१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालमाथि बंगलादेशले फराकिलो जित निकालेको छ । त्रिवि मैदानमा पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गमाउँदै १५५ रन जोडेको थियो ।
१५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा १११ रन मात्र जोड्न सक्यो । बंगलादेशसँग ४४ रनले नेपाल पराजित भयो । बंगलादेशका बलरले नेपाली ब्याट्सम्यानलाई सुरुवातीदेखि नै दवावमा राखे ।
चौथो ओभरको तेस्रो बलमै पारख खड्का आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमाउँदै गयो । पूरै ओभर खेले पनि रन जोड्न नसक्दा नेपालले हार्नुपर्यो । बंगलादेशसँगको हारसँगै साग क्रिकेटमा नेपालको फाइनल यात्रा पनि रोकिएको छ । माल्दिभ्ससँग फराकिलो जित निकालेर फाइनलको समभावना बलियो बनाएको नेपालले बंगलादेशसँग अनपेक्षित हार व्यहोर्नुपरेको छ ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा १६ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । अन्तिममा भने अभिनाश बोहरा र ललित राजवंशीले १८ रनको साझेदारी गरे ।
बंगलादेशका लागि सोमन खान, तानवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २–२ विकेट लिए ।
बलिङमा नेपालले राम्रै प्रदर्शन गरेको थियो । सुरुमा नेपाली बलरले बंगलादेशलाई निकै दवाबमा राखेका थिए । ३.३ ओभरमा १६ रन ३ विकेट गुमेको थियो । सुरुवाती तीनै विकेट पारस खड्काले लिएका थिए । ४ ओभर बलिङ गरेका पारसले ३ विकेट लिएर १५ रन दिए।
पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि १४१ रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो । साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका–२३, बंगलादेश–२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६ १३:१०