सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको वाकयुद्ध संसद र संसदबाहिर देखिन थालेको छ । सत्ता गठबन्धनमा अविश्वास रहेको र सरकारसमेत परिवर्तन हुने हल्लाका बीच कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट उपचार गराएर फर्किएपछि शनिबार राति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच २ घन्टा छलफल भयो । सो छलफलपछि प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूको सरकारविरोधी अभिव्यक्तिलाई जवाफ फर्काउन थालेका छन् ।
केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आइतबार आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महामन्त्री थापाको नाम नलिई राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।
‘कोही यस्तरी धतुङ्गाएर बोल्छन्, प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ । दया लाग्छ, तिनका त्यस्ता शब्दहरू सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन् ? तर बोलेका छन्,’ उनले भने ।
यही कुरालाई हतियार बनाएर, उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू त्यसैलाई लिएर उफ्रिएको टिप्पणी ओलीको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शुक्रबार प्रतिनिधिसभामा कांग्रेस महामन्त्री थापाले ढिलै भए पनि सत्य बोलेको भन्दै धन्यवाद दिएका थिए ।
२ वैशाखमा थापाले भनेका थिए, ‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’
संसदमा पनि देखियो
आइतबार प्रतिनिधिसभामा एमाले सांसद पदम गिरीले २५ करोड तस्करी प्रकरणमा सरकारले गतिलो अनुसन्धान नगरेको दाबी गरेका छन् । ‘टोखाबाट बरामद भएको विदेशी मुद्रामा केही राजनीतिक दलका नेता कार्यकर्ताहरू संलग्न भएको विभिन्न विषयहरू बाहिर आए । त्यसमा को–को संलग्न थिए ? यो खालको खेल कहाँबाट भइरहेको थियो ?,’ उनले भने, ‘त्यसमा कोको संलग्न भएर यो मुलुकमा यस्ता खालका काम भइरहेका छन् ? यसको खोजी गर्ने कुरामा, अनुसन्धान गर्ने कुरामा जुन प्रकारले सरकारले काम गर्नुपर्थ्यो, त्यो अझै भएको छैन ।’
गृह मन्त्रालयको कमान्ड कांग्रेस नेता रमेश लेखकले सम्हालिरहेका छन् । गिरीले सुन प्रकरणमा संलग्न भनिएकाहरू अनुसन्धानमा नतानिएको, पैसाको स्रोत र कहाँ पठाउन खोजिएको छ भन्ने कुरासमेत नखुलेका कारण त्यसको जवाफ गृहमन्त्रीले संसदमा दिनुपर्ने बताए ।
‘म यहाँनेर आग्रह गर्न चाहन्छु, यो अनुसन्धान गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ? यसमा कोको संलग्न छन् ? त्यसको पैसा कहाँबाट आएर कहाँ पठाउन खोजिएको थियो, के उद्देश्यले त्यो काम गर्न खोजिएको थियो ? त्यस कारण त्यसको गहिरो अनुसन्धान गरेर त्यसमा संलग्न भएकाहरूलाई कारबाही गर्नुपर्ने आवश्यकता छ । त्यसका निम्ति के–कस्ता कामहरू भएका छन् ? म गृहमन्त्रीज्यूलाई यो संसदमा आएर जवाफ दिन पनि माग गर्न चाहन्छु,’ सांसद गिरीले भने ।
शुक्रबार पनि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा सरकारले नौ महिनामा गजब काम गरेको भन्ने ठाउँ नभएको टिप्पणी गरेका थिए । ‘वर्तमान सरकारका कुनै पनि कमीकमजोरी छैनन् भन्ने होइन । सरकार बनेको नौ महिनामा उल्कै गजबै गर्यो भन्ने ठाउँ नभए पनि मुलुकलाई बदनाम गर्ने र आर्थिक विकासलाई अधोगतिमा लाने काम यो सरकारले गरेको देखिँदैन,’ उनले भने ।
घिमिरेले सरकारले गति बढाउन आवश्यक रहेको बताए । कांग्रेस र एमालेको शक्तिशाली सरकार हो भन्ने व्यवहारमा देखिनुपर्ने भनाइ उनको छ । ‘सरकारले आफ्नो गति बढाउनैपर्छ । सुशासनको मामलामा सरकार आक्रामक ढंगले अघि बढ्नैपर्छ,’ उनले भने ।
शुक्रबार नै एमालेका सांसद गोकर्ण विष्टले बैठकमा सरकार ढल्न लागेको भन्ने कुरामा सत्यता नभएको बताए । उनले सरकार गयो भन्दै अस्थिरता पैदा गर्ने प्रयत्न भएको बताए । उनले नेपाली कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिअनुसार अघि बढ्ने बताए । उनले कहीँ असहमति भए राजनीतिक संयन्त्रमार्फत समाधान गरिनुपर्नेसमेत बताए । उनले नेपाली कांग्रेसका नेताहरूले सरकारबारे दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सत्तामा कि प्रतिपक्षमा भन्ने चिन्न पनि गाह्रो हुने गरेको टिप्पणी गरे ।
‘कहिलेकाहीँ त यस्तो लाग्ने गर्छ– सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा ? कहिलेकाहीँ चिन्न पनि गाह्रो हुने अवस्था हुन्छ । यसबाट माथि उठौँ । गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढाऔँ,’ विष्टले भने । उनले सरकार कति समय रहन्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको समेत बताए । ‘सरकार गयो–गयो, सरकार रह्यो–रह्यो । यो प्रकारको विवादतिर नलागेर सरकार जति दिन रहन्छ । कति दिन रहन्छ वा एक घन्टा रहन्छ । यो महत्त्वपूर्ण होइन,’ उनले भने । सरकार जति दिन रहे पनि जनताको हितमा काम गर्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाइ छ । सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्ने र परिणाम दिने उनको दाबी छ ।
देउवा–ओली भेट
सत्तापक्षबाटै चर्को विरोध, गभर्नर नियुक्तिमा भइरहेको किचलो, अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले दिएको राजीनामा, शिक्षकहरूको आन्दोलन लम्बिनु र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बारम्बार सरकार टिक्दैन भनेर दिएको अभिव्यक्ति, भागवण्डामा रमाइरहेको आरोपका बीच ओली–देउवा छलफल भएको छ ।
भेटपछि उनीहरूबीच एक मत रहने बुझिएको छ । विवाद देखिएका र अप्ठ्यारो परेको विषयमा एक ठाउँमा रहने सहमतिपछि ओलीले कांग्रेस महामन्त्री थापाको भनाइलाई खण्डन गरेका हुन् । उल्झनलाई सुल्झाउन दुवै नेता तयार रहेको बालुवाटार स्रोत बताउँछ ।
कांग्रेस प्रवक्ता पनि छैनन् सन्तुष्ट
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन् । दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए ।
प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सुशासन कायमलगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको आरोप लगाए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १९:४८