लिटिल बुद्धका नामले चर्चित रामबहादुर बम्जन उच्च अदालत जनकपुरको आदेशबाट थुनामुक्त भएका छन् । आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न जिल्लामा यौन दुराचार आरोपमा र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको थियो ।
जिल्ला अदालत सर्लाहीले २०८१ असारमा बम्जनलाई यौन दुराचार आरोपमा दोषी ठहर गरी १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । उनी २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ परेका थिए । र, उनलाई सिन्धुपाल्चोक कारागार चलान गरिएको थियो ।
जिल्ला अदालतले दोषी ठहर गरेपछि उनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालत जनकपुरले उनलाई गत ६ चैतमा निर्दोष ठहर गर्दै जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याएको हो ।
जिल्लाको फैसला उच्च अदालतले उल्ट्याएपछि उनी ७ चैतमा सिन्धुपाल्चोक कारागारबाट छुटेका थिए । कारागार प्रशासनले उनलाई उनकी श्रीमती दीपशिखाको जिम्मा लगाएको थियो । बम्जनविरुद्ध जिल्ला अदालत नुवाकोट, मकवानपुर र जिल्ला अदालत सर्लाहीमा पनि मुद्दा विचारधीन छन् । कारागारबाट मुक्त भएका बम्जन अहिले कहाँ छन् भन्ने विषयमा भने प्रहरी बेखर छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ १५:४०