अस्ति २०८१ सालको अन्तिम आइतबार अर्थात् ३१ चैतको बिहान ‘ललितपुर साहित्य समाज’ले २०८२ सालको पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान एवं कविता वाचन कार्यक्रममा म निर्धारित समयभन्दा केही ढिलो पुगेँ । ढिलो पुग्ने व्यक्तिको सिट अन्त्यतिरै हुन्छ, म त्यस्तै सिटमा बसेको थिएँ । दिव्य गिरी दाइले देखिसक्नुभएको रहेछ, माइकमा नाम लिइहाल्नुभयो ।
मैले सरसर्ती ड्यासमा दृष्टि पुर्याएँ । ड्यास र मेरो सिटको दूरी लामै भए पनि मैले केही अनुहार चिनेँ । केही चिनिनँ । छेउमा बस्ने एउटा अनुहारले भने मलाई अलिक ‘दुःख’ दियो, कसरी भने त्यो अनुहार नचिनेको होइन, चिनेको हो भन्नलाई पनि ठ्याक्क चिन्न सकिनँ । यस्तो मलाई बारम्बार हुने गर्छ । बाटोमा हिँड्दा, बसमा वा सार्वजनिक कार्यक्रमहरूमा म चिनेका अनुहार देख्छु तर त्यो व्यक्ति को हो भन्ने बारेमा म यकिन गर्न सक्दिनँ । यो अवस्थालाई मैले ‘दुःख’ भनेको हुँ । त्यो किनभने, कुनै पनि परिचित व्यक्तिसँग अनेकन व्यक्तिगत सन्दर्भ जोडिएका हुन्छन् । व्यक्तिलाई चिनेझैँ गरेर त्यो सन्दर्भलाई पक्रिन सकिएन भने अझ संकट थपिँदै आउँछ भन्ने मेरो बुझाइ हुन्छ । त्यसैले सन्दर्भ पक्रिन नसकिएका परिचित व्यक्तिसँग म तर्किन खोज्छु । तर, तर्किन खोज्दैमा सधैँ तर्किन सकिन्छ र !
यस कार्यक्रममा भने त्यस्तो अवस्था थिएन । हामीकहाँ ड्यास र फ्लोरका बीचमा राम्रै दूरी हुन्छ, तर्किन सकिन्छ, नभेट्न पनि मज्जाले सकिन्छ । तैपनि स्मरणको मानसिक प्रक्रिया भने रोकिने कुरा थिएन । मैले ड्यासमा देखेर अनुहारमा चिनेको र खासमा ठम्याउन नसकेको ड्यासको व्यक्ति हुनुहुँदोरहेछ– कवि विधान आचार्य ।
फेरि यदाकदा म फोटामा देखेको मान्छेलाई पनि भेट्दा ठ्याक्क चिन्न सक्छु । जस्तो केही दिनअघि ‘तारादेवी संगीत प्रतिष्ठान’ले आयोजना गरेको कार्यक्रममा जाँदाजाँदै नेपाल प्रज्ञा–प्रतिष्ठानबाहिरको पेटीमा साहित्यकार कृष्ण बाउसेलाई चिनेको थिएँ । फेसबुकले हाम्रा अगाडि ल्याइदिएका वस्तुहरूमध्ये एउटा मानिसहरूको फोटो पनि हो । मैले फेसबुकमा बाउसे सरलाई देखेको थिएँ र मेरो स्मरणमा बाउसे सरको हुलिया अल्झिएको रहेछ । फोटोमा देखेर मैले मान्छे चिनेको घटनाहरूमध्ये यो एउटा थियो । विधान आचार्यलाई पनि मैले प्रत्यक्ष भेटेको थिइनँ, फोटोमा देखेको आधारमा मलाई चिनेँचिनेँजस्तो लागेको रहेछ ।
एक समय अत्यन्त रुचिका साथ पढिने मेरा प्रिय कवि विधान आचार्य । ‘उर्वसी’ सिने मासिकको गाईजात्रा अंकमा विधान आचार्यको नामबाट मैले अहिलेसम्म लेख्न खोजेको तर लेख्न नसकेको कविता छापिएको थियो– ‘काठमाडौं कोलाज’ । कुनै पनि रचनाबाट प्रभाव पर्नुको अर्थ रचनामा मात्र सीमित नरहने रहेछ, मजस्तो पाठकले त्यो नामको सधैँ पिछा गर्ने रहेछ । विधान आचार्यलाई मैले यसैगरी पिछा गरेको रहेछु । विधान आचार्य त्रिविमा कर्मचारी हुन् र पछिल्लो समयमा यी त्रिविमै जनसंख्या अध्ययन विषयको प्राध्यापक भएका छन् भन्ने कुरा मकवानपुर बहुमुखी क्याम्पसको समाजशास्त्र विभागमा प्राध्यापक विधान आचार्यको सन्दर्भ उठ्नुअघि नै मलाई जानकारी थियो ।
यस कार्यक्रममा भने कवि विधान आचार्यले अलिक हतार गर्नुभयो । आफ्नो बोल्ने पालोधरि नपर्खी बसेकै सिटबाट विधान सरले भन्नुभयो, ‘भरखरै हलमा ईश्वर पोखरेल प्रवेश गर्नुभएको छ । उहाँ आफ्ना रचनामा आफ्नो ठेगाना तीनपाटन, सिन्धुली लेख्ने ईश्वर पोखरेल हुनुहुन्छ ?’
