चाइना साउदर्न एयरलाइन्सले १० अप्रिलदेखि नेपाल-चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टुबरसम्म काठमाडौं-ग्वाङझाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।
कम्पनीका अनुसार काठमाडौं-ग्वाङझाउ दैनिक राति साढे ११ बजे उडान हुनेछ । साथै, दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ, जसअनुसार अब काठमाडौं-ग्वाङझाउका लागि दिउँसो १२:५० बजे उडान हुनेछ । '१० अप्रिलदेखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुनेछ भने जूनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुनेछ । साथै, सेप्टेम्बरदेखि अक्टुबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट संख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौं-ग्वाङझाउतर्फ करिब ४५ हजार सिट र ग्वाङझाउ-काठमाडौं ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइनेछ । कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौं-ग्वाङझाउमा १६.५ प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङझाउ-काठमाडौंमा १३ हजार अर्थात् ३९.९ ले बढी हो ।
उडान र सिट संख्यामा भएको वृद्धिले चीन-नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ । 'यो उडान क्षमता वृद्धि चीन-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन-नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो । चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ । यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन-नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ,' कम्पनीले भनेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १७:५८