काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएको बताएकी छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डंगोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएको उल्लेख गरिन् । ‘जबजब युवा एकजुट हुन्छन्, तबतब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन,’ उनले भने ।
अहिले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति आक्रमण भए पनि विचलित नहुने दाबी गरिन् । आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफूमाथि निरन्तर आक्रमण गरिरहेका उनले बताइन् । ‘विकासका काम गर्नेमाथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्त्वहरू हुन्,’ उनले भनिन् ।
नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उनले दाबी गरिन् । आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफूमाथि निरन्तर आक्रमणमा लागिरहेको उनले स्पष्ट पारिन् । ‘म रोकिन्नँ, म रोकिने मान्छे होइन, म मेरो शहर र मेरो देशका लागि काम गरिरहन्छु,’ उनले भनिन् ।
एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएका कारण उनीमाथि आक्रमण भइरहेको उनले बताइन् । भूकम्पले थिलथिलो भएको देशलाई उठाउने केपी ओलीलाई सम्मान गर्नुको बदला राष्ट्रविरोधीहरूले विभिन्न आरोप लगाउने गरेको उनको भनाइ छ ।
युवाले सही र गलत छुट्याउनुपर्ने उनले बताइन् । युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन् । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन, सोच र कामले युवा हुने बताइन् ।
एमालेले कसैको घर लुट्न नसिकाउने उनले उल्लेख गरिन् । सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने उनले प्रस्ट पारिन् । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु,’ डंगोलले भनिन् ।
जसले सपना देख्छ, उसैले काम गर्ने पनि उनले बताइन् । एमाले सपना देख्ने पार्टी भएको उनको धारणा छ । ‘स्टन्ट गरेर देश बन्दैन, अरुलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजनाअनुरूप काम गर्नुपर्छ, योजना बनाउनुपर्छ,’ उनले भनिन् । नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएका उनले बताइन् । समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उनको धारणा छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १६:३७