे । सेवा, सुविधा पनि राम्रो थियो तर अहिले रिसर्चरको अभाव छ । बजेट भए पनि राम्रा रिसर्चरहरू नहुँदा काम प्रभावकारी भएको छैन ।
देशका लागि के आवश्यक छ ? कसरी समृद्ध बनाउने ? यी विषयमा अध्ययन, अनुसन्धान हुनुपर्छ । यसको अनुसन्धान गर्न थिङ्क ट्याङ्क चाहिन्छ ।
विश्वविद्ययलयमा नयाँ कुरा पढाउन नयाँ कुरा पत्ता लागाउनुपर्यो । त्यो पत्ता लगाउने भनेको अनुसन्धान केन्द्रले हो ।
अनुसन्धान केन्द्रलाई ‘डम्पिङ साइट’ हुन दिइनुहुँदैन । जागिर खाने थलो होइन, आविष्कार गर्ने केन्द्र बनाउनुपर्छ । विगतको साख जोगाउन र नयाँ आविष्कार गर्न पनि रिकास्टलाई प्रभावकारी बनाउनुपर्छ ।
कसरी प्रभावकारी बनाउने ?
राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर काम गर्दै
लामो समय मृतप्रायः रहेको रिकास्ट फेरि तङ्ग्रँदै छ । राष्ट्रिय आविष्कार केन्द्र रिकास्टकै प्राङ्गणमा छ । रिकास्ट र आविष्कार केन्द्र मिलेर अध्ययन अनुसन्धान र आविष्कारको काम गर्न थालेका छन् । अहिले रिकास्टले नेचर ल्याब, गुन्द्रुक उद्योग, कस्मेटिक क्रिमममा काम सुरु गरेको छ ।
मास्टर्स डिग्री आवश्यक
रिकास्टले विश्वविद्यलयसँग रिसर्चमा आधारित मास्टर्स डिग्री कार्यक्रम मागेको छ । अध्ययन, अनुसन्धान गर्न र दक्ष जनशक्ति उत्पादन गर्नका लागि रिकास्टले मास्टर्स डिग्री माग गरेको हो ।
जर्नल निकाल्दै
रिकास्टले ४० वर्षको इतिहासमा पहिलो पटक जर्नल निकाल्दै छ । नेपालमा कस्ता प्रविधिको आवश्यक छ ? विश्व प्रविधिमा कहाँ पुग्यो ? ती प्रविधिलाई कसरी नेपालमा प्रयोग गर्ने ? यस्ता विषयवस्तु समेटेर रिकास्टले जर्नल निकाल्दै छ ।
प्रयोगशालाको पुनःस्थापना
रिकास्टमा रहेका प्रयोगशालाहरू बन्द अवस्थामा छन् । फेरि ती प्रयोगशालालाई प्रयोगमा ल्याउने तयारी रिकास्टले गरेको छ । प्रयोगशालालाई परिवेशअनुसार परिमार्जन गरेर पुनःस्थापना गर्ने काम भइरहेको छ ।
प्राकृतिक संशाधन प्रयोगशाला, जडिबुटी प्रयोगशाला, पदार्थ ल्याब, फुड ल्याबलाई प्रयोगमा ल्याएर रिकास्टलाई प्रभावकारी बनाउने निर्देशक अधिकारीले सुनाए ।
याे पनि..
अस्तित्वको खोजीमा थिंकट्यांक ‘सिनास’
‘थिंकट्यांक’लाई स्वायत्तता दिइनुपर्छ
त्रिविका सबै अनुसन्धान केन्द्र अस्तब्यस्त
राष्ट्रिय आविष्कार केन्द्रः सेल रोटी बनाउने मेसिनदेखि ड्रोनसम्म
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६ १२:०७