१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले भुटानमाथि १ सय ४१ रनको फराकिलो जित हात पारेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । २ सय ३७ रनको लक्ष्य लिएर मैदान उत्रिएको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि पारस खड्काले २ विकेट लिए भने करण केसी, ललित राजवंशी र पवन सर्राफले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय योगदानमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो । मल्लको टी–२० मा पहिलो शतक हो ।
मल्लले ५२ बलमा ९ छक्का र ५ चौकासतिह १ सय ७ रन बनाएका हुन् । यसअघि पूर्वकप्तान पारस खड्काले टी–२० मा शतक प्रहार गरेका थिए ।
कप्तान मल्लको शतकको मद्दतले नेपालले टी–२० मा अहिलेसम्मकै बढी रन बनाएको हो । नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए ।
रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
कप्तान मल्ल आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६ १२:१७