मैले ‘मै हुँ’ भनेँ ।
अनि विधान सरले भन्नुभयो, ‘२०४२ सालमा मैले मेरो सम्पादनमा निस्किने ‘सचेतना’ पत्रिकामा तपाईंको कविता छापेको छु । त्यो तपाईंसँग छैन भने मेरो निजी लाइब्रेरीमा छ, लिनुहोला ।’
पत्रिकामा छापिने साहित्यिक रचनाहरूमा म ठेगानामा ‘तीनपाटन, सिन्धुली’ लेख्थेँ । र, केहीयता जबदेखि म संस्मरण लेख्ने अभ्यासमा छु, मेरो साथी कवि दीपक चौलागाईंको अचानक फोन आउँछ– आज भने अनौठो संस्मरण पढ्न पाइयो, यसमा तीनपाटन कतै उल्लेख भएको रहेनछ । भुलिएँ कि भनेर फोन गरेको ।
मेरो जन्म सिन्धुली जिल्लाको तीनपाटन क्षेत्रमा पर्ने पाटनदेवी– ६, कोटगाउँमा भएको हो । मेरो बाल्यकालको ठूलो अंश त्यहाँकै गाउँबेँसी कोटगाउँ र कदमेमा व्यतित भएको हो । यसबाहेक बाल्यकालका मेरा धेरै दिनहरू सर्लाही जिल्लाको बयलबास र सागरनाथको शान्तिपुर नामको टोलमा बितेका हुन् । २०३९ सालदेखि म धेरैजसो काठमाडौंमै बसेँ र विविध परिस्थितिका बीच देशका अन्य शहरमा पनि बस्दै आएँ । तर, जहाँ रहे/बसे पनि आफ्ना रचनाहरूका साथमा मैले तीनपाटन, सिन्धुली लेख्न छोडिनँ ।
तीनपाटन भनेर पहिले चदाहा फाँटलाई मात्र चिन्ने गरिन्थ्यो । चदाहा फाँटलाई मात्र तीनपाटन भन्ने हो भने म तीनपाटनका हरेक टोलका कतिपय घरघरमा पुगेको छु । अब तीनपाटन गाउँपालिकाको नाम भएको छ । अहिले तीनपाटनको क्षेत्र पनि बृहत् भएको छ । अब अहिलेको तीनपाटनका सबै गाविस त मैले टेकेको पनि छुुइनँ, सिन्धुली जिल्ला पूरै घुमेको छु भनेर त भन्ने आधारै भएन ।
२०५५ सालमा तीनपाटन पूर्ण रूपमा छाडेर हामी रौतहटको चन्द्रनिगाहपुर बसाइँ आयौँ । बजार टोलमा थियो– हाम्रो घर । २०४२ सालयता लामो समयसम्म घरमा त न तीनपाटनमै हुँदा बस्न पाइयो, न चन्द्रनिगाहपुरमा हुँदा बसियो । घरमा बाआमा बस्नुहुन्थ्यो र आफ्नी छोरीसहित दुर्गा भाञ्जी बस्थिन् । बाआमा जहाँ बस्नुहुन्छ, घर त्यहीँ हुने रहेछ । जहाँ बसे पनि क्यालेन्डर पल्टाउँदापिच्छे क्यालेन्डरका राता अंक देख्यो कि घर स्मरणमा आइहाल्दो रहेछ । म परिवारसहित केही वर्ष वीरगञ्ज बसेँ, सत्र–अठार वर्ष हेटौँडा बसेँ, घरको नजिक बसेँ ।
२०६९ सालयता हामी काठमाडौंमै छौँ । त्यो मितिदेखि हाम्रो मूल घर पनि यतै हो । तर आज पनि कसैले घर सोध्यो भने म सिन्धुली भन्छु, सिन्धुलीभित्र अझ खोतल्न थाल्यो भने तीनपाटन भन्छु । मेरा धेरै आफन्त, नातासम्बन्धका परिवार र साथीसङ्गी अझै तीनपाटनमै छन् । म आफूले भने तीनपाटन नटेकेको वर्षौं भयो, बीचमा अत्यन्त छोटो फुर्सद लिएर गएँ, सीमित परिवारमा पस्न र अत्यन्त थोरै व्यक्तिलाई भेट्न भ्याएँ । त्यो जम्माजम्मी १४ घन्टाको तीनपाटन बसाइकै क्रममा थाहा भयो– तीनपाटन टेक्नेबित्तिक्कै फरक महसुस हुने किसिमले बेग्लै भएको छ, हामीलाई चिन्ने पुस्ता तीनपाटनमा निख्रिँदो दिशामा छ । तैपनि मेरो ठेगाना तीनपाटन, सिन्धुली नै हो । यसरी म तीनपाटन, सिन्धुलीसँग सधैँ गाँसिएको छु र यसरी गाँसिन पाउँदा गौरव अनुभव पनि गर्छु ।
‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाको एक कार्यक्रममा अभिव्यक्तिका संस्थापक सम्पादक नगेन्द्रराज शर्मासँग भेट भयो । कसोकसो म उहाँको नजिकै उभिएर कसैसँग परिचयका क्रममा आफ्नो नाम भन्दै रहेछु, नगेन्द्र दाइले सोध्नुभयो, ‘तपाईं तीनपाटन, सिन्धुलीको ईश्वर पोखरेल है ! अचेल कता बस्नुहुन्छ ?’
एक कालखण्डमा साहित्यिक रचनाहरू पत्रिकामा प्रकाशनार्थ पठाउँदा म रचनाकारमा आफ्नो नाम लेख्थेँ र ठेगानामा ‘तीनपाटन, सिन्धुली’ लेख्थेँ । र, केहीयता जबदेखि म संस्मरण लेख्ने अभ्यासमा छु, मेरो साथी कवि दीपक चौलागाईंको अचानक फोन आउँछ । सन्देश यस्तो हुन्छ– ‘आज भने अनौठो संस्मरण पढ्न पाइयो, यसमा तीनपाटन कतै उल्लेख भएको रहेनछ । भुलिएँ कि भनेर फेरि दोहोर्याएँं । भुलिएको होइन रहेछु । अनि फोन गरेको ।’
हामी मज्जाले हाँस्छौँ । अझ भनौँ, म हाँसेर टार्छु ।
अर्को साथी छ– हरि काफ्ले । तीनपाटनकै बाहुनटारमा जन्मेहुर्केको । हाम्रो घर कदमे । पन्ध्र सय मिटरजति होला– हाम्रो घरको बीचको दूरी । त्यो उमेरमा यति जाबो दूरी दिनमै कैयौँपटक ओहोरदोहोर गर्थ्यौं हामी । हामी नातासम्बन्धमा पनि एकअर्कासँग छोइन्थ्यौँ । सँगै पढ्न नपाए पनि हामी सँगसँगै हुर्किएका हौँ । तीनपाटनमा हाम्रो परिवारलाई परस्परमा गाँस्ने अनेकन सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सूत्रहरू थिए/छन् । तीनपाटनबाट बसाइँ हिँड्ने सवालमा चैँ हाम्रो परिवार अलिक पछि भयो । हरिजीको यदाकदा फोन आउँछ– ‘तीनपाटन कति धेरै सम्झिएको ! कति मिहिन रूपमा सम्झिएको ! पुगेन ? अब हाम्रा सहयात्राका कुरा लेख्ने पालो आएन ?’
क्षमा गर्नोस् हरिजी ! अझै आएको छैन । मेरो स्मरणमा आज पनि तीनपाटनका प्रत्येक गाउँ छन्, ती गाउँका कतिपय अनुहारको विम्ब छ । चहादा खोलाको उत्तरपट्टिका सबै गाउँ र दक्षिणपट्टिको बेलघारी, भुकुने र चिसापानी गाउँकोे बाटो हिँड्दा कहाँनेर बाटो मोडिएको छ, कहाँनेर ठूलो समा काट्ने गरिन्छ, कहाँनेर हिउँदमा पनि बाटो हिलाम्मे हुन्छ, कहाँनेर ढुंगामा फड्किनुपर्छ, फँडिरको बोट कहाँ छ, कुन बोटको सुपारे आँप ज्यादा गुलियो हुन्छ ? सबै मलाई अहिले पनि याद छ । म यिनको स्मरणबाट मुक्त भएर कसरी लेख्न सक्छु ?
कुनै दिन यी सबै सकिए भने निश्चय नै हाम्रो सम्बन्ध र सहयात्राका कुरा केलाउने पालो आउँछ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ ०७:२६