पर्साको वीरगन्जमा लगाइएको कर्फ्युको समय थप गरिएको छ । वीरगन्जमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय बढाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि जिल्ला प्रशासनले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । तर, आइतबार बिहान कर्फ्युको समय बढाएर राति १२ बजेसम्मका लागि आदेश जारी गरिएको हो ।
शनिबार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा दुई समुदायबीच उत्पन्न विवादले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । अवस्था अझ सामान्य नरहेको र बिहान बसेको सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता दिन आएको सुझावलाई मध्यनजर गरेर कर्फ्युको समय बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार साँझ साढे ६ बजेदेखि लागू हुने गरी लगाइएको कर्फ्यु आइतबार राति १२ बजेसम्म वीरगन्ज महानगर आसपासका क्षेत्रमा जारी रहने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।
पूर्वमा वीरगन्ज-१५ मा रहेको बाइपास चोक, पश्चिममा वीरगन्ज-२५ को सिर्सिया पुल, उत्तरमा वीगरन्ज-१४ को पावर हाउस चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १२:११