नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललले नेपाली कांग्रेसले जिम्मेवार बनेर सरकारको नेतृत्व गरे माओवादी केन्द्रले समर्थन दिने बताएका छन् । नेकपा माओवादी केन्द्रको झापाको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गजुरेलले उक्त कुरा बताएका हुन् ।
गजुरेलले केपी ओली प्रवृत्ति देशले अस्वीकार गरिसकेकाले अब कांग्रेस जिम्मेवार बन्नु पर्ने बताए । उनले भने, ‘देश असफल बनाउन केपी शर्मा ओली प्रवृत्ति जिम्मेवार छ । देशले ओली प्रवृत्तिलाई अस्वीकार गरेको छ । देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामामा पुगेको छ । यसो हुनुमा केपी ओली प्रवृत्ति जिम्मेवार रहेको छ । अब यसलाई बचाउने हो भने कांग्रेस जिम्मेवार बन्नु पर्छ । हामी साथ दिन्छौँ ।'
पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै बढी निराशा बढेको उनले बताए । उनले भने, ‘यो सरकार परिवर्तन अहिलेको आवश्यकता हो । तर माओवादी २०८४ सम्म सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ ।’
गौरादह प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा जिल्लाका इन्चार्ज रञ्जित तामाङले माओवादी कमजोर हुँदा प्रतिगामीहरूको स्वर बढेको र प्रतिगामीलाई सेवा पुग्ने गरी वर्तमान गठबन्धन सरकारले जनतामा निराशा थपेर प्रतिगमनमा उत्प्रेरकको भूमिका गरेको बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ १७:०२