धानको बिउ राख्ने भनेर खेतालाको टुंगो लगाइसकेकी थिइन्, साँखुकी नानु श्रेष्ठले । उनलाई पनि छिमेकीले आलुको बिउ राख्नलाई बोलाएका थिए । तर, धानको बिउ राख्ने पूर्वनिर्धारित योजनाका कारण छिमेकीलाई नकारेर घरमै बसिन् । घर बस्ने भएपछि सबै परिवार मिलेर मीठोमसिनो खाने कुरा भयो । छोराले म:म: खाने इच्छा देखाए । त्यसपछि काम नगर्ने मुडमा परिवार पुग्यो र बोलाएका खेतालालाई दुई दिनपछि आउन भने ।
त्यो दिन साँखुमा झिमझिम पानी पर्न लागेको जस्तो मौसम थियो । काम नभएपछि उनका छोरा साली नदीमा नुहाउन जान्छु भनेर गए । छोरी भित्रै नुहाइधुवाइ गर्न थालिन् । नानु भने बिउ राख्ने धान निफन्न थालिन् । त्यही बेला एकाएक भूकम्प गयो । सबैतिर हल्लाउन थालेपछि हात टेकेर उठ्न खोज्दा रिङ्गटा लागेर घुमाएको सम्झना उनमा छ ।
भाग्न खोज्दाखोज्दै झ्याप्पै घर खसिहाल्यो । ‘त्यो बेला अब त यत्ति रहेछ मेरो भन्ने लाग्यो । सास गएजस्तो भयो,’ नानुले २०७२ सालको १२ वैशाख सम्झिइन् ।

घरले थिचेपछि छेउछाउमा रहेका मान्छेले हतारहतार निकाले छेउमा ताने । तर, फेरि अर्को झड्कामा त्यहाँबाट पनि उनी पछारिइन् । त्यसपछि के भयो– उनको होस छैन ।
नानुका छोराका अनुसार ६–७ दिनपछि मात्र उनको होस आएको थियो । टाउकोमा चोट लागेकाले करिब ६ महिनासम्म डाक्टरले धेरै बोल्नसमेत दिएको थिएन ।
अचम्म त के भने, अस्पताल लग्नुअघि नानुलाई सबैले मृत घोषणा गरिसकेका थिए । कपडाले छोपेर सडकछेउमा राखिसकिएको थियो । सबैले ‘छोराले पानी खुवाऊ अब’ भने अनि पानी खुवाउन लाग्दा आमा जिउँदै रहेको चाल पाए । ‘यसो छाती छामेछ छोरोले, अनि पो थाहा पाएछ– आमाको सास त चलिराको छ । नत्र सबैले मरेको भनेर कपडाले छोपिसकेका रहेछन् । वडाले पनि मृत्यु भएकाको सूचीमा राखिसकेको रहेछ । छोराले बाँचेको शंका गर्नासाथ अस्पताल लगेर इमर्जेन्सीमा भर्ना गरेर बचायो,’ उनले छोरामार्फत सुनेको तत्कालीन घटना शिलापत्रलाई सुनाइन् ।
अस्पतालमा नानुलाई लामो समय उठ्न पनि दिइएन । अति कर गरेपछि बेडसिट नै उठाएर केही ठाडो बनाएको महसुस गराइयो । यसरी हिँड्न/उठ्न मन गर्दा पनि जबर्जस्ती सुताइरहे । हिँडडुल पनि ठप्प भयो । टाउकोमा गम्भीर चोट लागेकाले डाक्टरले धेरै चलमल नगर्न भनेका थिए, जुन कुरा उनले ६ महिनामा डिस्चार्ज भएपछि मात्र थाहा पाइन् ।

डिस्चार्ज भएपछि पनि तीन महिनासम्म थेरापीका लागि गइरहनुपर्यो । भूकम्पका कारण उनको हात भाँचिएको थियो, जुन हातले अहिले पनि राम्रोसँग काम गर्दैन । केही भारी काम गर्न पनि असजिलो हुने गर्छ । त्यसबाहेक टाउकोमा गम्भीर चोट लागेको थियो । छातीमुनिको हड्डी पनि भाँचिएको रहेछ । उपचारमा धेरै खर्च बेहोर्नुपर्यो । घर पनि थिएन, डेरामा बस्थेँ । यद्यपि, अहिले साँखुमा यो परिवारको घर बनिसकेको छ ।
अस्पतालको लामो बसाइपछि साँखु फर्कंदा उनी झन् छाँगाबाट खसेजस्तो भइन् । बस्ती सबै ध्वस्त थिए । पुनः निर्माण भइसकेका थिएनन् । उनले भोगचलन गरेको ठाउँ नचिनिने कुरुप बनेको थियो । त्यसैले अब भूकम्पले ‘दुस्मनलाई पनि पीडा नदियोस्’ भन्ने कामना उनी गरिरहन्छिन् । ६२ वर्षीया नानुको एउटै अनुरोध छ– भूकम्प आएर क्षति भोग्नुभन्दा आउनुअघि नै सतर्क भएर दह्रो घरमा बस्नू ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १८:३४