अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ ।
६ महिनाको अवधिलाई हेर्दा अख्तियार ठूलो भ्रष्टाचार मुद्दा केन्द्रितभन्दा पनि स्ट्रिङ अप्रेसन चलाएर मुद्दामा केन्द्रित भएको देखिन्छ । अख्तियारकै लय समाउँदै सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्नेभन्दा शून्य सहनशीलताको भाषण गर्ने, कसम खान लगाउने, गीत गाउन लगाउनेजस्ता ‘कस्मेटिक’ परिवर्तनमा रमाइरहेको छ ।
पछिल्लो समय अख्तियारले ठूलो मुद्दामा चासो दिन छाड्नुले पनि भ्रष्टाचारी समाउने भन्दा पनि धेरै मुद्दाको रेकर्ड कायम गर्नेमा केन्द्रित रहेको विज्ञको भनाइ छ । अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ ।
सात महिनादेखि ललिता निवास प्रकरणको मुद्दा अनुसन्धान गर्नमै अख्तियार केन्द्रित छ भने ‘हाई प्रोफाइल’का अकुत सम्पत्ति मुद्दालाई थाती राखेर ५ सय रुपैयाँदेखि लाखौं रुपैयाँको स्ट्रिङ अप्रेसनमा केन्द्रित भएको छ ।
अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सीडीई मोहनबाबु यादवले षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने नाममा सेवाग्राहीसँग १ लाख ८० हजार रुपैयाँ लिदै गर्दा पक्राउ गरेको थियो ।
१४ असारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर ९आठौं तह० बसी अख्तर मोहम्मदले खानेपानी आयोजनाको भुक्तानी दिएकामा सेवाग्राहीसँग ४ लाख घुस लिँदा लिँदै पक्राउ गरेको थियो ।
१३ साउनमा भोजपुरका तत्कालीन सीडीई लालु गिरीले बैंक खातामार्फत र नगदै गरी १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरेको थियो । उनले एमके वाईपीजेभीका प्रतिनिधि देवजंग शाहीसँग भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नति योजनाको भुक्तानीका लागि घुस लिएको अख्तियारको दाबी छ ।
१० साउनमा शिक्षा समन्वय इकाइ काभ्रेका सबइन्जिनियर धनवीर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सबइन्जिनियर निरजकुमार चौधरीले महाभारत, काभ्रेका स्कुल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६ ०६:४९